कास्कीः कास्की जिल्लामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको प्रवर्द्धन भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका अनुसार हालसम्म ९० प्रतिशत काम सकिएको हो । आयोजना माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा बनिरहेको छ । वि.सं. २०७७ भदौदेखि विद्युत् आयोजना निर्माण शुरु भएको थियो ।
आयोजनाको सिभिल, हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल र ट्रान्समिसन लाइन (प्रसारण लाइन) निर्माणतर्फका सबै काम अन्तिम चरणमा पुगेको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले बताए ।
उनका अनुसार ढिलोमा पनि आगामी मङ्सिरभित्रमा आयोजना सम्पन्न भएर व्यावसायिकरुपमा विद्युत् उत्पादन हुनेछ । स्थानीयवासी, स्थानीय सरकार र प्रशासनको सहयोगबाट नै आयोजना तोकिएको समयमा सम्पन्न हुन लागेको अध्यक्ष पोखरेलले बताए ।
उनले भने, ‘जलविद्युतमा २५ मेगावाट सानो परियोजना होइन । धेरै मानिस जोडिनुभएको छ । एक हजार पाँच सय जना प्रवर्द्धककको लगानी छ, शुरुवाती लागत बढेको छैन । पारदर्शी रुपमा समयमै आयोजना पूरा गर्न अहोरात्र खटिएका छौँ, छिट्टै सफलता मिल्नेमा आशावादी छौँ ।’
सार्दिखोलाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी छ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर एक सय ८७ मिटर उचाइबाट पावर हाउसमा खसालेर विद्युत् उत्पादन गर्ने योजना छ । पाइपमार्फत लगिएको पानी पावर हाउसमा रहने १२ दशमलव पाँच मेगावाट क्षमताका दुई वटा टर्वाइनमा खसालिने छ । सो आयोजना नदी जलप्रवाहमा आधारित छ ।
कोरोना कहरकाबीच शुरु भएको आयोजनामा शुरुवाती चरणमा काममा असर पुगेकाले एक वर्ष म्याद थप भएको अध्यक्ष पोखरेलले बताए । आयोजनाको म्याद वि.सं. २०८१ साउनसम्म रहेको छ । उनले भने, ‘कोरोनाले काममा असर गर्दा एक वर्ष म्याद थप गर्नुपरेको हो । स्थानीय सरकार, स्थानीयवासी तथा सबैको साथ सहयोगले आयोजना सम्पन्न हुने चरणमा छ । अबको पाँच महिनाभित्रमा आयोजना सम्पन्न भएर विद्युत् उत्पादन हुनेछ ।’
सेती जलविद्युत् आयोजनामा पाँच अर्ब लगानी रहेको छ । यसमा तीन अर्ब ५० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन् । अन्य लगानी प्रवर्द्धक, स्थानीयवासी तथा आइपियो जारी गरेर पूरा गरिने आयोजनाले जनाएको छ ।
आयोजनाका इन्जिनियर उपेन्द्र घिमिरेले हेडबक्र्सको काम सकिएर पानी पठाउन शुरु भएको बताए । त्यसैगरी पाइपलाइनतर्फ एक सय ५० मिटर जति मात्र काम बाँकी छ । ‘पावर हाउसको सिभिलको काम सकिएको । स्विचयार्डको काम भइरहेको छ र इलेक्ट्रोमेकानिकलको केही सामान आउन बाँकी रहेको छ’, घिमिरेले भने, ‘सबै क्षेत्रतर्फ गर्नुपर्ने मुख्य काम सकिएको छ । केही सानातिना काम पूरा गर्नुपर्नेछ ।’
सेती आयोजनाबाट उत्पादित विद्युत् चार किमी दूरीमा लाहाचोकमा रहेको नेपाल विद्युत् प्राधिकरणको सवस्टेशनमा जोडिनेछ । विद्युतगृहबाट सवस्टेशनसम्म प्रसारण लाइन निर्माण भइरहेको छ । प्रसारण लाइमा १३ वटा टावर रहनेमा हालसम्म ११ वटामा काम भइरहेको इन्जिनियर घिमिरेले बताए ।
आयोजनाको सञ्चालकसमेत रहेका सामाजिक क्षेत्र निर्देशक बमबहादुर गुरुङले स्थानीय जनताको सहयोगबाटनै आयोजना सम्पन्न हुने चरणमा पुगेको बताए । निर्माणका क्रममा आउने सानातिना समस्या छलफलका माध्यमबाट समाधान गर्दै आयोजनाबाट निकट भविष्यमा विद्युत् उत्पादन गर्ने गरी काम भइरहेको उनले उल्लेख गरे । आयोजनाबाट देशको ऊर्जा क्षेत्रको विकासमा योगदान पुग्ने विश्वास गुरुङको छ ।
जुम्लाः जुम्लाको तातोपानी गाउँपालिकाको ग्रामीण भेगमा पर्ने भेरी खोलामा राष्ट्रिय प्रसारण लाइनको पहुँच पुगेको छ । पहिलोपटक गाउँमा बिजुली पुगेपछि स्थानीयवासीमा खुसियाली छाएको छ ।
नेपाल विद्युत् प्राधिरण वितरण केन्द्र जुम्लाका प्रमुख नरदेशदत्त रावलले तातोपानी गाउँपालिकाको सबैभन्दा दुर्गम वडा मानिने ७ र ८ मा राष्ट्रिय प्रसारण लाइन पुगेको जानकारी दिए । लामो समयदेखि अन्धकारमा रहेको भेरीखोला बस्ती राष्ट्रिय विद्युत् प्रसारण लाइनसँग जोडिएको छ । केही उद्योग गर्न चाहनेलाई पनि विद्युत्को समस्याले हैरानी बनाएको थियो ।
सदरमुकाम र आसपासका गाउँलाई विद्युत् सेवा उपलब्ध गराउँदै आएको प्राधिकरणले पछिल्लो समयमा जिल्लाका ग्रामीण गाउँका बस्तीमा समेत बिजुली सेवा विस्तार गरेको उनले बताए । गत वर्षको असोज महिनाको अन्तिम साता परेको अविरल वर्षाले प्रभावित भेरीखोलामा राष्ट्रिय प्रसारण लाइन पुगेपछि यहाँका स्थानीयवासीलाई राहत भएको वडाध्यक्ष तिलक रावतले बताए ।
गाउँमा बिजुली बलेपछि उज्यालो हुनुका साथै मोबाइल चार्ज गर्न, रेडियो सुन्न, विद्यार्थीलाई पढ्न लेख्न र विद्युतीय क्रियाकलापबाट गरिने कामलाई सहज बनाएको स्थानीवासी हस्त रावतको भनाइ छ । वर्षौंदेखि टुकी र सोलार बालेर दैनिकी चलाउँदै आएका त्यहाँका नागरिकको प्रत्येक घरमा अहिले बिजुली बलेपछि हर्षित भएका छन् ।
गाउँमा राष्ट्रिय प्रसारण लाइन आएपछि उद्योग र कम्प्युटर कक्षा सञ्चालन गर्न सहज हुने यहाँका स्थानीयवासी बताउँछन् । अहिले जिल्लाको सदरमुकाम खलङ्गालगायत ग्रामीण गाउँ बस्तीमा विद्युत् प्रसारण लाइन जोडिएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाले जनाएको छ ।
मकवानपुरः मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ स्थित सुकौली क्षेत्रका बासिन्दाले एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको स्तरोन्नति (तार फेर्ने) कार्यमा अवरोध गरेका छन् ।
करिब ४१ वर्षअघि प्रसारण लाइन निर्माण गर्दा पीडित जग्गाधनीलाई जग्गाको मुआब्जा तथा क्षतिपूर्ति नदिएकाले रुट सार्नु पर्नेलगायत माग राखी स्थानीयवासीले लाइनको तार (कन्डक्टर) फेर्ने कार्यमा अवरोध गर्दै आएका हुन् । स्थानीयवासीको अवरोधका कारण गत वैशाखको पहिलो हप्तादेखि काम ठप्प छ ।
नेपाल विद्युत् प्राधिकरणले पूर्व–पश्चिम १३२ केभी डबल सर्किट प्रसारण लाइनको क्षमतावृद्धि गर्न हेटौँडादेखि धनुषाको ढल्केबर सबस्टेसनसम्मको करिब १३६ किलोमिटर खण्डमा रहेका कम क्षमताको पुरानो तारलाई बदलेर उच्च क्षमताको नयाँ तार राख्न लागेको हो ।
अहिले उक्त प्रसारण लाइनबाट करिब दुई सय मेगावाट विद्युत् प्रवाह हुँदै आएकामा कन्डक्टर बदलेपछि क्षमता वृद्धि भई करिब चार सय मेगावाट विद्युत प्रवाह गर्न सकिन्छ । यसबाट त्यस क्षेत्रमा विद्युत् आपूर्तिमा सुधार हुने, पश्चिम क्षेत्रमा उत्पादित विद्युत्लाई पूर्वतर्फ थप प्रवाह गर्न र देशभित्र खपत गरी बढी भएको विद्युत्लाई ढल्केबर सबस्टेसनमार्फत भारततर्फ निर्यात गर्न सकिन्छ ।
हेटौँडा उपमहानगरपालिकाको चौकीटोलस्थित सबस्टेसनबाट कमानेसम्म नौ दशमलव५७ किलोमिटर प्रसारण लाइनमध्ये एउटा सर्किटको सात दशमलव पाँच किलोमिटर तार फेरिएको छ । हेटौँडा–कमाने खण्डमा तार बदल्ने क्रममा टावरमा जोडिएको पुरानो तार काटिएकाले अस्थायी रुपमा बाँधेर राखिएको छ । स्थानीयवासीको अवरोधले बाँकी काम पनि रोकिएको छ । एउटाको काम सकिएपछि अर्को सर्किटको काम शुरु हुन्छ ।
तराई क्षेत्रमा विद्युत्को माग बढेको तर कन्डक्टर बदल्न एउटा सर्किट बन्द गरिएकाले अहिलेको लाइन क्षमताले नधान्दा ट्रिपिङलगायत समस्या भई विद्युतकाे माग व्यवस्थापन गर्न असहज भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधान सम्मिलित उच्चस्तरीय टोलीले निर्माणस्थलमा गएर स्थानीय बासिन्दासँग छलफल गरी पूर्व–पश्चिम विद्युत् प्रवाहका लागि मेरुदण्डको रुपमा रहेको लाइनको कामलाई अवरोध नगरदिन आग्रह गरेको छ ।
छलफलमा १५ नं वडाका वडाध्यक्ष सुनिल मोक्तानले करिब ४१ वर्षअघि लाइन निर्माण गर्दा मुआब्जा तथा क्षतिपूर्ति नपाइएको, लाइनका कारण घर निर्माण गर्न नसकिएकोलगायत माग स्थानीयवासीको रहेको बताए । ‘राज्यका निकायले कानुनभन्दा बाहिर गएर निर्णय गर्न सक्दैनन्, यस्तो बाध्यता सबैले बुझ्नुपर्छ, स्थानीयवासीले उठाएका जायज मागलाई प्राधिकरणको व्यवस्थापनले फिल्डमै आएर सम्बोधन गर्ने विश्वास दिलाएको छ, ।’ उनले भने, ‘यसलाई अविश्वास गरी काम नै गर्न नदिने भन्ने हुँदैन, त्यसैले अवरोध नगरी काममा सहयोग गरौंँ ।’
स्थानीयवासीले राखेका जायज मागलाई क्रमशः सम्बोधन गर्दै जाने उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले करिब ४१ वर्षअघि बनेको लाइन अहिले आएर सार्न असम्भव रहेको बताए । ‘प्रसारण लाइन निर्माणमा देशभर नै समस्या छ, निर्माणाधीन लाइनको रुट सार्न त सकिँदैन भने बनिसकेको लाइन सार्न पनि सम्भव नै छैन’ उनले भने, ‘यो लाइनको स्तरोन्नति गर्न सकिएन भने मर्स्याङ्दी नदी करिडोरका आयोजनाको विद्युत् प्रवाह गर्न नसकेर खेर फाल्नुपर्ने अवस्था छ, यस्तो अवस्था आएमा दैनिक रुपमा राज्यलाई करौडौँ घाटा हुन्छ, त्यसले यस्तो महत्वपूर्ण लाइनको काम रोकेर सबै माग पूरा हुन्छ भन्ने नसौचौंँ, काममा अवरोध नगरौँ ।’
प्रसारण लाइनको मार्गधिकारमा पर्ने जग्गाको कित्ताकाट गर्न दिने, बैंकमा धितो राख्नपाउनेलगायत विषयलाई नीतिगत रुपमा सम्बोधन गर्न माथिल्लो तहमा छलफल भइरहेको र स्थानीय स्तरका सामाजिक मागलाई सम्बोधन गर्दै जाने कार्यकारी निर्देशक घिसिङले विश्वास दिलाए ।
एकसय ३२ केभी प्रसारण लाइनको कन्डक्टर स्तरोन्नतिका लागि भएको ठेक्का सम्झौत ४ साउन २०७९ मा कार्यान्वयनमा आएको थियो । उक्त कार्य २०८१ पुसभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
लमजुङः यहाँ उत्पादिन मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली वृद्धि हुन थालेको छ । मर्स्याङ्दी नदीमा पानीको बहाव बढ्न थालेसँगै बेँसीसहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत् आयोजना केन्द्रबाट बिजुली उत्पादन वृद्धि हुन थालेको हो ।
केही दिन यता बेलाबेलामा वर्षा हुनाका साथै हिउँ पग्लिएर मर्स्याङ्दी नदीमा पानी बढेपछि यतिबेला दैनिक ५७/६० मेगावाटसम्म बिजुली उत्पादन भइरहेको केन्द्रका प्रमुख पवन बस्नेतले बताए । उनले भने, ‘जाडो याम शुरु भई सो नदीमा पानीको बहाव कम हुँदै जाँदा क्षमताभन्दा कम उत्पादन भइरहेको यस केन्द्रको बिजुली विस्तारै वृद्धि हुदै गएको छ ।’
केही समय २६ मेगावाट मात्र बिजुली उत्पादन भएकामा यतिबेला वृद्धि हुँदै गएको र एक महिनाभित्रमा पूरै क्षमतामा उत्पादन हुने बताइएको छ । यस आयोजनाबाट बर्खायाममा क्षमताभन्दा बढी बिजुली उत्पादन हुने गर्दछ । मर्स्याङ्दी नदीमा पानीको बहाव बढ्दा बिजुली उत्पादन बढ्ने र पानी घट्दा उत्पादन घट्ने भएकाले नदीको पानीको बहाब क्षमताको आधारमा बिजुली उत्पादन गर्ने गरिन्छ ।
सन् २००० मा निर्माण शुरु भएको यो आयोजना सन् २००८ मा सम्पन्न भएको थियो । कूल रु. २७ अर्ब २० करोडको लागतमा निर्माण भएको यो आयोजना जिल्लाकै पहिलो तथा ठूलो जलविद्युत् आयोजना हो । जिल्लामा आधा दर्जनभन्दा बढी आयोजनाबाट बिजुली उत्पादन भएको छ । ती अधिकांश आयोजनाबाट पनि विस्तारै बिजुली उत्पादन वृद्धि भइरहेको बताइएको छ ।
जिल्लामा ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’, पचास मेगावाटको माथिल्लो मर्स्याङ्दी ए, न्यादी खोलामा निर्माण गरिएको ३० मेगावाटको न्यादी जलविद्युत्, दोर्दी करिडोरमा उत्पादित हिमालयन पावर पार्टनरको २७ मेगावाटको दोर्दीखोला, लिबर्टी इनर्जी लिमिटेडको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजना, दोर्दीखोला जलविद्युत् कम्पनीको १२ दशमलव एक मेगावाटको दोर्दी–१, छ्याङ्दी खोला हाइड्रोपावर कम्पनीको चार मेगावाट क्षमताको जलविद्युत्लगायतबाट बिजुली उत्पादन भइरहेको छ ।
सङ्खुवासभाः सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन सात जिल्लामा निर्माण गरिने भएको छ । अरुण तेस्रो आयोजनाले प्रसारण लाइनका लागि सङ्खुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सिरहा, महोत्तरी र धनुषा जिल्लामा पाँच सय ९७ टावर निर्माण गर्न लागेको हो ।
आज जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा अरुण तेस्रो आयोजनाको चार सय केभी प्रसारण लाइन सङ्खुवासभाको दिदिङ हुँदै धनुषाको ढल्केबर पुर्याइने आयोजनाले जनाएको छ । विद्युत् प्रसारण लाइन आयोजनाको विद्युतगृहस्थल चिचिला गाउँपालिकाको दिदिङ हुँदै धनुषाको ढल्केबर पुर्याइनेछ ।
प्रसारण लाइनका लागि सङ्खुवासभा ५९, भोजपुर एक सय, खोटाङ ७९, उदयपुर एक सय ४७, सिरहा २३, महोत्तरी ८७ र धनुषामा एक सय दुई वटा टावर रहने छ । टावर निर्माणका लागि जग्गा अधिग्रहण गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत प्रक्रिया अघि बढाइएको जनाइएको छ ।
प्रसारण लाइन चिचिला गाउँपालिका दिदिङ पुखुवाबाट शुरु भई डाँडागाउँ, आहाले, छ्याङकुटी हुँदै खाँदबारी नगरपालिकाको सेकाहा, मानेभञ्याङ, माथिल्लो चेवा, खोरण्डे, पिप्ले रयले बेँसीहुँदै भोजपुर पुग्ने सतलज कम्पनीको कार्यालय तुम्लिङटारले जनाएको छ ।
भारतीय सतलज कम्पनीले निर्माण गरिरहेको अरुण तेस्रो जलविद्युत् परियोजनाका लागि अहिले सडक, ड्याम साइड, पावर हाउस, सुरुङमार्ग निर्माण धमाधम सञ्चालन भइरहेका छन् ।
सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सीन्दामा ड्याम साइडको काम भइरहेको छ भने पावर हाउस चिचिला गाउँपालिका दिदिङको पुखुवामा विद्युतगृहस्थलको निर्माण चलिरहेको आयोजनाले जनाएको छ । पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको अरुण तेस्रोबाट ९ मेगावट विद्युत् उत्पादन हुनेछ । आयोजना निर्माणका लागि करिब एक खर्ब २० अर्ब खर्च अनुमान गरिएको छ ।
प्रभावित परिवारलाई आयोजनाले ३० युनिटका दरले निःशुल्क विद्युत् उपलब्ध गराउने सम्झौता भएको छ । यस आयोजनाबाट नेपालले २५ वर्षमा तीन सय ४० अर्ब रोयल्टी, निःशुल्क बिजुली, आय कर, भ्याट र भन्सार शुल्कबाट लाभ लिनेछ ।
भोजपुरः पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाको टिमले गृहजिल्ला भोजपुर सदरमुकाममा रहेको त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसमा ई–लर्निङ सेन्टर स्थापना गरेको छ ।
आफैँ संरक्षक रहेको ईश्वर मन्दिर काठमाडौंको सहयोगमा कोइरालाको टिमले क्याम्पसका लागि आवश्यक कम्प्युटरसहितका सामग्री सहयोग गरेपछि आजदेखि सेन्टर सञ्चालनमा आएको हो । जिल्लाका अधिकांश विद्यालयमा ई–लर्निङ सेन्टर सञ्चालनका लागि आवश्यक सामग्री सहयोग गर्दै आइरहेको टिमले अहिले भने भोजपुर क्याम्पसमा ई–लर्निङ सेन्टर सञ्चालनका लागि सहयोग गरेको सहयोगी संस्था ईश्वर मन्दिर काठमाडौंका महासचिव सङ्केत कोइरालाले बताए ।
महासचिव कोइरालाले भने, ‘आधुनिक प्रविधिको युगमा विद्यार्थीलाई अब कलम र पेन्सिलभन्दा पनि कम्प्युटर जरुरी भएकाले शैक्षिक संस्थामा कम्प्युटर शिक्षाको शुरुवात गर्ने उद्देश्यका साथमा अभियान शुरु गरिएको हो ।’
क्याम्पसमा ई–लर्निङ सेन्टर सञ्चालनमा आएसँगै अध्ययनरत विद्यार्थीलाई पठनपाठनमा समेत सहयोग पुगेको छ । सामुदायिक विद्यालयको गुणस्तरीयता नभएको भन्दै अभिभावकले आफना नानीहरुलाई निजी विद्यालयमा पढाइरहेको अवस्थामा पूर्वअर्थमन्त्री कोइरालासहितको टिम भने भोजपुरका सामुदायिक विद्यालयको शैक्षिक सुधारमा लागि परेका हुन्।
इच्छाशक्ति भएमा पहुँचमा नहुँदा पनि आफ्नो गृहजिल्लाका लागि केही गर्न सकिन्छ भने उदाहरण खिलराज रेग्मी सरकारको अन्तरिम मन्त्रिपरिषदमा अर्थमन्त्री रहेका शङ्करप्रसाद कोइरालासहितको टिमले देखाएको छ । भोजपुर नगरपालिकामा रहेको विद्योदय मावि, जनसेवा आधरभूत विद्यालय, सरस्वती आधारभूत विद्यालय, आदर्श शिशु आधारभूत विद्यालय, हतुवागढी गाउँपालिकामा रहेको सगरमाथा मावि, षडानन्द नगरपालिकामा रहेको अरुण मावि, अरुण गाउँपालिकाको शारदा माविसहित पुस्तकालयलगायतका संस्थालाई पनि कोइरालाको टिमले यसअघि नै कम्प्युटरलगायतका सामग्री सहयोग गरिसकेको छ
‘विद्यार्थी साथमा, कम्प्युटर हातमा’ भन्ने अभियान शुरु गरेको पूर्वअर्थमन्त्री कोइरालाको टिमले भोजपुरका विद्यालयमा गरेको सहयोग शैक्षिक सुधारमा महत्त्वपूर्ण भएको जनसेवा आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थिरबहादुर खत्रीले बताए । पूर्वअर्थमन्त्री कोइरालाले आगामी दिनमा पनि भोजपुरका अन्य विद्यालयमा पनि यो सहयोग निरन्तर रहने बताए ।
‘विगतमा जस्तो पठनपाठन गराएर मात्र हुँदैन, अब विद्यालयमा प्रविधिमैत्री ई–लर्निङ सेन्टर पनि स्थापना हुनुपर्छ, त्यसका लागि पनि हामीले सहयोग अभियान सुरु गरेका हौँ’, कोइरालाले भने ।
पूर्वअर्थमन्त्री कोइरालाको टिमले जिल्लाका शैक्षिक संस्थालाई प्रविधिमैत्री बनाउन गरेको सहयोग महत्त्वपूर्ण भएकाले अब घरबाट किताब कपी लिएर विद्यालयमा पढन आउने भन्दा पनि विद्यार्थीले प्रविधिबाट नै सिक्नुपर्ने प्राध्यापक इन्द्र राउतको भनाइ छ
काठमाडौंः बुधबार विश्व दूरसञ्चार र सूचना समाज दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्रप्रसाद सुवेदीले दिवसका अवसरमा आज सरकारले दूरसञ्चारसँग सम्बन्धित विषयमा अन्तक्र्रियालगायत कार्यक्रम गर्न लागेको जानकारी दिए ।
त्यसैगरी नेपाल दूरसञ्चार प्राधिकरणले आज बिहान होटल राजधानीको र्याडिसनमा दूरसञ्चारसम्बन्धी गोष्ठीको आयोजना गरेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।
विश्व दूरसञ्चार दिवस सन् १९६९ मे १७ देखि प्रत्येक वर्ष मनाइँदै आएको छ । दूरसञ्चारको विकासँगै आधुनिक युगमा फोन, मोबाइल र इन्टरनेट नागरिकको पहिलो आवश्यकता भएको छ । यो बिना जीवन कल्पना गर्न गाह्रो भएको छ ।
‘सूचना तथा सञ्चार प्रविधिका माध्यमबाट अति कम विकसित देशहरूको सशक्तीकरण’ नारासहित मनाइने दूरसञ्चार दिवसले सबै नागरिकलाई प्रविधिसँग जोडिने अवसर प्रदान गरेको छ ।
कन्चनपुरः विपद् जोखिम न्यूनीकरणका लागि शुक्लाफाँटा नगरपालिकाका तीन ठाउँमा अत्याधुनिक साइरन जडान गरिएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आर्थिक तथा प्राविधिक सहयोगमा विपद्को उच्च जोखिममा रहेका स्थानमा ती साइरन जडान गरिएका हुन् ।
नगरपालिकाको वन वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख कृष्णप्रसाद भट्टका अनुसार साइरनबाट आगलागी, हावाहुरी, बाढी, डुबान, जङ्गली जनावरलगायत विषयमा सहज रुपमा सूचना प्रवाह गर्न सकिने छ । ‘बीस सेकेन्डसम्मको सन्देश रेकर्ड गरेर सूचना प्रवाह गर्ने क्षमता साइरनमा छ, साइरनको आवाज एकदेखि डेढ किलोमिटरसम्म सुन्न सकिन्छ’, उनले भने । विपद्सम्बन्धी सन्देश नगरपालिकाका महत्वपूर्ण सूचना जडान गरिएका साइरनमार्फत नगरवासीसम्म पुर्याउन मद्दत पुग्ने भएको छ ।
विपद्को उच्च जोखिममा रहेको वडा नम्बर ८ को सिद्धनाथ मावि बेलडाँडी, वडा नं १२ को कार्यालय र वडा नं ५ को कार्यालयमा साइरन जडान गरिएका हुन् । साइरनको प्रणालीबाट विपद् जोखिम क्षेत्रमा एसएमएस, अनलाइन र साइरनको आवाजमा सूचना सम्प्रेषण हुनेछ । यस प्रणालीमार्फत विपद्का बेला नगरपालिका, जिल्ला, प्रदेश वा केन्द्रबाट जारी गरिएका सूचना पनि प्रवाह गर्न सकिनेछ । यसका लागि पाँच सय मिटरको क्षेत्रमा रिमोटको सहायतामा साइरन सञ्चालन गर्न सकिन्छ ।
बाढीको उच्च जोखिम रहेका क्षेत्र तथा जङ्गली जनावरबाट असर परेका क्षेत्रमा साइरन जडान गरिएको नगरप्रमुख रणबहादुर महराले बताए । साइरन जडान गरेपछि विपद्जन्य घटनाहरुमा कमी आउने विश्वास लिइएको र आवश्यकताअनुसार अन्य वडामा पनि विपद् जोखिम न्यूनीकरणका लागि कार्य अगाडि बढाइने उनको भनाइ थियो ।
‘नगरपालिकामा सबैभन्दा ठूलो समस्या बाढी र जङ्गली जनावरकै हो’, नगर उपप्रमुख कल्पना पन्तले भनिन्, ‘प्रत्येक वर्ष धनजनको क्षतिसँगै मानवीय क्षति हुँदै आएको छ, त्यस कार्यलाई न्यूनीकरण गर्न साइरन जडानले मद्दत पुर्याउँछ ।
दाङः सवारी दुर्घटना न्यूनीकरण गर्न तुलसीपुर उपमहानगरपालिका चार प्रमुख स्थानमा ‘डिजिटल बोर्ड’ स्थापना गरिएको छ । ट्राफिक नियमको पालना गराउन तथा चेतना फैलाउने उद्देश्यले तुलसीपुरको बसपार्क, वीरेन्द्र चोक, गोटिखोला र जसपुरमा डिजिटल बोर्ड स्थापना गरिएका हुन् ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले सोमवार आयोजित कार्यक्रममा मानवीय त्रुटिका कारण दुर्घटनाको जोखिम बढेको हुँदा सबै सचेत हुनुपर्ने बताए । बजारमा व्यवसाय गर्दै गर्दा अरुलाई अप्ठ्यारो नहुने गरी व्यवसाय गर्न उनले सबैलाई आग्रह गरे ।
यस्तै राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेशका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईँले अस्वस्थ प्रतिस्पर्धा र तीव्रगतिका कारण सबैभन्दा धेरै दुर्घटना हुने गरेको उल्लेख गरे । उनले दुर्घटना न्यूनीकरण गर्न आम नागरिकलाई ट्राफिक नियमबारे सचेतना दिनका लागि तुलसीपुरमा नागरिक तथा स्थानीय सरकारको सहयोगमा डिजिटल बोर्ड स्थापना गरिएको बताए ।
तुलसीपुर –५ र तुलसीपुरका युवा व्यवसायी विनिल केसीले ती डिजिटल बोर्ड राख्नका लागि आर्थिक सहयोग उपलब्ध गराएका थिए । कार्यक्रममा राष्ट्रिय यातायात महासङ्घका सल्लाहकार सुरेश हमालले दुर्घटना न्यूनीकरण गर्न यातायात व्यवसायी, मजदुर र ट्राफिक प्रहरीबीच नङ र मासुको सम्बन्ध हुनुपर्ने बताएका थिए ।
बसपार्कमा यात्रु तान्ने परम्पराको अन्त्य अझै हुन नसकेको र सिसी क्यामेराको व्यवस्था नहुँदा व्यवसायीलाई समस्या परेको हुँदा यातायात क्षेत्र समस्या सम्बोधन हुने गरी काम गर्न स्थानीय सरकारलाई आग्रह गरे । यस्तै कार्यक्रममा स्वतन्त्र यातायात मजदुर सङ्गठन लुम्बिनी प्रदेशका उपाध्यक्ष केशव भण्डारी, तुलसीपुर उपमहानगर–५ का वडाध्यक्ष वीरेन्द्र शाहलगायतकाले मन्तव्य राखेका थिए ।
तनहुँः तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा पेनस्टक पाइप जडान शुरु गरिएको छ । आयोजनाको चरण दुई अन्तर्गत ‘हाइड्रोमेकानिकल’ कार्यअन्तर्गत ठाडो सुरुङमा पेनस्टक पाइप जडान शुरु गरिएको हो ।
ठाडो सुरुङमा जडान गर्नुपर्ने एक सय ५५ मिटर पेनस्टक पाइपमध्ये पाँच मिटर जडान गरिएको आयोजना प्रमुख राजाभाइ शिल्पकारले जानकारी दिए । उनका अनुसार चरण–२ अन्तर्गत सिनो हाइड्रो कर्पोरेसन, चीनले भूमिगत विद्युतगृह, मुख्य सुरुङ, र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत काम भएरहेको छ । विद्युत्गृह खन्ने काम सम्पन्न गरी कङ्क्रिटिङ गरिरहेको छ भने टेलरेस सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ ।
यस चरणको निर्माणका लागि सिनो हाइड्रो कर्पोरेशनसँग वि.सं. २०७५ असोज १५ गते खरिद सम्झौता भएको थियो । खरिद सम्झौता बमोजिम निर्माण शुरु गर्न कार्यादेश जारी गरेपश्चात् सिनोले वि.सं. २०७५ माघ ६ गतेबाट आयोजना स्थलमा परिचालित भई निर्माण जारी राखेको छ । चरण–१ अन्तर्गत डाइभर्सन सुरुङ १ को माथिल्लो भाग वारपार (ब्रेक थ्रु) भएपश्चात् हाल यसलाई सडक सुरुङको रुपमा प्रयोगमा ल्याइएको जनाइएको छ । त्यस्तै रकबोल्ट जडान, गुणस्तर परीक्षण तथा थप सटक्रिटको काम जारी रहेको आयोजनाले जनाएको छ ।
डाइभर्सन सुरुङ २ अन्तर्गत डाइभर्सन सुरुङ आउटलेटको आवश्यक सहायतासहित सुरुङ खन्ने तथा ब्लाष्टिङ जारी रहेको आयोजना प्रमुख शिल्पकारले जानकारी दिए । डाइभर्सन सुरुङ इनलेटतर्फ आवश्यक सहायतासहित सुरुङ खन्ने तथा ब्लास्टिङ गरी गत फागुन २६ गते सुरुङको माथिल्लो भागको ब्रेक थ्रु गरी बेञ्चिङ तथा सुरुङको पोर्टल एरियामा कङ्क्रिट लाइनिङको काम भइरहेको छ ।
प्रवेश सडकतर्फ सेती नदीको दायाँ किनारतर्फबाट बाँधको माथिल्लो भागतर्फ जाने प्रवेश सडकको किनारामा नाली निर्माण गरिनाका साथै ग्याबिन राख्नेलगायत कार्य गरिएको आयोजनाले जनाएको छ । स्लोप खन्ने कामअन्तर्गत दायाँतर्फ आवश्यक सपोर्टसहित इलिभेसन तह स्लोप खन्ने काम इलिभेसन तह चार सय ३० मिटरमा पुगेको छ, भने बायाँतर्फ सटक्रिट, वारमेश तथा रिब्स जडानसहित खन्ने काम जारी रहेको जनाइएको छ ।
विद्युतगृहको काम अन्तर्गत ग्रागटिङका लागि सुरुङभित्र ड्रिलिङ गरिएको छ भने कङ्क्रिट लाइनिङ सम्पन्न भएको छ । चरण–३ अन्तर्गत प्रसारण लाइन निर्माणका क्रममा हालसम्म ५२ टावरको जग हाल्ने काम सकिएको छ । निर्माणाधीन आयोजनाअन्तर्गत ३३ टावर जडानको काम सम्पन्न भएको छ भने शून्य दशमलव ९८८३ किलोमिटर तार तान्ने काम पनि सम्पन्न भएको आयोजनाका प्रमुख शिल्पकारले जानकारी दिए । नौ वटा टावरको जग संरक्षण सम्पन्न भएको, एक स्थानमा टावर जडान, एक स्थानमा संरक्षण र सात स्थानमा जग हाल्ने काम भइरहेको उनले बताए ।
दमौली भरतपुर २२० केभी प्रसारण लाइन अन्तर्गत चितवन जिल्लामा टार प्याड निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण गर्न मुआब्जा रकम वितरण शुरु भएको जनाइएको छ । आयोजनाको समग्र निर्माण वि.सं. २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies