काठमाडौंः नेपाली हिन्दु नारीले हरितालिका (तीज) व्रतको तयारीस्वरुप आज दर खाने तयारी गरेका छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि शुरु हुँदैछ । विशेषगरी नेपाली हिन्दु नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ ।
विगत वर्षमा नेपालमा मात्र मनाइने तीज पर्व पछिल्लो समय सञ्चारमाध्यमको प्रचारप्रसारका कारण भारतमा पनि यो पर्व मनाउन थालिएको छ । तीजका गीत भारतीय टेलिभिजन च्यानलमा समेत प्राथमिकताका साथ देखाउन थालेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा बताउँछन् ।
माइती पक्षले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दूधबाट बनेका शुद्ध परिकार खाइन्छ । जसले व्रतका दिन आडिलो बनाउँछ । गहुँको रोटी र घिउ खाँदा वर्तालुका लागि अझ आडिलो हुने अनुभवीको भनाइ छ ।
नीराहार व्रतका लागि आडिलो बनाउन दर
तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज वर्तालुहरुले शक्ति प्राप्तिका लागि मीठा एवं आडिलो परिकार दरका रुपमा खाइ मङ्गलबारको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाइले छोरी, चेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् । दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् प्रा. तोयराज नेपाल बताउँछन् ।
महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत तीजलाई उपयोग गर्ने गरेका छन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्दछन् । जन्मघरबाट कर्मघरमा गई बस्दा पाएका दुःख, पीर, मर्कालाई नारीले पोख्ने गरेका छन् ।
विकृतिमा परिणत हुँदै तीजको संस्कृति
पछिल्ला वर्षमा तीजका नाममा उच्छृङ्खलता र तडकभडक आएको छ । एक महिना अघिदेखि दर खाने, गरगहना एवं पोसाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजेको समाजशास्त्री कीर्तिकुमार राईको धारणा छ । यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनुपर्नेमा पनि संस्कृतिविद्, धर्मशास्त्री एवं समाजशास्त्रीले जोड दिएका छन् ।
एक महिना अघिदेखि नै दर खाने चलन पछिल्लो समय बढ्न थालेपनि भाद्र शुक्ल द्वितीयाको बेलुकीको समय शास्त्रीय रुपमा दर खाने दिनका लागि तोकिएको छ । पछिल्लो समय सरकारी कार्यालयमा समेत एक महिनाअघिदेखि नै तीज कार्यक्रमको तामझाम हुने गरेको छ ।
दर खाएर शुरु गरिँदै चार दिने तीज
आइतबार दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृर्तीयाका दिन हरितालिका व्रत, चौँथीका दिन गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।
यसवर्ष असोज २ गते मङ्गलबार भगवान् गणेश उत्पत्ति भएको विश्वास गरिने गणेश चौँथी र ऋषिपञ्चमी पर्व मनाइने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । गणेश चौँथी प्रातः कालमा तिथि परेका दिन मनाइन्छ । ऋषिपञ्चमी भने मध्याह्नकालमा पञ्चमी परेका दिन मनाउनुपर्ने शास्त्रीय विधि छ । असोज २ गते मङ्गलबार बिहान चौँथी तिथि र त्यसै दिन मध्याह्नकालमा पञ्चमी तिथि परेकाले दुवैपर्व एकै दिन मनाउनुपर्ने गरी निर्णय गरिएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए ।
हरितालिकाको पौराणिकता
तीजको आगमनसँगै नेपाली महिलामा उत्साह जाग्ने गरेको छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् ।
यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज)को व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत रहेको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख एवं पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्राडा देवमणि भट्टराई बताउँछन् ।
हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा लाखौँ महिलाको भीड लाग्ने गर्छ । तीज शुरु भएसँगै रेडियो एवं टेलिभिजनले पनि तीजसम्बन्धी गीत प्रसारणलाई प्राथमिकता दिने गरेका छन् । तीजसँगै समग्र माहोल नै पर्वमय बन्न पुगेको छ ।
मनाङः यहाँको केही स्थानीय पालिकाले आफ्नो आन्तरिक आयबाट जिल्लामा भएका हिमतालको खोजी गर्ने योजना बनाएका छन् । चामेस्थित चामे गाउँपालिका–४ लमजुङ हिमालको फेदीमा सिङ्गरखर्क नजिक अवस्थित सिङ्गर ताल (काजिनसरा) भेटिएको थियो । ताल भेटिएपछि विसं २०७६ असोज १० देखि १४ गतेसम्म चामे गाउँपालिकाले सिङ्गर तालको प्रचारप्रचारका लागि कार्यक्रम गरेको थियो ।
तालको प्रवर्द्धन गर्न चामे गाउँपालिकाको नेतृत्वमा नेपाल पत्रकार महासङ्घ मनाङ, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, स्थानीयवासीको संलग्नतामा ताल नजिक कार्यक्रम गरिएको थियो । गुगलको जिपिएस (ग्लोबल पोजिसनिङ सिस्टम)का अनुसार समुद्री सतहबाट पाँच हजार सात मिटर उचाइमा सिङ्गर (काजिनसारा) ताल रहेको छ । चामेबाट लमजुङ हिमालको बेसक्याम्प हुँदै करिब पाँच घण्टामा यस तालमा पुग्न सकिन्छ ।
यहाँको प्रवर्नद्धनका लागि गाउँपालिकाले ठाउँठाउँमा बस्ने स्थान, विभिन्न स्थानमा शौचालय निर्माण, फोहोरमैला व्यवस्थापनका लागि डम्पिङ साइड निर्माण गरेको छ । यसले पर्यटकलाई सहज रुपमा तालसम्म पुग्न सहयोग पुर्याउनेछ । तालसम्म पुग्नका लागि पालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय (एक्याप) मनाङले ठाउँठाउँमा बाटो चिनाउने साइनबोर्ड राखेको गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेले जानकारी दिए । उनका अनुसार यस तालको प्रवर्द्धनका लागि बर्सेनि तालमै पुगेर कार्य गर्दै आएको छ ।
उनले भने, ‘तालको मापदण्ड निर्धारण गर्नका लागि सरकारसमक्ष प्रस्तावना पेस गरिएको छ, यस्ता पर्यटकीय क्षेत्रको विकासमा सरकारले सहज रुपमा छिटो प्राविधिक तथा सामग्री उपलब्ध गराई प्रवर्द्धन गर्नतर्फ ध्यान दिनुपर्छ ।’ पर्यटकलाई तालसम्म पुग्न सहज होस् भनेर पदमार्ग निर्माण गरिएको उनले बताए ।
यस्तै मनाङ अन्य पालिकामा पनि हिमताल रहेका छन् । यी तालको समेत मापदण्ड र उचाइ मापन गरी प्रवर्द्धन लाग्नुपर्ने अवस्था रहेको छ । मनाङ ङिस्याङ गाउँपालिका–९ खाङ्सारस्थित मुन लेक र हिदम लेक भेटिएको वडाध्यक्ष चोल्पा गुरुङले जानकारी दिए । उनका अनुसार मुन लेक समुद्री सतहबाट पाँच हजार ८० मिटर उचाइमा रहेको छ भने हिदम लेक पाँच हजार तीन सय मिटर उचाइमा रहेको छ ।
यस ताल जान खाङ्सार गाउँबाट पुनारा बस्ती हुँदै करिब तीन घण्टामा मुन लेक पुग्न सकिन्छ । यस्तै मुन लेकबाट तीनदेखि चार घण्टाको दूरीमा हिदम लेक रहेको छ । यी ताल हुँदै तिलिचो तालसम्म पुग्न पदमार्ग गर्नुपर्ने निर्माण गर्नु आवश्यक देखिन्छ । यी तालबाट तिलिचोसम्म पदमार्ग निर्माण गरिएमा पर्यटक एकै बाटोमार्फत तीनवटै ताल एकैसाथ घुम्न सकिने वडाध्यक्ष गुरुङले जानकारी दिए ।
उनले भने, ‘मुन लेकसम्म जाने बाटोमा साइनबोर्ड राखिएको छ, यसलाई अन्य ताल तथा तिलिचो तालसम्म एउटै बाटोमा जोडी प्रवर्द्धन गर्नेतर्फ स्थानीय सरकारसँगै प्रदेश र सङ्घ सरकारले चासो दिनुपर्ने देखिएको छ, बजेट अभावले स्थानीय सरकारले मात्रै विकास गर्न सक्ने अवस्था छैन, जसले गर्दा सहयोग हुनुपर्छ र यो राष्ट्रिय आय पनि हो ।’
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा जोडिएकाले यहाँको पर्यटकीय क्षेत्रको विकासमा केही मात्रामा एक्यापले सहयोग गरेको छ । तर, आवश्यक मात्रामा भने यहाँका पर्यटकीय क्षेत्रको विकास हुन सकेको छैन । मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले मनाङमा धेरै हिमलात रहे पनि यहाँ भएका तालको मापन गर्न पालिकाले नसकेको बताए ।
उनले भने, ‘प्राकृतिक रुपमा नै रहेका यहाँका हिमतालसम्म पुग्न सहज छैन, पालिकाको बजेटले अपुग हुन्छ, यस्ता राष्ट्रिय गौरवका प्राकृतिक तालको खोज अनुसन्धानमा सहयोग गर्नुपर्ने हो ।’ केही बजेट विनियोजन गरी खोज्ने प्रयास हामीले गरेको भए पनि आवश्यक मात्रामा गर्न नसकिएको उनले बताए ।
यहाँका विभिन्न क्षेत्रमा अवस्थित ताल, कुण्डको संरक्षण र विकास गर्न आवश्यक रहेको छ । तर, यहाँका ताल, कुण्ड तथा प्राकृतिक क्षेत्रको खोजी गर्न सङ्घ सरकारले चासो दिनुपर्ने हुन्छ । प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले यहाँ भेटिएका ताल वा कुण्ड के हुन् त्यसको मापन गर्न पहल गर्ने बताए । उनले भने, ‘यहाँ देखिएका, भेटिएका ताल, कुण्डका रुपमा क्याटागोराइज गर्नुपर्ने अवस्था छ, यसमा समन्वयको भूमिकामा रहनेछु ।’
समुद्री सतहबाट पाँच हजार मिटर उचाइमाथि वा अझ बढी उचाइमा ताल हुन सक्ने सम्भाव्यता रहेको छ । गौरवका रुपमा रहेका यस्ता प्राकृतिक क्षेत्रको खोज तथा अनुसन्धान गरी प्रचारप्रसार गर्न सके देशको आयवृद्धिसँगै पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेछ । यी तीनवटा ताल मापदण्ड पूरा भएको तिलिचो ताल (४९१९ मि.)भन्दा बढी उचाइमा रहेका छन् । यस्ता तालको मापन गरी प्रवर्द्धन गर्नु आवश्यक छ । रासस
बागलुङः आज कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन । आजका दिन आफ्नो बुबालाई भेटेर मीठा परिकार खान दिने, उपहार दिने र आशिर्वाद लिने चलन छ । बुबालाई भेट्न नसक्नेले भने फोन तथा श्रव्यदृश्य फोनका माध्यमबाट बुबाको मुख हेर्ने गर्छन् । आजको दिन आफ्ना छोराछोरीसँगै होउन् भन्ने हरेक बाआमालाई हुन्छ ।
बागलुङको बागलुङ नगरपालिका–१३ पैयुँपाटाका ७० वर्षीय केशवराज पाठकलाई पनि त्यस्तै लागेको थियो । तर उनी चाहेर पनि आफ्नो सन्तान सँगसँगै हुन पाएका छैनन् । अहिले उनी मानव सेवा आश्रम बागलुङमा आश्रय लिएर बसेका छन् । हरेक दिन आश्रमको प्रवेशद्वार नजिकै अनुहार चाउरिएको, सेतै कपाल फुलेका तथा हातमा सानो मोबाइलमा गीत बजाएर सुनिरहेको अवस्थामा भेटिने पाठक आफ्ना छोराहरु लिन आउँछन् भन्ने आशमा छन् ।
उनको निन्याउरो अनुहारमा धेरै निरास र अलिअलि आशाका किरण देखिन्छन् । पाठकले मानवसेवा आश्रमभित्र प्रवेश गर्ने सबैलाई नमस्ते गर्दै स्वागत गर्ने गर्छन् । पाठक दुई वर्षदेखि मानव सेवा आश्रममा बस्दै आएका छन् । उनी घरीघरी छोराहरुलाई सम्झन्छन् । तर छोराहरु भने उनलाई सम्झँदैनन् ।
पाठकका तीन भाइ छोरा छन् । जेठो र माइलो भारतको वनरासमा छन् भने कान्छो छोरा भने कुवेतमा छन् । पाठकका दुई बुहारी र छ नातीनतिना पनि छन् तर उनलाई कसैले पनि सम्झिन्न् । तीन वर्ष अगाडि श्रीमती गुमाएका पाठकले कान्छी बुहारीसँग केही महिना बिताए । पोखराबाट लुम्बिनी जाने क्रममा बीच सडकमै अलपत्र पारेर छोरा बुहारी सम्पर्कविहीन भएपछि पाठक बागलुङ फर्किए । बागलुङ फर्किएपछि मानव सेवा आश्रममा आए । अहिले पाठकको दैनिकी आश्रममै बित्ने गरेको छ ।
आज भाद्र कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन । आजको दिनले पाठकलाई निकै पिरोल्ने गर्छ । छोराहरुले सानो छँदा बाबा भनेर आङ्गालो र ठियुँमा झुन्डिएको यादले यहाँलाई सताउने गर्छ । अहिले तिनै छोराले नसम्झिँदा मन दुख्ने पाठकले बताए । छोराहरु हुर्काउन, बढाउन र पढाउन आफूले निकै सङ्घर्ष गरेको सुनाए । अझै पनि छोराहरुले आफूलाई साथैमा लिएर पाल्ने आश उनमा छ । तर जेठो र माइलोसँग चार वर्षदेखि र कान्छोसँग तीन वर्षदेखि उनको सम्पर्क भएको छैन ।
‘म सामान्य परिवारको मान्छे हुँ, मेरा छोराहरुले दुःख पाउँछन् भनेर मैले २० वर्ष भारतमा रगत पसिना बगाएर धन कमाएँ, बुढीले गाउँघरमा हात खुट्टा बजारेर उनीहरुलाई हुर्काइन्, उनीहरुले पढ्न जाहे जति पढाएँ पनि, जब बुढी बिती, त्यसपछि छोराहरुले मलाई हेर्न छोँडे’, पाठकले भने, ‘अब हातपाखुरा बस्न थाले, छोराहरुले पनि मलाई एक्लो बनाए, किन मलाई यस्तो ठाउँमा पुर्याए मैले केही बुझ्न सकेको छैन, अझै पनि आश त लाग्दो रैछ लैजान्छन् कि भन्ने तर अहिले कहाँ छन्, के गर्दैछन् केही थाहा छैन ।’
पाठकले छोराहरु पाल्नका लागि पुस माघको जाडोमा खाली खुट्टा स्याङ्जाबाट नुन र चामल बोकेर ल्याएर खुवाएको भन्दै अहिले त्यो दुःख भुलेर छोराहरुले आफूलाई हेला गरेको बताउँछन् । गाउँमा थोरै जग्गा जमिन भए पनि आफू आश्रममै बस्ने गरेको पाठकले बताए । कुशे औँसीमा आफूले बाबाको मुख हेर्ने गर्दा छोराहरुले त्यो सिके पनि अहिले स्वार्थी बनेको गुनासो पोखे ।
पछिल्लो समय पाठकलाई जस्तै धेरै सन्तानले आफ्ना बाबाआमालाई आश्रममा राख्ने गरेको पाइन्छ । अहिले धेरै युवायुवती प्रदेशमा छन् । गाउँमा बूढा बाआमा मात्रै छन् । पाठकले समय समयमा आफ्नो परिवारलाई सम्झेर निरास हुने गरेको मानव सेवा आश्रम बागलुङकी प्रमुख विपना तामाङले बताइन् । परिवारले नहेरेपछि पाठकलाई आश्रममा ल्याइएको तामाङको भनाइ छ । अहिले पाकठले आश्रममा निकै इमान्दार भएर बसेको भन्दै सकेको कामसमेत गर्ने गरेको उनले बताइन् ।
‘बुबाले आफ्नो छोराहरुलाई धेरै सम्झिनुहुन्छ, तर छोराहरु कहाँ हुनुहुन्छ भन्ने थाहा छैन, अहिलेसम्म उहाँहरु बुबालाई भेट्न एक पटक पनि यहाँ आउनुभएको छैन, धेरै दुःखका कुरा गर्नुहुन्छ, यहाँ बस्न थालेको धेरै समय भयो, बूढाबूढी मान्छे सकेको काम गर्न खोज्नुहुन्छ, आश्रममा धेरै बालबालिका पनि छन् उनीहरुलाई हेर्ने, अरु काम पनि गर्छु भन्नुहुन्छ, जस्तो भए पनि बुबालाई भेट्न आउनुपर्थ्यो, छोराहरु आए हुन्छ ? भन्दा जान्छु भन्नुहुन्छ, बेला बेला निराश हुने गर्नुहुन्छ, हामीले सम्झाउने गरेका छौँ’, उनले भनिन् । डम्मर बुढा मगर/रासस
इलामः इलाम नगरपालिका–७ स्थित सुन्तलाबारीमा जन्मेका संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि मङ्गलबार इलामसहित देश नै शोकमग्न बन्यो । मङ्गलबारको अप्रिय खबर सुनेर सुन्तलाबारीका कृष्ण श्रेष्ठ बुधबार बिहानै नेम्वाङको जन्मघर पुगे ।
नेम्वाङको छिमेकीसमेत रहेका श्रेष्ठले भने, “हिजो दिनभर घरमै बसे । आज बिहानै उठेर उहाँ जन्मिएको घरमा गएँ । ताल्चा लगाएको सुनसान घरको वरिपरि हेरेँ । विगतका मीठा पल सम्झिएँ । विरक्त लाग्यो ।”
अब फेरि देशले उनीजस्तो अर्को सुवासचन्द्र पाउन मुश्किल हुने उनी बताउँछन् । “उहाँ हाम्रो देशको गहना हुनुहुन्थ्यो, नेम्वाङले इलाममा सम्झनायोग्य थुप्रै काम गर्नुभएको छ । इलामको मात्र होइन झापा, पाँचथर र ताप्लेजुङको विकासका लागि पनि महत्त्वपूर्ण योगदान पुर्याउनुभएको छ”, श्रेष्ठले भने । इलाम क्षेत्र नं २ को पश्चिमी क्षेत्रमा करिब रु छ अर्बको लागतमा निर्माणाधीन सडक बनाउनुमा नेम्वाङको योगदान अतुलनीय रहेको उनको भनाइ छ ।
यस्तै इलामको गहनाका रूपमा सानिमा हाइड्रोबाट सोयाङ हुँदै इलाम जोड्ने बाटो बनाउन नेम्वाङको महत्त्वपूर्ण योगदान रहेको श्रेष्ठले बताए । इलामका महत्त्वपूर्ण स्थानको विकासका लागि र व्यापारिक क्षेत्रलाई उक्त सडकले ठूलो टेवा पुर्याउने उाको विश्वास छ ।
नेम्वाङले सहयोग गरेकै कारण इलाममा कोल्डस्टोर, सिटीमार्ट, गौतमबुद्ध सभाहलजस्ता संरचना निर्माण भएको सुन्तलाबारीकी सुशीला नेम्वाङको भनाइ छ । नगरलाई विभिन्न गाउँसँग जोड्ने सडक निर्माणका लागि दातृ निकायसँग सम्पर्क गरेर नेम्वाङले योजना ल्याएको उनले सुनाइन् । टेलिफोन विस्तार, विद्युतीय विस्तारमा टेवा पुर्याउनुका साथै इलाम अस्पताललाई गुणस्तरीय अस्पताल बनाउन नेम्वाङले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको सुशीलाको भनाइ छ ।
सुन्तलाबारी गाउँका ९२ वर्षीय रनबहादुर लिम्बूले विगत सम्झँदै भने, “उहाँको धेरै नबोल्ने गम्भीर स्वभाव थियो । गाउँमा कोहीले झगडा गर्यो भने ऊ रुन्थ्यो”, राईले भने, “भैझगडा मन नपराउने, धेरै नबोल्ने स्वभाव थियो ।” गएको आम निर्वाचनमा आफूलाई भेटेको स्मरण गर्दै राई भन्छन्, “आशीर्वाद चाहियोभन्दा मैले चिताएको पुगोस् भनेको थिएँ । म जीवितै छु ऊ बितेको खबर सुन्दा मेरो भक्कानो छुट्यो ।”
इलामको सुन्तलाबारीमा बाबु रामबहादुर नेम्वाङ र आमा अपिन्द्रकुमारीको कोखबाट २००९ फागुन २८ गते जन्मिएका नेम्वाङले आफ्नो बाल्यकाल त्यहीँ बिताएका थिए । बुवा अदालतको न्यायाधीश भएकाले नेम्वाङले इलाम सदरमुकामको सुन्तलाबारीस्थित आफ्नै घरमा बसेर विद्यालय र उच्च शिक्षा लिए । उनले कानुनमा स्नातक अध्ययन गरेका थिए ।
इलाम क्षेत्र नं २ बाट पाँचौँपटक संसदीय निर्वाचनमा निर्वाचित प्रतिनधिसभा सदस्य नेम्वाङको निधनपछि इलाम स्तब्ध बनेको छ । यतिबेला यहाँका सबै राजनीतिक दलका नेता, कार्यकर्ताको एउटै बोली सुनिन्छ, ‘इलामको मियो ढल्यो’ । विसं २०७९ को निर्वाचनमा नेम्वाङ आफ्नै ३० वर्षदेखिको विरासत जोगाउँदै एक सय १४ मतान्तरले विजयी बनेका थिए । नेम्वाङले ३० हजार २० मत ल्याउँदा कांग्रेस जिल्ला सभापति डम्बर खड्काले २९ हजार नौ सय छ मत ल्याएका थिए । नेम्वाङले निर्वाचन जितेको इलाम क्षेत्र नं २ मा इलाम र देउमाई नगरपालिका, माङ्सेबुङ, चुलाचुली, फाकफोकथुम गाउँपालिका, माई नगरका वडा ६, ७, ८ पर्छन् ।
विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेम्बाङ इलाम–२ बाटै ३६ हजर पाँच सय १७ मत ल्याएर विजयी बनेका थिए । प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशव थापाले २६ हजार आठ सय ६० मत ल्याएका थिए । २०६४ सालको संविधानसभा निर्वाचनमा नेम्वाङले १७ हजार सात सय ४८ मत ल्याउँदा कांग्रेसका केशव थापाले १४ हजार ४४ मत ल्याए । विसं २०७० को संविधानसभा निर्वाचनमा नेम्वाङले १४ हजार नौ सय ३० मत ल्याउँदा कांग्रेसका भेषराज आचार्यले १२ हजार आठ सय २८ मत ल्याएका थिए । रासस
काठमाडौंः हृदयघातका कारण मंगलबार बिहान त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा निधन भएका संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई श्रद्धाञ्जलि दिन एमालेको पार्टी कार्यालय, च्यासलमा पुगेका विशिष्ट व्यक्ति, राजनीतिक नेता र आम कार्यकर्ताले उनको अप्रत्याशित निधन भएकामा दुःख व्यक्त गरेका छन् ।
उनले लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण र न्यायिक क्षेत्रमा खेलेको भूमिकाको स्मरण गर्न भुलेका छैनन् । श्रद्धाञ्जलि दिन आउनेको लाइन र घुइँचो देख्दा लाग्छ, नेम्वाङ कुनै एक पार्टीको मात्र नभइ मुलुककै साझा नेता थिए । मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वयकारी गुण भएका नेम्वाङप्रति श्रद्धाञ्जलि दिँदै उनका बाँकी सपना पूरा गर्ने सङ्कल्प श्रद्धाञ्जलि र समवेदाना दिन आउनेमा प्रकट भएको देखिन्थ्यो । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी श्रद्धाञ्जलि दिएर च्यासलबाट फर्कँदै गर्दा आँशु झार्दै निस्कइन् ।
श्रञ्द्धाजलि दिँदै गर्दा एमालेका अनुशासन आयोगका अध्यक्ष केशव बडालले आँशु थाम्न सकेनन् । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना, एमाले नेता एवं पूर्वमन्त्री वसन्त नेम्वाङ र उनकी श्रीमती भूमिका सुब्बा धरधरी रुँदै पार्थिव शरीर राखिएको सभाहलबाट बाहिर निस्किए । यस्ता दृष्य आज बिहान शिक्षण अस्पताल र दिउँसो एमाले पार्टी कार्यालयमा देखिने क्रम रोकिएका छैनन् ।
नेम्वाङको योगदान र उनको व्यक्तित्व कस्तो थियो भन्ने आँकलन गर्न उनलाई श्रद्धाञ्जलि दिएर एमालेको पार्टी कार्यालयबाट निस्कँदै गर्दा विशिष्ट व्यक्ति, नेतागत र कार्यकर्ताको आँखा रसाएबाट पनि झल्किएको बुझ्न सकिन्छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत शीर्ष नेताले पार्टीको सचिवालय बैठकपछि सामूहिकरुपमा गहिरो मनका साथ माला र फूल चढाएर भावपूर्ण श्रद्धाञ्जलि दिए । श्रद्धाञ्जलि दिएपछि एमालेका शीर्ष नेता विश्राम गरेको स्थलमा विशिष्ट व्यक्ति र अन्य पार्टीका नेता पुग्ने र समवेदना आदानप्रदान गर्ने क्रम जारी छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, मन्त्रिपरिरषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्व सभामुख ओनसरी घर्ती, माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव वर्षामान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताद्वय पशुपतिशमशेर जबरा र डा प्रकाशचन्द्र लोहनी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, वामपन्थी नेताहरु सिद्धिलाल सिंह, सिपी गजुरेललगायत श्रद्धाञ्जलिका लागि च्यासल पुगेका थिए ।
राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट कानुनी सल्लाहकार बाबुराम कुँवर, प्रेस सल्लाहकार किरण पोखरेल र छोरी अवज्ञा पौडेलले पनि च्यासल पुगेर नेम्वाङलाई श्रद्धाञ्जलि दिई एमाले अध्यक्ष ओलीप्रति समवेदना प्रकट गरेका थिए । एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल पहिलो संविधानसभा असफल भएपछिको दोस्रो संविधानसभामा पनि नेम्वाङ अध्यक्ष नभएको भए संविधान जारी हुन कठिन हुने टिप्पणी गर्छन् । पोखरेलले भने, ‘नेम्वाङको कुशल नेतृत्व, हिम्मत र दृढताका कारण संविधान जारी हुन सफल भएको हो ।’’
पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र)का नेता अग्निप्रसाद सापकोटाले नेम्वाङको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिएपछि आफ्ना स्मरण सञ्चारकर्मीमाझ पस्कँदै भने, ‘दुई दुई पटक संविधानसभाका अध्यक्ष भइसकेका नेता नेम्वाङको निधनबाट नेपाली राजनीतिमा अविस्मरणीय र अतुलनीय योगदान दिने व्यक्तित्व गुमाएका छौँ ।’ उनले नेम्वाङलाई आफूले राजनीतिक नेता र संवैधानिक ज्ञाता मात्र होइन एक बहुआयामिक व्यक्तिका रुपमा बुझ्ने बताए ।
नेपाली कांग्रेसका नेता एवं सांसद् प्रदीप पौडेलले नेम्वाङ पार्टीगत गुटबन्दी र प्रभावबाटमुक्त रहेको उल्लेख गर्दै भने, ‘उहाँ विधिको शासनका पक्षधर र समन्वयकारी नेता हुनुहुनन्थ्यो ।’ गत महिना सुन तस्करीको घटनामाथि उच्चस्तरीय छानबिनका लागि उनकै पार्टीले लगातार सङ्घीय संसद्का बैठक अवरोध गरिरहेका बेला नेम्वाङले यसरी सदन अवरोध गर्ने विषय नियमावलीविरुद्ध भएको सार्वजनिक प्रतिक्रिया दिएपछि उनको साझा व्यक्तित्व झन् उजेलिएको थियो । त्यसको केही दिनपछि प्रमुख दलबीच उक्त विषयमा सहमति भई सदन खुलाउने संयोग पनि बनेको थियो ।
नेम्वाङसँग लामो राजनीतिक सहकार्य गरेका नेकपा (एकीकृत समाजवादी)का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलाममा नेम्वाङ र आफूबीच एकै पार्टीमा रहँदा एकले अर्काको निर्वाचन क्षेत्रमा चुनाव प्रचारप्रसारका लागि भाषण गर्न हिँडेको कुरा सबैभन्दा बढी स्मरणीय रहने बताए ।
एमाले सचिव गोकर्णराज विष्टले एक अर्काविरुद्ध आरोप नलगाइकन आफ्ना कुरा निर्धक्क राख्न सक्ने र गाली राजनीतिबाट अलग रहेका कमै नेतामध्ये नेम्वाङलाई स्मरण गरे । एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले नेम्वाङ एमालेका मात्र नभइ साझा नेता भएकाले मुलुककै लागि अपुरणीय क्षति भएको बताए ।
सोही पार्टीका सांसद् सूर्य थापाले नयाँ पिँढीलाई राजनीतिमा सधैँ प्रोत्साहन गर्ने नेताका रुपमा नेम्वाङलाई सम्झिए भने स्वतन्त्र सांसद् डा. अमरेशकुमार सिंहले नेम्वाङको निधनबाट निष्ठाको राजनीतिमा लामो समय उनको अभाव खड्किने उल्लेख गरे । नेम्वाङप्रति श्रद्धाञ्जलि व्यक्त गर्न एमाले केन्द्रीय कार्यालयमा बुधबार बिहान ९ देखि दिउँसो १ बजेसम्म उनको पार्थीव शरीर राखिने छ । प्रकाश सिलवाल/रासस
काठमाडौंः संविधानसभाका अध्यक्ष एवम नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको निधनसँगै संसद् र संसदीय मामिलासम्बन्धी विधामा काम गर्ने सञ्चारकर्मीको सूचनाको प्रमुख स्रोत गुमेको छ । लामो समयसम्म सभामुखको भूमिकामा रहेका कारण संसदीय सूचना प्राप्त गर्ने सन्दर्भमा सबै सञ्चारगृहका लागि उनी समाचार स्रोतका रुपमा थिए ।
पत्रकारलाई सधैँ ‘स्थायी समिति सदस्य’ भनेर सम्बोधन गर्ने संविधानसभाका अध्यक्ष नेम्वाङ संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलबीच भइरहेका कुराकानी, उठेका प्रश्न, समस्या समाधानका लागि चालिएका कदम र सम्भावित चुनौतीबारे सूचना उपलब्ध गराउँदै पुष्ट्याइँका लागि सहयोगसमेत गर्थे । राष्ट्र, राष्ट्रियता र समाजका विभिन्न विधाका विषयमा पनि उत्तिकै चासो र चिन्ता राख्ने नेम्वाङको कार्यकक्ष सबैखाले सञ्चारकर्मीका लागि हरदम खुला रहन्थ्यो ।
संविधानसभाका अध्यक्ष नेम्वाङसित भेट्न र सम्पर्क गर्न बेग्लै पहुँच स्थापित गर्न आवश्यक थिएन । उनको कार्यकक्षमा सधैँजसो पत्रकारको जमघट भइरहन्थ्यो । सधैँ सूचना प्राप्त भइरहन्थ्यो । आफ्ना केही भनाइ वा दृष्टिकोण सञ्चारमाध्यममा ल्याउनुपर्यो भने हार्दिकताका साथ यस्तो विषयले तपाईंहरुको सञ्चारमाध्यममा स्थान पाउँदैन ? भनी उनी जिज्ञाशा राख्थे ।
पुष्ट्याइँबिना आएका कतिपय समाचारप्रति टिप्पणी गर्दै नेम्वाङले ‘व्याङ्ग्यात्मक’ शैलीमा भन्थे, ‘समाचारको स्रोत चाहीँ को हो ? त्यहाँ त केही देखिँदैन, मैले भनेको छैन ।’
संसदीय मामिला पत्रकार समाजका पूर्वअध्यक्ष नारायण काफले भने, ‘संसदीय खुलापन, संसदीय अभ्यास र सञ्चार जगतको पहुँच स्थापित गराउने हिसाबले उहाँ हाम्रो अभिभाव नै हुनुहुन्थ्यो, संसदीय पत्रकारले एक मार्गदर्शक गुमाएको छ ।’ रासस
इलामः इलाम क्षेत्र नं २ का सङ्घीय सांसद सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले इलाम शोकमग्न भएको छ । उनी विसं २०५६ देखि इलामबाट लगातार संसदीय चुनाव जितेर सांसद रहँदै आएका थिए । उनी हाल नेकपा (एमाले) संसदीय दलको उपनेतासमेत थिए ।
राष्ट्रिय राजनीतिमा सहमति, सहकार्य र एकताका सुत्रधार एवं इमान्दार छवि बनाएका नेम्वाङ जिल्लाबासीका लागि ‘राजनीतिक मियो’ थिए । इलामबजार नजिकै सुन्तलाबारमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिष्ट राजनीतिमा होमिएका थिए । विसं २०३३ मा राजद्रोह मुद्दामा उनी केही समय जेल परे । विसं २०४८ र २०५२ मा राष्ट्रियसभाको सदस्य भएका उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिष्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री बनेका थिए ।
विसं २०५६ को संसदीय निर्वाचन जितेर उनी सार्वजनिक लेखा समिति सभापति बनेका हुन् । उनी जनआन्दोलन विसं २०६२/६३ सँगै पुनःस्थापित संसद्का सभामुख पनि भएका थिए । विसं २०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष भएको थिए । संविधानसभाबाट नेपालको संविधान जारी गर्न उनले समन्वयकारी भूमिका निर्वाह गरेका थिए । उनी चारपटक सभामुख हुँदा सधैँ सर्वसम्मत नै बने ।
नेम्वाङको अवसानले इलाम शोकमग्न
नेम्वाङको निधन भएको खबर पाएसँगै जिल्ला तहका विभिन्न राजनीतिक दल, नेता, सामाजिक अभियान्ता, विद्यार्थीलगायतले दुःख व्यक्त गरिरहेका छन् । नेम्वाङको निधनबाट देशले अपूरणीय क्षति व्यहोर्नुपरेको अधिकांशको भनाइ छ ।
इलाम क्षेत्र नं १ का सांसद महेश बस्नेतले इलामको मियो ढलेको बताए । उनले देश र जनताका लागि पुर्याएको योगदान अतुलनीय हुने जनाउँदै देशले नै शोक मनाइरहेको बताएका छन् ।
गत आमनिर्वाचनमा नेम्वाङसँग थोरै मतान्तरले पराजित भएका नेपाली कांग्रेस इलामका सभापति डम्बर खड्काले उनलाई इलामले सधैँ सम्झिरहने बताए । ‘पटक–पटक यस क्षेत्रको प्रतिनिधित्व गर्दै सुवास दाइले इलामको चौतर्फी विकासमा ठूलो योगदान दिनुभएको छ, इलामका बालबच्चादेखि वृद्धवृद्धासम्म सबैको सधैँ प्रिय भएरै बिदा हुनुभयो’, उनले भने ।
‘उहाँ पार्टीको मात्र नभएर सारा नेपालीको नेता हुनुहुन्थ्यो’, नेकपा (एकीकृत समाजवादी) इलामका अध्यक्ष भक्त केसीले भने, ‘उहाँको अभाव नेपाली राजनीतिमा सधैँ खड्कने छ ।’
राजजनीतिमा खासै चासो नभएको बताउने इलामका विद्यार्थीसमेत नेम्वाङको निधनले दुःखी भएको बताउँछन् । इलाम क्याम्पसमा अध्ययनरत विद्यार्थी रोशन सापकोटाले भने, ‘म धेरै राजनीति त जान्दिनँ तर उहाँको ब्यक्तित्वबाट प्रभावित थिएँ । एकाबिहानैको खबरले स्तब्ध भएँ ।’
नेकपा (माओवादी केन्द्र)का जिल्ला नेता रञ्जित श्रेष्ठले कम्युनिष्ट शक्तिहरूलाई एक बनाएर लैजानमा उनले चालेको कदम बिर्सन नसकिने बताएका छन् । ‘कम्युनिष्टहरू एक भएर आएमा मात्र यो देश समृद्ध बन्छ भन्नेमा उहाँ प्रष्ट हुहुन्थ्यो’, उनले भने, ‘सुवास सरको निधनले इलामलाई मात्र होइन, देशको कम्युनिष्ट आन्दोलन नै कमजोर हुनसक्ने देख्छु ।’
‘उहाँले देखाउनुभएको बाटोमा इलाम अघि बढ्नेछ । उहाँले पूरा गर्न नसकेका समृद्ध इलामको सपना हामी सबै मिलेर पूरा गर्नुपर्छ’, माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेबेले भने । मनोज अधिकारी/रासस
काठमाडौंः गाईजात्राको दोस्रो दिन काठमाडौं उपत्यकामा चहलपहल देखिएको छ । यस वर्ष जनैपूर्णिमा र गाईजात्रा बिहीबार एकैदिनदेखि शुरु भएकाले आज पनि केही स्थानमा गाईजात्रा मनाइँदैछ ।
राजधानीमा बिहानैदेखि मानिसलाई गाईका रुपमा सिँगारी बजार परिक्रमा गराउन शुरु गरिएको छ । विशेषगरी नेवार समुदायको बस्ती रहेका ठाउँमा गाईजात्रा पर्व भव्यरुपमा मनाउने गरिएको छ । प्रत्येक वर्ष भाद्रकृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन विभिन्न कार्यक्रम गरी गाईजात्रा पर्व मनाउने गरिन्छ ।
वर्षभर दिवङ्गत भएका व्यक्तिका नाममा गाईजात्रा निकाल्ने परम्परा विशेषगरी नेवार समुदायमा मल्लकालदेखि चल्दै आएको छ । प्रताप मल्लले पुत्र शोकबाट विह्वल भएकी रानीलाई अरुका घरमा पनि मानिस मर्छन् भन्ने देखाउन गाईजात्राको परम्परा शुरु गरेको इतिहास छ ।
आजको गाईजात्रामा पनि गाई वा गाईका रुपमा सिँगारी जात्राका लागि निकालिएकालाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिएको दृश्य देख्न सकिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
यही धार्मिक विश्वासका आधारमा आज पनि वसन्तपुर दरबार क्षेत्र भएर गाईजात्रा प्रदर्शन भइरहेको छ । गाईजात्राबाट पनि रानीको मन शान्त हुन नसकेकाले राजा प्रताप मल्लले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जन श्रुती पाइन्छ । मल्लकालदेखि शुरु भएको गाईजात्रा अहिले काठमाडौं उपत्यकाको मौलिक पर्वका रुपमा स्थापित भइसकेको छ ।
बौद्धमा रोपाइँ जात्राको तयारी
प्रत्येक वर्ष गाईजात्राको भोलिपल्ट अर्थात् भाद्र कृष्ण द्वितीयाका दिन बौद्ध क्षेत्रमा रोपाइँ जात्रा मनाउने प्रचलन छ । यसका लागि सबै तयारी पूरा भएको बौद्धनाथ क्षेत्र विकास समितिले जनाएको छ । समितिको संयोजनमा बौद्ध क्षेत्रका सबै संस्थाको सहभागितामा जात्रा मनाउन लागिएको हो । सांस्कृतिक झाँकी, बाजा गाजासहित उपस्थित लाठे, रोपाहारलगायत कलाकारले बौद्धबाट टुसालसम्मका क्षेत्रमा झाँकी प्रदर्शनसमेत गरी रोपाइँ जात्रा मनाउने तयारी भएको हो ।
रोपाइँ जात्रा बौद्ध क्षेत्रको मौलिक पर्वका रुपमा स्थापित भएको छ । गाईजात्राको तेस्रो दिन अर्थात् भाद्रकृष्ण तृतीयाका दिन जगवागेश्वरीमा पनि रोपाइँजात्रा आयोजना गरिन्छ । भाद्र कृष्ण प्रतिपदाका दिन शुरु भएको गाईजात्रा अष्टमीका दिनसम्म मनाउने परम्परा छ । जात्रा हेर्न विदेशीय पर्यटकको पनि भीड लाग्ने गर्छ ।
ढोरपाटनः उत्तरगङ्गा ढोरबराह मन्दिरमा बिहीबार बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । ऐतिहासिक महत्वको प्रसिद्ध धार्मिकस्थल उत्तरगङ्गा ढोरबराहमा हरेक वर्ष जनैपूर्णिमा र वैशाख पूर्णिमामा मेला लाग्ने गर्छ । ढोरपाटन नगरपालिका–९ ढोरपाटन उपत्यकामा अवस्थित यस मन्दिरमा पूजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुने विश्वास छ ।
केही वर्षअघिसम्म जनैपूर्णिमामा मात्रै पूजाआजा गर्ने गरिएकामा टाढाबाट भाकल गरी आउने दर्शनार्थीलाई लक्ष गरी वैशाखपूर्णिमा पनि पूजा गर्न थालिएको स्थानीय कुलबहादुर घर्तीमगरले बताए । वर्षमा दुई पटक मन्दिरमा पूजाआजा गर्न थालेपछि उत्तरगङ्गा बराह मन्दिरमा जनैपूर्णिमाका दिन केही कम दर्शनार्थी आउन थालेको उनको भनाइ छ ।
उनले भने, ‘पहिले त जनैपूर्णिमाका दिन हजारौँ बोका, पाठा र भेडाको बलि दिइन्थ्यो, लाखको हाराहारीमा पूजा गर्नका लागि दर्शनार्थी आउथे, बर्खाको हिलो, बुर्तिबाङबाट आउने सडक पनि अप्ठ्यारो हुँदा दर्शनार्थीले दुःख पाउँथे । अहिले वर्षमा दुईपटक पूजा गर्न थालेपछि यहाँ आउने भक्तजनलाई पनि सहज भएको छ ।’
ढोरपाटन सडकले जोडिएपछि भक्तजनलाई सहज भएको छ । सडक नहुँदा भाकल गरेका बोकापाठा ल्याउन गाह्रो थियो, अहिले सजिलो भएको छ । भक्तजनको सजिलोका लागि ढोरपाटन नगरपालिकाले ठाउँठाउँमा डोजर राखेर सडक मर्मत गरिरहेको छ । वर्षाले सडकका विभिन्न स्थानमा क्षति पुर्याएकाले मर्मत गरिएकोध ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले जानकारी दिए ।
आज बिहानैदेखि उत्तरगङ्गा मन्दिरमा बलि दिइ पूजाआजा भइरहेको उनले बताए । यस अवसरमा यहाँका स्थानीय क्लबले विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम पनि आयोजना गरेका छन् । रासस
रसुवाः जनैपूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्डमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । मेला भर्न नीलाद्री पर्वत पुगेका करिब चार हजारभन्दा बढी भक्तजनले आज गोसाइँकुण्डमा स्नान तथा पूजा आरधना गरिरहेका छन् ।
समुद्र सतहदेखि १४ हजार एक सय फिटको उचाइमा अवस्थित पवित्र कुण्डमा मिरमिरे उज्यालोदेखिनै भक्तजनले स्नान एवं पूजा आरधना कार्य थालेका गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिए । अधिकांश भक्तजन बुधबार साँझनै कुण्डस्थलमा बास बस्न पुगेका थिए भने केही भक्तजन बीचबाटोमा बास बसी आज बिहानै तीर्थस्थल पुगेका छन् । थोर बहुतयात्रु भने लौरीविनायकको उकालो चढिरहेका जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले बताए ।
गोसाइँकुण्डमा स्नान गरी पूजा आराधना गर्नाले आफ्नो मनोकाङ्क्षा पूरा भई घरपरिवारमा सुख शान्ति बढ्ने र पारिवारिक मिलनमा थप प्रगाढ हुने विश्वास रहिआएको छ । गोसाइँकुण्डको दर्शन गर्ने सबैभन्दा ठूलो पर्व जनैपूणिर्माको दिन कुण्डको जलाशयमा फूल प्रसाद चढाउँदा सम्पूर्ण देवदेवताको दर्शन मिल्न गई आफूले सोचेका सबै कुरा पूरा हुने धार्मिक मान्यताअनुरूप गोसाइँकुण्ड पुग्ने चलन रहिआएको छ ।
गोसाइँकुण्ड पुगेका भक्तजनलाई नेपाली सेना, गोसाइँकुण्ड गाउँपालिका, रसुवा जिल्ला अस्पताल, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, हिमालय उद्धार सङ्घसमेतले चिकित्सक एवं स्वास्थ्यकर्मी परिचालन गरी धुञ्चेदेखि गोसाइँकुण्डसम्म प्राथमिक उपचार सेवा प्रदान गर्दैआएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए ।
समग्रको सुरक्षा एवं लेक लागि गम्भीर बिरामी परेका यात्रुको उद्धारका लागि नेपाल प्रहरीले ४०, नेपाली सेना विष्णुदल गणले ६० र सशस्त्र प्रहरी बलका २० सुरक्षाकर्मी परिचालन गरिएको छ । यात्रुले ल्याएका सवारी साधनको पार्किङ व्यवस्था गोसाइँकुण्ड गाउँपालिकाले गरेको छ । रासस
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies