–रत्नप्रसाद अनामणी
तिम्रो सन्ततिको भविष्यको
सपनाहरू च्यापेर
बिक्रीका नागरिकताहरू
लुटिएका जनताका सपनाहरू
हिजो अस्ति र आजका भागबण्डाहरू
तिर्नैपर्छ तिमिले
सिर्जनाका फाँटहरूमा
आँधीको निर्णय आउनु अगाडि
तिमीले भोग्नैपर्छ
या जेलभित्र कोच्नैपर्छ ।।
तिम्रो कोटमा छर्केका
सेन्ट र पफ्र्युमहरूका बास्नाहरू
अबका दिनमा गन्ध आउनेछ
तिमीले आफ्नैका लागि
बाँडेका पद र उच्च ओहदाहरू
सुरक्षाका तारबारहरू
अब काम लाग्नेछैनन्
आँधीको निर्णय आउनु अगाडि
तिमीले भोग्नैपर्छ
वा जेलभित्र कोच्नैपर्छ ।।
काण्डै काण्डको आडमा
सासुदेखि ससुरासम्म
छोरीदेखि ज्वाइँसम्म
छोरादेखि सालासम्म
तिमीले दिएका अबैध
मान प्रतिष्ठा र धनसम्पत्ती
अब हिसाब खोजिनेछ
त्यसैले तिमीले भोग्नैपर्छ
या जेलमा कोच्नुपर्छ
आँधीको निर्णय आउनु अगाडि ।
आँधीको निर्णय आउनु अगाडि ।।
–राजेश भट्टराई
चाहान्छ्यौ नै मलाई भनेँ, आउँला नि के भो र
तिमीसँग मिठो माया, लगाउँला नि के भो र
म त परेँ अरुको दिल, तोड्नै नसक्ने मान्छे
प्रेमा स्वादमा दुवै जना, रमाउँला नि के भो र ।।
तिमीले झैँ माया चाहाने, मेरो मन छ नि
अझै मैँले चाहेँ जस्तै नै, तिम्रो तन छ नि
त्यही भएर त नजिक हुन्छु, तिमी जस्तै
मेरो मुटुमा सधैँभरी, तिम्रै धड्कन छ नि ।।
छ नि मेरो चाहाना धेरै, तिम्रो माया पाउने
तिम्रै मायाको छहारीमा, सधैँभरी रमाउने
त्यही भएर त हुन्छु नि नजिक, तिम्रो सधैँ
दुवैले एक अर्कालाई, जिन्दगीभर अपनाउने ।।
राम्रो भन्छ्यौं मलाई, म राम्रो कि तिम्रो माया
म त ठान्छु आफूूलाई, तिम्रै सुन्दरताको छाँया
तर जे भएपनि खुशी छु, मन पराउनी रैछ्यौ
आउँछु अब बस्न समिप, घरी दाँया घरी बाँया ।।
गण्डकीः नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय संस्कृति अध्ययन केन्द्रद्वारा आयोजित दुई दिने गण्डकी प्रदेशस्तरीय सांस्कृतिक संगोष्ठीमा पश्चिमी सस्कृति र सभ्यताको प्रभावले नेपाली प्राचीन मौलिक संस्कृति सङ्कटमा पर्दै गएकामा चिन्ता व्यक्त गरिएको छ ।
जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानको संयोजन, पोखरा प्रज्ञा प्रतिष्ठानको सहकार्य तथा गण्डकी प्रदेशका विभिन्न संस्थासँगको समन्वयमा गरिएको सो संगोष्ठीमा वक्ताले पश्चिमी संस्कारको प्रभावले आफ्नै विद्यार्थी र छोराछोरी राष्ट्रियताप्रति विमुख हुँदा प्राचीन संस्कृति सङ्कटमा परिरहेको उनीहरुको भनाइ थियो ।
यही मङसिर ४ र ५ गते सम्पन्न सम्पन्न सो संगोष्ठीमा नेपाली वाङ्मयसम्वद्ध विभिन्न सातवटा गोष्ठीपत्र प्रस्तुत गरिएको थियोे । कार्यक्रममा प्रा.डा. माधवप्रसाद पोखरेलले ‘गण्डकी प्रदेशमा बोलिने भाषाको अवस्था’, प्रा.डा. कुसुमाकर न्यौपानेले ‘गण्डकी प्रदेशको सङ्गीत’, प्रा.डा. ज्ञानबहादुर कार्कीले ‘स्याङ्जाका चारकोटको चिनारी र ऐतिहासिकता’, प्रा.डा. जगन्नाथ रेग्मीले ‘पर्वत, मोदी र बेनीको महत्व’, डा. शान्ता खत्रीले ‘कुमाल जातिको परम्परागत संस्कृति र पेसामा भएको परिवर्तन’, लक्ष्मण श्रेष्ठले ‘पोखरेली गाईजात्रा परम्परा र लोक प्रचलन’ शीर्षकमा गोष्ठीपत्र प्रस्तुत गरेका थिए । अतिथि प्रस्तोताका रूपमा डा. गोविन्द आचार्यले ‘देउखहर्या थारू समुदायको वालवाली गुरही टिउहार’ विषयक गोष्ठीपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रमका वक्ताले यस्ता कार्यक्रमले नेपालमा प्रचलित संस्कार, संस्कृति, भाषा, कला, इतिहास तथा पुरातत्वको संरक्षण एवम् प्रवद्धन गरी राष्ट्रिय एकतालाई सुदृढ तुल्याउने धारणा राखे । पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले विविधतायुक्त समाजका विविधतालाई कायम गर्दै मौलिक संस्कृतिको जगेर्ना आजको आवश्यकता भएको धारणा राखे । व्यवहारिक शिक्षा आजको आवश्यकता भए पनि हाम्रो संस्कार र संस्कृति बच्यो भने मात्र हाम्रो स्वाभिमान बच्ने उनले बताए ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले नेपाली संस्कृतिको अभिन्न अङ्ग साहित्य भएकाले हाम्रो प्राचीन साहित्य कसरी पुर्नलेखन भएको छ त्यसमा ध्यान जान आवश्यक भएको उल्लेख गरे ।नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष एवम् नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्रका अध्यक्ष प्रा.डा. भीमप्रसाद खतिवडाले विश्व बन्धुत्व हराएको बेला हाम्रा संस्कार संस्कृति पुस्तान्तरण नभएकोमा चिन्ता व्यक्त गर्दै समाजमा सांस्कृतिक सन्तुलन र पुस्तान्तरणका लागि व्यवहारिक शिक्षा आवश्यक भएको बताए ।
कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्रका कार्यकारी निर्देशक डा. जर्मन चौधरी, गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची, पोखरा प्रज्ञा–प्रतिष्ठानका कुलपति पद्मराज ढकाल, स्वतन्त्र पत्रकार सङ्घ कास्कीका अध्यक्ष असफल गौतम लगायतले कला संस्कृतिको जगेर्ना राज्यको दायित्व भएको बताए ।
कार्यक्रमका संयोजक जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानका अध्यक्ष मदनराज थापाले गोष्ठीपत्रलाई प्राप्त भएका सुझावलाई समेटेर तिनको सम्पादनसहित प्रकाशन गरिने जानकारी दिए । संगोष्ठीको उद्घाटन सत्रमा नेपाल पुन मगर समाज अर्चलबोटका कलाकारको जातीय पहिचान झल्काउने पुर्ख्यौली नृत्य प्रदर्शन गरिएको थियो भने समापन सत्रमा गुरुङ चलचित्रका महानायक ताराबहादुर गुरुङले मेरो टोपी शीर्षकको गीतमा नृत्य प्रस्तुत गरेका थिए ।
काठमाडौं : कवि प्रेमप्रसाद भट्टराईको ‘अरब’ गीतिकाव्य लोकार्पण गरिएको छ । साहित्यिक पत्रकार संघले सोमबार सामाजिक विकास समाज, अनामनगर, काठमाडौंमा आयोजना गरेको कार्यक्रममा कवि भट्टराईको ‘अरब’ गीतिकाव्य लोकार्पण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ इतिहासविद् प्रा.डा. सुरेन्द्र केसीले उक्त गीतिकाव्य लोकार्पण गरेका हुन् । साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा कवि भट्टराईलाई सम्मान पनि गरिएको थियो । कवि भट्टराई साहित्यिक पत्रकार संघका आजीवन सदस्य एवम् अनेसास कतारका पूर्वअध्यक्ष पनि हुन् ।
कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. केसी, अध्यक्ष लेकाली, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव धनप्रसाद सुवेदी, वरिष्ठ कवि प्रल्हाद पोखरेल, नायक नवल खड्का, साझा प्रकाशनका लवप्रसाद भण्डारीलगायतले आ–आफ्नो मन्तव्य राखेका थिए । सोही कार्यक्रममा वरिष्ठ कवि पोखरेल र समालोचक डा. शान्ति गिरीले लोकार्पित कृति ‘अरब’ गीतिकाव्यबारे समीक्षात्मक मन्तव्य राखेका थिए ।
कार्यक्रममा अनेसास केन्द्रीय समितिकी उपाध्यक्ष डा. रेणु थापा सोलु र चर्चित संगीतकार नरहरी प्रेमीले लोकार्पित कृतिबाट गीत गाएका थिए । कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. केसी, अतिथिहरु पोखरेल, डा. गिरी, नायक खड्का, भण्डारी, पत्रकार होम कार्की र श्रीबाबु कार्कीलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा कलाकार कृपा भट्टराईले नृत्य प्रस्तुत गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन निबन्धकार श्रीबाबु कार्कीले गरेका थिए ।
कार्यक्रममा प्राज्ञ सत्यकला राई, साहित्यिक पत्रकार संघका पूर्वअध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, गुन्जनकी निवर्तमान अध्यक्ष हिरण्यकुमारी पाठक, शारदा पत्रिकाका सम्पादक विमल भौकाजी, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, पूर्व अध्यक्ष पवन आलोक, प्रा.डा. गोविन्दमान सिंह कार्की, साहित्यकारहरु गीता कार्की, अश्विनी कोइराला, निशा केसी, सुशीला देउजा, डीजी शर्मा (यूएई), कला भट्टराई, जीवन श्रेष्ठ, रुप रसाइली (नवोदित वाचनालयका निवर्तमान अध्यक्ष), भानुप्रकाश जोशी, राज रजक, मुरारि सिग्देल, द्वारिका ढुंगेल, उषा केसी, डा. यादेवी ढकाल, मणिराज सिंह, हरि गिरी, राजेन्द्र ढुंगाना, नवोदित साहित्यिक वाचनालय कतारका पूर्वअध्यक्ष इन्द्रमणि नेपाल, पत्रकार दिपक पुडासैनी, महेश्वर नेपाल, मनिला वन्त, कुमार केसी, महेश्वर नेपाल, अशिव बनेपाली, ममता कार्की, सविता ढकाल, सानुराजा अन्जान, राजेश ढुंगाना, दिपक पुडासैनी, राज यात्री लम्साल, सुमा श्रेष्ठ, रिना पाण्डे पुडासैनीलगायतको उपस्थिति रहेको थियो ।
काठमाडौंः तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सवमा ३९ देशका कलाकार सहभागी हुने भएका छन् । अन्तर्राष्ट्रिय जलरङ समाज नेपाल (आइडब्लुएस) नेपालका अनुसार नेपालमा यही मङ्सिरमा हुन लागेको पाँच दिने सो महोत्सवमा आजसम्म ३९ देशका तीन सय बढी कलाकृति समावेश हुने छन् । महोत्सव यही मङ्सिर १६ गतेदेखि २० गतेसम्म हुने छ ।
कार्यक्रम उपत्यका र आसपास जिल्लामा केन्द्रित हुनेछ । समाजका अध्यक्ष एनवी गुरुङले अहिले कलाकारबाट कलाकृति आउनेक्रम अन्तिम चरणमा पुगेको जानकारी गराउँदै यति धेरै देशबाट कलाकृति सहभागी भएर कला प्रदर्शनका साथै प्रदर्शन गर्न लागिएको कला क्षेत्रको यो ठूलो कार्यक्रम भएको दाबी गरे ।
उनले झण्डै १३ देखि १४ लाखखर्च हुने अनुमान गरिएको जलरङ महोत्सव अन्तरगत काठमाडौं, ललितपुर र भक्तपुरका सम्पदा क्षेत्रमा गएर कला कार्यशालासमेत हुने जानकारी दिए। उद्घाटनको दिन मङ्सिर १६ गते नेपाल कला परिषद्मा विश्वबाट सहभागी भएका कला सिर्जनाको प्रदर्शनीका साथै मास्टर कलाकारबाट ‘लाइभ डेमोस्ट्रेसन’समेत हुने छ । त्यहाँ नेपाली कलाकारले विश्वको कला सिर्जनासम्बन्धी प्रविधि चिन्न र जान्न सकिने उनले बताए ।
महोत्सवअन्तर्गत नगरकोटमा सूर्योदय र सूर्यास्तको दृष्यावलोकन गराएर कला सिर्जना गर्ने योजनासमेत रहेको छ । कलाकारलाई सम्मान तथा पुरस्कारसमेत हुने छ । काठमाडौं दरबार स्क्वायर, ललितपुरको दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर, स्वयम्भूलाई फोकस गरेरै कला सिर्जना हुने अन्तर्राष्ट्रिय जलरङ समाज नेपालकाका संस्थापक सदस्य डिबी राईले बताए ।
उनले धेरै कलाकारले काठमाडौंको सम्पदा क्षेत्रका चित्रहरु जलरङबाट सिर्जना गर्ने भएकाले पर्यटन प्रवर्द्धनमा पनि ठूलो सहयोग पुग्ने बताए । यसपाली भारत, बङ्गलादेश, अष्ट्रिया, भियतनाम, म्यान्मार, थाइल्याण्डलगायत देशबाट कलाकार प्रत्यक्ष सहभागी हुने जानकारी आइसकेको र अन्य देशका कलाकार पनि सहभागी हुँदैछन् ।
यसअघि समाजले महोत्सवकै रुपमा लुम्बिनी, पोखरा, काठमाडौंलगायत विभन्न क्षेत्रमा यसैगरी कला महोत्सव गरिसकिएको छ । अध्यक्ष गुरुङले भने, ‘जसका कारण जलरङमप्रति आकर्षण बढेको छ, अरु मिडियममा काम गर्ने कलाकार पनि वाटरकलरमा काम गरिरहेको देखिएको छ । हामीले गरेको नै त्यही हो । ‘वाटर कलरिष्ट’को सहभागिता बढाउने भन्ने हो । राम्रो काम देखिनुपर्छ भन्ने हो । हामीले सोचेको काम भइरहेको छ । सन्तोषजनक छ ।’ उक्त कार्यक्रममा सहभागी हुन उनले कला पारखीलाई अनुरोध गर्न गरेका छन् ।
प्रदिप ज्ञवाली/मध्यान्ह
सैनामैना : मुक्तककार प्रतिमा केसीको नयाँ मुक्तक संग्रह विमोचन गरिएको छ । केसीद्वारा लिखित ‘प्रवासी मन’ मुक्तक संग्रह शनिबार एक कार्यक्रमको आयोजना गरी विमोचन गरिएको हो । सहिद नारायण पोखरेल रामापुर क्याम्पस साहित्यिक क्लब तथा प्रतिमा–कुमार फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा केसीको दोस्रो कृतिका रुपमा मुक्तक संग्रह ‘प्रवासी मन’ विमोचन गरिएको हो ।
सहिद नारायण पोखरेल रामापुर क्याम्पसको सभाहलमा भएको कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सभाका सदस्य भूमिश्वर ढकालले मुक्तक विमोचन गर्दै सहित्यले मानिसलाई अनुशासनमा बस्न र हिँड्न सिकाउने धारणा व्यक्त गरे । उनले संसारमा जतिपनि परिवर्तन भएका छन् ति परिवर्तनहरुमा साहित्यकारहरुको रचनात्मक खबरदारीले मात्र भएको बताए ।
कार्यक्रममा पुस्तक समीक्षक एवम् पूर्वक्याम्पस प्रमुख यदुलाल पन्थले कृतिको समीक्षा गर्दै समाजिक असमानता, विसंगतीको चित्रण र व्यंग्य गर्दै जीवनवादी जीवन्त दृष्टिकोण भएको र पुस्तक एउटा महाकाव्यकै रुपमा रहेको बताए ।
कार्यक्रममा मुक्तककार केसीले मन्तव्य राख्दै आफ्ना केही कृतिहरु सुनाएकी थिइन् । केसी डायसफोरा लेखक हुन् ।
कार्यक्रममा विशिष्ट अतिथि सैनामैना नगरपालिकाकी उपमेयर बिना राना, क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण गैरेलगायत साहित्यप्रेमी व्यतित्वहरुको उपस्थिति रहेको थियो । क्याम्पस प्रमुख हेमन्त थापाको अध्यक्षता लुम्बिनी प्रदेश सांसद भुमिश्वर ढकालको प्रमुख आतिथ्यता, प्रतिमा कुमार फाउण्डेसनका सदस्य कुमार केसीको स्वागत एवम् साहित्य क्लबका अध्यक्ष सुप्रिया अञ्जलीको सञ्चालनमा सम्पन्न कार्यक्रममा विविध विधामा रचना वाचन गरियको थियो । ‘प्रवासी मन’ मुक्तक संग्रहभित्र १ हजार १ सय १२ वटा विषय क्षेत्रका मुक्तक संग्रहित रहेका छन् ।
–धनराज गिरी
कामबाट फर्किएर आएपछि बुहारी लक्ष्मी गिरीको चाहना हुन्छ, केही नयाँ सिर्जना सुन्ने । हजुरआमा सीता, नातिनी आयुषा, इन्द्रेणी र कृष्ण कँडेलको कार्यक्रममा अनि म आफ्नो धुनमा । लघुकथाको कुनोमा दिनमा तीन कथासम्म पोस्ट, गजल ५ र कविता पनि । केही स्थायी आफन्तहरू, क्याम्पस मनमा छ, तर फेसबुकमा लेख्न छोडे, “बाबा, हजुरले नम्बाकामा रहेको बेलामा खुब कथा सुनाउनु भयो, खोइ यो फिन्लीमा आएपछि त उही गीत, उही भिडियो, एकोहोरो, आज कथा सुन्न मन लाग्यो ।”
बुहारीको गायन राम्रो छ, म उनलाई गीत गाउन प्रेरित गर्छु । आज उनको मुड कथातिर गयो । मद्रासी सिनेमा हेर्न छोडेर, कथा सुन्न खोजिन, लौ छोरी, अब धनराज बाबा आज्ञा गर्नुहुन्छ, लौ सुन म भन्छु मेरो ‘राई’ कहानी–
एम ए प्रथम वर्षको कक्षा आरम्भ भयो, कीर्तिपुर केन्द्रीय क्याम्पसमा । अंग्रेजीको क्रेज, मेचीदेखि महाकालीसम्मका ज्ञान पीपाशु आउने शारदाधाम । राजनीतिले भत्केको पीच जस्तो बनाइएको छ, विश्वविद्यालयको अनुहार । बहुदल देशको लागि के भयो, के भयो ? बरू... भन्नेहरू बहुमतमा पुग्ने सम्भावना । अग्नि काण्ड भयो कीर्तिपूरमा दुई पूर्वेली प्राध्यापकले त नाटक र निबन्ध संग्रह नै निकाले र हेड पदबाट राजीनामा नै दिए । विश्वविद्यालयमा अग्निपूजा, सुकरातका पाइला, घनचक्कर, अग्निहोत्री यी थिए, सहउत्पादन । यस्तो प्रतिकुल अवस्थामा पनि पढाइले निरन्तरता पायो । “सरहरू, कक्षा नियमित हुनुपर्छ । हाम्रो साख गिरेको छ ।” स्टाफ बैठकमा संकाय प्रमुख सीपी शर्मा बुढा प्राध्यापकको अनुहारमा चिन्ताका रेखाहरू देखिन्थ्ये । पाका प्रा.डा. भन्दा युवा धेरै ।
पहिलो दिन, कविताको कक्षामा प्रा.डा. पूर्णबहादुर राई, यी पूर्वेली कुमार किन कि यिनी एक्लो, बिहे गरेनन् ? श्रीधर लोहनी गुरुको प्रिय चेलो । कक्षामा प्रवेश गरेर चारैतिर नजर घुमाए, “ओ माई गड” एउटा अनुहारले उनको मनमा सुनामी लहर उत्पन्न गरायो । अनुहारमा कुनै भाव आउन दिएनन् । ४५ मिनेट बिताए । त्यो दिन सकियो ।
केही दिन बिते । राई सरको ध्यान तान्ने अनुहार एक चेलीको थियो । अनुहार मात्र होइन पूरा भूगोल आकर्षक ! तर यो आकर्षण अलि बेग्लै थियो, त्यो थिएन, जो औसत मानिसले सोच्ने गर्दछ । “होइन कि ?” यस्तो पनि सोच्यो राई सरले । संजोग एक दिन लाइब्रेरीमा राई सर एक्लै अध्ययनमा व्यस्त थिए, ती नानी पनि पुगिन र किताब खोज्न थालिन् । बढो असजिलोसित राई सरले सोधे, “नानीको नाम ?”
“मेरो नाम पूजा, पूजा भुषाल !”
“कहाँ हो घर ?”
“सुर्खेत !”
“ओ माई गड...” फेरि हल्लियो राई सरको मन । “पक्का हो ?” उनको मनले निधो ग¥यो । योभन्दा बढी सोध्न सकेनन् । केही दिन बिते । ध्यान पूजातिर छ । पूजा बेपरवाह । उनको साथी थोरै भीडबाट टाढा । पढाइमा मात्र ध्यान । कक्षामा प्रश्न पनि सोध्ने उनको रूचि साहित्यमा ।
सुर्खेत गएको बेला प्रा.डा. गोविन्दराज भट्टराईसित भेट भएको थियो । आमा पनि अंग्रेजीको टीचर र नेल्टाको आजीवन सदस्य । उनी पनि सिर्जनामा रूचि । परिचय भएको हुनाले पूजा अक्सर भट्टराई निवास पुग्ने । सेवा र ऋचा साथी बने । अन्जना काकी बनिन् । आड भयो । राई सर भट्टराई सरको गाढा मित्रता । “सेवारो पण्डित” यी नेपाली डेरिडा !
एक दिन राई सर र पूजाको भेट भट्टराई निवासमा पनि भयो । बिस्तारै–बिस्तारै राई सरलाई पूजाले आफ्नो अभिभावक मानिन् । राई सरको आँखामा स्नेहको सागर अनुभूत गरिन । विवाह भएको तीन महिनामा उनको आमा विधवा भएकी र पिताको स्नेहबाट बन्चित पूजाले दुई पिता समान अभिभावक पाएको अनुभूत गरिन् ।
“पूजा, तिम्रो जन्मदिन कहिले ?” अचानक सोधे राई सरले ।
“कार्तिक २३ गते !” त्यो दिन विशेष उपहार लिएर राई सर उनको कोठामा गए । एक्ली पूजासँग तीन घण्टा बसे राई सर । साँझको खाना पूजा निवासमा । यसरी डेरादेखि डेरासम्मको यात्रा खुल्यो ।
“छोरी !” एकदिन राई सरको मुखबाट यो सम्बोधन सुनेर पूजा भावुक बनिन् । राईको विशेष गाइड र पूजाको प्रतिभाको कारण पूजाले पहिलो वर्षको नतिजामा टप भएर देखाइन् । राई सरले भोज दिए आफ्नो डेरामा, भट्टराई परिवारलाई बोलाएर । “किन यति स्नेह हो ?”
यस्तो प्रश्न पूजाको मनमा कहिले पनि आएन, जे भयो सहज भयो । उनलाई स्कुलदेखि कलेजसम्म पनि अंग्रेजी सरहरूले बहुत स्नेह गरे । एसएलसी पनि जिल्ला टप ८९% ।
यता राई पुगे २२ वर्ष अघि । पूर्णबहादुर राई एक वर्षका लागि पुगे सुर्खेत । सुर्खेतमा उनको भेट जागृति खनालसँग भयो । जागृति बीए अंग्रेजी मेजर । राईको गाइड । युवा राई आकर्षक । जागृति पनि राम्री । काँकरे बिहार, बुलबुले ताल घुम्न गए । एक पटक टाढा पुगे । हुरी बतास आयो, जंगल थियो । जागृतिको मन पग्लियो । उनको नै आग्रहमा दुई जिउ एक भयो, बाचा गरे “जीवनभरि साथ रहने” तर, प्रेम र दुनियाँ जहिले पनि छत्तीस, कडा दाजुको प्रशासन घरमा । एक ठेकेदार पुत्रसित जबरजस्ती जागृतिको विवाह भयो । राई मन मनमा जागृतिको तस्बीर सजाएर फर्कियो राजधानी ।
पूर्व घर पनि जान सकेन । जागृतिको लागि आजीवन अविवाहित बस्ने निधो ग¥यो । यता सुर्खेतमा जागृति बिहे भएको तीन महिनामा एकल । बाइक दुर्घटनामा पति गयो । बिहे भएको सात महिनामा पूजाको जन्म भो । आमासित अनुहार मिल्यो । फोटो कपि । आफ्नो अतीत सम्झिएर भावुक भयो राई ।
दशैं बिदा आयो । पूजा सुर्खेत फर्किइन् । आमा अति खुशी । पूजाले आफ्नो कीर्तिपुर बसाई र राई सरको बारेमा भन्न थालेपछि जागृतिको अनुहार उज्यालो हुन थाल्यो । “राई सरको बाल बच्चा नि ?” बडो मुस्किलले सोधिन् यो प्रश्न, “आमा, बच्चा बच्ची हुन के गर्नुपर्छ ?” उल्टो प्रश्न छोरीको, मजाक गर्ने बानी पूजाको । “बिहे !” आमाको सहज उत्तर । “हाम्रो राई बा कुमार, नो म्यारिज !”
“हे भगवान !” जागृतिले भित्र–भित्र पीडा र आनन्द के अनुभूत गरिन्, थाहा पाउन सकिनन् । एक दिन, जागृति स्कुल, घरमा पूजा एक्ली । केही खोज्न दराज खोलिन । एउटा पुरानो डायरी फेला प¥यो । डायरीभित्र एउटा फोटो “ओ माई गड” अब झस्किने पालो पूजाको । फोटो थियो जागृति र राई सरको । डायरीमा दैनिकी जागृतिको प्रेमकहानी... । “आमा... हजुर यति छुपेरुस्तम... पख्नुहोला, म पनि सक्कली छोरी हुँ !”
छोरीले निकै कर गरेको हुनाले जागृति पनि राजधानी आउन राजी भइन् । कोठामा आमालाई एक्लै छोडेर पूजा बजार निस्किइन् । डेरामा पुगिन् राई सरको । कोठामा केही लेख्दै । ग्वाम्म अँगालो मारेर गालामा चुम्बन, राई सर जिल्लाराम । “के भयो पूजा आज ?”
“लु, हजुरले मलाई एक दिन छोरी भन्नुभएको होइन, आफ्नो बालाई माया गर्न नपाइने, मेरा बा ?”
“होइन आज के भयो तिमीलाई ?”
“जे भयो, साधिकार भयो बा !”
राई अल्मलियो ।
“गुरु बा, प्लीज कम विथ मी !” पूजाको पछि लाग्यो राई सर ।
“भित्र मैले गुरुभेटी ल्याएकी छु, उत्तरआधुनिक सरप्राइज गुरु बा, जाइस्योस् !” राई मात्र कोठाभित्र गयो । “ओ माई गड !”
“जागृति !”
पूजा कोठामा प्रवेश “हे उत्तर आधुनिक प्रेमी हो, दुई जनाको नाम मिलाएर छोरीको नाम ‘पूजा’ राख्ने र २२ वर्षसम्म घनघोर तपस्या गर्ने ? मेरो नाम अब ‘पी आर’ पूजा राई !”
जागृतिको जागिर पनि सारियो राजधानी र उनी पनि आवाद !
–प्रहलाद दवाडी
छिमेकी गाउँको चिना जाना मान्छे । उमेरमा मभन्दा जेठो, अग्लो सलक्क परेको जीउडाल, मधुर आवाज, ठट्टा रमाइलो गरिरहने । सरल स्वभाव, सहयोगी व्यवहार, हाँसेर बोल्ने, बोलाईमा आकर्षण, उसले भनेको कुरा साँच्चै हो जस्तो लाग्छ । साइनो नभएर म “सर” भनेर सम्बोधन गर्छु ।
केही साल एउटै गाउँमा नोकरी गरियो । उसको कमरा र मेरो कमरा छेउ छेउको घरमा किराईमा थियो । नजिकको आफन्त जस्तो भइयो । म एक्लो मान्छे । उसकी स्वास्नीले मिठो–मिठो खाना पकाउँथिइन्, दाल भात हरेक कुरा साटासाट गरिन्छ । बिदाको दिन मेरो बाइकमा घुम्न गइन्छ ।
सरले बेला–बेला बिहानै या त मौका मिलाएर कसैले चाल नपाई सुटुक्क माछीको दोकानमा गएर बन काँइला नाममा रक्सी धोक्नु हुँदोरहेछ । बुढी पनि सर ड्यूटी गएको बेला सिगरेट, बियर तान्न त्यही दोकानमा । बुढीले रक्सीको कुरा चाल पाउनु नहुने ।
रक्सीको निऊमा बुढा बुढी झगडा भइरहन्छ ।
सरलाई मैँले धेरै सम्झाए तर, लागेको बानी न हो । सरले रक्सी नखाएको, नगन्हाएको दिन चाहिँ उसकी बुढी आएर मलाई सोध्नुहुन्छ, “आज हाम्रो बुढो मातेको छ कि क्या हो ? आज हाम्रो सरले रक्सी खायो ? अँ ?”
“मैले चाल पाइन !”
“न ढाँट्नु होस् त, नखानेले त छिटो चाल पाउँछ त ?”
“होइन, मात्नु भएको छैन ।”
त्यही दिन ठूलो झगडा हुँदोरहेछ । सरलाई लात्तले, बेलना, झर्के थाल, गाग्री जेले पायो त्यहीले पिटेर घरबाट निकाली दिन्छिन्, अनि सर राति मेरो दैलो ढक्ढक्याउँछन् । सुत्न दिन्छु । कुनै बेला ओछ्यान बिगार्दा । फेरि बिहान त बूढा बूढी मिलीराका हुन्छन् ।
सर बोलबम गए । अब कहिल्यै नखाने बाचा गरेर रक्सी उतै चढाएर आएका रे ! मलाई शिवजीको लकेट दिए ।
मैले बाईक छोडेर गाडी किने । सरले कुदाउन सिकाई दिनुभयो । लगभग दुई महिनापछि यसै क्रममा एक दिन बजार गयौं । सौदा गरी सकेर गाडी अघि बढाएँ । हाटको दिन, भीड भाड भएकाले बिस्तारै जाँदै गर्दा बजारबिच सडकमा सरको एकजना पुरानो साथी भेट भयो ।
“अहो, कता हौ साथी ? के छ हौ ? धेरै दिन बाद भेट भयो ।”
“ठिकै छ । यहाँ सरसँग बजार आएको थिएँ, फर्किँदै गरेको ।”
“अन्त बसौं न एकछिन, यसो चिसो तातो पिऊँ ।”
“मैले छोडे नी पिउन । अस्ती दुई÷तीन महिना भयो ।”
“होर ? कसरी ?”
“बोलबम गएर ।”
“त्यसो हो भने त्यहीँ छोडेको खुशीयालीमा आज पिउँ न ।”
“ल त ल” भन्दै सर दैलो खोलेर उत्रिनु भयो ।
मैले कराएँ, “हन कस्तो मान्छे हौ तपाईँ ?”
“पुरानो साथी, बल्ल भेट भाको, भनि हाल्यो, एसो मन राखिदिनु पर्यो । तपाईँ गाडी साइट गरेर पर्खिदै गर्नु होस् न, आइ हाल्छु ।”
मेरो अर्कै गाउँमा सरूवा भयो । आ–आफ्नै व्यस्ततामा मस्त भइयो । फोन नम्बर भएर पनि गफ नभएको, हाल चाल नबुझेको दुई साल भएछ । एक दिन म घर जाने क्रममा अचानक सिङ्गताम बजारमा सरलाई सिमसिम पानीमा भिज्दै हिन्दै गरेको देखेर गाडीबाटै बोलाएँ ।
“सर... कहाँ जानु भएको ?”
मलाई देखेर आउनु भयो । चिन्नु भएन की जस्तो लाग्यो ।
“धन्न तिमीलाई भेटेँ । मलाई पाँच हजार रुपैयाँ देउ न ।”
“किन ? के आपत पर्यो ?”
“बुढी बिमार भएर हस्पिटल राखेको छ, क्यास पैसा नभएर दबाई किन्न पाएको छैन । कसैले पत्याउँदैन ।”
“ला हौ, के भयो गुरामालाई ? त्यस्तो पैसा त छैन नी ।”
“जति छ त्यति देउ न ।”
मेरो पर्समा पाँच सय रहेछ । घर जान रात परेकोले बिमारी हेर्न चाहिँ गइन् ।
“म पर्सि आउँछु ल, आज घर जान हतार छ ।”
“धन्यवाद !”
पर्सि पल्ट सिंगताम बजार गएर बिमारीलाई लान फलफुल, जुस इत्यादी किने । सर त्यही अस्ति कै लुगामा बजारमै आइपुग्नु भयो ।
“सर, म गुरुमा हेर्न हिँडेको ।”
“गुरुमा त माइतीहरुले लगेका छन् ।”
“अनी तपाईँ कता ?”
“मेरो त बाबा अस्ति पश्चिम सिक्किम दाजुकोमा जानु भएको थियो, आज अचानक मर्नुभएछ र म ड्यूटीबाटै हिँडेको । गाडी पनि छैन, भाडा पनि छैन, तीन हजार जति देउ न, म फर्काइहाल्छु ।”
“तलब त चार हजार आठ सय मात्र पाउँछु, त्यो पनि एकाउन्टमा आउँछ । बैंक जान भ्याएको छैन, चेकले हुँदैन होला ?”
“चेक होइन, पाँच÷छ सय जति भए पनि देउ न । पुग्न भाडा चाहिएको ।”
“तीन सय रूपैयाँ मात्र रहेछ ।”
“धन्यवाद” भन्दै हातैबाट पैसा तानेर लग्यो ।
मलाई उसको अवस्था सम्झेर माया लाग्यो । मन मनै सोचेँ, “कस्तो दसा लागेको बिचरालाई एकै चोटी । भने जस्तो सहयोग गर्न पनि सकिन ।”
अर्को हप्ता तिर त्यही सरको बाउको मराउ अन्त्येष्ठीमा जान भनेर घर आएँ । त्यही गाउँको एकजना भाइलाई फोनमा सोधेँ, “हल्लो बिजे भाइ, त्याँ मास्तिर बाबै मरेको कति दिन भयो हौ ?”
“हौ दाजु, कस्ले भन्यो हौ बाबै मरे भनेर ?”
“त्यो सरले भनेको बाउ मरे भनेर ।”
“त्यस्ता मत्तुको पनि कुरा पत्याउनु हो ? तेल्ले त के–के बहाना बनाउँछ, बनाउँछ नी । यहाँ बाबै घरमै के–के काम गरिराका छन् । दोकान चलाउँछन्, कहिल्यै केही बिमार पनि भाका छैनन् । मार्छन् है तपाईँलाई जिउँदै मान्छेलाई मरेभन्दा ।”
तत्कालीन युवराजधिराज वीरेन्द्र वीर बिक्रम शाहदेवको बिहेको समाचार न्यूयोर्क टाइम्समा सन् १९७० फ्रेबुअरी २५ मा प्रकाशित भएको थियो । त्यतिखेर नेपालको कुल बजेट ६६ मिलियन डलर अर्थात् ४ करोड ७५ लाख २० हजार थियो र बिहेमा १६ मिलियन डलर अर्थात् बजेटको २४.२४ प्रतिशत खर्च भएको न्यूयोर्क टाइम्सले लेखेको थियो । तत्कालीन समयमा एक अमेरिकी डलर बराबर नेपाली सात रुपैयाँ २० पैसा अर्थात् नेपाली तत्कालीन रुपैयाँअनुसार एक करोड १५ लाख रुपैयाँ खर्च भएको न्यूयोर्क टाइम्समा उल्लेख छ ।
बिहेमा बेलायतबाट चार वटा सेतो घोडा, नेदरल्याण्डसबाट फूल, दिल्लीबाट खाद्यान्नका दुई वटा जहाज, पाहुना बोक्न जापानबाट दुई सय गाडी र नेपालकै जङ्गलबाट नौ वटा हात्ती ल्याइएको उल्लेख छ । तत्कालीन सरकारले बिहेअघि काठमाडौंका सडक र फुटपाथ मर्मत गरी पर्खाल, घर र सरकारी भवन रङ्गरोगन गर्नुको साथै सडकमा बत्तीहरू जडान गरेको थियो ।
– गणेश लोहनी
१
क्षणमै उजाडियो बस्ति कोलाहल छायो कठै !
मध्य–रातमा सयौंलाई यमलोक पठायो कठै !
यदाकदा बहुलाउँछ प्रकृति पनि किन होला ?
हाम्रो खुशीमा कहर बनेर भूईंचालो आयो कठै !
२
सडक पेटी चोक तिर बोक्सो थापेका छन्
प्राण वायु नै सकिएझैं फोक्सो थापेका छन्
कति साह्रै लट्ठ्याउने पो रहिछे मोहिनीले
सत्ता बल्झाउन हर्दम् ढोक्सो थापेका छन् ।
३
मानव मनमा शान्तिको बीउ छर्न देउ मलाई
आफ्नै पनामा यो जीवन निर्वाह गर्न देउ मलाई
बारुदले झुल्स्याउँदै कति सामूहिक चिहान पार्छौ
जनि गर हे महाशक्ति हो ! सहजै मर्न देउ मलाई ।
४
जोगाउनु पर्छ भो भो नमास् भन्छन् कोही
स्याबास् ठोक ठोक एक तमास् भन्छन् कोही
हतियार पठाउने चाहिँ मान्छे मार्न हुन्न भन्दैछ
बीउ मास्छु सिद्याउँछु दुष्ट हमास् भन्छ कोही ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies