बझाङः गत असोज १६ गते आएको भूकम्पले खप्तडछान्ना–५ पिठातोलाकी अम्भिकादेवी जोशीको घर पूर्ण रुपमा क्षति भयो । घरमा बस्ने अवस्था रहेन । लगातार पराकम्प आउन थालेपछि उनको परिवार हप्ता दिनसम्मै अस्थायी छानो (गाउँबाट टाढा वस्तुभाउका लागि बनाएको घर/गोठ) मा बस्न थाल्यो ।
पराकम्प कम भएपछि फेरि गाउँमा आएर चिरा परेको घरको तल्लो कोठामा उनीहरु बस्न थाले । अर्को पटक भूकम्प आएपछि मथिल्लो तला बस्नै नमिल्ने भयो । केही दिन नजिकैको खलो (अन्नबाली सुकाउने ठाउँ)मा बास बसे पनि बिहान शीत पर्न थालेपछि फेरि त्यही कोठा बस्न थालेको अम्भिकाले बताइन् । भूकम्प आएको एक सातापछि वडा नं ५ का वडाध्यक्ष रामबहादुर सिंहको टोली गाउँगाउँमा अनुगमनमा आएको उनको भनाइ थियो ।
‘अनुगमनमा विवरण सङ्कलन गर्यो भन्ने सुनेका थियौँ’ अम्भिकाले भनिन्, ‘विवरण लिएको पनि एक महिना हुन लाग्यो । तर, अहिलेसम्म कसैले त्रिपालसमेत दिएको छैन ।’ त्रिपाल पाए खुला ठाउँमै भए पनि बस्ने उनले सुनाइन् ।
‘हरेक दिन दातृ निकायले राहत सामग्री वितरण गरिएको भन्ने सुनिन्छ, सरकारले पनि राहत दिने भन्ने रेडियोमा सुनेका थियौँ । तर, अहिलेसम्म पिठातोलामा कसैले पनि राहतको सानो अनुभूतिसमेत गर्न पाएका छैनन् । सरकारले एउटा÷एउटा त्रिपाल मात्रै दिए पनि गाउँलेहरू पाल टाँगेर बस्न हुन्थ्यो। अब यस्तो घरमा त कसरी ज्यान जोगाउने ?, भन्दै उनले प्रश्न गरिन् ।
पिठातोलामा अम्भिकाको मात्रै होइन, हरेक घर जोखिममा छन् । ‘पाँण (माथिल्लो तला)बाट मुज्याला (बीचका कोठा) धेक्किन लाग्यो भनेर फाटेका त्रिपाल जम्मा गर्दै शीत छेक्ने सानो टहरा बनाएर बसेका छौँ । त्यसमा टोलभरकै बस्छौँ’, सोही ठाउँका तिलक जोशीले भने । उनका अनुसार गत महिना आएको भूकम्पले धैरैको घरमा क्षति पुर्याएको छ । ‘घरमा बस्दा निकै जोखिम भएपछि लेकतिर गएर गोठमा बस्न थाल्यौँ । त्योसमेत आधा भत्किने जस्तो भएपछि कपाल लुकाउने त्रिपाल टाँगेर बसेका छौँ’, उनले भने ।
भूकम्प गएपछि अनुगमनमा आएको टोली आफ्नो घरसम्म नआएको तिलकले बताए । ‘यति घरमा क्षति भएको भनेर समाचार सुनिन्छ । तर, हाम्रो घरतिर/गोठतिर भने कोही आएनन्’, उनले गुनासो पोखे । तिलकका अनुसार अहिलेसम्म गाउँमा कसैले पनि त्रिपालसमेत पाएका छैनन् । उनले भने, ‘एकपटक वडासदस्य वसन्त आग्रीले गाउँमा दुई/तीन परिवारलाई दाताले दिएको स्लिपिङ ब्याग दिएको भन्ने सुनेका थियौँ । उहाँले पनि त्यो स्लिपिङ ब्याग आफ्नैलाई दिनुभएछ । अरू भने केही सुनिएन ।’
थलारा गाउँपालिका–३ का श्याम नेपाली गत महिनादेखि चुहिने त्रिपालमा छन् । एकसरो त्रिपाल त्यसैमा चुहिने भएपछि उनी रातभर जाग्रामजस्तै बस्छन् । ‘चिसोले रातभरि सुत्न सकिँदैन । छोराछोरीलाई पनि रुघाखोकी लाग्न थालेको छ । सरकारले केही राहत दिएमा त बाँच्न सकिएला नत्र भन्न सकिँदैन’, उनले भने ।
खप्तडछान्ना–१ का मानबहादुर खातीको घर ढल्न मात्रै बाँकी छ । भित्र पूरै चिरा परेर जानै नसकिने अवस्थामा छ । स्थानीय सरकारको नजरमा ‘प्रभावित’ भनेरसमेत नपरेको उनले बताए । ‘राति घरभित्र जाउँ कति बेला च्यापिन्छौँ भन्ने डर लाग्छ । बाहिर जाउँ पनि माथिल्लो घरहरू भत्केर ढुङ्गा आउँलान् भन्ने पीर छ । खुला ठाउँमा जान रित्तै आकाश छ । पीडा सुनिदिने कोही छैन’ खातीले भने ।
यो समस्या खप्तडछान्नाको मात्रै नभएर हरेक पालिकाको हो । पहुँच भएकाहरूले सबै किसिमको राहत पाउने र पहुँच नहुनेले त्रिपालसमेत पाउन नसकेको उनले बताए । यता खप्तडछान्ना गाउँपालिकाका प्रवक्ता रमानन्द जोशीले राहत वितरणमा राजनीति नगरेको दाबी गरे । वडाध्यक्षको सिफारिसबाट आएका पीडितलाई पालिकाले सके जति सहयोग गरेको उनले बताए ।
‘दातृ निकायले दिएको त्रिपाल तथा कम्मल वडाको सिफारिसमा आएका पीडितलाई अवस्था हेरेर वितरण गरेका छौँ’, जोशीले भने, ‘पीडितको अवस्था छनौट पनि वडाले गरेको हो ।’ कुनै पीडितलाई त्रिपालसमेत नपुगेको खबर आए फेरि अनुगमन गरेर राहत दिने उनले बताए ।
भिआइपीको तामझाम मात्रै
बझाङमा भूकम्प आएको एक सातासम्म राज्यको ध्यान बझाङ केन्द्रित थियो । राज्यका सबै निकाय गाउँदेखि जिल्लासम्म पुगे । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहसहितको टोली भूकम्प आएको तेस्रो दिन दर्जनौँ गाडीसहित बझाङ पुग्यो । दुर्गाथली, थलारा गाउँपालिकामा अनुगमन गरेको प्रदेश सरकारले पीडितका घर बनाइदिने आश्वासनसमेत दिएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको टोली पनि पीडितलाई भेट्न आएर केही राहत सामग्रीसहित घर निर्माणका लागि सरकारलाई दबाब दिने आश्वासनसहित फिर्ता भयो ।
केन्द्र सरकारको टोली आएर पनि राहत घोषणा ग¥यो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री एनपी सावद, प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीसहितको टोलीले भ्रमण गर्यो र पीडितलाई राहत दिने आश्वासन मात्रै दियो ।
प्रधानमन्त्रीको घोषणा अधुरै
असोज २० गते अर्थात् भूकम्प गएको चौथो दिन प्रधानमन्त्री प्रचण्ड भूकम्पपीडितलाई भेट्न बझाङ पुगेका थिए । उनले सदरमुकाम चैनपुरमा रहेको विक टोलको अनुगमनसमेत गरे । लगत्तै जिल्ला प्रशासनमा आएर सर्वपक्षीय बैठक बसालेर राहत घोषणा गरे ।
अस्थायी आवास निर्माणका लागि तत्काल टिनको टहरा बनाउन ५० हजार दिने उहाँको घोषणा थियो । चर्किएका घरको १५ देखि २० हजार रूपैयाँसम्म राहत दिने घोषणा गरेका प्रधानमन्त्रीले अहिले भने बझाङका भूकम्पपीडितबारे कतै बोलेको सुनिँदैन । यता भूकम्पपीडितहरू भने त्रिपालकै आस गरिरहेका छन् ।
विपद् व्यवस्थापन समितिको तथ्याङ्कमा बझाङमा १२ हजार पाँच सय ५९ घरमा क्षति पुगेको थियो । आठ हजार पाँच सय २९ घर बस्न नमिल्ने गरी क्षति भएका थिए भने तीन हजार पाँच सय २४ घरमा सामान्य क्षति भएको थियो । जिल्लाका जयपृथ्वी र बुङ्गल नगरपालिका, मष्टा, छविसपाथिभेरा, दुर्गाथली, खप्तडछान्ना र केदारस्यूँ गाउँपालिकामा बढी क्षति भएको समितिले जनाएको छ । क्षति भएको एक महिनासम्म पनि आधाजसो पीडितले त्रिपालसमेत नपाएको गुनासो गरेका छन् ।
समितिका सम्पर्क व्यक्ति नन्दबहादुर धामी पीडितको तथ्याङ्कै यकिन नभएकाले राहत वितरणमा ढिलाइ भएको बताए । प्रहरीको तथ्याङ्कसँग पालिकाको तथ्याङ्क नमिलेका ढिलाइ भएको उनको भनाइ थियो । उनले भने, ‘विश्वास गर्न गाह्रो भएकाले वास्तविक पीडितको पहिचान गरेपछि मात्रै अस्थायी आवास निर्माणका लागि राहत वितरण गरिन्छ ।’ भूमिराज पिठातोली/रासस
लुम्बिनीः हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तको असर र विश्व शान्तिका लागि विश्वको ध्यान केन्द्रित गर्न बुद्ध जन्मस्थल लुम्बिनीबाट सगरमाथाको आधार शिविरतर्फ शान्ति दीप लगिएको छ । नेपाल पर्वतारोहण सङ्घले विश्व शान्तिको कामनासहित जलवायु परिवर्तनको असरबारे विश्वको ध्यान केन्द्रित गर्न लुम्बिनीबाट शान्ति दीप सगरमाथाको आधार शिविर कालापत्थरतर्फ हिँडाएको हो ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले शुक्रबार लुम्बिनीस्थित शान्ति दीपमा प्रज्जवलन गरेको दीप सगरमाथाको आधार शिविरतर्फ प्रस्थान गर्न दीप हस्तान्तरण गरे । उपाध्यक्ष डा. लामाले पूजा गरेको शान्ति दीप कार्यक्रम संयोजक, विश्व कीर्तिमानी आरोही काजी शेर्पा (स्पीड), नेपाल पर्वतारोहण सङ्घका पूर्वसचिव एवं केन्द्रीय कार्यसमिति सदस्य दिवस पोखेल र सगरमाथा आरोही सङ्घका महासचित शिवबहादुर सापकोटालाई संयुक्तरुपमा हस्तान्तरण गरे ।
उपाध्यक्ष डा. लामाले विश्व शान्ति र जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि लुम्बिनीबाट दीप प्रज्वलन गरेर सगरमाथाको आधार शिविर पुर्याउदा विश्वभरिनै सन्देश प्रवाह हुने बताए । उनले विश्व मानव जगत्मा जलवायु परिवर्तनको असरसँगै द्वन्द्व पनि बढिरहेको अवस्थामा शान्ति भूमि लुम्बिनीबाट विश्वको सर्वोच्च शिखरमा दीप लैजाने कार्य गैरवको विषय भएको बताए । शान्ति दीपमा प्रज्ज्वलन गरिएको उक्त दीपलाई लामा गुरुहरुबाट स्वस्ति शान्ति गरी मायादेवी मन्दिर परिक्रमा गराइएको थियो ।
लुम्बिनीबाट लगिने उक्त दीप कात्तिक १९ गते साँझसम्ममा काठमाडौं हुँदै सगरमाथा आधार शिविर कालापत्थर पुर्याइने नेपाल पर्वतारोहण सङ्घले जनाएको छ । नेपालको राष्ट्रिय झण्डा फहराउने र बौद्धबाट ल्याइएको दीपसमेत उक्त स्थानमा प्रज्ज्वलन गरिने छ । कात्तिक २५ दिन एक समारोहका बीच कालापत्थामा सम्पन्न हुन गइरहेको कार्यक्रमबाट विश्वको ध्यान केन्द्रित हुने सङ्घका पूर्वसचिव एवं केन्द्रीय कार्यसमिति सदस्य दिवस पोख्रेलले बताए ।
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमाल र हिमाली क्षेत्रमा परेको असरबारे राष्ट्र सङ्घको आगामी बैठकमा छलफल गरी कार्बन उत्पन्न गर्ने धनी राष्ट्रहरूले क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेकाले कालापत्थरमा सम्पन्न हुने कार्यक्रम फलदायी हुने पोखरेलले बताए ।
अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङ ङिस्याङ–१ ढुकुर पोखरीबाट माथिल्लो मनाङतर्फ साइकल यात्रा गर्दै विदेश पर्यटक । पृष्ठभूमिमा अन्नपूर्ण दोस्रो हिमाल ।
तस्बिर : नवीन लामिछाने/रासस
मनाङः हिमाली जिल्ला मनाङ घुम्नका लागि अहिलेको मौसम अनुकूल मानिन्छ । भ्रमणको अनुकूल वातावरण हुनासाथ पर्यटकको आगमन वृद्धि हुन थालेको छ । यस वर्षको वैशाखदेखि असोज मसान्तसम्म कूल नौ हजार सात सय ५२ बाह्य पर्यटक भित्रिएका जिल्लास्थित अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना इलाका कार्यालय (एक्याप)ले जनाएको छ ।
यहाँ आउने पर्यटकले अन्नपूर्ण पदमार्ग र नार्पाभूमिस्थित लार्केपास दवै क्षेत्रको भ्रमण गर्ने गरेका एक्यापका प्रमुख ढकबहादुर भुजेलले बताए । उनका अनुसार आन्तरिक तथा बाह्य गरी नौ दुई सय २८ पर्यटकले अन्नपूर्ण पदमार्गको भ्रमण गरेका छन् भने पाँच सय २८ पर्यटकले नार्पाभूमिस्थित लार्केपास गरेका छन् । यस क्षेत्रबाट गोरखाको चुङनुम्री हुँदै पर्यटक गन्तव्यतर्फ निस्कने गर्दछन् ।
असोज मसान्तसम्ममा मात्रै चार हजार तीन सय ५७ बाह्य पर्यटक भित्रिएका छन् । भुजेलका अनुसार वैशाखमा तीन हजार दुई सय ६६, जेठमा छ सय ६१, असारमा दुई सय ५९, साउनमा दुई सय ९६, भदौमा नौ सय १३ बाह्य पर्यटक भित्रिएको तथ्याङ्कमा उल्लेख छ । गतवर्षको साउनदेखि मङ्सिरसम्ममा एक हजार ७२ पर्यटक भित्रिएका उनले जानकारी दिए ।
गत वर्षको तुलनामा यसवर्ष उल्लेख्य रुपमा पर्यटक वृद्धि भएको प्रमुख भुजेलले बताए । ‘यहाँको मुख्य आयस्रोत नै पर्यटन क्षेत्र हो । पर्यटकको आगमन बिना यहाँको राजस्वसमेत उठ्न मुस्किल हुन्छ । यसले नै यहाँका स्थानीयवासीलाई यही बस्ने वातावरण बनाएको छ’, उनले भने । यहाँका स्थानीयवासी होटल तथा पर्यटन व्यवसायसँगै कृषि क्षेत्रमा आवद्ध रहेका छन् ।
आयातित वस्तुभन्दा यहीँ उत्पादित खाद्यवस्तु पर्यटकलाई उपलब्ध गराउने गरेका पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले बताए । ‘सिजनमा यसवर्ष उल्लेख्य पर्यटकको आगमन भएको छ । यसले व्यावसायिकलाई उत्साह थपेको छ’, उनले भने, ‘आजभोलि आन्तरिक पर्यटकको आगमन पनि वृद्धि भएको छ ।’
बाह्य पर्यटकसँगै आन्तरिक पर्यटकको पनि उल्लेख्य आगमन भएको गुरुङको भनाइ थियो । ‘बाह्य पर्यटकले पहिले नै बुकिङ गरेका हुन्छन् । जसले गर्दा उहाँहरुलाई सहज रुपमा बस्ने स्थानको निश्चित भइसकेको हुन्छ । आन्तरिक पर्यटकले यहीँ आएर मात्रै होटल खोज्दा समस्या हुने गरेको छ’, उनले भने, ‘यस सिजनमा मनाङ आउँदा पहिलेदेखि नै होटल बुकिङ भइसक्ने भएकाले होटल तथा अन्य व्यवस्थासम्बन्धी जानकारी लिएर आउन न आग्रह गर्दछु ।’
अहिलेको मौसममा अलिअलि हिमपात, सेता हिमाल टल्कने, डाँडापाखामा नै हिउँ देखिँदा पर्यटकलाई लोभ्याउने गर्दछ । अहिले नेपालीहरु प्नि घुम्ने, नयाँ पर्यटकीय गन्तव्यमा पुग्ने गर्न थालेकाले मनाङ आउने आन्तरिक पर्यटक पनि बढे्का गुरुङले बताए । आन्तरिक पर्यटकको तथ्याङ्क नराखिए पनि दैनिक रुपमा यहाँ आउने आन्तरिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको एक्यापका प्रमुख भुजेलले जानकारी दिए ।
दैनिक रुपमा एक हजार बढी आन्तरिक पर्यटक आउने गरेका होटल व्यवसायी बाबुराम गुरुङले बताए । पर्यटकको सङ्ख्यामा वृद्धि हुँदा बन्द भएका व्यापारव्यावसायमा उत्साह थपिएको उनको भनाइ थियो ।
‘हिउँद लाग्ने बेलामा र वर्षायाम शुरुवातको समय गरी दुई सिजनमा मनाङ घुम्नका लागि अनुकूल समय मानिन्छ । यसै समयलाई मध्यनजर गरी यहाँ पर्यटक आउने गर्दछन्’, व्यवसायी गुरुङले भने, ‘पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नुका साथै यहाँबाट थोराङ्लापास गरी कोही मुस्ताङ त कोही पोखरा पुग्दछन् ।’
अन्नपूर्ण पदमार्गमार्फत पदयात्रा गरी पर्यटक आ–आफ्नो गन्तव्यतर्फ जाने गर्दछन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङे चौतारा हो । पर्यटकले यहाँबाट सुरु गरेको यात्रा विशेष गरी मुस्ताङ पुग्ने गर्दछन् । अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच जिल्ला जोडिएका छन् ।
काठमाडौं, पोखरा, चितवन, बुटवललगायत स्थानबाट बेँसीसहरसम्म सवारीसाधनमार्फत यहाँ आउन सकिन्छ । पदमार्गबाट यहाँका विभिन्न स्थानको अवलोकनसहित यात्राको शुरुवात गर्न सकिन्छ । रासस
काठमाडौं: असन आसपास क्षेत्रका तुलाधर समुदायले वडादशैँका अवसरमा आश्विन शुक्ल एकादशीका दिन खड्ग जात्रा गरेका छन् ।
काठमाडौं महानगरपालिका–२७ स्थित असनमा रहेको कुलदेवताको मन्दिरमा तुलाधर समुदायले बुधबार विधिअनुसार पूजा गरेपछि कुभिन्डोमा बनाइएको दैत्यको चित्रलाई काटेर प्रतीकात्मक रुपमा आसुरी शक्तिमाथि विजय प्राप्त गरेको सन्देश दिन बाजागाजासहितको खड्गजात्रालाई टोल परिक्रमा गराएका थिए ।
उक्त समुदायले घटस्थापनाका दिन विधिपूर्वक राखेको जमरा विभिन्न देवी तथा देवताको चढाउनाका साथै तन्त्र साधना गरी देवदेवीको मूर्ति रहेको शक्तिपीठको पूजा गरेका थिए । तुलाधर समाजभित्र सबैभन्दा कनिष्ठ बालकलाई नाइके बनाएर नगर परिक्रमा गर्ने चलन छ ।
समाजमा आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाउने विश्वासका साथ यस किसिमको विधि अवलम्बन गरिएको उद्यमी ज्ञानेन्द्ररत्न तुलाधरले बताए ।
स्थानीय तुलाधर समुदाय दशमीका दिन पनि व्यापारिक कार्यमा व्यस्त रहने हुँदा एकादशीका दिन अग्रजका हातबाट टीका तथा प्रसाद ग्रहण गर्ने तथा आफन्त, नातागोता बोलाएर रमाइलो गर्ने गर्दछन् ।
सम्राट अशोकले कलिङको युद्धमा लाखौँ मानिसको नरसंहारपछि पश्चाताप गर्दै अस्त्रशस्त्र त्याग गरेको घटनासँग जोडिएकाले पशुबलि निषेध गरिएको यो जात्रालाई हिन्दू र बौद्ध धर्मावलम्बीले साझा संस्कृतिका रुपमा लिने गर्दछन् । विभिन्न समुदायले गर्ने संस्कृति, जात्रा तथा पर्वको महत्वर विशेषता फरक फरक भए पनि यसले नेपाली संस्कृतिको गौरव बढाएको छ ।
रसुवाः हिमाली पदयात्राको लागि यहाँ पर्यटकको आगमन बढ्न थालेको छ ।
गोसाइँकुण्ड तथा लाङटाङलगायत तामाङ सम्पदा क्षेत्रको पदमार्गमा पर्यटकको आगमन बढेसँगै हिमाली भेकको रौनकता समेत बढेको हो । वर्षा घट्दै गएको, मौसममा क्रमशः सुधार आउदा पैदल यात्रा अत्यन्तै सहज भएको जनाइएको छ । उच्च भागबाट हिमालको अवलोकन गर्न सहज तथा अर्गानिक उत्पादनको भोजनका लागि यहाँ पर्यटक आउने गर्दछन् ।
लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार हिमाली पदयात्राअन्तर्गत गत साउनदेखि यही असोज २० गतेसम्म १० हजार सात सय ७० जना आन्तरिक एवं बाह्य पर्यटकले लाङटाङ तथा पवित्र तीर्थ गोसाइँकुण्डको क्षेत्रको भ्रमण गरेका छन् ।
ती मध्ये सार्क राष्ट्रका ६२ जना, अमेरिका, अस्ट्रेलिया, जर्मनलगायत विभिन्न देशका एक हजार छ सय ५२ जना तथा नौ हजार ५६ जना आन्तरिक पर्यटक छन् । निकुञ्ज क्षेत्रको भ्रमण गर्ने पर्यटकबाट नियमानुसारको प्रवेश शुल्कबापत रु. ४५ लाख आय भएको निकुञ्जका अभिलेखकर्ता रेञ्जर सुनिल राउतले जाकारी दिए । निकुञ्जले लठ्ठीका लागि बनस्पति नकाट्न, फोहाेर तोकिएको स्थानमा मात्र फ्याक्न, पैदल मार्गमा भेटिने वन्यजन्तुलाई नहिर्काउन र नलखेट्न पर्यटकलाई अनुरोध गरेको छ ।
पर्यटन होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष रामशरण गजुरेलले गोसाइँकुण्ड तथा तामाङ सम्पदा र लाङटाङ आउने पर्यटकको खानेवस्ने व्यवस्थाको लागि होटलको सुदृढीकरण एवं खाद्यान्न भण्डारण समेत सम्पन्न भइसकेकाले निर्धक्क साथ यात्रा गर्न सबै पर्यटकलाई अनुरोध गरे ।
यस्तै चालु आवको गत साउनदेखि यही असोज २० सम्म लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय एक करोड राजस्वसमेत आर्जन गरेको छ । पर्यटक शुल्कको साथै निकुञ्जमा सञ्चालित होटलको बक्यौता तथा गत आवमा हेलिकप्टर अवतरणसमेतका विविध स्रोतबाट राजस्व सङ्कलन भएको सहायक संरक्षण अधिकृत मिलन सापकोटाले जानकारी दिए ।
रसुवाको भ्रमणमा आउने पर्यटकलाई उकाली, ओराली, भञ्ज्याङ चौतारीजस्ता पैदलमार्ग, स्थानीय कृषिउपजबाट तयार गरिएको भोजन, तामाङ संस्कृतिको नाचगान, भेष वेशभूषा, सेताम्मे टल्किने लाङटाङ हिमालजस्ता प्रकृतिको सुन्दरताले मनमोहक बनाउँदछ । संघीय राजधानी काठमाडौंबाट रसुवा छोटो दूरीको मार्ग भएका कारण पर्यटक पहिलो भ्रमण रोजाइँ रसुवा पर्ने गरेको छ । रासस
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धार्मिक सहिष्णुता, राष्ट्रिय एकता, सामाजिक सद्भाव एवं भावनात्मक एकत्व थप सुदृढ गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिको दिशामा दृढतापूर्वक अगाडि बढ्नु आजको राष्ट्रिय कार्यभार रहेको बताएका छन् ।
इन्द्रजात्राका अवसरमा आज शुभकामना दिँदै उनले संविधानको सुदृढीकरण, राष्ट्रिय एकता, सामाजिक सद्भाव, आपसी अन्तर्घुलन कायम गरी समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न इन्द्रजात्राले थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त विविधता एवं सानो भूगोलभित्र प्राकृतिक विविधता र गहिरो भावनात्मक एकता भएको सुन्दर मुलुक रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सभ्यता, धर्म, संस्कृति, चाडपर्व एवं रहनसहनमा विविधताले हाम्रो वैभवशाली इतिहास र वर्तमानलाई प्रतिविम्बित गर्दै आएको बताएका हुन् ।
‘देशको यही विविधतालाई आत्मसात् गर्दै नेपालको संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र विविधतासहितको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीलाई आत्मसात् गरेको छ । यो हामी सबैका लागि गौरवको कुरा हो’, उनले शुभकामनामा भनेका छन् ।
नेपालका ऐतिहासिक एवं सांस्कृतिक पर्वमध्ये इन्द्रजात्रा सबैभन्दा पुरानो एवं रोमाञ्चक पर्वसमेत मानिन्छ । मुख्यतः काठमाडौं उपत्यकासहित अन्य विविध स्थानमा मनाइने इन्द्रजात्रा पर्व परम्पराकालदेखि मनाउँदै आएको ऐतिहासिक सांस्कृतिक पर्व हो । वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरी परम्परागत रूपमा नेवारले समुदायले यसजात्रा लिङ्गो ९ध्वजा० स्थापना एवं विविध धार्मिक एवं सांस्कृतिक कर्मसहित धुमधामपूर्वक मनाउने गरेका छन्
प्रधानमन्त्री दाहालले इन्द्रजात्राका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेवार समुदायलगायत समस्त नेपालीमा सुख, शान्ति, समृद्धि, राष्ट्रिय एकता एवं निरन्तर प्रगतिको कामना गरेका छन् ।
ललितपुरः विश्व सम्पदा सूचीमा रहेको पाटन दरबार सङ्ग्रहालयले विश्व पर्यटन दिवसको अवसरमा दरबार सङ्ग्रहालय अवलोकनका लागि आज टिकट शुल्क नलिने भएको छ ।
आगामी सोमबारदेखि विश्व पर्यटन दिवस मनाउन तयारी गरिरहेको पाटन दरबार सङ्ग्रहालयले बुधबार विश्व पर्यटन दिवसको अवरमा आन्तरिक तथा बाह्य पर्यटकलाई निःशुल्क सङ्ग्रहालय अवलोकन गर्ने अवसर दिएको हो । हाल पाटन दरबार सङ्ग्रहालय अवलोकन गर्नका लागि आन्तरिक पर्यटकले रु. ३० र बाह्य पर्यटकले एक हजार शुल्क तिर्ने गरेका छन् ।
पाटन दरबार सङ्ग्रहालयले राखेको तथ्याङ्कअनुसार दैनिक दुई सय ५० भन्दामाथि आन्तरिक पर्यटकले सङ्ग्राहालय अवलोकन गर्छन् भने दुई सयजना बाह्य पर्यटकले अवलोकन गर्दै आएका छन् ।
विश्व पर्यटन दिवसको अवसरमा पाटन दरबार क्षेत्र अवलोकन गर्न आएका बाह्य पर्यटकलाई निःशुल्क प्रवेश गराएर मायाको चिनोसमेत प्रदान गर्ने कार्यक्रम रहेको विश्व पर्यटन दिवसका संयोजक डिलेन्द्रराज श्रेष्ठले जानकारी दिए ।
भक्तपुरः भक्तपुरको टोलटोलमा यम्बद्यः अर्थात् इन्द्र देवता ठड्याएर आजखेखि आठ दिनसम्म इन्द्रजात्रा पर्व शुरु भएको छ । जात्राको पहिलो दिन आज नगरका टोलटोलमा यम्बद्यः (देवता)का रुपमा १५ सोह्र फिट अग्ला लिङ्गा ठडाएर जात्रा शुरु गरिएको हो । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन स्थानीयवासीमा यम्बद्यः अर्थात् इन्द्र देवता उठाइएको भन्ने मान्यता रहेको इतिहास्वििद एवं संस्कृतिविद् प्रा.डां पुरुषोत्तम लोचन श्रेष्ठ जानकारी दिन्छन् ।
दोस्रो दिनलाई यम्बद्यःको नित्यपूजा र आरतीबाहेक अरू विशेष पूजा नहुने हुँदा ‘दिकु’ (विश्राम) भन्ने प्रचलन रहेको छ । तेस्रो दिन साँझ परेपछि खौमाटोलस्थित इन्द्रायणी देवगृहबाट इन्द्रायणीलाई रथमा विराजमान गराई, ‘वाचा मुकेगु’ भनी आधा देश परिक्रमा गराएर बाजागाजासहित धुमधामसँग जात्रा गरी सिद्धपोखरीमा लाने प्रचलन छ । यस दिन रातभरि सिद्धपोखरी अर्थात् इन्द्र दहमा देवतालाई राखी मेला भर्ने गरिन्छ ।
चौथो दिन स्थनीयवासीले बिहानै सिद्ध पोखरी पुगेर इन्द्र दह स्नान गर्दछन् । यसदिन बिहानैदेखि सिद्धपोखरीमा उनीहरूकोे भीड लाग्ने गर्दछ । त्यसदिन समय् (भोज) चढाउने र सोही प्रसाद खाएर ययापुन्ही मानिन्छ । समय्बजीमा छ्वय्ला, सारां (कर्कलोको अचार), भिजाएको केराउ, काक्रो विशेष रूपले खाने चलन छ । बेलुकी इन्द्रायणी देवीलाई पुनः बाजागाजासहित भक्तपुरको आधा देश परिक्रमा गराएर देवगृह देवता भित्र्याउने गरिन्छ ।
पाचौ दिन नित्य पूजा र आरती गरिन्छ भने छैठौँ दिन इन्द्रजात्रा उत्सवको रूपमा विशेष महवमा साथ सला गणेश, यामता, मुपात्र जात्रा मनाउने गरिन्छ । त्यसदिन तचपाल टोलबाट ‘यामता’ इन्द्रबत्ती बालेर जात्रा शुभारम्भ गरिन्छ । यहाँ दतात्रय मन्दिर सामुन्नेको विशाल चोकमा जात्रा हेर्नेको ठूलो भीड लाग्ने गर्दछ । साकुलान टोलका मानन्धरहरूले बाँसले बनेको त्रिशुल आकारको यामतालाई आँगनमा भैरवनाथका सामुन्नेमा राखी विधिवत् पूजा गर्ने गर्दछन् ।
जात्राको सातौँ दिन दिन चोछे टोलका छुमा गणेश र गोलमढी टोलका मानन्धरहरूले यामतासहित देश परिक्रमा गरी जात्रा मनाउछन् । मूपात्र पनि आङ्खना दुईजना धिचाहरूले अघिल्लो दिनमा जस्तै नगर परिक्रमाका क्रममा सामुन्ने परेका यम्बद्यःहरूलाई खड्गले प्रहार गर्दै जात्रा मनाउने गर्छन् । जात्राको अन्तिम दिन आश्विनकृष्ण चतुर्थीमा भैरवनाथको जात्रा, पुलुभैलद्य जात्रा, यामता जात्रा, पुलुकिसी जात्रा, मूपात्र जात्रा मनाउने गरिन्छ ।
इन्द्रजात्राको समापनका दिन धूमधामसँग जात्रा मनाउने प्रचलन छ । यस दिनमा टौमढी टोलका भैरवनाथलाई रथमा राखी देश परिक्रमा गरी जात्रा चलाइन्छ । जात्रामा तेखाचोका मानन्धरहरूले दुईवटा यामता ल्याउने र बुलुचाहिटी सामुन्ने चखुन्चाफल्चातिर अभिमुख गरी यामता बालेर भैरवनाथको जात्रामा सरिक गराउने गरिएको स्थानीयवासी विजयप्रसाद धौभडेल बताउँछन् ।
त्यसदिन भैरवनाथको मन्दिरको भित्तामा झुण्ड्याइराखेको पुलु भैलद्यः (मान्द्रोमा चित्रित मसान भैरव)को जात्रा पनि चलाउने उनी जानकारी दिन्छन् । ठाउँ–ठाउँमा छ्वाली बाल्दै निलो पहिरनमा सेतो वर्णको पुलुकिसीको जात्रा पनि यहाँ मनाइन्छ । भैरवनाथ मन्दिरको मूलद्वारबाट खड्ग उठाएर बाहिरिँदै धिचासहित भएर मूपात्रको जात्रा पनि चल्ने उनी उल्लेख गर्छन् ।
इतिहासविद् प्रा.डा. श्रेष्ठका अनुसार गणेश चतुर्थीका दिनमा बसुन्धराले व्रत बस्दा पूजाका लागि चाहिने ‘खाइसी’ (काली ज्यामिरेका जातिको एक किसिमको तितो अमिलो फल) र पारिजातको फूल लिन उनका छोरा इन्द्र स्वर्गलोकबाट सुटुक्क पृथ्वीलोकमा झरेका थिए । उनले फलफूल चोरेको यहाँका बासिन्दाले थाहा पाएपछि उनलाई पक्रेर चोरेका फलफूलसहित सबैले देख्ने ठाउँमा (दोबाटो चौबाटो) बाँधेर राखेका थिए ।
इन्द्रजात्राको पहिलो दिन दोबाटो चौबाटोमा खडा गरिने यम्बद्यः उनै इन्द्र हुन् भन्ने मान्यता रहदै आएको छ । इन्द्रका छोरालाई बन्दी बनाएर राखेको थाहा पाएपछि आमा बसुन्धरा डाकिनीको भेषधारण गरी पृथ्वी आइन् र सित र हुस्सुले वातावरणलाई छोपेर कसैले नदेख्ने गरी छोरा देवराजलाई स्वर्गमा लगेको किम्वदन्ती छ । छोरालाई भगाउन स्वर्गबाट ऐरावत हात्तीसमेत ल्याइएकाले जात्राको अन्तिम दिन ऐरावत हात्ती अर्थात पुलुकिसी जात्रा मनाउने प्रचलन रहेको छ ।
अर्को किम्वदन्तीअनुसार स्वर्गका राजा देवराज इन्द्रकी आमा वसुन्धरालाई भाद्रशुक्ल चौथीका दिन व्रत बस्न पारिजात फूलको खाँचो पर्यो । इन्द्रले आफ्ना छोरा जयन्तलाई पारिजातको फूल खोज्न पृथ्वीमा पठाइन् । जयन्त पारिजातको फूल खोज्दै दैत्यको बगैँचामा प्रवेश गरे । दैत्यहरुले उनलाई देखेर पक्रेर दोबाटोमा लगेर खम्बामा बाँधिराखे । यो कुरा इन्द्रले थाहा पाई दलबलसहित आएर दैत्यसँग लडाइँ गरे ।
लडाइँमा इन्द्रको विजय भयो । दैत्यहरुले इन्द्रको सेनालाई जयन्त भएको स्थानमा लिएर गए । त्यहाँ दैत्यहरुले जयन्तलाई बाँधेको डोरी काटेर माफी मागे । त्यस क्रममा दैत्यलाई जनतामाझ सहर परिक्रममा गराइएको भन्ने विभिन्न ग्रन्थमा उल्लेख भएको आधारमा जात्रा प्रारम्भ गरिएको किवंन्दती रहेको इतिहास तथा संस्कृतिविद् प्रा.डा. श्रेष्ठ बताउँछन् ।
जात्रामा पुलुकिसीले केहीगरी मुपात्रलाई भेट्यो भने कुल्चेर मार्दा पनि हात्ती बन्ने पात्र र उनका सहयोगीलाई कुनै कानुन नलाग्ने पूर्वमान्यता रहदै आएको छ । पुलुकिसी जात्रा नगरको आधाभन्दा बढी ठाउँमा परिक्रमा गरेपछि मात्र मुपात्र जात्रा शुरु गरिन्छ । यस दिन भक्तपुरको भैरव मन्दिरबाट मुपात्र जात्रा निकालिन्छ ।
इन्द्रजात्रा द्वापरयुगदेखि सञ्चालन भए पनि मल्लकालमा भक्तपुरका राजा जगतप्रकाश मल्लले देवीपुराण र पद्यपुराण सङ्कलन गरी ती पुराणका कथाका आधारमा दृश्य अनुकरण गरी जात्रा प्रचलनमा ल्याएका थिए ।
काठमाडौंः काठमाडौं उपत्यकाको चिनारीसँग जोडिएको ईन्द्रजात्रा अवलोकनका लागि अमेरिका र चीनबाट पाहुना आउने भएका छन् । काठमाडौं महानगरपालिकाले सोमबार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो ।
महानगरका प्रवक्ता नवीन मानन्धरले दुवै देशबाट २२ जना पाहुना आउने बताए । अमेरिकाको फेडरिसवर्ग सिटी र चीनको नान्जिन, छेन्दु र झान्झाउ नगरपालिका र सियान सिटीबाट पाउना आउने उनको भनाइ छ ।
जात्राको गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले महानगरले २०७६ सालबाट भगिनी सम्बन्ध स्थापना भएका नगरपालिकाबाट पाहुना बोलाउन थालेको हो । ती पाहुनालाई ईन्द्रजात्रा अवलोकन हुने रुटमा पर्ने हनुमान ढोका केन्द्रित सम्पदा पदयात्रा, हाँडीगाउँ, स्वयम्भू र भक्तपुर दरबार क्षेत्रको समेत अवलोकन गराउने तयारी भइरहेको उनको भनाइ छ । सबै पाहुनाहरु मङ्गलबार आइपुग्नेछन् ।
जात्राको शुरूको दिन दिव्गत आत्माको चिर शान्तिको कामना गर्दै कान्तिपुरी नगरीको परिक्रमा गरिने छ । असोज ११ गते इन्द्रजात्राको मुख्य दिन हो । सो दिन बढी भीडभाड हुने भएकाले व्यवस्थापन समितिले विशेष सुरक्षा बढाएको छ । उक्त दिन एक सय ८० स्वयंसेवक परिचालन गरी जनपथ र सशस्त्र प्रहरी तथा महानगरको प्रहरीले विशेष सुरक्षा दिने छ । जात्रा अवधिमा हुन सक्ने आगलागीको जोखिमलाई ध्यानमा राख्दै वारुणयन्त्रको समेत व्यवस्था गरिएको छ ।
असोज १५ गते नानिचा याः अर्थात् अन्तिम दिन हनुमानढोका परिसर, प्याफल, नरदेवी, किलाघः, भेडासिंह, वंध९इन्द्रचोक० र मखन क्षेत्रमा सवारी निषेध गरिएकोे छ । कार्यक्रमअनुसार असोज ९ गते बिहान १० बजेर ३७ मिनेट जाँदा लिङ्गो ठड्याउने, असोज १० गते जीवित देवदेवी कुमारी, गणेश र भैरवको पूजा गरी रथयात्रा गराउने साइत छ । त्यस्तै, जात्राको अन्तिम दिन १५ गते जात्रासँगै राति ८ बजेर ३७ मिनेटमा लिङ्गो ढाल्ने कार्यक्रम छ ।
जात्रामा राष्ट्रप्रमुखबाट जीवित देवी कुमारी, गणेश, भैरवको दर्शन गर्ने परम्परा छ । जात्राको प्रचलन मल्ल राजा जयप्रकाशका पालादेखि सुरु भएको विश्वास गरिन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies