काठमाडौंः टिकटकको विकल्पमा ‘रमाइलो’ एप सार्वजनिक भएकाे छ । सन् २०१९ देखि नेपालमा सूचना तथा प्रविधि क्षेत्रमा क्रियाशील रहीआएको आईडिया जार डिजिटल कम्पनीले टिकटकजस्तै ‘रमाइलो’ एप सार्वजनिक गरेको हो ।
यस एपमा भिडियो हेर्ने तथा अपलोड गर्ने, भिडियो एक्सप्लोर गर्ने, लाइक, कमेन्ट र शेयर गर्ने सुविधा, लाइभ गर्न मिल्ने सुविधा समेत रहेको कम्पनीले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ । कम्पनीले कन्टेन क्रियटरलाई भने केही समयपछि कन्टेन र लोकप्रियताका आधारमा निश्चित रकम दिँदै जाने योजना बनाएको छ ।
यस एपमा भिडियो निर्माणका क्रममा उच्छृङ्खल गतिविधि भएमा वा गैरकानुनी तथा अमर्यादित हर्कत भएमा त्यसलाई कानुनी दायरामा ल्याउन सरकारलाई सहयोग गर्ने प्रतिबद्धता समेत कम्पनीको छ । साथै गलत नियतका सामग्री प्रयोगकर्ताले अपलोड गरेमा एपको ‘कम्युनिटी गाइडलाइन्स’ अन्तर्गत भिडियो हटाउने, एकाउन्ट सस्पेन्ड गर्ने र एकाउन्ट सदाको लागि बन्द गराउने समेत विज्ञप्तिमा उल्लेख छ ।
सामाजिक सद्भावमा खलल पुगेको भन्दै हालै नेपाल सरकारले टिकटकमा प्रतिबन्ध लगाएको छ । यसै कारण पनि नेपाली प्रयोगकर्ताहरूका लागि यो एप उपयोगी हुने कम्पनीकाे विश्वास छ । याेसँगै सामाजिक सञ्जाललाई नियमनको दायरामा ल्याउन कठिन भएको सरकारले बताइरहेका बेला नेपालकै कम्पनीले यस्तो एप विकास गर्दा नियमनमा पनि सहज हुने कम्पनीको दाबी छ ।
नेपाली प्रयोगकर्ताहरूको डेटा नेपालमा नै सुरक्षित रहने बताउँदै प्रयोगकर्ताले थप सुरक्षित र ढुक्क भई एपमा रमाउन कम्पनीले आग्रह गरेको छ । तर याे एप १३ वर्ष भन्दा माथिका नागरिकले मात्र प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ । यस एपलाई हाल गुगल प्ले स्टोरमा उपलब्ध गराइएको छ भने आइफोन प्रयोगकर्ताहरूले केही दिनमा एप स्टोरबाट डाउनलोड गरी चलाउन सक्ने कम्पनीले जनाएको छ ।
काठमाडौंः पछिल्लो समय नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा भूकम्प जाने क्रम बढेसँगै बझाङ सदरमुकाम चैनपुरमा ‘अस्थायी भूकम्प मापन केन्द्र’ निर्माण गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले गत असोज १६ गते बझाङ सदरमुकाम चैनपुर केन्द्रबिन्दु बनाएर ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएपछि अस्थायी भूकम्प मापन केन्द्र निर्माण गरेको हो ।
भूकम्प मापन केन्द्रका भूकम्पविद् डा. मुकुन्द भट्टराईले बझाङमा अस्थायी भूकम्प मापन केन्द्र निर्माण गरिएको जानकारी दिए । नेपालमा विसं २०३७ मा ललितपुरको फूलचोकीडाँडामा पहिलो भूकम्प मापन केन्द्र निर्माण गरिएको थियो । बझाङमा अस्थायी भूकम्प मापन केन्द्र निर्माण भएसँगै नेपालभर ४३ स्टेशनबाट भूकम्प मापन हुँदै आएको छ । विस २०७२ वैशाख १२ गते गएको गोरखा भूकम्पपछि मापनका लागि विभिन्न देशको सहयोगमा जोखिममा रहेका नेपालका २० स्थानमा ‘भूकम्प मापन केन्द्र’ निर्माण गरिएका थिए ।
विसं २०७२ पछि नेपाल सरकारले भूकम्पको जोखिमलाई दृष्टिगत गरी चीन सरकारको सहयोगमा १०, जापान सरकारको सहयोगमा आठ र थाइल्याण्डको सहयोगमा दुई स्थानमा ‘भूकम्प मापन केन्द्र’ निर्माण गरेको छ । हाल नेपालको झापा, उदयपुर, सङ्खुवासभा, सोलुखुम्बु, रसुवा, लमजुङ, मुस्ताङ, डोल्पा, बाजुरा, दार्चुला, सिन्धुली, बारा, चितवन, नवलपरासी, स्याङ्जा, म्याग्दी, कपिलवस्तु, रोल्पा, महोत्तरी, दाङलगायत जिल्लाका विभिन्न स्थानमा केन्द्र निर्माण गरिएका छन् । गोरखा भूकम्पअघि नेपालका २२ केन्द्रले मात्र भूकम्प मापन गर्दै आएका थिए ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले भूकम्प मापन केन्द्र निर्माण भएसँगै देशभर जाने भूकम्पको तथ्याङ्क मापन गर्न सहज हुने बताए । ‘भूकम्प मापन गर्ने धेरै स्टेशन निर्माण भएसँगै सानाभन्दा साना भूकम्पसमेतको मापन गर्न सहज भएको छ’, उनले भने ।
नेपाल हिमालय हिमशृङ्लामा रहेको मुलुक भएकाले पनि यस क्षेत्रमा अन्य क्षेत्रको तुलनामा धेरै भूकम्प जाने गरेको केन्द्रले जनाएको छ । हाल राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौर र राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतले देशरभरको भूकम्पका बारेमा जानकारी दिने गरेको छ ।
रुकुम पश्चिमः आजभोलि गाउँगाउँमा विद्युतीय घट्ट सञ्चालनमा आएका छन् । पछिल्लो समय रुकुम पश्चिमका अधिकांश गाउँमा विद्युतीय घट्टमा अन्न पिस्नेको सङ्ख्या बढ्न थालेको छ ।
जिल्लाको विभिन्न ठाउँमा विद्युत्को पहुँच पुगेपछि गाउँगाउँमा व्यक्तिगत तथा स्थानीय तहको लगानीमा विद्युतीय घट्ट सञ्चालनमा आएका छन् । बाँफिकोट गाउँपालिका–१० ले वडावासीको सहजताका लागि बयाल्या र फेरामा विद्युतीय घट्ट सञ्चालन गरिरहेको छ ।
स्थानीयलाई अन्न पिस्न घण्टौँ समय लाग्ने भएपछि वडा कार्यालयकोे आर्थिक सहयोगमा दुई स्थानमा घट्ट सञ्चालन गरिएको वडाध्यक्ष हरिबहादुर चन्दले जानकारी दिए । उनका अनुसार वडाले कृषि कार्यक्रमअन्तर्गत फेरामा एक लाख ३५ हजार र बयाल्यामा दुई लाख ३५ हजार लगानी गरी घट्ट सञ्चालन गरेको हो ।
‘घट्ट बनाउँदा वडावासीले पनि श्रमदान गरेका छन् । घट्टको रेखदेख गर्ने, विद्युत् प्रयोग भएबापत महसुल तिर्नेलगायत काम स्थानीयले गर्नेछन्’, वडाध्यक्ष चन्दले भने, ‘स्थानीयले घट्टमा निःशुल्क अन्न पिस्न पाउनेछन् ।’ उनका अनुसार घट्ट सञ्चालनमा आएपछि बयाल्या टोलका २० घरपरिवारलाई चार घण्टा हिँडेर अन्न पिस्न जानुपर्ने बाध्यता हटेको छ ।
त्रिवेणी–२ छिन्छरेमा पानी घट्ट सञ्चालन गर्दै आएका खड्कबहादुर बुढाथोकीलाई विद्युतीय घट्ट गाउँमा सञ्चालन भएपछि पहिले जस्तो अन्न पिस्न चाप छैन् । ‘पहिले अन्न पिस्न आउनेको सङ्ख्या धेरै हुन्थ्यो । दुई/तीन दिनसम्म पालो कुर्नुपर्थोे । आजभोलि त्यस्तो चाप छैन्’, उनले भने, ‘पहिले दिनमा ४५ पाथी अन्न पिस्थे । पिसेको भाडाबापत लिएको पीठो घरपरिवारले खाएर बच्ने गर्थो । आजभोलि त कहिले घट्ट खाली हुन्छ, कहिले दुईरतीन जना आउँछन् ।’
त्रिवेणी–२ की ७० वर्षीया मनकली ओलीले गाउँमै विद्युतीय घट्ट सञ्चालनमा आएपछि सहजताको लागि अन्न पिस्न विद्युतीय घट्ट जाने गरेको सुनाइन् । ‘पहिले घरमै अन्न जातोमा पिसेर खाने चलन थियो । विस्तारै पानी घट्टमा पिस्ने चलन आयो । अहिले त टोलमै विद्युतीय घट्ट सञ्चालनमा आइसक्यो’, उनले भनिन् । यसबाट समयको बचत हुनुका साथै सहज भएको उनको भनाइ थियो । रासस
काठमाडौंः नेपाल विद्युत् प्राधिकरणले कोशी प्रदेशका मोरङ र सुनसरी जिल्लाका औद्योगिक करिडोरमा यस वर्ष भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि अधिकतम प्रयास गरिरहेको छ ।
प्राधिकरणले त्यस क्षेत्रका औद्योगिक र अन्य ग्राहकलाई भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि प्रसारण तथा वितरणतर्फका चालु लाइन सुधार गर्ने, नयाँ लाइन बनाउने, सबस्टेसनको क्षमता स्तारोन्नत्ति गर्ने र नयाँ सबस्टेसन निर्माणलाई योजनाबद्धरुपमा अगाडि बढाएको हो ।
मोरङ र सुनसरीका उद्योगीहरुले गर्मीयाममा उद्योगहरुमा पटक–पटक लाइन जाने र आउने (ट्रिपिङ) हुने गरेको गुनासो गर्दै आएकाले प्राधिकरणले त्यहाँको औद्योगिक करिडोरमा विद्युत् आपूर्तिका लागि सुनसरीको दुहवीस्थित एक सय ३२ केभी ग्रिड सबस्टेसनको भार (लोड) घटाउने पुरानो लाइनको सुधार र थप लाइनको सबस्टेसन निर्माण गरिरहेको छ ।
केहीअघि सञ्चालनमा आएको सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित चार सय केभी क्षमताको इनरुवा सबस्टेसनबाट विद्युत् आपूर्ति दिनका लागि प्रसारण तथा वितरणतर्फका लाइन र सबस्टेसन निर्माणाधीन छन् । इनरुवा ४००, २२०, १३२ र ३३ केभी प्रणालीमा आधारित सबस्टेसन भएकाले त्यहाँबाट स्थानीय रुपमा विद्युत् आपूर्ति गर्न सकिने छ । यसले गर्दा दुहबी सबस्टेसनमा हाल रहेको विद्युत् आपूर्तिको भार घट्ने छ ।
अरुण तथा तमोर नदी र तिनीहरुका सहायक खोलानालामा निर्माण गरिएका÷हुने जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् कोशी करिडोर २२० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिने छ । ताप्लेजुङ, पाँचथर र इलाम जिल्लास्थित खोलामा उत्पादित विद्युत् काबेली करिडोर प्रसारण लाइनहुँदै झापाको दमकमा आउने छ । यसले गर्दा त्यस क्षेत्रमा विद्युत् आपूर्तिका लागि स्रोतको अभाव छैन ।
सुनसरी र मोरङको विद्युत् आपूर्तिमा सुधार र एक सय ३२ केभीको दुहवी तथा विराटनगर क्षेत्रमा रहेका ३३/११ केभी रानी र टङ्किसिनुवारी सबस्टेसनहरुको भार घटाउन एक सय ३२ विराटनगर सबस्टेसन निर्माणाधीन छ । सुनसरीको बर्जु गाउँपालिकामा निर्माणाधीन सबस्टेसनसम्म विद्युत् पुर्याउनका लागि इनरुवा सबस्टेसनबाट एक सय ३२ केभी प्रसारण लाइन निर्माण भइरहेको छ । ठेकेदार कम्पनी सानडोङ ताइकाई इञ्जिनीयरिङ र मुडभरी एण्ड जोशी कन्ट्रक्सनको संयुक्त उपक्रमको कमजोर कार्यसम्पादनका कारण सबस्टेसन निर्माणमा ढिलाइ भइरहेको छ ।
सबस्टेसनमा रहने उपकरण राख्नका लागि अधिकांश संरचना निर्माण भइसकेका र अधिकांश उपकरण पनि निर्माणस्थलमा आपूर्ति भइसकेका छन् । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केहीअघि निर्माणस्थलको अनुगमन गरी आगामी फागुनभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिए । आगामी फागुनभित्र निर्माण सम्पन्न गर्न नसकिए विद्युत् उपलब्ध भएर पनि आपूर्ति दिन नसकी बाध्यकारी लोडसेडिङ गर्नुपर्ने अवस्था आउसक्ने भएकाले उक्त अवधिमा आयोजनाको काम नसकिएमा ठेक्का सम्झौताबमोजिम कारबाही गर्ने चेतावनी ठेकेदारलाई दिए ।
त्यस क्षेत्रका औँद्योगिक करिडोरमा रहेको विद्युत् आपूर्तिका समस्या समाधन गर्न भइरहेका कामको जानकारी दिन उद्योग सङ्गठनका अध्यक्ष राकेश सुरानालाईसमेत टोलीमा सहभागी गराइएको थियो । ‘यस वर्ष सुनसरी र मोरङमा सञ्चालित उद्योगलाई विश्वसनीय र गुणस्तरीय विद्युत् आपूर्तिका लागि अधिकतम प्रयास गरिरहेका छौँ, विकल्पहरु धेरै छन्, सञ्चालित योजना गर्मी शुरु हुनुभन्दा पहिले नै सक्नु बाध्यकारी अवस्थामा छौँं’, कार्यकारी निर्देशक घिसिङले भने, ‘यसका लागि जनशक्ति थप्नुहोस्, स्थानीय रुपमा भइरहेका अवरोध हटाउन स्थानीय तहका जनप्रतिनिधि, प्रशासन, उद्योगी व्यसायीहरुलगायतको साथ र सहयोग आवश्यक छ ।’
इनरुवा–विराटनगर २३ किलोमिटर १३२ केभी प्रसारण लाइनमा पर्ने ८० वटा टावरमध्ये ७३ वटाको जग हालिएको छ । बहत्तर वटा खडा गरिएको छ । प्रसारण लाइनको तार आपूर्ति भइसकेको छ । स्थानीयवासीको अवरोधका कारण दुई वटा र प्राविधिक समस्याले पाँच वटा टावर निर्माण हुनसकेको छैन । इनरुवा सबस्टेसनबाट खनारसम्म ३३ केभी डबल सर्किट लाइन निर्माण अन्तिम चरणमा छ । यो लाइन सञ्चालनमा आएपछि दुहवी सबस्टेसनको करिब ४० मेगावाट भार घटाउन सकिने छ ।
इनरुवाबाट पुरानो इनरुवा सबस्टेसम्म हाल रहेको ३३ केभी सर्किटको लाइनमा अर्को सर्किट निर्माणाधीन छ । यसले पनि दुहवी सबस्टेसनको भार घटाउने छ । इनरुवा–दुहवी एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको तार फेरेर क्षमता वृद्धिको प्रक्रिया अगाडि बढाइएको छ । झापा, मोरङ र सुनसरीको विद्युत्को माग धान्न दमकबाट विराटनगर सबस्टेसनसम्म एक सय ३२ केभी प्रसारण लाइन निर्माण प्रक्रिया अगाडि बढाइएको छ ।
करिब ६५ किलोमिटर उक्त लाइन दमकबाट मोरङको कानेपोखरी गाउँपालिकास्थित केरौन, सुनसरीको दुहवीहुँदै विराटनगर सबस्टेसनमा जोडिने छ । उक्त लाइन निर्माण भएपछि झापा, मोरङ र सुनसरीमा विद्युत् आपूर्तिका लागि १३२ केभीको रिङ बन्ने छ । जसले विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउने छ ।
कन्चनपुरः जङ्गली हात्ती नियन्त्रण गर्नका लागि कन्चनपुरको शुक्लाफाँटा नगरपालिकाका चार वडामा स्वचालित बत्ती जडान कार्य शुरु गरिएको छ । हात्तीको बथानले किसानको खेतबारीमा छिरेर धान, उखुलगायत बालीमा नोक्सानी पुर्याउन थालेपछि बत्ती जडान कार्य शुरु गरिएको हो ।
हात्ती प्रभावित वडा नं ५, ६, ९ र १० मा बत्ती जडान भइरहेको वडा नं ५ का अध्यक्ष चक्रबहादुर खडकाले बताए । उनका अनुसार सम्बन्धित वडा कार्यालयले बजेटको व्यवस्था गरी बत्ती जडान गर्न थालेका हुन् ।
वडा नं ५ मा ३०, वडा नं ६ मा ६०, वडा नं ९ मा १६ र वडा नं १० मा ४० वटा बत्ती जडान भइरहेको अध्यक्ष खडकाले जानकारी दिए । जडान गरिएका बत्ती दुई वर्षभित्र बिग्रिएमा मर्मत गर्ने गरी आपूर्तिकर्तासँग सम्झौता गरिएको उनले बताए ।
‘स्थानीय किसानको माग अनुसार प्राथमिकताका आधारमा बत्ती जडानको कार्य गरिरहेका छौँ’, वडाध्यक्ष खडकाले भने, ‘गत वर्ष दुई लाख ५० हजारमा बजेटमा ४० वटा बत्ती जडान गरेका थियौँ । यस वर्ष दुई लाख बजेटमा ३० वटा बत्ती जडान गरिरहेका छौँ ।’ वडा नं ६ मा चार लाख बजेटमा ६० बत्ती खरिद गरी जडान भइरहेको उनको भनाइ थियो ।
‘उज्यालो देखेपछि हात्ती खेतबारीमा नछिर्ने भएकाले बत्ती जडान गर्न थालिएको हो’ वडा नं ६ का वडाध्यक्ष दानबहादुर ऐरले भने, ‘सेन्सरयुक्त बत्ती उज्यालो हुनासाथ आझै निभ्छ । राति हुन थालेपछि आफै जल्छ ।’
बत्ती जडानपछि स्थानीयलाई ओहरदोहर गर्न सहज हुनाका साथै हात्तीलाई टाढैबाट देख्न सकिने भएकाले सजग हुने, भगाउन सक्ने तथा रातिका बेला हुने चोरीका घटनामा कमी आउने ऐरको भनाइ थियो ।
दाङ गढवा गाउँपालिका–१ पत्रिङ्गा निवासी राजकुमार थारू कुमाललाई विगतमा जस्तो अहिले आफैँ माटो मुछ्ने, माटोका सामग्री बनाउँदा चक्का हातले घुमाउनुपर्ने र बनाएका भाँडा पकाउन दाउरा खोज्नुपर्ने समस्या छैन ।
परम्परागत पेसालाई आधुनिकीकरण गर्ने उद्देश्यले प्रदेश तथा स्थानीय सरकारले माटोे मुछ्ने मेसिन, सामग्री बनाउन चक्का घुमाउने मोटरसँगै बनाएका माटोका भाँडा पकाउन आधुनिक भट्टी निर्माण भएपछि पछिल्लो समय माटोका भाँडा बनाउने काममा सहज भएको राजुकमारले बताए ।
‘पहिले जङ्गलबाट ल्याएको माटो मुछ्नै समस्या हुन्थ्यो, तर अहिले मेसिनबाट एकैछिनमा माटो तयार हुन्छ’, राजकुमारले भने, ‘प्रविधिका बारेमा थाहा नहुँदा काममा ढिलाइसँगै दुःख हुन्थ्यो, तर अहिले यी समस्या हटेका छन् ।’ प्रविधिले गर्दा काम छिटो हुनुका साथै धेरै सामग्री उत्पादन गरेर बिक्री गर्दा आम्दानीसमेत बढेको उनको भनाइ छ ।
राजकुमारको जस्तै अनुभव सोही ठाउँ निवासी ५६ वर्षीया तारा थारू कुमालको पनि छ । लामो समय परम्परागत आफूले माटो मुछ्नेदेखि हातेचक्काको भरमा माटोका सामग्री बनाएका ताराले विगत एक वर्षदेखि मोटरको माध्यमबाट चक्का चलाएर माटोका भाँडा बनाउँदै आएको बताइन् । ‘पहिलेको तुलनामा अहिले माटो मुछ्नदेखि बनाएका भाँडा पकाउनसमेत सजिलो भएको छ, जसले गर्दा थकाइ नलाग्ने र छोटो समयमै धेरै काम गर्न सकिने भएको छ’, उनले भनिन् ।
माटोका भाँडा बनाउने पेसामा दुःख र मेहनत धेरै गर्नुपर्ने भएका कारण लामो समय गर्न नसक्ने अवस्था भएको भन्दै प्रविधिको सहजताले पछिसम्म पनि काम गर्न सकिन्छ कि भन्ने आँट पलाएको उनी बताउँछिन् । ‘परम्परागतरूपमा पहिले काम गर्दा माटो मुछ्नेदेखि पकाउन समस्या थियो, कहिलेकाहीँ त मेहनत नै खेर जाने अवस्था हुन्थ्यो, पत्रिङ्गा निवासी ताराले भनिन्, ‘अहिले त्यो जोखिम छैन, प्रविधिको सहजताले माटो मुछ्ने, भाँडा बनाउनेदेखि पकाउनसमेत आधुनिक भट्टी बनेको छ ।’ आधुनिक भट्टीका कारण कम दाउरामै धेरै सामग्री पाक्ने गरेको उनले बताइन् ।
उनीहरूले माटोबाट घैँटा, मट्टे, गमला, पाला, करुवा, हाँडी, खुत्रुकेलगायतका आकर्षक सामग्री तयार पारी बिक्री गर्दै आएका छन् । पछिल्लो समय दसैँ, तिहारजस्ता पर्वमा बत्ती बाल्ने पाला, घरमा पुष्प रोप्नका लागि गमलासँगै विभिन्न सांस्कृतिक कार्यक्रममा चौधरी समुदायका महिलाले बोकेर लैजाने मट्टेलगायतका सामग्री राम्रै बिक्री हुने उनी बताउँछिन् ।
उनले यसरी बनाइएका सामग्री पहिले बोकेरै बिक्री गर्न गाउँगाउँ जाने गरे पनि पछिल्लो समय घरबाटै बिक्री हुने गरेको बताइन् । ‘पहिले बनाएका सामग्री बिक्रीका लागि आफैँ जानुपर्ने अवस्था थियो, तर अहिले घरबाटै बिक्री हुने गर्दछन्, हामीले बनाइदिन्छौँ, व्यापारी घरमै आएर लग्ने गर्छन्’, उनले भनिन् ।
विगतको तुलनामा कम बिक्री
पछिल्लो समय माटोबाट बनेका सामग्रीको बिक्रीमा कमी हुँदै आएको छ । प्रविधिको विकाससँगै धातु तथा प्लास्टिकका सामग्रीको प्रयोग बढेपछि माटोबाट बनेका सामग्रीको बिक्रीमा कमी आएको गढवा गाउँपालिका–३ गैरा निवासी कमला कुमाल बताउँछिन् । विशेषगरी प्लास्टिकका भाँडाको प्रयोग बढेपछि माटोका भाडा बिक्रीमा कमी आउनुका साथै केही परिवारले काम नै छोडेको उनको भनाइ छ ।
दसैँ, तिहारलगायतका पर्वमा बिक्री हुने पालालाई पछिल्लो समयमा झिलीमिली बिजुली बत्तीसँगै घैँटा, मट्टे, करुवा, गिलासलाई धातु र प्लास्टिकका गिलासले विस्थापित गरे पनि पछिल्लो समय परम्परागत सामग्रीले प्राथमिकता पाउन थालेपछि केही उत्साह थपिएको उनको भनाइ छ । उनका अनुसार पछिल्लो समय मट्का चियाका लागि गिलाससँगै कार्यक्रममा सजाउनका लागि गमला, मट्टेलगायतका भाँडा बिक्री हुने गरेको छ । रासस
मनाङः विश्वकै उच्च स्थानमा रहेको तिलिचो ताल क्षेत्रमा ‘इन्टरनेट’को पहुँच पुगेको छ । हिमाली जिल्ला मनाङमा अवस्थित सो तालको अवलोकनमा आउने पर्यटकको सुविधालाई ध्यानदिँदै क्षेत्रमा इन्टरनेट जडान गरिएको हो ।
पर्यटक आगमनका क्रममा उच्च स्थानमा लेक लागेर बिरामी पर्नसक्ने भएकाले सहज बनाउन इन्टरनेट जडान गरिएको मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष चोल्पा गुरुङले जानकारी दिए । उनका अनुसार तिलिचो ताल भ्रमणमा जाँदा आउँदा लेक लाग्नसक्ने सम्भाव्यतालाई सहज बनाउन वाइफाइ जोडिएको हो ।
‘वाइफाइ जडान गरिएपछि पर्यटक बिरामी पर्ने हराउने समस्या न्यूनीकरण हुने अपेक्षा गरेका छौँ’, उनले भने, ‘इन्टरनेटको पहुँच पुगेपछि पर्यटकले यस क्षेत्रबाटै आफ्ना परिवार, साथीभाइलाई सम्पर्क गर्न सक्नेछन् ।’ यसले गर्दा पर्यटकलाई नै इन्टरनेटको पहुँचमा रमाउन पाउने अवस्था बनेको उनले बताए ।
होटल व्यवसायी कर्म ढेण्डु गुरुङले पर्यटकलाई सहज बनाउन यहाँका पर्यटन व्यवसायी र होटल व्यवसायीको समन्वयमा इन्टरनेट सेवा सञ्चालन गरिएको बताए । ‘पर्यटकको आवश्यकता र चाहना पूरा गर्ने लक्ष्यअनुसार तिलिचो ताल क्षेत्रमा इन्टरनेट राखिएको छ, उच्च स्थानमा सकस हुन सक्ने भए पनि वाइफाइका माध्यमबाट पर्यटकले सहजरुपमा सम्पर्कमा आउन सक्नेछन्’, उनले भने ।
उच्च स्थानमा अवस्थित तिलिचो तालमा पुगेर टिकटक, रिललगायतका सामाजिक सञ्जालमा फोटो तथा भिडियो राख्ने वातावरण तयार भएको पर्यटन व्यवसायी बताउँछन् । पर्यटक आगमनको समय शुरु हुनासाथ इन्टरनेटको पहुँच पुर्याएर सहज बनाइएको व्यवसायी बताउँछन् ।
तिलिचो लेकमा पुगेपछि पनि होटल तथा पर्यटन व्यवसायीसँग समन्वय हुने र पर्यटकको स्वास्थ्य अवस्थाको जानकारी लिन सकिने व्यवसायी गुरुङले बताए । यसले गर्दा पर्यटक बिरामी परेको अवस्थामा समयमा नै उद्धार गर्न सकिने उनको भनाइ छ ।
मनाङमा पर्यटक आगमन बढ्दै गएको छ । विदेशी पर्यटक हिमाल र पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न र मनाङबाट थोराङ भञ्ज्याङ उक्लेर मुस्ताङ हुँदै पोखरा जान अन्नपूर्ण पदमार्गमा आउँछन् । मनाङका विभिन्न हिमाल एवं चुली चढ्न तथा हेर्न पर्यटक भित्रिन्छन् ।
पर्यटकीय समयमा दैनिक दुई सयभन्दा बढी विदेशी पर्यटकको आगमन भइरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङ धारापानीका पर्यटक जाँच तथा सूचना केन्द्रका प्रमुख भूपेन्द्र गुरुङले बताए । उनका अनुसार दसैँ र तिहारको बीचमा अझै पर्यटक बढ्दै जानेछन् ।
यस पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँच जिल्ला जोडिएका छन् । सन् २०२३ शुरु भएयता हालसम्म १४ हजार दुई सय १४ पर्यटक यस पदमार्गमा आएका छन् । यस पदमार्गमा सबैभन्दा बढी इजरायल, फ्रान्स, जर्मनीलगायतका देशका नागरिक आएको उक्त केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार यतिबेला दैनिक विदेशीभन्दा आन्तरिक पर्यटक बढी आउने गरे पनि यकीन तथ्याङ्क भने छैन । यस पदमार्गमा विदेशी र आन्तरिकको भरिभराउले व्यवसायी उत्साहित बन्न थालेका छन् ।
पर्यटकलाई लेक लागेमा स्वास्थ्य उपचारका लागि मनाङ ङिस्याङ गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङको समन्वयमा अस्थायी स्वास्थ्य चौकीबाट सेवा प्रवाह गरिरहेको छ । एक्यापले तिलिचो ताल र थोराङ्ला भञ्ज्याङ जाने पर्यटकलाई स्वास्थ्य तथा सूचना र यात्राका क्रममा हुनसक्ने जोखिमका बारेमा जानकारी गराएर पठाउने गरेको छ । रासस
काठमाडौंः त्रिभुवन विमानस्थल भन्सार कार्यालयले आजदेखि कार्गो भवनमा प्रवेशका लागि ‘फ्ल्याप गेट’ सञ्चालनमा ल्याएको छ । अनाधिकृत व्यक्तिको प्रवेश र गलत क्रियाकलाप रोक्ने उद्देश्यले यो गेट सञ्चालनमा ल्याइएको भन्सार कार्यालयले जनाएको छ ।
प्रहरी प्रतिवेदन र भन्सार कार्यालयको सिफारिसपछि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट वितरण हुने वाइपास बाहकले मात्र यो गेट पार गर्न सक्नेछन् । गत साउन ३ गते कार्गो भवनबाट गाडीको ब्रेकसुभित्र लुकाइछुपाइ ल्याइएको सुन बाहिरिएपछि विमानस्थल भन्सार कार्यालयले भन्सार यार्ड प्रवेशमा कडाइ गरेको छ । उक्त घटनामा अनधिकृत व्यक्तिको प्रवेश देखिएपछि सो गेट सञ्चालनमा ल्याइएको हो ।
नयाँ व्यवस्थाअनुसार त्रिभुवन विमानस्थल प्रवेशका लागि अङ्ग्रेजी अल्फावेट ‘ए’ देखि ‘एल’सम्मको पास उपलब्ध गराइन्छ भने कार्गो भवन प्रवेशका लागि अङ्ग्रेजी अल्फावेट ‘वाई’ पास उपलब्ध गराइन्छ । सर्वसाधारणले आफ्नो मालवस्तु छुटाउन भन्सार क्षेत्रमा प्रवेश गर्नुपरेमा आगन्तुक अनुमतिपत्र (पास) लिई प्रवेश गर्न पाउने व्यवस्था गरिएको छ । हाल भन्सारका कर्मचारी, भन्सार एजेन्ट र सामान लोड र अनलोड गर्ने श्रमिकलाई मात्र फोटोसहितको पास उपलब्ध गराइएको भन्सार प्रमुख डा. टोकराज पाण्डेले बताए ।
उनले यसबाट अनधिकृत व्यक्तिको प्रवेश र अवैध सामान आयात अन्त्य हुने अपेक्षाका साथ मापदण्ड तयार पारी पास वितरणलाई व्यवस्थित गरिएको बताए । भन्सार कार्यालयले यसअघि विमानस्थलको यात्रु आवागमनतर्फ बहुमूल्य सामान र विदेशी मुद्राको स्वघोषणा कक्ष सञ्चालनमा ल्याएको थियो ।
पर्वतः राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी प्रसारण करिडोर आयोजनाअन्तर्गत पर्वतको खुर्कोट–न्यूबुटबल खण्डको परीक्षण सफल भएको छ । कालीगण्डकी करिडोरको दुई सय २० केभी प्रसारण लाइनअन्तर्गत यो खण्डको काम पूर्ण भएपछि असोज १० गतेदेखि चार्जिङ शुरु भएको थियो ।
विद्युत् प्रसारण र चार्जिङ शुरु भएसँगै अहिले लोड लिइरहेको आयोजनाले जनाएको छ । सो आयोजनाबाट निर्माण भएको खुर्कोट– न्यूबुटवल खण्डअन्तर्गत पर्वत जिल्लाको कुश्मा नगरपालिका– २ खुर्कोटस्थित खुर्कोट सवस्टेशनदेखि बागलुङ, पर्वत, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी जिल्लाको सुनवल नगरपालिकामा अवस्थित न्यूबुटबल सबस्टेशनसम्म करिब ९० किलोमिटर लामो दुई सय २० केभिको डबल सर्किट प्रसारण लाइनको परीक्षण सफल भएको आयोजनाका सुपरभाइजर देव शर्मा पौडेलले जानकारी दिए ।
उनका अनुसार असोज ३० गते गरिएको पहिलो चरणको परीक्षण प्रसारणसमेत सफल भएको थियो । ‘खुर्कोट–न्यू बुटवल सबस्टेसनसम्म लाइन तानेर परीक्षणको काम पूरा भएपछि प्रसारण लाइनले ‘लोड’ लिएको छ । लाइनमा अहिले चार्ज मात्रै छ, करेन्ट प्रवाह भएको छैन’, सुपरभाइजर पौडेलले भने
विद्युत् प्रसारण भने दुवै सर्किटमा भइरहेको भन्दै उनले तयार भएको कोरिडोरको लाइन क्षमता १२ सय मेगावाट भएकोले यो दीर्घकालीनरूपमा पनि निकै लामो आयु भएको आयोजना भएको बताए । तत्कालका लागि १०० मेगावाट विद्युत् मात्रै यो लाइनमा पठाउने तयारी छ । यो लाइनको क्षमताका लागि भूमहीमा अहिले १०० एमबीए क्षमताको ‘ट्रान्सफर्मर’ राखिएको सुपरभाइजर पौडेलको भनाइ थियो ।
आयोजनाले एक–दुई महिनाभित्रै तीन सय १५ एमबीएको ‘ट्रान्सफर्मर’ राखेर धेरै विद्युत् प्रसारणको तयारी गरिरहेको छ । आयोजनाका सहायक इन्जिनियर युवराज पाण्डेका अनुसार करिडोरअन्तर्गत खुर्कोट–न्यू बुटबल खण्डको काम सकिएको र चार्जिङसमेत भइरहेको छ । अहिलेसम्मको सबै परीक्षण सफल भएका छन् । यस प्रसारण लाइनको क्षमता दुई हजार मेगावाट रहेको छ । चार्जिङ सम्पन्न भएपछि केही दिनमा अहिलेको लागि झण्डै १०० मेगावाट विद्युत् प्रवाह हुने सहायक इन्जिनियर पाण्डेले जानकारी दिए ।
कालीगण्डकी र यसका सहायक नदीमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण गरिएको हो । आयोजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३स्थित दानाबाट पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटसम्मको ३९दशमलव छ किलोमिटरको पहिलो खण्ड निर्माण भई दुईवर्ष अघिदेखि नै सञ्चालनमा आइसकेको छ भने खुर्कोटमा २२०/१३२ केभी र दानामा २२०/१३२/३३ केभी सबस्टेसन निर्माण गरिएको छ ।
करिडोरको दोस्रो खण्डअन्तर्गत कुश्माबाट नवलपरासीको सुनवल नगरपालिका–१३ भूमहीस्थित (न्यू बुटवल सबस्टेसन)सम्मको झण्डै ९० किलोमिटर प्रसारण लाइन निर्माण सकिएसँगै आयोजनाको अधिकांश काम सकिएको छ । यस खण्डमा दुई सय ३५ वटा टावर निर्माण गरिएको छ । रासस
इलामः प्रविधिअनुसार सरकारी कार्यालय सञ्चालन हुन नसकेको गुनासो भइरहँदा जिल्ला प्रशासन कार्यालय इलामले भने क्युआर कोडमार्फत सेवाग्राहीको सुझाव सङ्कलन शुरु गरेको छ । कार्यालयले प्रदान गर्ने सेवा, गर्नुपर्ने सुधारलगायत विषयमा सेवाग्राहीको सुझाव सङ्कलन शुरु गरेको हो ।
सेवा प्रवाहका बारेमा नागरिकको धारणा, सन्तुष्टिको स्तर, सुझाव सल्लाहका साथै सुधार गर्नुपर्ने पक्षलगायतका बारेमा क्युआर कोडमार्फत सुझाव सङ्कलन गर्न शुरु गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले बताए । सेवा प्रवाहमा सरकारी कार्यालय पनि अब्बल बन्नुपर्ने भन्दै क्युआर कोडको अभ्यास शुरु गरिएको उनको भनाइ थियो ।
‘सेवाग्राहीले आफ्नो मोबाइलबाट क्युआर कोड स्क्यान गरी दिइएका प्रश्नमा गई आफ्ना धारणा व्यक्त गर्न सक्नेछन्’, प्रजिअ पोख्रेलले भने, ‘क्युआरमार्फत कार्यालयबाट प्रवाह हुने सेवाको प्रकार, सेवा प्राप्त गर्न लागेको समय, कर्मचारीको व्यवहार, अतिरिक्त रकम तिर्नु परे/नपरेको अवस्थालगायत विषयमा प्रश्न समेटिएका छन् ।’
उनका अनुसार कार्यालयबाट सेवा प्राप्त गर्न सकिएन भने त्यसको कारणसमेत जान्न पाएको वा नपाएकोसम्मको जानकारी लिन सकिने छ । यो कार्य जिल्लाकै लागि पहिलो अध्यास भएको पोख्रेलले बताए । उनले सेवाग्राहीलाई छिटोछरितो रुपमा सेवा उपलब्ध गराउने उद्देश्यले यो कार्यको थालनी गरिएको जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies