–धनराज गिरी
कामबाट फर्किएर आएपछि बुहारी लक्ष्मी गिरीको चाहना हुन्छ, केही नयाँ सिर्जना सुन्ने । हजुरआमा सीता, नातिनी आयुषा, इन्द्रेणी र कृष्ण कँडेलको कार्यक्रममा अनि म आफ्नो धुनमा । लघुकथाको कुनोमा दिनमा तीन कथासम्म पोस्ट, गजल ५ र कविता पनि । केही स्थायी आफन्तहरू, क्याम्पस मनमा छ, तर फेसबुकमा लेख्न छोडे, “बाबा, हजुरले नम्बाकामा रहेको बेलामा खुब कथा सुनाउनु भयो, खोइ यो फिन्लीमा आएपछि त उही गीत, उही भिडियो, एकोहोरो, आज कथा सुन्न मन लाग्यो ।”
बुहारीको गायन राम्रो छ, म उनलाई गीत गाउन प्रेरित गर्छु । आज उनको मुड कथातिर गयो । मद्रासी सिनेमा हेर्न छोडेर, कथा सुन्न खोजिन, लौ छोरी, अब धनराज बाबा आज्ञा गर्नुहुन्छ, लौ सुन म भन्छु मेरो ‘राई’ कहानी–
एम ए प्रथम वर्षको कक्षा आरम्भ भयो, कीर्तिपुर केन्द्रीय क्याम्पसमा । अंग्रेजीको क्रेज, मेचीदेखि महाकालीसम्मका ज्ञान पीपाशु आउने शारदाधाम । राजनीतिले भत्केको पीच जस्तो बनाइएको छ, विश्वविद्यालयको अनुहार । बहुदल देशको लागि के भयो, के भयो ? बरू... भन्नेहरू बहुमतमा पुग्ने सम्भावना । अग्नि काण्ड भयो कीर्तिपूरमा दुई पूर्वेली प्राध्यापकले त नाटक र निबन्ध संग्रह नै निकाले र हेड पदबाट राजीनामा नै दिए । विश्वविद्यालयमा अग्निपूजा, सुकरातका पाइला, घनचक्कर, अग्निहोत्री यी थिए, सहउत्पादन । यस्तो प्रतिकुल अवस्थामा पनि पढाइले निरन्तरता पायो । “सरहरू, कक्षा नियमित हुनुपर्छ । हाम्रो साख गिरेको छ ।” स्टाफ बैठकमा संकाय प्रमुख सीपी शर्मा बुढा प्राध्यापकको अनुहारमा चिन्ताका रेखाहरू देखिन्थ्ये । पाका प्रा.डा. भन्दा युवा धेरै ।
पहिलो दिन, कविताको कक्षामा प्रा.डा. पूर्णबहादुर राई, यी पूर्वेली कुमार किन कि यिनी एक्लो, बिहे गरेनन् ? श्रीधर लोहनी गुरुको प्रिय चेलो । कक्षामा प्रवेश गरेर चारैतिर नजर घुमाए, “ओ माई गड” एउटा अनुहारले उनको मनमा सुनामी लहर उत्पन्न गरायो । अनुहारमा कुनै भाव आउन दिएनन् । ४५ मिनेट बिताए । त्यो दिन सकियो ।
केही दिन बिते । राई सरको ध्यान तान्ने अनुहार एक चेलीको थियो । अनुहार मात्र होइन पूरा भूगोल आकर्षक ! तर यो आकर्षण अलि बेग्लै थियो, त्यो थिएन, जो औसत मानिसले सोच्ने गर्दछ । “होइन कि ?” यस्तो पनि सोच्यो राई सरले । संजोग एक दिन लाइब्रेरीमा राई सर एक्लै अध्ययनमा व्यस्त थिए, ती नानी पनि पुगिन र किताब खोज्न थालिन् । बढो असजिलोसित राई सरले सोधे, “नानीको नाम ?”
“मेरो नाम पूजा, पूजा भुषाल !”
“कहाँ हो घर ?”
“सुर्खेत !”
“ओ माई गड...” फेरि हल्लियो राई सरको मन । “पक्का हो ?” उनको मनले निधो ग¥यो । योभन्दा बढी सोध्न सकेनन् । केही दिन बिते । ध्यान पूजातिर छ । पूजा बेपरवाह । उनको साथी थोरै भीडबाट टाढा । पढाइमा मात्र ध्यान । कक्षामा प्रश्न पनि सोध्ने उनको रूचि साहित्यमा ।
सुर्खेत गएको बेला प्रा.डा. गोविन्दराज भट्टराईसित भेट भएको थियो । आमा पनि अंग्रेजीको टीचर र नेल्टाको आजीवन सदस्य । उनी पनि सिर्जनामा रूचि । परिचय भएको हुनाले पूजा अक्सर भट्टराई निवास पुग्ने । सेवा र ऋचा साथी बने । अन्जना काकी बनिन् । आड भयो । राई सर भट्टराई सरको गाढा मित्रता । “सेवारो पण्डित” यी नेपाली डेरिडा !
एक दिन राई सर र पूजाको भेट भट्टराई निवासमा पनि भयो । बिस्तारै–बिस्तारै राई सरलाई पूजाले आफ्नो अभिभावक मानिन् । राई सरको आँखामा स्नेहको सागर अनुभूत गरिन । विवाह भएको तीन महिनामा उनको आमा विधवा भएकी र पिताको स्नेहबाट बन्चित पूजाले दुई पिता समान अभिभावक पाएको अनुभूत गरिन् ।
“पूजा, तिम्रो जन्मदिन कहिले ?” अचानक सोधे राई सरले ।
“कार्तिक २३ गते !” त्यो दिन विशेष उपहार लिएर राई सर उनको कोठामा गए । एक्ली पूजासँग तीन घण्टा बसे राई सर । साँझको खाना पूजा निवासमा । यसरी डेरादेखि डेरासम्मको यात्रा खुल्यो ।
“छोरी !” एकदिन राई सरको मुखबाट यो सम्बोधन सुनेर पूजा भावुक बनिन् । राईको विशेष गाइड र पूजाको प्रतिभाको कारण पूजाले पहिलो वर्षको नतिजामा टप भएर देखाइन् । राई सरले भोज दिए आफ्नो डेरामा, भट्टराई परिवारलाई बोलाएर । “किन यति स्नेह हो ?”
यस्तो प्रश्न पूजाको मनमा कहिले पनि आएन, जे भयो सहज भयो । उनलाई स्कुलदेखि कलेजसम्म पनि अंग्रेजी सरहरूले बहुत स्नेह गरे । एसएलसी पनि जिल्ला टप ८९% ।
यता राई पुगे २२ वर्ष अघि । पूर्णबहादुर राई एक वर्षका लागि पुगे सुर्खेत । सुर्खेतमा उनको भेट जागृति खनालसँग भयो । जागृति बीए अंग्रेजी मेजर । राईको गाइड । युवा राई आकर्षक । जागृति पनि राम्री । काँकरे बिहार, बुलबुले ताल घुम्न गए । एक पटक टाढा पुगे । हुरी बतास आयो, जंगल थियो । जागृतिको मन पग्लियो । उनको नै आग्रहमा दुई जिउ एक भयो, बाचा गरे “जीवनभरि साथ रहने” तर, प्रेम र दुनियाँ जहिले पनि छत्तीस, कडा दाजुको प्रशासन घरमा । एक ठेकेदार पुत्रसित जबरजस्ती जागृतिको विवाह भयो । राई मन मनमा जागृतिको तस्बीर सजाएर फर्कियो राजधानी ।
पूर्व घर पनि जान सकेन । जागृतिको लागि आजीवन अविवाहित बस्ने निधो ग¥यो । यता सुर्खेतमा जागृति बिहे भएको तीन महिनामा एकल । बाइक दुर्घटनामा पति गयो । बिहे भएको सात महिनामा पूजाको जन्म भो । आमासित अनुहार मिल्यो । फोटो कपि । आफ्नो अतीत सम्झिएर भावुक भयो राई ।
दशैं बिदा आयो । पूजा सुर्खेत फर्किइन् । आमा अति खुशी । पूजाले आफ्नो कीर्तिपुर बसाई र राई सरको बारेमा भन्न थालेपछि जागृतिको अनुहार उज्यालो हुन थाल्यो । “राई सरको बाल बच्चा नि ?” बडो मुस्किलले सोधिन् यो प्रश्न, “आमा, बच्चा बच्ची हुन के गर्नुपर्छ ?” उल्टो प्रश्न छोरीको, मजाक गर्ने बानी पूजाको । “बिहे !” आमाको सहज उत्तर । “हाम्रो राई बा कुमार, नो म्यारिज !”
“हे भगवान !” जागृतिले भित्र–भित्र पीडा र आनन्द के अनुभूत गरिन्, थाहा पाउन सकिनन् । एक दिन, जागृति स्कुल, घरमा पूजा एक्ली । केही खोज्न दराज खोलिन । एउटा पुरानो डायरी फेला प¥यो । डायरीभित्र एउटा फोटो “ओ माई गड” अब झस्किने पालो पूजाको । फोटो थियो जागृति र राई सरको । डायरीमा दैनिकी जागृतिको प्रेमकहानी... । “आमा... हजुर यति छुपेरुस्तम... पख्नुहोला, म पनि सक्कली छोरी हुँ !”
छोरीले निकै कर गरेको हुनाले जागृति पनि राजधानी आउन राजी भइन् । कोठामा आमालाई एक्लै छोडेर पूजा बजार निस्किइन् । डेरामा पुगिन् राई सरको । कोठामा केही लेख्दै । ग्वाम्म अँगालो मारेर गालामा चुम्बन, राई सर जिल्लाराम । “के भयो पूजा आज ?”
“लु, हजुरले मलाई एक दिन छोरी भन्नुभएको होइन, आफ्नो बालाई माया गर्न नपाइने, मेरा बा ?”
“होइन आज के भयो तिमीलाई ?”
“जे भयो, साधिकार भयो बा !”
राई अल्मलियो ।
“गुरु बा, प्लीज कम विथ मी !” पूजाको पछि लाग्यो राई सर ।
“भित्र मैले गुरुभेटी ल्याएकी छु, उत्तरआधुनिक सरप्राइज गुरु बा, जाइस्योस् !” राई मात्र कोठाभित्र गयो । “ओ माई गड !”
“जागृति !”
पूजा कोठामा प्रवेश “हे उत्तर आधुनिक प्रेमी हो, दुई जनाको नाम मिलाएर छोरीको नाम ‘पूजा’ राख्ने र २२ वर्षसम्म घनघोर तपस्या गर्ने ? मेरो नाम अब ‘पी आर’ पूजा राई !”
जागृतिको जागिर पनि सारियो राजधानी र उनी पनि आवाद !
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies