सुर्खेतः अपाङ्गता भएका व्यक्तिले स्थानीय तहले दिने सेवालाई अपाङ्गतामैत्री बनाउन सुझाव दिएका छन् । सुर्खेतको सिम्ता गाउँपालिकामा गरिएको सार्वजनिक बहस कार्यक्रमका सहभागीले स्थानीय सरकारले दिने सेवा र संरचनालाई अपाङ्गतामैत्री बनाउन आग्रह गरेका हुन् ।
कार्यक्रमका सहभागी सिम्ता गाउँपालिकाका ऐनबहादुर विकले अपाङ्गता भएका व्यक्तिले सहज रुपमा सार्वजनिक निकायबाट सेवा पाउने वातावरण बनाउनुपर्ने माग गरे । उनले स्थानीय जनप्रतिनिधि यसप्रति गम्भीर भएर लाग्नुपर्नेमा जोड दिए ।
योगेन्द्र शाहीले ‘ब्रेनलिपी’मार्फत जिज्ञासा राख्दै पालिकामा बन्दै गरेका भौतिक संरचना अपाङ्गमैत्री भए/नभएको बारे अनुगमन गर्नुपर्ने भन्दै अहिले अनुगमन गरिएको छ ? भनी प्रश्न गरे । उनले स्थानीय सरकारले गरिरहेका कामको अनुगमन गरे प्रभावकारी नतिजा पाउन सकिने विचार राखे ।
रुविन शाहीले सार्वजनिक निकाय अपाङ्गतामैत्री नहुँदा अपाङ्गता भएका व्यक्ति सेवा लिन आउँदा समस्या हुने गरेको बताए । गाउँपालिकामा डिजिटल नागरिक वडापत्र राखिएको भन्दै उनले पालिकाले उपलब्ध गराउने सेवालाई अडियोमार्फत जानकारी दिने व्यवस्था मिलाइ दिन आग्रह गरे ।
‘अहिले डिजिटल बोर्डको व्यवस्था गरिएको छ, यो राम्रो पक्ष हो’, शाहीले भने, ‘दृष्ट्रिविहीनको सहजताका लागि यहाँबाट उपलब्ध गरिने सेवाका बारेमा अडियोमार्फत जानकारी दिने व्यवस्था गरिदिन म अनुरोध गर्दछु ।’ स्थानीय वीरेन्द्र ओलीले पालिकामा अपाङ्गतामैत्री शौचालय नभएको भन्दै त्यतातर्फ ध्यान दिन आग्रह गरे ।
कार्यक्रमका सहभागीले पालिकाभित्र सबै अपाङ्गता भएका व्यक्तीले परिचयपत्र नपाएको भन्दै यस विषयमा गम्भीर भएर काम गर्न पालिका तथा जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले पालिकाबाट उपलब्ध हुने सेवालाई अपाङ्गमैत्री बनाउने प्रयास गरिएको भन्दै डिजिटल बोर्डमा अडियोको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरे । ‘हामीले अहिले सबै सेवा डिजिटल बोर्डमार्फत जानकारी दिइरहेका छौँ’, उनले भने, ‘त्यसमा अडियो राख्न मिल्छ भन्ने लागेको छ । आगामी दिनमा अडियोको व्यवस्था पनि गर्नेछौँ ।’
गाउँपालिकाकी उपाध्यक्ष गोमा शर्मा रेग्मीले अपाङ्गता भएका व्यक्तिलाई आर्थिक रुपमा मजबुत बनाउने गरी पालिकाले योजना बनाइरहेको जानकारी दिँदै अब पालिकाभित्र बन्ने हरेक भवन अपाङ्गतामैत्री हुने बताइन् । ‘यसअघि के भयो भन्दा पनि अब यहाँ बन्ने हरेक सार्वजनिक भवन अपाङ्गमैत्री बनाउने छौँ”, उनले भनिन्, ‘हामी निर्वाचित भएर आएपछि बनिरहेका भौतिक संरचना अपाङ्गमैत्री नै बनिरहेका छन् ।’
अन्य सेवालाई पनि अपाङ्गमैत्री बनाइने उनको भनाइ थियो । विसं २०७८ को जनगणनाअनुसार सिम्ता गाउँपालिकामा पाँच सय ७२ अपाङ्गता भएका व्यक्ति छन् ।
चितवनः बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका होटल व्यवसायी आशावादी बनेका छन् ।
साउन र भदौ महिना पर्यटनका हिसाबले बेमौसम मानिन्छ । यो समयमा होटलमा काम गर्ने मजदुर, कर्मचारीमध्ये अवस्था हेरेर आधालाई बिदासमेत दिने गरिन्छ । यही समयमा स्वदेशी र विदेशी पर्यटक गत वर्षको तुलनामा बढेपछि व्यवसायी उत्साहित भएका हुन् ।
क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष गङ्गा गिरीका अनुसार अहिले सौराहामा दैनिक एक हजारदेखि एक हजार दुई सयसम्म पर्यटक रहेको अनुमान छ । तीमध्ये आधा विदेशी छन् । विदेशीमा पनि चिनियाँको सङ्ख्या बढ्दो छ । सौराहामा एक सय २५ होटल छन् । ती होटलको क्षमता छ हजार दुई सय जनाको रहेको छ ।
क्षमताको हिसाबले पर्यटक न्यून भए पनि बेमौसममा समेत आएको यो सङ्ख्याले व्यवसायीलाई उत्साहित बनाएको उनको भनाइ छ । यस बेला चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल वाकबाहेकका गतिविधि रोक्ने गरिन्छ । सामुदायिक वनमा सफारीका गतिविधि सञ्चालन हुने गर्दछन् ।
अहिले दैनिक एक सय जनाभन्दा बढीले हात्ती सफारी गरिरहेको युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले जानकारी दिए । यसरी हात्ती चढ्नेमा धेरै विदेशी छन् । कोभिडपछि पहिलोपटक चिनियाँ आएकाले हात्ती सफारीमा उनीहरुको ध्यान बढी हुने गरेको छ । क्षेत्रीय होटल सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरे सडकको अवस्था राम्रो नहुँदासमेत आएको पर्यटकको यो सङ्ख्यालाई राम्रो मान्छन् । कतिपय होटलमा कार्यक्रम चलिरहेका छन् ।
राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा बजारीकरण गर्नसक्ने होटलमा पर्यटक बढी रहेका छन् । उनले भने, ‘विगतको बर्सातको तुलनामा यो वर्ष पर्यटकको सङ्ख्या राम्रो छ ।’ चिनियाँ आउन थालेकाले अबको हिउँदपछि क्रमश पूर्ववत् अवस्थामा पर्यटन व्यवसाय फर्कनेमा उनी विश्वस्त छन् ।
होटल व्यवसायी गुणराज थपलियाले यो बेमौसम भएकाले पर्यटक राम्रो छ भन्न नसकिए पनि विगतको भन्दा सुधार हुँदै गएको बताए । उनले भने, ‘सङ्केत राम्रो छ । अबका दिनमा पक्कै पनि पर्यटकको माहोल राम्रो बन्छ ।’ विगतको तुलनामा कोभिडको प्रभाव क्रमशः घट्दै गएको उहाँको बुझाइ रहेको छ । यहाँ स्वदेश र विदेशबाट चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा सफारी गर्न पर्यटक आउने गर्दछन् ।
चितवन देशकै तेस्रो पर्यटकीय गन्तव्य हो । चितवन भित्रने अधिकांश पर्यटकको रोजाइ सौराहा हुने गर्दछ । पछिल्ला वर्षहरुमा खर्चिला पर्यटक पश्चिम चितवनका पर्यटकीय गन्तव्यमा जान रुचाउने गरेका छन् । भूकम्प, नाकाबन्दी, कोभिडका कारण थला परेको पर्यटन व्यवसाय क्रमशः पूर्ववत् अवस्थामा फर्कने अपेक्षा व्यवसायीकोे छ ।
जाजरकोटः लगातारको वर्षाका कारण यहाँका ग्रामीण क्षेत्रका सडक बन्द हुन थालेका छन् । खलङ्गा–बारेकोट, खलङ्गा–कुशे, पश्चिम जुनिचाँदेलगायत अन्य दर्जन बढी सडक अवरुद्ध भएको स्थानीय तहले जनाएका छन् ।
हिउँदयाममा जथाभावी खनिएका सडक वर्षायाममा पानी पर्न थालेपछि भत्किएर ग्रामीण क्षेत्रका अधिकांश सडक अवरुद्ध भएका हुन् । सदरमुकामदेखि भेरी करिडोरअन्तर्गत पर्ने डोल्पाको दुनैसम्मको सडक ठाउँ–ठाउँमा अवरुद्ध हुँदा गाडी बदलेर यात्रा गर्नुपरेको यात्रु मोहन शाहीले बताए ।
जिल्लाभित्रका अधिकांश सडक अवरुद्ध हुँदा आवतजावतमा समस्या आएको बारेकोट गाउँपालिका–५ का विवेक सिंहले बताए । उनका अनुसार आन्तरिक तथा लामो दुरीका लागि सञ्चालन भएका सडकमा पुल निर्माण नभएकाले खोला बढ्दा यातायात सेवा अवरुद्ध भएका हुन् ।
नयाँ खनिएका २८ र पुराना गरी ५६ सडक बन्द भएका सिंहले बताए । यातायातका साधन नचल्दा सदरमुकामसम्म आवागमनमा सास्ती हुने गरेको उनको भनाइ थियो । ‘सडक अवरुद्ध भएकाले यातायातका साधन सञ्चालनमा समस्या छ । सदरमुकामसम्म यात्रा गर्न धेरै दिन लाग्ने गरेको छ’, उनले भने, ‘बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्याउन पनि सास्ती भइरहेको छ ।’
हिउँदमा निर्माण गरिएकासडक वर्षाको पानीले बगाउँदा क्षतिसमेत भएको सिंहको भनाइ छ । निरन्तरको वर्षाले हवाई सेवासमेत प्रभावित भएको छ । नेपालगन्ज–डोल्पाको हवाई सेवा अवरुद्ध भएको छ ।
टेलिफोन सेवा अवरुद्ध
लगातार परेको पानीका कारण बारेकोट गाउँपालिका–५ मा रहेको टेलिफोनको टावरमा समस्या आएपछि गाउँपालिकामा सञ्चार सेवा अवरुद्ध भएको छ । दुई दिनदेखि यहाँका सर्वसाधाण सञ्चार सेवाबाट वञ्चित भएका वीरेन्द्र एश्वर्य माविका प्रधानाध्यापक गोखरबहादुर सिंहले जानकारी दिए । नेपाल टेलिकम जाजरकोटले टावरमा समस्या आएकाले मर्मतका लागि प्राविधिक टोली परिचालन गरिएको जनाएको छ । रासस
बेनीः बेनी नगरपालिका–७ मा पर्ने कुरीलाखर्कको ओडारमा बस्दै आएका राहुल विकलाई बुधबार उद्धार गरिएको छ । बेनी–अर्थुङ्गे सडकको छेउमा रहेको ओडारमा बस्दै आएका बेनी नगरपालिका–५ भिरमुनिका ५० वर्षीय विकलाई उद्धार गरिएको हो । बेनी नगरपालिकाकी उपप्रमुख ज्योति लामिछानेले विकलाई ओडारबाट उद्धार गरेर मानव सेवा आश्रमको बागलुङ शाखामा लगिएको जानकारी दिइन् ।
‘एक वर्षदेखि ओडारमा बस्दै आउनुभएका राहुलको अवस्था नारकीय थियो । धेरै पटकको प्रयासपछि आज आश्रममा जान मान्नुभयो’, उनले भनिन्, ‘घरका सदस्य नभएका र सामाजिक बहिष्करणमा पर्नुभएका उहाँलाई पुनर्स्थापना पना नहुँदासम्म मानव सेवा आश्रममा राखेर उपचार गर्ने व्यवस्था मिलाएका छौँ ।’
शारीरिक कमजोरीका कारण श्रम गर्न नसक्ने र मागेर ल्याएको खानेकुरा पकाएर खाने गरेका राहुललाई नगर उपप्रमुख लामिछाने र नगरप्रहरीको टोलीले उद्धार गरेका थिए । छोराहरुको मृत्यु, श्रीमतीले दोस्रो विवाह गरेको र आफन्तले हेला गरेपछि ओडारमा बस्न बाध्य भएका राहुलका बारेमा २०७९ साल फागुन ८ गते राससमार्फत समाचार सार्वजनिक भएको थियो ।
‘शक्ति र उमेर हुँदासम्म ३५ वर्ष भारतमा काम गरे’ राहुलले भने, ‘उमेर घर्किएपछि गाउँ फर्कंदासाथ दिने कोही भएनन् । हेला गर्न थालेपछि घर छाडेर ओडारमा बस्नु परेको हो ।’ उनले कन्दमूल खोज्ने र मागेर ल्याएको अन्नबाट दैनिकी चलाउने गरेका थिए ।
सो ओडर बेनीबजारदेखि करिब एक किलोमिटर नजिकको दूरीमा छ । सडकको कान्लामाथिको सानो ओडारमा फाटेका कपडा ओछ्याएर सुत्ने गरेका राहुलको शरीर चिसोले सुन्निएको छ । काम गर्न नसक्ने भएकाले कसैले दिएको तथा मागेर भेटेको आफैँले पकाएर खाने गरेका कुरिलाखर्कका सुरेश ढुङ्गानाले बताए । ‘मेरो भैँसी फार्मसँगै जोडिएको ओडारमा बस्न थाल्नुभएको डेढ वर्ष जति भयो, काम गर्न सक्दिन । मलाई यही ठीक छ भन्दै अन्यत्र जान मान्नुभएको थिएन’, उनले भने ।
राहुल बस्दै आएको ओडारमा दिउँसोमा घाम लागे पनि रातमा चिसो हावा र पानीको बाछिटा सिधै छिर्छ । मागेर जुटाएको खाद्यान्न बाँदरबाट जोगाउनै हम्मे पर्ने राहुललाई रातमा चितुवाको डर रहेको थियो । रासस
तनहुँः तनहुँको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिकाले १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा तयार गरेको छ । गाउँपालिका र मदानी मिडिया प्रालिको सहकार्यमा उक्त सूचना सात भाषामा तयार गरिएको हो । ती सूचनाहरु अब गाउँपालिकाका विभिन्न स्थानमा ‘क्युआर स्क्यान’ गरी पढ्न तथा सुन्न सकिने भएको छ ।
बन्दीपुर घुम्न आएका पर्यटकहरुलाई पर्यटकीय गन्तव्यसम्म सहज पहुँच स्थापना गर्ने उद्देश्यसहित सहकार्य गरिएको बन्दीपुर गाउँपालिकाका प्रमुख सुरेन्द्र थापाले जानकारी दिए । मदानी मिडियाका अध्यक्ष विष्णुकान्त घिमिरेले क्युआर कोडसहितको सुचना गाउँपालिका अध्यक्ष थापालाई बुधबार हस्तान्तरण गरेका छन् ।
गन्तव्यबारे जानकारीहरु नेपाली, अङ्ग्रेजी, चाइनिज, जापानिज, कोरियन, फ्रेन्च लगायतका भाषामा तयार पारिएको छ । बन्दीपुरको थानीमाई मन्दिर, मणि मुकुन्देश्वरी पर्खाल (मिनी ग्रेटवाल), विन्ध्यवासिनी मन्दिर, पद्य पुस्तकालय, पातलेद्वार गुफा, पहाड पानी, सहिद स्मारक पार्क लगायतका १७ पर्यटकीय गन्तव्यको सूचना फरक फरक भाषामा तयार भएको अध्यक्ष थापाले बताए ।
सूचना हस्तान्तरण भएसँगै अब बन्दीपुर गाउँपालिकाका ती पर्यटकीय गन्तव्यहरु मदानी मिडियाअन्तर्गतको ‘टुरिजमपाना डटकम’मा पढ्न/हेर्न तथा सुन्न सकिने भएको छ । गाउँपालिकाका अध्यक्ष थापाले भने, ‘बन्दीपुरमा स्वदेशी तथा विदेशी पर्यटकको बाक्लो चहलपहल हुन्छ । विदेशी पर्यटकलाई पनि सहज होस् भनेर विभिन्न भाषामा सामग्री तयार गरिएको हो ।’
बन्दीपुरमा विशेषगरी चीन, फ्रान्स, जर्मनबाट विदेशी पर्यटक आउने गरेका छन् । विदेशी पर्यटक यहाँको हावापानी, रहनसहन, रीतिरिवाज र पुरानो घर देखेर आकर्षित हुने गरेको व्यवसायी बताउँछन् ।
सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरि लगायतका हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ ।
बन्दीपुरमा होटल सङ्घसँग आबद्ध सानाठूला गरी ७७ होटल सञ्चालनमा छन् । बन्दीपुरमा ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, बोल्डइन, बन्दीपुर माउन्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिजेललगायत होटल सञ्चालन छ ।
भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतका स्थलहरु यहाँ आउने पर्यटकहरुको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ । बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले पनि पहल गरिरहेको छ । बन्दीपुर आउने पर्यटकको बसाइ लम्ब्याउन विभिन्न पूर्वाधार निर्माण गरिएको छ । रासस
सिन्धुलीः स्वास्थ्य सेवा विस्तारका लागि सिन्धुलीको आठ पालिकामा आधारभूत अस्पतालका भवन निर्माण हुँदैछन् । सङ्घीय सरकारले २०७७ मङ्सिरमा सुरु गरेको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ निर्माण योजनाअनुरुप भवन बनाउन लागिएको हो ।
मरिण गाउँपालिका–७ महेश्वतामा १५ शय्याको अस्पताल भवन निर्माणका लागि मङ्गलबार शिलान्यास गरिएको छ । सांसद लेखनाथ दाहालले एक कार्यक्रमका बीच भवनको शिलान्यास गरे । आगामी आर्थिक वर्ष २०८१/८२ को मङ्सिरसम्ममा सक्ने गरी स्काइ विल्डर्स प्रालि नयाँबानेश्वर, काठमाडौंले भवन निर्माणको जिम्मा लिएको छ । निर्माण कम्पनीले २०७९ पुस २५ गते अस्पताल भवन निर्माण सम्झौता गरेको थियो ।
रु. १६ करोड ७१ लाख ५८ हजारको लागतमा निर्माण हुने भवन तीन तलाको हुनेछ । उक्त लागत बजेट सङ्घीय सरकारले उपलब्ध गराएको हो । चार हजार सात सय ४० दशमलव ८४ वर्गमिटर क्षेत्रफलमा अस्पताल निर्माण कार्य अगाडि बढेको गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तानले बताए ।
सात वडा रहेको मरिणमा छ सामुदायिक स्वास्थ्य एकाइ, दुई स्वास्थ्यचौकी, एक–एक प्रथामिक स्वास्थ्य केन्द्र र आयुर्वेदिक औषधालय छन् । मरिण–६ छापस्थित पाँच शय्याको अस्पताल भवनबाट १५ शय्याकै स्वास्थ्य सेवा कठिनपूर्वक प्रदान हुँदै आएको थियो । अब १५ शय्याकै अस्पताल भवन निर्माण हुने भएपछि मरिणवासीले स्वास्थ्य सेवा सहजरुपमा पाउने मरिण गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मधु लाखेले बताए ।
यसैगरी जग्गा विवादका कारण दुई वर्षदेखि १५ शय्याको अस्पताल भवन निर्माणको काम रोकिएको सुनकोशी गाउँपालिकामा अहिले निर्माण प्रक्रिया अगाडि बढेको स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश झाले जानकारी दिए । सात वडा रहेको सुनकोशीमा ११ स्वास्थ्य संस्था छन् । अब दुई सामुदायिक स्वास्थ्य एकाइ थप गर्नुका साथै १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न गरी सेवा विस्तार गरेर स्वास्थ्य सेवा प्रभावकारी बनाउन खोजिएको उनले बताए ।
यसैगरी गोलञ्जोर गाउँपालिकामा पनि यस वर्ष आधारभूत अस्पताल निर्माणका लागि सङ्घीय सरकारबाट बजेट प्राप्त भएपछि कार्यपालिकाको बैठकपछि निर्माण प्रक्रिया अगाडि बढाइने स्वास्थ्य शाखा प्रमुख दीपेन्द्र पैकराले जानकारी दिए ।
फिक्कल गाउँपालिका–३ चनौटेमा १० शय्याको अस्पताल भवन निर्माणाधीन छ । दुई वर्षअघि निर्माण सुरु भएको उक्त भवनको ८० प्रतिशत काम सकिएको स्वास्थ्य शाखा प्रमुख लेखनाथ फुँयालले बताए । निर्माणको काम सम्पन्न गर्न यस वर्ष रु. ९० लाख बजेट थप भएर आएको उनले सुनाए । छ वडा रहेको फिक्कलमा छ स्वास्थ्यचौकी र १० सामुदायिक स्वास्थ्य एकाइ छन् । हालसम्म उक्त गाउँपालिकामा दक्ष चिकित्सकसहितको अस्पताल नहुँदा बिरामीले भरपर्दो उपचारका लागि अन्यत्र धाउनु परिरहेको छ ।
यसैगरी हरिहरपुरगढी गाउँपालिका–२ रतनपुरमा १५ शय्याको आधारभूत अस्पताल निर्माणाधीन छ । सिर्नजी राजदेवी भक्त आरपी जेभीले निर्माणको जिम्मा लिएको छ । आठ वडा रहेको हरिहरपुरगढीमा चार स्वास्थ्यचौकी, पाँच सामुदायिक स्वास्थ्य एकाइ र चार आधारभूत केन्द्र छन् । यी नामका मात्रै स्वास्थ्य संस्था छन् । राम्रो उपचार गर्न बिरामीलाई अस्पताल खोज्दै अन्यत्र जानुपर्ने अवस्था छ । पालिकाले आफ्ना नागरिकलाई स्थानीयस्तरमै आधारभूत स्वास्थ्य सेवा दिन १५ शय्याको अस्पताल बनाउन शुरु गरेको छ ।
दुधौली नगरपालिका–५ सिर्थौलीमा १५ शय्याको अस्पताल निर्माणाधीन छ । अस्पताल निर्माणकार्य अन्तिम चरणमा पुगेको स्वास्थ्य शाखा प्रमुख जगदीश मण्डलले बताए । ‘अस्पताल भवन निर्माण पूरा गरेर अबको एक महिनाभित्र सञ्चालनमा ल्याउने योजना छ’, उनले भने । सङ्घीय सरकारको रु. १६ करोड लागतमा अस्पताल निर्माण भइरहेको छ । यहाँ हाल १६ स्वास्थ्य संस्थामार्फत सेवा प्रदान गरिँदै आएको छ । तर भरपर्दो सेवा नहुँदा बिरामीले अन्यत्र धाउनुपर्ने बाध्यता छ ।
घ्याङलेख गाउँपालिका–३ सोलाभञ्याङमा डिपिआर भएको वर्ष दिन बितिसक्दा पनि अस्पताल भवन निर्माणको काम अगाडि बढ्न सकेको छैन । जग्गा विवादका कारण रोकिएको निर्माणकार्य चाँडै सुल्झाएर निर्माण अगाडि बढाइने पालिकाले जनाएको छ । पाँच वडा रहेको दुर्गम पालिकामा पाँच स्वास्थ्यचौकी र पाँच सामुदायिक स्वास्थ्य एकाइ छन् । पन्ध्र शय्याको अस्पताल निर्माण भएर प्रभावकारीरुपमा सञ्चालनमा आए सामान्य बिरामी हुँदा पनि सदरमुकाम धाउन नपर्ने स्थानीयवासी बताउँछन् ।
सिन्धुलीकै सबैभन्दा ठूलो सिन्धुली अस्पताल जिल्ला सदरमुकामसमेत रहेको कमलामाई नगरपालिकामा छ । यहाँ सात स्वस्थ्यचौकी र नौ आभारभूत स्वास्थ्य केन्द्र छन् । जिल्लामा सञ्चालनमा रहेकै अस्पताल तथा स्वास्थ्य संस्थाले पनि सहजरुपमा गुणस्तरीय सेवा दिन सकेका छैनन् । सामान्य बिरामी हुँदासमेत अन्य सहरका स्वास्थ्य संस्था तथा अस्पताल धाउनुपरेको स्थानीयवासीको गुनासो छ । सञ्चालनमा रहेका अस्पताल तथा स्वास्थ्य संस्था आवश्यकताअनुरुको बजेट, पर्याप्त दक्ष जनशक्ति तथा औषधि र उपकरणको अभावैअभावमा जेलिएका छन् । भवन बनाएर मात्र स्वास्थ्य सेवा उपलब्ध नहुने स्थानीयको गुनासो छ । राधिका बुढाथोकी/रासस
म्याग्दीः म्याग्दीको धवलागिरि गाउँपालिका–४ बोवाङका ४० वर्षे लुद्रबहादुर पुर्जा यतिबेला परम्परागत खेती छाडेर जडीबुटीमा रमाउन थालेका छन् । लामो समय विदेशी भूमिमा काम गरेपछि उनले फर्किएपछि परम्परागत खेतीको विकल्पमा सतुवा जातको जडीबुटी र ओखरखेती गरेका हुन् ।
‘विदेशमा गर्ने दुःख यहीँ गरेर स्वरोजगार हुने लक्ष्यका साथ जडीबुटी र ओखरखेती सुरु गरेको हुँ’, उनले भने, ‘हाल कूल १३ रोपनी पाखोबारीमा ओखर र सतुवाखेती गरिरहेको छु ।’
हाल लालीगुराँस आधुनिक कृषि फार्म स्थापना गरी काम गरिरहेका पुर्जाले रोजगारीका लागि छ वर्ष साउदी र तीन वर्ष कतारमा काम गरे । टर्कीबाट प्रतिगोटा एक हजार सात सय ५० का दरले बिरुवा किनेर तीन हजार दाँते जातको ओखरका बिरुवा रोपेको पुर्जाको भनाइ छ । चार रोपनीमा ताप्लेजुङ र म्याग्दीको तोरीपानीबाट ५० हजार गाना सतुवाको बिरुवा ल्याएर लगाएका हुन् ।
समुन्द्री सतहदेखि करिब दुई हजार तीन सय मिटर उचाइमा रहेको बोवाङको चिसो हावापानी भएको भूगोल सतुवा र ओखरखेतीका लागि अनुकूल मानिन्छ । बोवाङको जङ्गलमा प्राकृतिकरुपमा पनि सतुवा उत्पादन हुँदै आएको थियो ।
पुर्जाको फार्ममा हाल २० हजार सतुवाका बिरुवा तयार भएका छन् । सतुवाको बिरुवाको बजार मूल्य प्रतिगोटा रु. ४७ पर्छ । सतुवाको बजार मूल्य हाल प्रतिकिलो सातदेखि आठ हजार छ । तीन वर्षअघि प्रतिकिलो सतुवाको मूल्य रु. २५ हजार थियो ।
‘करिब ५० हजार गानाबाट पाँचदेखि छ क्विन्टल सतुवा निकाल्ने भए पनि बजार भाउ राम्रो नभएकाले उत्खनन गरेको छैन’, उनले भने, ‘राम्रो बजार भाउ पाए सतुवा बिक्री गर्नेछु ।’ सतुवा र ओखरखेती गर्नुअघि पाखोबारीमा जौ, उवा, गहुँ, मकै र कोदोखेती हुने गरेको थियो ।
परम्परागत खाद्यबाली खेती गरेर लागत पनि उठाउन नसक्ने अवस्था भएपछि विकल्पमा जडीबुटी र ओखरखेती गरेको पुर्जाले भने । पुर्जालाई कृषि ज्ञानकेन्द्रले फार्मको घेराबार गर्न अनुदान सहयोग गरेको थियो । काठ र फलामको तारले फार्म घेराउ गर्ने पुर्जाको तयारी गरेका छन् ।
यसैगरी सतुवाको बिरुवा भएको पल्टमा प्लास्टिकको टनेल बनाउन सकेमा तापक्रम सन्तुलित बनाउन, हिउँ, असिना र रोगकिराबाट बचाउन सकिने पुर्जाको अपेक्षा छ । औषधि बनाउन प्रयोग हुने सतुवा पेट दुखेको, घाँटी दुखेको, सर्पले टोकेको र मानिषले विष सेवन गरेको बेलामा प्रयोग गर्ने चलन छ । रासस
दाङः दाङको घोराही– तुलसीपुर सडकखण्डको चारलेन सडक मर्मत गर्न थालिएको छ । आइतबारदेखि मर्मतको काम शुरु भएको दाङस्थित सडक डिभिजन कार्यालय प्रमुख गुरुप्रसाद अधिकारीले बताए ।
‘पहिलो चरणमा बबई नदीबाट हापुरखोलासम्म करिब १४ किलोमिटर सडकको बेस फिलिङको काम शुरु भएको छ’, उनले भने, ‘अबको केही समयमा तुलसीपुर क्षेत्रमा पनि काम शुरु हुन्छ ।’ हापुर खोलादेखि तुलसीपुरसम्म बुधबारदेखि काम शुरु गरिने प्रमुख अधिकारीको भनाइ थियो । घोराही क्षेत्रको १५ किलोमिटर सडक निर्माण एउटा निर्माण कम्पनीले र तुलसीपुर क्षेत्रको १४ किलोमिटर सडक मर्मत अर्को निर्माण कम्पनीले ठेक्का पाएको छ ।
घोराही क्षेत्रमा एक करोड ४२ लाख ५५ हजार र तुलसीपुर क्षेत्रमा एक करोड १६ लाख ९६ हजार लागतमा ठेक्का लगाइएको हो । घोराही–तुलसीपुर चार लेन सडक मर्मतका लागि तीन करोड बजेट विनियोजन गरिएको थियो । चारलेन सडक निर्माणको यस अघिको ठेक्का तोडिएसँगै सडक डिभिजन कार्यालयले मर्मतका लागि ठेक्का आह्वान गरेको हो ।
यसअघि भारतको एक्जिम बैंकको ऋण लगानीमा चारलेन सडक निर्माण शुरु गरिएकामा पाँच वर्षसम्म पनि निर्माणले पूर्णता पाउनाको साटो सडक भातुभुङ्ग हुँदा दुर्घटना बढेको थियो । सडकको बीच बीचमा खाल्डाखुल्डी भएर आवतजावतमा समस्या भएपछि नागरिकले विरोध गरेकाले सरकार ठेक्का तोड्न बाध्य भएको हो ।
ठेक्का तोडिएसँगै तीन करोडको लागतमा सडक मर्मत गर्ने कार्य गरिने प्रमुख अधिकारीले बताए । ‘चारलेन सडक निर्माण गर्दा बिग्रिएको ठाउँमा हामीले मर्मत गर्ने हो’, उनले भने । असोज मसान्तसम्म काम सक्ने गरी सम्झौता भएको छ । वर्षाको समयमा एक महिना काममा बाधा उत्पन्न भए पनि तोकिएको समयमा काम सकेर आवतजावत सहज बनाउने गरी काम अघि बढेको उनले बताए ।
सडक मर्मत शुरु भएपछि यात्रु भने खुसी भएका छन् । ‘सडकमा खाल्डाखुल्डीले वर्षाको समयमा झनै समस्या बनाएको छ, पहिलेकै सडक मर्मत भए धेरै सहज हुन्थ्यो’, तुलसीपुर– ५ निवासी मोटरसाइकल चालक विजय नेपालले भने । रासस
म्याग्दीः म्याग्दीका विभिन्न स्थानमा १३ पक्की पुल निर्माण भएका छन् । जिल्लाका ग्रामीण बस्तीलाई सहरसँग जोड्ने गरी सडकको पहुँच पुर्याउने उद्देश्यले गण्डकी प्रदेश र सङ्घ सरकारको लगानीमा १३ पक्की पुल निर्माण भएका हुन् ।
प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास कार्यालय म्याग्दीले १०, सङ्घीय सरकारअन्तर्गतको सडक डिभिजन कार्यालय बागलुङले दुई र राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइमार्फत एक पक्की पुल निर्माण गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले जानकारी दिए । उनका अनुसार छ पुल निर्माण सम्पन्न भई यातायातका साधन सञ्चालन भइसकेका छन् ।
अन्य पुल निर्माण सम्पन्न भए पनि औपचारिक रुपमा सञ्चालनमा आउन बाँकी रहेको अधिकारीले बताए । उनका अनुसार अन्नपूर्ण गाउँपालिकाको हिस्तान र राम्चेलाई जोड्ने सन्सारी खोला पुल, मालिका गाउँपालिका केन्द्र दरवाङको छयारछेरेको म्याग्दी खोलामा निर्माण भएको पुल र मराङ बेँसी अर्कला पुल निर्माणसँगै विकट ग्रामीण बस्ती पालिकाका केन्द्र र सदरमुकामसँग जोडिएका छन् ।
मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरदेखि वडा नं ५ अर्मनलाई केन्द्रसँग जोड्न म्याग्दी खोलामा रु. ११ करोड २४ लाख २५ हजार ५२ लागतमा निर्माण भएको पुलबाट यातायातका साधन सञ्चालन भइरहेका छन् । विसं २०७५ पुस २५ गते दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी लुम्बिनी प्राकृतिक जेभीसँग ठेक्का सम्झौता भएको थियो । कोरोना सङ्क्रमणका कारण निर्माण ढिला भएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ । पुल ८० मिटर लम्बाइको छ ।
त्यस्तै, रु. १० करोड ७२ लाख १२ हजार लागतमा बेनी नगरपालिका–४ सिङ्गादेखि मङ्गला गाउँपालिका–३ वरङ्जालाई जोड्ने पक्की पुल निर्माण भएको छ । उक्त पुलको लुम्बिनी प्राकृतिक जेभीले निर्माण गरेको हो ।
पूर्वाधार विकास कार्यालय म्याग्दीले मालिका–७ भारबाङघाटमा पक्की पुल निर्माण गरेको छ । भारवाङको पुल निर्माण गर्न देव एण्ड सायर बिएन जेभीसँग छ करोड २४ लाख २३ हजारमा ठेक्का सम्झौता भएको थियो । पश्चिम म्याग्दीको मालिका–५ र धौलागिरि–७ को सिमाना दाङखोलामा एक करोड ९३ लाखमा पक्की पुल निर्माण भएको छ । उक्त पुल निर्माणका लागि इन्द्रेणी फेवा जेभीले ठेक्का सम्झौता लिएको थियो ।
बिमदेखि मराङ र मल्कबाङलाई जोड्ने अर्कलामा दुई करोड ७२ लाखमा फेवा सावित्री जेभी पोखराले पुल निर्माणको जिम्मा लिएको थियो । म्याग्दीका विभिन्न बस्तीलाई सहरसँग जोड्ने गरी धमाधम पुल निर्माणले गति लिन थालेपछि स्थानीय उत्साहित भएका छन् ।
अब हामी पनि सहरदेखि टाढा छैनौँ भन्ने महसुस हुन थालेको छ मालिका–६ का प्रेम सिउथानीले बताए । गाउँगाउँमा मोटर गुड्न थालेपछि बल्ल विकास भनेको यस्तो हुँदो रहेछ भनेर बुझ्न थालिएको स्थानीयको भनाइ छ । रासस
बलेवाः जिल्लामा व्यावसायिक पशुपक्षी पाल्ने किसानको सङ्ख्या वृद्धि भएको छ । आर्थिक वर्ष २०७८/०७९ को तुलनामा आव २०७९/०८० मा व्यावसायिक फार्म सञ्चालन गर्ने किसानको सङ्ख्या वृद्धि भएको हो ।
गत वर्षभन्दा आव २०७९/८० मा जिल्लाभर ३७ पशुपक्षी फार्म थप भएका छन् । वैदेशिक रोजगारीबाट फर्केका, सरकारको लागत अनुदान पाएका र परम्परागत शैलीलाई व्यावसायिकतामा ढालेका किसानले फार्म वृद्धि गरेका हुन् ।
जिल्लाभर सात सय ४७ फार्मले व्यावसायिकरुपमा पशु तथा पक्षीजन्य उत्पादन गरिरहेका छन् । आव २०७८/०७९ मा यो सङ्ख्या सात सय १० मात्रै थियो । ‘किसानले विस्तारै व्यावसायिक बन्न सिक्नुभएको छ, व्यावसायिक उत्पादनले मात्रै आम्दानी गर्न सकिन्छ भन्ने चेतना किसानलाई छ’, भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङका प्रमुख डा. ऋषिराम सापकोटाले भने, ‘फार्मको सङ्ख्या वृद्धि हुनु खुसीको कुरा हो, फार्म वृद्धि हुँदा हामी मासु र दूधमा आत्मनिर्भर छौँ ।’
उनका अनुसार बागलुङमा अघिल्लो आवमा सबैभन्दा धेरै ‘ब्रोइलर’ कुखरा फार्म थप भएका छन् । एकै आवमा १२ फार्म थप हुँदा ब्रोइलर कुखुरा फार्मको सङ्ख्या एक सय १९ पुगेको उनले बताए । व्यावसायिकरुपमा बाख्रा पाल्ने किसानको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । गत आवमा मात्रै १० व्यावसायिक बाख्रा फार्म सञ्चालनमा आएका छन् । बागलुङमा बाख्रा फार्मको सङ्ख्या एक सय ९७ पुगेको छ । गाई फार्म ७२, भैँसी फार्म ८५, भेडा फार्म २९ र बङ्गुर फार्म एक सय दुईबाट वृद्धि भएर एक सय सात पुगेका छन् ।
त्यस्तै लेयर्स कुखुराको फार्म ३२, स्थानीय कुखुरा फार्म ४० र माछा फार्म ४९ पुगेका छन् । पशुजन्य उत्पादनका लागि आवश्यक घाँस फार्मको सङ्ख्या पाँच रहेको छ भने मिश्रित फार्म सात र अन्य पशुपक्षीजन्य फार्म तीन छन् ।
जिल्लाभर कुल ४३ हजार ६५ किसान पशुपक्षी पालनमा संलग्न रहेको तथ्याङ्क केन्द्रसँग रहेको पशुसेवा विज्ञ केन्द्र प्रमुख सापकोटाले बताए । ‘जिल्लाभर बाख्रा पाल्ने किसानको सङ्ख्या सबैभन्दा धेरै छ, गाईभैँसी, कुखुरा र बङ्गुर पाल्ने किसान क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा हुनुहुन्छ’, उनले भने, ‘विविध कारणले फार्मकत्रो सङ्ख्या बढेको भए पनि पशुको सङ्ख्या भने घट्दो छ ।’ बङ्गुर, गाई, कुखुरालगायतमा सङ्क्रामक रोगको प्रभावलगायतका कारण सङ्ख्या घटेको उनले बताए ।
पशुपक्षीजन्य फार्मको विस्तारसँगै बागलुङ दूध र मासुमा आत्मनिर्भर भएको छ । दुई लाख ४९ हजार दुई सय ११ जनासङ्ख्या रहेको जिल्लामा प्रतिव्यक्ति वार्षिक ९१ लिटर दूधको आवश्यकता हुनेमा जिल्लाभरको उत्पादनको हिसाबले प्रतिव्यक्ति ९२ दशमलव पाँच लिटर दूध उपलब्ध हुन्छ । अढचालीस अण्डा प्रतिव्यक्ति प्रतिवर्ष आवश्यकता हुनेमा ४४ अण्डामात्रै जिल्ला उत्पादनले पुग्ने गरेको जनाइएको छ । रासस
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies