म्याग्दीः म्याग्दीका विभिन्न स्थानमा १३ पक्की पुल निर्माण भएका छन् । जिल्लाका ग्रामीण बस्तीलाई सहरसँग जोड्ने गरी सडकको पहुँच पुर्याउने उद्देश्यले गण्डकी प्रदेश र सङ्घ सरकारको लगानीमा १३ पक्की पुल निर्माण भएका हुन् ।
प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास कार्यालय म्याग्दीले १०, सङ्घीय सरकारअन्तर्गतको सडक डिभिजन कार्यालय बागलुङले दुई र राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइमार्फत एक पक्की पुल निर्माण गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले जानकारी दिए । उनका अनुसार छ पुल निर्माण सम्पन्न भई यातायातका साधन सञ्चालन भइसकेका छन् ।
अन्य पुल निर्माण सम्पन्न भए पनि औपचारिक रुपमा सञ्चालनमा आउन बाँकी रहेको अधिकारीले बताए । उनका अनुसार अन्नपूर्ण गाउँपालिकाको हिस्तान र राम्चेलाई जोड्ने सन्सारी खोला पुल, मालिका गाउँपालिका केन्द्र दरवाङको छयारछेरेको म्याग्दी खोलामा निर्माण भएको पुल र मराङ बेँसी अर्कला पुल निर्माणसँगै विकट ग्रामीण बस्ती पालिकाका केन्द्र र सदरमुकामसँग जोडिएका छन् ।
मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरदेखि वडा नं ५ अर्मनलाई केन्द्रसँग जोड्न म्याग्दी खोलामा रु. ११ करोड २४ लाख २५ हजार ५२ लागतमा निर्माण भएको पुलबाट यातायातका साधन सञ्चालन भइरहेका छन् । विसं २०७५ पुस २५ गते दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी लुम्बिनी प्राकृतिक जेभीसँग ठेक्का सम्झौता भएको थियो । कोरोना सङ्क्रमणका कारण निर्माण ढिला भएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ । पुल ८० मिटर लम्बाइको छ ।
त्यस्तै, रु. १० करोड ७२ लाख १२ हजार लागतमा बेनी नगरपालिका–४ सिङ्गादेखि मङ्गला गाउँपालिका–३ वरङ्जालाई जोड्ने पक्की पुल निर्माण भएको छ । उक्त पुलको लुम्बिनी प्राकृतिक जेभीले निर्माण गरेको हो ।
पूर्वाधार विकास कार्यालय म्याग्दीले मालिका–७ भारबाङघाटमा पक्की पुल निर्माण गरेको छ । भारवाङको पुल निर्माण गर्न देव एण्ड सायर बिएन जेभीसँग छ करोड २४ लाख २३ हजारमा ठेक्का सम्झौता भएको थियो । पश्चिम म्याग्दीको मालिका–५ र धौलागिरि–७ को सिमाना दाङखोलामा एक करोड ९३ लाखमा पक्की पुल निर्माण भएको छ । उक्त पुल निर्माणका लागि इन्द्रेणी फेवा जेभीले ठेक्का सम्झौता लिएको थियो ।
बिमदेखि मराङ र मल्कबाङलाई जोड्ने अर्कलामा दुई करोड ७२ लाखमा फेवा सावित्री जेभी पोखराले पुल निर्माणको जिम्मा लिएको थियो । म्याग्दीका विभिन्न बस्तीलाई सहरसँग जोड्ने गरी धमाधम पुल निर्माणले गति लिन थालेपछि स्थानीय उत्साहित भएका छन् ।
अब हामी पनि सहरदेखि टाढा छैनौँ भन्ने महसुस हुन थालेको छ मालिका–६ का प्रेम सिउथानीले बताए । गाउँगाउँमा मोटर गुड्न थालेपछि बल्ल विकास भनेको यस्तो हुँदो रहेछ भनेर बुझ्न थालिएको स्थानीयको भनाइ छ । रासस
बलेवाः जिल्लामा व्यावसायिक पशुपक्षी पाल्ने किसानको सङ्ख्या वृद्धि भएको छ । आर्थिक वर्ष २०७८/०७९ को तुलनामा आव २०७९/०८० मा व्यावसायिक फार्म सञ्चालन गर्ने किसानको सङ्ख्या वृद्धि भएको हो ।
गत वर्षभन्दा आव २०७९/८० मा जिल्लाभर ३७ पशुपक्षी फार्म थप भएका छन् । वैदेशिक रोजगारीबाट फर्केका, सरकारको लागत अनुदान पाएका र परम्परागत शैलीलाई व्यावसायिकतामा ढालेका किसानले फार्म वृद्धि गरेका हुन् ।
जिल्लाभर सात सय ४७ फार्मले व्यावसायिकरुपमा पशु तथा पक्षीजन्य उत्पादन गरिरहेका छन् । आव २०७८/०७९ मा यो सङ्ख्या सात सय १० मात्रै थियो । ‘किसानले विस्तारै व्यावसायिक बन्न सिक्नुभएको छ, व्यावसायिक उत्पादनले मात्रै आम्दानी गर्न सकिन्छ भन्ने चेतना किसानलाई छ’, भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङका प्रमुख डा. ऋषिराम सापकोटाले भने, ‘फार्मको सङ्ख्या वृद्धि हुनु खुसीको कुरा हो, फार्म वृद्धि हुँदा हामी मासु र दूधमा आत्मनिर्भर छौँ ।’
उनका अनुसार बागलुङमा अघिल्लो आवमा सबैभन्दा धेरै ‘ब्रोइलर’ कुखरा फार्म थप भएका छन् । एकै आवमा १२ फार्म थप हुँदा ब्रोइलर कुखुरा फार्मको सङ्ख्या एक सय १९ पुगेको उनले बताए । व्यावसायिकरुपमा बाख्रा पाल्ने किसानको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । गत आवमा मात्रै १० व्यावसायिक बाख्रा फार्म सञ्चालनमा आएका छन् । बागलुङमा बाख्रा फार्मको सङ्ख्या एक सय ९७ पुगेको छ । गाई फार्म ७२, भैँसी फार्म ८५, भेडा फार्म २९ र बङ्गुर फार्म एक सय दुईबाट वृद्धि भएर एक सय सात पुगेका छन् ।
त्यस्तै लेयर्स कुखुराको फार्म ३२, स्थानीय कुखुरा फार्म ४० र माछा फार्म ४९ पुगेका छन् । पशुजन्य उत्पादनका लागि आवश्यक घाँस फार्मको सङ्ख्या पाँच रहेको छ भने मिश्रित फार्म सात र अन्य पशुपक्षीजन्य फार्म तीन छन् ।
जिल्लाभर कुल ४३ हजार ६५ किसान पशुपक्षी पालनमा संलग्न रहेको तथ्याङ्क केन्द्रसँग रहेको पशुसेवा विज्ञ केन्द्र प्रमुख सापकोटाले बताए । ‘जिल्लाभर बाख्रा पाल्ने किसानको सङ्ख्या सबैभन्दा धेरै छ, गाईभैँसी, कुखुरा र बङ्गुर पाल्ने किसान क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा हुनुहुन्छ’, उनले भने, ‘विविध कारणले फार्मकत्रो सङ्ख्या बढेको भए पनि पशुको सङ्ख्या भने घट्दो छ ।’ बङ्गुर, गाई, कुखुरालगायतमा सङ्क्रामक रोगको प्रभावलगायतका कारण सङ्ख्या घटेको उनले बताए ।
पशुपक्षीजन्य फार्मको विस्तारसँगै बागलुङ दूध र मासुमा आत्मनिर्भर भएको छ । दुई लाख ४९ हजार दुई सय ११ जनासङ्ख्या रहेको जिल्लामा प्रतिव्यक्ति वार्षिक ९१ लिटर दूधको आवश्यकता हुनेमा जिल्लाभरको उत्पादनको हिसाबले प्रतिव्यक्ति ९२ दशमलव पाँच लिटर दूध उपलब्ध हुन्छ । अढचालीस अण्डा प्रतिव्यक्ति प्रतिवर्ष आवश्यकता हुनेमा ४४ अण्डामात्रै जिल्ला उत्पादनले पुग्ने गरेको जनाइएको छ । रासस
कर्णालीः कर्णालीमा अनुदानको आयोडिनयुक्त नुन ढुवानी गर्दै आएको साल्टट्रेडिङ कर्पोरेशन लिमिटेड प्रदेश कार्यालय नेपालगञ्जले नयाँ ठेक्कामार्फत पहल थालेको छ । अहिले सदरमुकामस्थित डिपोमा मात्र आयोडिन नुन रहेको अवस्था छ ।
सदरमुकामदेखि बाहिरका डिपोमा आयोडिनयुक्त नुन नहुँदा सर्वसाधारण नुनकै लागि सदरमुकाम पुग्ने गरेका छन् । सदरमुकामस्थित डिपोमा साल्टट्रेडिङ कर्पोरेशन लिमिटेडका कर्मचारीले नुन वितरण गरिरहेका छन् । गाउँका डिपो तथा बिक्री केन्द्रमा ठेकेदारले आफैँ ढुवानी तथा बिक्री गर्दै आएका छन् ।
जाजरकोटका दल्ली र थलह डिपोमा नुन छ । अन्य डिपोमा नुन सकिएको छ । जुनिचाँदेको ताँगामा भने अहिले नुन नरहेको बताइएको छ । डोल्पाको सदरमुकाम दुनैबाहेक अन्य ठाउँमा अहिले आयोडिनयुक्त नुन छैन ।
जुफाल, काइगाउँ, सर्मी र लिकुमा आयोडिनयुक्त नुन नरहेको प्रदेश कार्यालय नेपालगञ्जले जनाएको छ । उपल्लो डोल्पाको तिन्जे बिक्री केन्द्रमा कोभिडपछि नुन नै ढुवानी हुन सकेको छैन । यहाँ केन्द्रीय कार्यालय आफैँले तिब्बतमार्फत नुन ढुवानी गर्दछ । एक हजार सात सय २५ क्विन्टल नुनको कोटा निर्धारण गरिएको छ ।
रुकुम–पश्चिमको चौरजहारी र मुसिकोटमा दुई डिपो छन् । मुसिकोटमा मात्र नुन छ भने चौरजहारी नुन नरहेको बताइएको छ । जुम्लामा दुई डिपो र एक बिक्री केन्द्र रहेका छन् । त्यहाँ पनि सदरमुकामबाहेक अन्य ठाउँमा नुन छैन । कालीकोट सदरमुकामा डिपो छ भने अर्को रासकोटमा बिक्री केन्द्र छ । अहिले रासकोटमा नुन नरहेका अवस्था छ ।
हुम्लाको सदरमुकाम सिमकोटबाहेक बाहिरका डिपो तथा बिक्री केन्द्रमा नुन नरहेको सो कार्यालयले जनाएको छ । सर्केगाड, श्रीनगर, याल्वाङ्गमा बिक्री केन्द्रमा नुन नरहेको पाइएको छ । यहाँ हवाइमार्गमार्फत नुन ढुवानी हुने गरेको छ । मुगुको सदरमुकाममा डिपोबाहेक अन्य दुई ठाउँमा बिक्री केन्द्रमार्फत नुन वितरण हुँदै आएको छ । अहिले सदरमुकामबाहेक अन्य बिक्री केन्द्रमा नुन छैन । श्रीकोट र सोरुकोटमा नुन सकिएको लामो समय भयो ।
कुन ठाउँमा कति कोटा
रुकुम–पश्चिमको सदरमुकाममा तीन हजार सात सय १८ क्विन्टल कोटा निर्धारण गरिएको छ भने चौरजहारी बिक्री केन्द्रमा आठ सय ८५ क्विन्टल निर्धारण गरिएको छ । जाजरकोटको सदरमुकाममा एक हजार पाँच सय पाँच, दल्लीमा एक हजार ६२, थलहमा एक हजार ६२ र ताँगामा दुई सय ६५ दशमलव ५० क्विन्टल नुनको कोटा निर्धारण गरिएको छ ।
डोल्पा सदरमुकाममा पाँच सय ३१, जुफालमा तीन सय ५४, सर्मीमा एक सय ७७, काइगाउँमा एक सय ७७ र लिकुमा एक सय ७७ क्विन्टल कोटा निर्धारण गरिएको छ । तिन्जेमा एक हजार सात सय २५ दशमलव ७० क्विन्टल नुनको कोटा निर्धारण गरिएको छ । यो कोटा अपर्याप्त रहेको जनगुनासोसमेत आएको छ । मुगुको सदरमुकाममा एक हजार दुई सय ३९, श्रीकोटमा आठ सय ८५, सोरुकोटमा आठ सय ८५ क्विन्टल नुनको कोठा निर्धारण गरिएको छ ।
कालीकोट सदरमुकाममा तीन हजार पाँच सय ४०, रास्कोटमा एक हजार एक सय ५० दशमलव ५०, जुम्लाको सदरमुकाममा तीन हजार ९८, नराकोटमा सात सय ९६ दशमलव ५० र गोरुचौरमा आठ सय ८५ क्विन्टल कोटा निर्धारण गरिएको छ । हुम्लाको याल्वाङ्ग बिक्री केन्द्रमा चार सय ४२ दशमलव ५०, श्रीनगरमा आठ सय ८५ र सर्केगाडमा आठ सय ८५ क्विन्टल नुनको कोटा निर्धारण गरिएको छ । यहाँ नुन हवाइमार्गबाट नै ढुवानी हुँदै आएको प्रदेश कार्यालयका प्रमुख महेश चौधरीले बताए । नयाँ बोलपत्र भइसकेकाले ढुवानी प्रक्रिया शुरु हुने उनको भनाइ छ ।
कर्णालीमा २५ हजार क्विन्टल वार्षिक कोटा भएमा मात्र सबैलाई पुग्ने कार्यालय प्रमुख चौधरीले बताए । भारतबाट नुन आउने भएकाले कर्णालीको नुन नेपालगञ्जबाट ढुवानी हुने गरेको उनले बताए । सदरमुकाममा रहेका डिपोबाहेक अन्य ठाउँमा रहेका बिक्री केन्द्रमा ठेकेदार आफैँले ढुवानी गरेर आफैँले नुन बिक्री गर्दै आएका छन् । ठेकेदारले समयमै नुन ढुवानी नगर्दा कर्णालीका सर्वसाधारण हैरान हुँदै आएका छन् ।
आयोडिनयुक्त नुनको माग बढ्दै गए पनि सरकारले कोटा घटाउदै जाँदा समस्या हुने गरेको छ । बर्सेनि नुनको कोटा घटाउँदा दुर्गममा नागरिकलाई समस्या भएको जाजरकोटको जुनिचाँदे गाउँपालिका–५ का कालीबहादुर खड्काले बताए । रासस
गोरखाः गोरखाको आरुघाट गाउँपालिकाले बर्खायामको समयमा पालिकाभित्रका मुख्य–मुख्य ग्रामीण सडक मर्मतसम्हारका साथै सडक सञ्चालन राख्न सडक हेरालु परिचालन गरेको छ ।
गाउँपालिकाले पालिकाभित्र १५ सडक हेरालु नियुक्त गरी परिचालन गरेको छ । गाउँपालिकाका अध्यक्ष राजु गुरुङका अनुसार छनोटमा परेका सडक हेरालुलाई तालिमसमेत प्रदान गरिएको छ । बर्खामा सडकमा बग्ने भल तथा स–साना पहिरा समयमा नै हटाउन तथा सडक सरसफाइ गर्न सडक हेरालु नियुक्त गरी परिचालन गरेको उनको भनाइ छ ।
सडक हेरालुमार्फत भल तथा पहिरा व्यवस्थापन गरी मुख्य–मुख्य ग्रामीण सडक तत्काल मर्मतसम्भार गर्नसके निर्माण भइसकेका सडकमा क्षति न्यून गर्न सकिने अध्यक्ष गुरुङले बताए । नियुक्त भएका सडक हेरालुले गाउँपालिका, वडा कार्यालय र वडाको प्राविधिकको निगरानी तथा निर्देशनमा वडाभित्रमा मुख्य–मुख्य सडकमा नियमित यातायात सञ्चालन गर्ने गरी काम गर्ने छन् ।
नाला सरसफाइ गर्ने, खाल्डाखुल्डी पुर्ने, भल कटाउने, सडकमा पानी बग्न नदिने, झाँडी तथा झारपात हटाउने, सडक अतिक्रमणबाट जोगाउनेलगायत काम गर्नेछन् । सानातिना भल पानी र पहिराले भत्काएका सडक समयमा मर्मत गर्न नसक्दा सडकमा धेरै क्षति हुने गरेको छ । यसबाट लामो समयसम्म सडक अवरुद्ध हुन्छ ।
‘सडक हेरालुलाई सडक मर्मतसम्भारमा प्रयोग हुने सामग्री गाडा, बेल्चा, गैँची, कोदाली, घन, जावेल, कराइ, टेपलगायतका आवश्यक सामग्री गाउँपालिकाले उपलब्ध गराएको छ’, अध्यक्ष गुरुङले भने । रासस
दाङः तुलसीपुर उपमहानगरपालिका– १०,११ र १२ का किसानको खेतमा अस्पताल तथा होटलजन्य फोहोर पुग्ने गरेका छन् । त्यहाँका किसानले पटक–पटक सो विषयमा ध्यानाकर्षण गराउँदा सुनुवाइ नभएको गुनासो गरेका छन् । ‘यो विषयमा हामीले पटक–पटक उपमहानगरपालिकालाई ध्यानाकर्षण गरायौँ’,तुलसीपुर ११ कटाहाका जनकलाल चौधरीले भने, ‘तर, पनि यसमा कुनै चासो भएको छैन ।’
प्रत्येक वर्ष वर्षाको समयमा किसान उपमहानगरपालिका कार्यालयमा ध्यानाकर्षण गराउन पुग्छन् । खेत रोप्दा सिसाले काट्ने गरेको, खेतलाई गोडमेल गर्न पनि नसक्ने अवस्था रहेको, आँगनमै फोहोर को गन्ध आउने गरेको त्यहाँका किसानको पटक–पटक गुनासो हुन्छ । तर, चासो नदिएकाले समस्या ज्यूँकात्यूँ रहेकाले अब कडा कदम चाल्ने स्थानीयवासी रेशम केसीले भने, ‘अब हामी खेतमा गएको सबै फोहोर ट्याक्टरमा हालेर उपमहानगरपालिकाको गेटमा छोडिदिन्छौँं ।’
खेतमा, घर आँगनमा आएको फोहोर लाई एक ठाउँमा जम्मा गरिदिने गरेको भए पनि उपमहानगरपालिकाको फोहोर फाल्ने गाडीसमेत नआउने गरेको उनीहरुको गुनासो छ ।
फोहोर को गाडीले लगेपनि धेरै राहात हुने किसानको भनाइ छ । तर, उपमहानगरपालिका सरसफाइ व्यवस्थापन शाखा प्रमुख माधव पौडेलले फोहोर व्यवस्थापनका लागि ट्याक्टर प्रयोग गर्ने गरेको बताए । ‘हामीसँग ६ जना फोहोर का कर्मचारी र ट्याक्टर लिएर जाने गरेका छौंँ’,उनले भने, ‘त्यसले किसानका खेतको फोहोर उठाउने गरेका छौंँ ।’ बजार बासीले फोहोर जम्मा गरेर गाडीमा दिने भन्दा पनि जहाँ पायो त्यहीँ फालिदिने गर्दा पनि यस्तो समस्या वर्सेनि देखिने गरेको छ । रासस
चितवनः चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित खानेपानी आयोजनाको सोलारमा चट्याङले क्षति पुर्याएपछि स्थानीय खानेपानीको समस्यामा परेका छन् । चण्डिभञ्ज्याङ्मा सञ्चालित ढुङ्ग्रे लिफ्टिङ खानेपानी आयोजनाको सोलारमा असार ८ गते परेको चट्याङले क्षति पुर्याएको थियो ।
क्षति पुर्याएको महिना दिन पुग्न लाग्दा पनि समयमै मर्मत गर्न नसक्दा खानेपानीको लागि स्थानीयले सास्ती व्यहोर्नु परेको हो । दुई वर्षअघि सञ्चालनमा आएको उक्त खानेपानी आयोजनाको सोलार प्यानल र कन्ट्रोलरमा गत असार ८ गते परेको चट्याङले क्षति पुर्याएको ढङ्ग्रे–तुन्तेस खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष दिलकुमार गुरुङले जानकारी दिए । उनका अनुसार चट्याङले आयोजनाको मुख्य पम्पिङमै समस्या आएपछि ट्याङ्कीमा पानी तान्न सकिएको छैन ।
‘खानेपानीको सोलारमा क्षति भएकाले पुरानै अवस्थामा करिब १ घण्टा लगाएर कुवाको पानी पिउनुपर्ने बाध्यतामा स्थानीय छन्’, गुरुङले भने । उनका अनुसार उक्त आयोजनाबाट ढुङ्ग्रेका करिब ३५ घरपरिवारका साथै राष्ट्रिय माध्यामिक विद्यालय ढुङ्ग्रे र चण्डिभञ्ज्याङ स्वास्थ्य चौकीले खानेपानी प्रयोग गरिरहेका थिए । लामो समयदेखि नियमित खानेपानी आपूर्ति हुन नसक्दा स्थानीयसँगै विद्यालय र स्वास्थ्यचौकीलाई समेत अप्ठ्यारो परेको उनको भनाइ थियो ।
खानेपानीको अभावका कारण वर्षायाममा झरेको बलेनीको पानी सङ्कलन गरी काम चलाउनु परेको राष्ट्रिय माध्यामिक विद्यालयका प्रध्यानाध्यापक विश्वनाथ गुरुङले बताए । ‘पिउनका लागि हामी विद्यार्थीलाई स्थानीय कुवाबाट भरेर खानेपानी ल्याउन लगाएका छौँ भने शौचालयका लागि वर्षायाममा झरेको बलेनीको पानी सङ्कलन गरी काम चलाइरहेका छौँ’, उनले भने ।
खानेपानी उपभोक्ता समितिका अध्यक्ष दिल गुरुङले चट्याङले क्षति पुर्याएको सोलार प्यानल र कन्ट्रोलर मर्मतको लागि समितिसँग रकम नभएकाले वडा र पालिकालाई अनुरोध गरेको बताउँदै पालिकाले अहिलेसम्म सुनुवाइ नगरेको जानकारी दिए ।
इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले स्थानीयको गुनासो आउने वित्तिकै तत्कालै प्राविधिक पठाएर चट्याङले क्षति पुर्याएको कन्ट्रोलर मर्मतका लागि काठमाडौं पठाइएको बताए । मर्मत कम्पनीले समयमै मर्मत गरेर जडान नगरिदिएकाले नियमित खानेपानी वितरणमा ढिलाइ भएको उनको भनाइ थियो । ‘अब दुईरतीन दिनभित्रैमा सामान ल्याएर जडान गरी पानी वितरणको तयारीमा छौँ’, अध्यक्ष गुरुङले भने ।
वडा नं ६ का वडाध्यक्ष लक्ष्मण चेपाङले चट्याङले क्षति पुर्याएको स्थानमा विद्युत् पुगेकाले सोलार सिस्टम हटाई छिट्टै विद्युतीय सिस्टम जडान गरी खानेपानीको समस्याको दीर्घकालीन रुपमा समाधान गरिने बताए ।
इच्छाकामना गाउँपालिकाको ‘एक घर एक धारा’ अवधारणाअन्तर्गत गाउँपालिकाको रु. २५ लाख, जिल्ला समन्वय समिति चितवनको रु. २५ लाख र वाग्मती प्रदेश सरकारको रु. ५० लाख गरी कूल एक करोडको लागतमा साझेदारी सिरान ढङ्ग्रे, माझ ढुङ्ग्रे र तुन्तेस गाउँका करिब ८० घरधुरीमा खानेपानी पुर्याउनका लागि दुई वर्ष अघि उक्त खानेपानी आयोजना निर्माण गरिएको थियो ।
ढुङ्ग्रे र तुन्तेसमा २० हजार लिटर क्षमताको छुट्टाछुट्टै पाँच वटा ट्याङ्की निर्माण गरिएको छ भने करिब ८० घरमा घरैपिच्छे एउटा धारा निर्माण गरिएको आयोजनाले जनाएको छ ।
चितवनः पवित्र धार्मिक तीर्थस्थल देवघाटमा ढुङ्गेधारा निर्माण गरिएको छ । भरतपुर महानगरपालिका–१ को आँपटारी चोकदेखि देवघाट जाने बाटोको बीच क्षेत्रमा ढुङ्गेधारा निर्माण गरिएको हो । ढुङ्गेधारा निर्माण गरिएको ठाउँ मान्छेको मृत्यु भएपछि शव लैजाँदा विश्राम गर्ने स्थल हो ।
बागमती प्रदेश सरकारको लगानीमा ढुङ्गेधारा निर्माण गरिएको हो । आर्थिक वर्ष २०७९/८० को कार्यक्रमअन्तर्गत करिब रु. २१ लाखको लागतमा ढुङ्गेधारा निर्माण गरिएको खानेपानी तथा सरसफाइ डिभिजन नं १ हेटौँडाका इन्जिनियर हरिराम पौडेलले जानकारी दिए । उनका अनुसार कार्यालयले हेटौँडा र चितवन दुवै जिल्लामा खानेपानी र सरसफाइको क्षेत्रमा काम गर्छ ।
ढुङ्गेधारामा तीन किलोमिटर टाढाबाट मुहानको पानी ल्याइएको छ । यो क्षेत्रमा खानेपानीको धारा नहुँदा यात्रु र वन्यन्तुले सहजरुपमा पानी खान पाएका थिएनन् । ‘यो बाटो प्रयोग गर्ने बटुवा, मर्निङ वाकमा जाने स्थानीय र मलामीलाई खानेपानीको अभाव थियो’, इन्जिनियर पौडेलले भने, ‘ढुङ्गेधारा निर्माणपछि बाँदरलगायतका वन्यजन्तुले पनि पानी खान पाउनेछन् ।’
आँपटारी चोकदेखि देवघाटसम्मको बाटोमा कहीँ पनि पानीको व्यवस्था नभएका कारण ढुङ्गेधारा निर्माण गरिएको उनले बताए । ढुङ्गेधारा निर्माणपछि यात्रुले मूलको पानीले प्यास मेटाउन पाउने छन् भने देवघाटको पवित्र जल लैजान पाउने छन् । ढुङ्गेधारामा मूर्ति निर्माणलगायतका केही काम निर्माण गर्न बाँकी रहेको उनले बताए । ढुङ्गेधारामा काठमाडौंबाट ढुङ्गा ल्याइएको हो भने मकवानपुरका कालीगढले काम गरेका हुन् । इन्जिनियर पौडेलका अनुसार यो चितवनकै पहिलो र एकमात्र ढुङ्गेधारा हो ।
खानेपानी तथा सरसफाइ डिभिजन नं १ हेटौँडाका कार्यालय प्रमुख सन्तोषकुमार श्रेष्ठले प्रदेश सरकारले नियमितरुपमा ढुङ्गेधारा निर्माणको कामलाई अघि बढाएको बताए । उनले यो आवमा पनि मागका आधारमा विभिन्न क्षेत्रमा ढुङ्गेधारा निर्माण गरिने जानकारी दिए । कार्यालयले भक्तजनलाई नै लक्षित गरेर आँपटारी र देवघाटमा सार्वजनिक शौचालय निर्माण गरिसकेको बताए ।
देवघाट क्षेत्रमा नियमितरुपमा मर्निङ वाक गर्दै आएका युवा व्यवसायी चन्दन अग्रवालले ढुङ्गेधारा निर्माणपछि निकै खुसी लागेको बताए । उनले भने, ‘यो क्षेत्रमा पानीको निकै समस्या थियो, ढुङ्गेधारा निर्माणपछि पानीको समस्या समाधानसँगै आकर्षकसमेत देखियो ।’ उनले ढुङ्गेधाराले नेपालको परम्परा र संस्कृति जोगाउने भन्दै यसले देवघाटधाममा आउने भक्तजनलाई आनन्द प्रदान गर्ने बताए ।
उनी सो क्षेत्रमा रहेका बाँदर र गाईलाई दैनिकरुपमा खानेकुरा दिँदै आएका छन् । ढुङ्गेधाराले मानिससँगै वन्यजन्तुको प्यास मेट्ने उनले बताए । योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका अध्यक्ष नवराज ढकालले ढुङ्गेधाराले देवघाटको सांस्कृतिक महत्वलाई थप टेवा प्रदान गरेको बताए । रासस
काठमडौंः काठमाडौंको चन्द्रागिरि नगरपालिका–९ स्थित मत्स्यनारायण मन्दिरमा ‘मत्स्यनारायण मेला’ मंगलबारदेखि शुरु भएको छ । तीन वर्षको अन्तरालमा पर्ने पुरुषोत्तम महिना (मलमास)मा सो मन्दिरमा मत्स्यनारायणको मेला लाग्ने गर्दछ ।
यो महिनालाई अधिक मास महिना पनि भन्ने गरिन्छ । एक महिनामा दुईवटा औँसी पर्यो भने उक्त महिनालाई पुरुषोत्तम (मलमास,अधिक) मास भन्ने धार्मिक तथा शास्त्रीय मान्यता रहिआएको छ ।
चन्द्रागिरि–९ का वडाध्यक्ष अच्युत अधिकारीले आजदेखि शुरु भएको मत्स्यनारायण मेला एक महिनासम्म चल्ने जानकारी दिए । मलमासको अवधिभर उक्त मेलामा नेपाल तथा भारतबाट समेत भक्तजन दर्शन गर्न आउने उनको भनाइ थियो ।
मलमास अवधिभर सो मन्दिरमा नारायणको पूजा/पुरुषोत्तम महात्म्य वाचन गर्ने परम्परा छ । भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छन् भन्ने धार्मिक विश्वाससमेत रहेको छ ।
ललितपुरः पाटन दरबार क्षेत्रको पूर्वतिर स्थित नरनारायण मन्दिरको पुनःनिर्माण शुरुवात गरिएको छ । अवशेष मात्र बाँकी रहेको सो मन्दिर शिलापत्रको अनुसार नेपाल संवत् ७३५ मा निर्माण भएको पाइन्छ ।
ललितपुर महानगरपालिकाको वडा नं ६ मा पर्ने सुन्धारा क्षेत्रलाई नेवार समुदायको भाषामा नुगः भनेर चिनिन्छ । यस क्षेत्र आसपमा सयौँ वर्ष पहिले अस्तित्वमा रहेर भत्किएका सम्पदाको अवशेष अहिले पनि छन् ।
नुगः तदर्थ समितिका संयोजक राजीव श्रेष्ठले पुनःनिर्माण शुरु भएको नरनारायण मन्दिरलाई अवशेषका आधारमा निर्माण गर्न थालेको जानकारी दिए । उनले भने, ‘सुन्धारा क्षेत्रमा छ पुरात्वातिक सम्पदाका अवशेष बाँकी छन्, । यी सम्भवतः विसं १९९० को भूकम्पले भत्काएको हुुनुपर्छ । ती अवशेषलाई पुनःनिर्माण गर्न सरकारले चासो नदेखाउँदा सम्पदाको जग्गा अतिक्रमण गरेर घर बन्दैछन् ।’
नरनारायण मन्दिरको अवशेष अध्ययन गरी नक्सापास गर्दा मन्दिरको गहिराइ आठ फिड रहेको हुँदा मन्दिरको उचाइ ३२ फिड अग्लो हुनेछ । मन्दिर पुनःनिर्माण गर्नका लागि पुरातत्व विभागमा गएर आफूले प्राविधिक सहयोग मागेको तर पुरातत्व विभागले सहयोग नगरेको नुगः तदर्थ समितिका संयोजक राजीव श्रेष्ठले दुःखेसो पोखे ।
मन्दिर पुनःनिर्माण गर्नलाई नक्सा तयार गर्न मात्र करिब ११ महिना लागेको उनको भनाइ छ । विसं २०७४ को स्थानीय निर्वाचनबाट वडा सदस्यमा निर्वाचित श्रेष्ठ अवशेष मात्र बाँकी रहेका पुरात्वातिक सम्पदालाई पुनःनिर्माण गर्न र जगेर्ना गर्न रुचि भएकाले ललितपुर महानगरको आर्थिक सहयोगमा पुनःनिर्माणमा जुटेको बताए ।
पुननिर्माण शुरु भएको पुरातात्विक सम्पदा नरनारायण मन्दिरको छेउमा प्वास्याः फल्चा (पाटी) घर भूकम्प गएको आठ वर्षपछि पुनःनिमार्णको अन्तिम चरणमा छ । नेवार समुदायको परम्परागत घरको झल्को दिने गरी पनुःनिर्माण भएको प्वास्याः फल्चा (पाटी)लाई विसं २०७२ को भूकम्पले क्षति पुर्याएको थियो ।
नेवारी भाषामा प्वास्याः फल्चा (पाटी) घरमा विशेषगरी नेवारी समुदायको विभिन्न सार्वजनिक कार्यक्रम हुने गर्छ । प्वास्याः फल्चा (पाटी) घरलाई ज्येष्ठ नागरिक र बालबालिका भेला हुने थलोका रुपमा पनि लिने गरिन्छ । भूकम्पले क्षति पुर्याएको उक्त सम्पदा पुनःनिर्माण गर्न दुई वर्ष लाग्यो । अबको दुई महिनाभित्र निमार्ण सम्पन्न हुनेछ ।
पाटनको सुन्धारा परिसरमा धेरै ऐतिहासिक सम्पदाको अवशेष रहेको तर यी सम्पदाहरुको पुनःनिमार्णको चासो कसैले नदेखाएको ७० वर्षीय स्थानीय राधेश्याम प्रजापतिले गुनासो गरे । सरकारले ऐतिहासिक सम्पदाको संरक्षण र पुनःनिर्माणमा चासो नदेखाउँदा सार्वजनिक जग्गा अतिक्रमण भएको उनको भनाइ छ । रासस
बागलुङः सोमबार साउन १ गते अर्थात साउनेसङ्क्रान्ति बागलुङका छन्त्याल तथा अन्य समुदायले ‘लुतो फाल्ने’ गर्दछन् । बिहानदेखि साँझसम्म चेलिबेटी बोलाउने र आफन्त जम्मा भएर मिठामिठा परिकार खाने, दुःख–सुख साटासाट गर्ने र साँझ घर–घरमा लुतो फाल्ने चलन छ । पछिल्लो समय लुतो फाल्ने संस्कृति हराउँदै गएको स्थानीय बताउँछन् ।
बजार क्षेत्रमा प्रचलन हराइसके पनि बागलुङका केही गाउँमा भने अहिले पनि प्रचलन रहेको ढोरपाटन नगरपालिका–९ का ८१ वर्षीय खिमबहादुर पुनले बताए । युवामा पुस्ता हस्तान्तरण हुन नसक्दा यो संस्कृति हराउँदै गएक भन्दै बुढापाका चिन्तित बनेका छन् । आफूले सानैदेखि कला, संस्कृति तथा परम्परा सिकेको बताउँदै अहिलेका पुस्ताले कुनै पनि परम्परा संरक्षणमा चासो नदिँदा यस्ता संस्कृति र चलन हराउँदै गएको उनको भनाइ थियो ।
पहिलो साउने सङ्क्रान्तिको साँझ कुरिलो, लुतेझार, पानीसरो, कागभलायो, कुकुरडाइनो, रातपातेलगायत औषधीय गुण बोकेका वनस्पतिका र कागती, अमिलो बेलौतीलगायतका फलफूलसहित कण्डारक नामक राक्षसको पूजा गरी घरको चारैतिर बलिरहेको अगुल्टो फाल्ने गरिए पनि अहिले त्यस्तो गर्न छोडिएको पुनले बताए । लुतो फ्याँक्दा नाङ्लो ठटाउने, डम्फू बजाउने, घण्ट बजाउने, ढिँकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने चलन रहेकोमा पछिल्लो समयमा लुतो फाल्ने चलन निकै कम भएको उनले बताए ।
यसरी तुलो फाल्दा रोगव्याधी नलाग्ने, बालीनाली राम्रो हुने र पशुचौपायालाई राम्रो हुने मान्यता रहेको पुनको भनाइ थियो । ‘पहिले–पहिले साउने सङ्क्रान्ति भव्य रुपमा मनाउने गरिन्थ्यो, अहिले त्यो चलन निकै कम भएको छ, दिनभरी जङ्गल र बारीमा डुलेर कुरिलो, लुतेझार, काँडा जम्मा गर्ने, साँझ आँगनमा ठूलो आगो बालेर दनदनी बलिरहेको अगुल्टोलाई घर वरपर घुमाएर मकैबारीमा फलिन्थ्यो, लुतो फाल्दा दुःख कष्ट आइ नलाग्ने, बालीनाली र वस्तुभाउलाई राम्रो हुन्छ, अहिले त कसले लुतो फाल्ने ?’, उनले भने ।
पुनले हालसम्म आफूले लुतो फाल्दै आएको भन्दै सन्तानले यो चलन गर्ने हुन् कि होइनन् भन्ने चिन्ता लागेको बताए । उनले लुतो फाल्ने विधि कसैले सिक्न चासो नदिएकाले यो प्रचलन हराउँदै जाने चिन्ता थप बढेको बताए ।
स्थानीय प्रेम बुढा मगरले असारमा किसानले बारीमा रुज्दैँभिज्दैँ खेतीपाती गर्ने र त्यस क्रममा हिलोका कारण फैलिन सक्ने छालाको रोगबाट मुक्ति पाउन साउने सङ्क्रान्तिका दिन तुलो फाल्ने चलन बसेको बताए । आज साँझ लुतो, दादलगायत रोगबाट मुक्ति मिल्छ भनेर बाउबाजेले लुतो फाल्ने गरे पनि अहिले त्यो चलन हराउँदै गएको उनको भनाइ थियो ।
‘हामी सानो हुँदा बाउबाजेले विभिन्न विधि÷पद्दति अपनाएर लुतो फाल्ने गर्नुहुन्थ्यो, तर अहिले उहाँहरु हुनुहुन्न, उहाँहरुसँगै विस्तारै लुतो फाल्ने प्रचलन पनि हरायो’, मगरले भने, ‘हामीले पहिला सिकेनौँ अहिले केकसरी लुतो फाल्ने केही थाहा छैन ।’
गाउँघरमा लुतो फाल्ने प्रचलन कम भए पनि साउन महिनालाई महिलाले विशेष रुपमा मनाउन थालेका छन् । साउने सङ्क्रान्तिका दिनदेखि एक महिना सौभाग्यको प्रतीक हरियो चुरा र मेहेन्दी लगाउनुका साथै भगवान शिवलाई प्रसन्न पार्न सोमबारे व्रत बस्ने गर्दछन् । व्रत बस्ने, हरियो चुरा र मेहेन्दी लगाउने प्रचलन भने बढेसँगै यसले विकृतिसमेत भित्र्याएको बुढापाको गुनासो छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies