दिवाकर अधिकारी/मध्यान्ह
काठमाडौं : आगलागीमा परी सोमबार एकै सदन चार जनाको मृत्यु भएको छ । ओखलढुंगामा डढेलोको आगोमा जलेर सिद्धिचरण नगरपालिका १० बेतेनीमा आमाछोराको मृत्यु भएको छ ।
सोमबार समयमा हरिबोले बसाहा सामुदायिक वनको डढेलो खरबारीमा प्रवेश गरेपछि खर जोगाउने क्रममा ५५ वर्षीया पुन्यमाया धमला र उनका छोरा १५ वर्षीय कञ्चन धमलाको घटनास्थलमै मृत्यु भएको हो ।
बाहुनडाँडा कोल पाखामा निजी खरपाखामा राखिएको खर घाँस जोगाउने क्रममा आमा र छोरा दुवैका जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
यता, ललितपुरको ग्वार्कोस्थित एक टहरामा आगलागी हुँदा घाइते भएका एकै परिवारका ५ सदस्यमध्ये दुई बालिकाको मृत्यु भएको छ ।
आगलागीमा जलेर घाइते भएका ८ वर्षकी प्रिया गिरी र ३ वर्षकी एलिसा गिरीको सोमबार साँझ मृत्यु भएको हो ।
आइतबार ललितपुर महानगरपालिका–१७ ग्वार्कोस्थित मोबिल स्टोर गर्ने कोठामा आगलागी हुँदा सञ्जय गिरीको परिवारका ५ सदस्य गम्भीर घाइते भएका थिए । उनीहरुमध्ये दुई छोरीको सोमबार मृत्यु भएको हो ।
घरमुली ३५ वर्षका सञ्जय गिरी र उनकी पत्नी ३२ वर्षकी रुपा गिरीको किस्ट अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । सञ्जयलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालले जारी गरेको विज्ञप्ति अनुसार सञ्जय र रुपाको अवस्था जटिल रहेको छ । आगलागीमा उनीहरुसँगै जलेर घाइते भएका भतिज १५ वर्षका नित गिरीको अवस्था भने सामान्य छ । उनलाई जनरल वार्डमा सारेर उपचार गरिएको अस्पतालले जनाएको छ ।
प्रहरीका अनुसार लामो हिउँदे खडेरीका कारण पछिल्लो समय आगलागीका घटना देशभर बढेसँगै ओखलढुंगा र ललितपुरको जस्तो दृृष्य अन्यत्र पनि देखिएका छन् । खेतबारीमा आगो लाउँदा झाडी सफा हुने मनोविज्ञानले समेत आगलागीका घटना बढाउनमा भूमिका खेलेको प्रहरीको भनाई रहेको छ ।
देशभरका आगलागी पीडितलाई तत्काल १५ हजार दिइने
सरकारले आगलागी पीडितलाई तत्काल १५ देखि २० हजार दिने भएको छ । आगलागीमा परेर पूर्ण रुपमा आवासमा क्षेति भएकाहरुलाई अस्थायी आवास बनाउन ५० हजार दिने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ ।
गृहमन्त्रालयका सचिव एकनारायण अर्यालका अनुसार डढेलेबाट पीडित भएका नागरिकलाई तत्कालै विवरण लिएर १५ देखि २० हजार दिने नीति छ । यसअनुसार कतिपय जिल्लामा प्रमुख जिल्ला अधिकारीहरुले विवरण संकलन गरेर पीडित परिवारलाई १५ देखि २० हजार उपलब्ध गराउने कार्य गरिरहेका छन् ।
साथै, अस्थायी आवासका लागि ५० हजार दिने गरी कार्यविधि निमाणको काम चलिरहेको छ । ‘अस्थायी वासस्थानका लागि कार्यविधि र नियमावली संशोधन गरेर ५० हजार दिने भन्ने विषयमा मन्त्रिपरिषदमा छलफल भइराखेको छ । यो हिसावमा हामी कार्यविधिलकई संशोधन गरेर अगाडि बढेका छौं’ गृहसचिव अर्यालले भनेका छन् ।
सरु भुसाल/मध्यान्ह
अर्घाखाँची : अर्घाखाँची जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई योगा सिकाइएको छ । आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा मानसिक स्वास्थ्य प्रवद्र्धन गराउने उद्देश्यले जिल्ला कारागारमा रहेका कैदीबन्दीहरुलाई योग, ध्यान कार्यक्रम सञ्चालन गरिएको हो ।
योग शिक्षाले व्यक्ति वा समाजमा सकारात्मक प्रभाव पारेको विभिन्न अनुसन्धानबाट पुष्टि भएका छन् । विश्व परिवेशमा बदलिँदो जीवनशैली, रहन सहन तथा खानपानका कारण नसर्ने रोग विशेष गरी मानसिक स्वास्थ्य सम्बन्धी जोखिम पाइन्छ ।
कार्यक्रममा योगको परिचय, उद्देश्य, महत्व, योग गर्दा अपनाउनुपर्ने सावधानी, योगका नियम विषयमा प्रकाश पारिएको थियो । जसमा अष्टाङ्गयोग, ध्यान, प्रणायामका विभिन्न विधिहरु, प्रज्ञा योग तथा योग ध्यान गर्ने व्यक्तिको मानसिक स्वास्थ्यमा पार्ने सकारात्मक परिवर्तनको बारेमा जानकारीसहित प्रयोगात्मक अभ्यासहरु गराइएको थियो ।
कार्यक्रम आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका महिला सदस्य कमला खनाल भण्डारीको अध्यक्षता, जिल्ला कारागार कार्यालयका कारागार प्रशासक दुर्गा न्यौपानेको आथित्यता तथा कारागार सुरक्षा प्रमुख होम बहादुर वि.क. एवं पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक कुमार खनालको आथित्यतामा सञ्चालन गरिएको थियो ।
कार्यक्रममा योग, ध्यान, आशनको प्रयोगात्मक अभ्यास योग गुरु पुष्पा भुसालले गरेकी थिइन् । कार्यक्रमको सहजीकरण स्वास्थ्य केन्द्रका निमित्त कार्यालय प्रमुख कमल प्रसाद आचार्य तथा स्वास्थ्य केन्द्रका ल्याव–टेक्निसियन सुवास शाही तथा कर्मचारी निराजन पौडेलले गरेका थिए । सो कार्यक्रममा कारागारका करिब ८० जना कैदीबन्दीहरुको सहभागीता रहेको थियो । कार्यक्रम ३ दिनसम्म सञ्चालन रहने योग गुरु अशोक खनालले बताए ।
कृष्ण तिवारी/मध्यान्ह
रौतहट : रौतहट कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जैसवालले नगरभित्रका विद्यालयहरुलाई प्रविधिमैत्री बनाउन आफू प्रतिबद्ध रहेको बताएका छन् ।
रौतहटको कटहरिया नगरपालिका ५ स्थित धन लक्ष्मी प्रा.विमा सोमबार आयोजित सम्मान कार्यक्रममा मेयर जैसवालले नगरभित्रका विद्यालयले गुणस्तरिय शिक्षामा जोड दिन आग्रह समेत गरे । सो अवसरमा विद्यालय व्यवस्थान समितिका अध्यक्ष दीनानाथ साहलाई सम्मान समेत गरिएको थियो ।
विद्यालयको सभाकक्षमा आयोजित समारोहमा नवगठित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष साहलाई मेयर जैसवालले दोसल्ला ओढाएर सम्मान गरे । उनले कार्यकाल सफलताको शुभकामना दिँदै विद्यालयलाई सहयोग गर्ने समेत प्रतिबद्धता जनाए ।
विद्यालयको विकास गर्न आफू सधैँ तत्पर रहेको उनको भनाइ छ । सो अवसरमा कटहरिया नगरपालिका वडा नं ५ का वडा अध्यक्ष सर्फ लाल गुप्ताले विद्यालयको रेखदेख र व्यवस्थापन गर्ने प्रमुख जिम्मेवारी अभिभावकको रहेको बताए ।
उक्त अवसरमा हालै अध्यक्षको जिम्मेवारी पाएकासाहले विगतमा व्यवस्थापनको अभावमा विद्यालयको अवस्थादेखि पठनपाठन दयनिय बनेको, तर आफ्नो कार्यकालमा पूर्ण रूपमा सुधार गर्ने प्रतिबद्धता जनाए ।
सो अवसरमा नगर शिक्षा संयोजक अनिल कुमार निधि, समाजसेवी विद्यासागर यादव, वडा सदस्य भगल राय यादव, राजबाबु जैसवाल, रामवरण साह, रामजीवन साह लगायत विद्यालयका शिक्षक शिक्षिका, व्यवस्थापन समितिका सदस्यहरु, अभिभावक तथा छात्रछात्राको सहभागिता रहेको थियो ।
सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : आम जनता पार्टीले विभिन्न मागसहित संघर्षका कार्यक्रम तय गर्दै सोमबार रौतहटका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।
असमान शिक्षक दरबन्दी वितरण सच्याउन, तहगत र विषयगत शिक्षक दरबन्दी एवं विद्यार्थी संख्याको अनुपातमा अपुग शिक्षक दरबन्दी तत्काल आपूर्तिको माग गर्दै आम जनता पार्टी मधेश प्रदेश कमिटी र आम विद्यार्थी मोर्चाले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएको हो ।
गौरको मधेशी क्रान्ति चौकबाट सयौंको संख्यामा विद्यार्थी तथा पार्टी कार्यकर्ता सहभागी भएको र्यालीमा ‘अपुग शिक्षक तुरन्त व्यवस्थापन गर’, ‘शिक्षामा विभेद गर्न पाइदैँन’ जस्ता नारा लगाउँदै जिल्ला प्रशासन कार्यालय पुगेको थियो ।
उनीहरुले ५ सूत्रीय माग र संघर्षका कार्यक्रमसहितको ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीलाई बुझाएका छन् । यस्तै शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयलाई पनि ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापन पत्रमा रौतहट जिल्लामा आवश्यक शिक्षक भन्दा १ हजार ७ सय शिक्षक सामुदायिक विद्यालयमा अपुग रहेको दावी गरिएको छ । जिल्लामा ३ हजार ७ सय शिक्षक हुनुपर्नेमा २ हजार मात्र शिक्षक कार्यरत रहेको हुँदा विद्यार्थीको भविष्यसँग राज्यले खेलवाड गरिरहेकोले तत्काल अपुग शिक्षकको दरबन्दी व्यवस्थापन नगरे सरकारकोविरुद्ध संघर्ष गर्ने समेत चेतावनी दिइएको छ ।
ज्ञापन पत्रमा शिक्षा ऐन अनुसार आवश्यकता भन्दा बढी दरबन्दी रहेको विद्यालयबाट तत्काल दरबन्दी कटौती गर्नुपर्ने, प्रत्येक विद्यालयमा तहगत र विषयगत शिक्षक आपूर्ति गर्नुपर्ने, शिक्षा विभागको मापदण्ड अनुसार प्रत्येक तहको विद्यालयमा तह अनुसारको न्यूनतम शिक्षक दरबन्दी आपूर्ति गर्नुपर्ने, मधेशका अधिकांश विद्यालयमा १०० देखि ३०० सम्म विद्यार्थी राखिएका विद्यालयमा तत्काल सेक्सन छुट्टयाइ अपुग शिक्षक र आवशयक भौतिक संरचना पूर्ति गर्नुपर्ने माग राखिएको छ ।
यस्तै विद्यार्थीको जनसंख्या हरेक वर्ष वृद्धि हुने हुनाले विद्यार्थी शिक्षक अनुपात मिलाउनका लागि प्रत्येक वर्ष विद्यार्थी भर्ना अभियानसँगै अपुग हुने शिक्षक दरबन्दी वैशाख महिनाको पहिलो सत्ताभित्र शिक्षक सेवा आयोग खोली अनिवार्य रुपमा पूर्ति गर्ने व्यवस्था गर्नु पर्ने माग पनि राखिएको छ ।
उल्लेखित माग सरकारले सम्बोधन भएर चरणबद्ध रुपमा आन्दोलनको कार्यक्रम गर्ने समेत चेतावनी दिइएको छ ।
वैशाख २४ गते जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने, वैशाख २५ गतेदेखि ३० गतेसम्म प्रत्येक जिल्लामा अपुग दरबन्दी पूर्ति गराउन संघर्ष समिति गठन गर्ने, वैशाख ३० गते देखि अभिभावक र विधार्थी संग अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने, जेष्ठ १५ गते जिल्ला शिक्षा समन्वय इकाई कार्यालय घेराउ तथा जेष्ठ २० गते शिक्षा विभाग घेराउ गर्ने कार्यक्रम सार्वजानिक गरिएको आम विद्यार्थी मोर्चाका अध्यक्ष विवेक साहले जानकारी दिएका छन् ।
सुनिल कार्की/मध्यान्ह
पाल्पा : नेपाली कांग्रेस पाल्पाले जनसरोकारका विषयमा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ । पार्टीले दैवी विपत्ती, जंगलमा डढेलो, मानव बस्तीमा आगलागी, वातावरणीय प्रदुषण तथा विभिन्न संघसंस्थाबाट सर्वसाधारण नागरिकहरुले खेप्नु परेका समस्याहरुको समाधान गर्न प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेको ध्यानाकर्षण गराएको हो ।
विगत केही दिनदेखि पाल्पाका विभिन्न स्थानमा आगलागी, वनजंगलमा डढेलो, वातावरण प्रदुषण बढ्दै गएको र यातायातको भाडादरमा अपारदर्शिता, पशुचौंपायाको अवैध निकासी भएका विषयमा सोमबार जिल्ला सभापति हिमालदत्त श्रेष्ठको नेतृत्वमा गएको कांग्रेस नेताहरुको टोलीले जिल्ला प्रशासन कार्यालय पुगेर प्रजिअ काफ्लेको ध्यानाकर्षण गराएको हो ।
कांग्रेसले लामो खडेरी र प्रचण्ड गर्मीका कारण आगलागीका घटना बढ्दै जाँदा जनजीवन अस्तव्यस्त हुनुको साथै ठूलो भौतिक क्षति व्यहोर्नु परेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उसले जंगल र मानववस्तीमा सल्केको आगो नियन्त्रणबाहिर जाने अवस्थामा रहेकाले बेलैमा प्रभावकारी कदम नचालिए थप जनधनको क्षति हुनुको साथै पर्यावरणीय सन्तुलनमा समेत व्यापक असर पार्ने भएकाले त्यसतर्फ स्थानीय, प्रदेश, संघीय सरकार र राजनीतिक दलहरुसँग समन्वय गरी प्रकोप न्यूनीकरण र राहतका लागि यथाशीघ्र कदम चाल्न प्रजिअलाई आग्रह गरेको छ ।
कांग्रेसले देशभर सहकारी काण्डका घटनाहरु बाहिर आइरहेकाले पाल्पामा पनि त्यस्तो अवस्था सिर्जना नहोस् भन्ने उद्देश्यले आवश्यक समन्वय र अनुगमन गर्न माग गरेको छ । कांग्रेस जिल्ला सभापति श्रेष्ठद्वारा जारी ध्यानाकर्षण पत्रमा पाल्पा जिल्लामा सञ्चालित सहकारीको अवस्था के छ ?, बचत र ऋण परिचालन सहकारीको मापदण्डअनुसार भएको छ कि छैन ?, यस विषयमा कानूनको अधिनमा रही आवश्यक समन्वय र अनुगमनका निम्ति जोडदार माग गर्नुका साथै आमजनताले आफ्नो पसिना खर्च गरेर जम्मा गरेको बचत कुनै पनि अवस्थामा डुब्नु हुँदैन भन्ने मान्यतामा नेपाली कांग्रेस आडिग रहेको उल्लेख गरिएको छ ।
नागरिकको जीउधनको सुरक्षा राज्यको पहिलो प्राथमिकता रहेको र हुनुपर्ने कांग्रेस सभापति श्रेष्ठले बताए । उनले जनताका हरेक समस्यामा कांग्रेस पाल्पा सबैसँग हातेमालो गरेर हिँड्न तयार रहेको उल्लेख गरे । सभापति श्रेष्ठले भने, ‘लामो खडेरीका कारण कृषि उत्पादनमा पर्ने असर र यसले आमकृषकलाई पार्ने क्षति न्यूनीकरणका निम्ति आवश्यक समन्वयका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछौं ।’ विगत केही दिनदेखि कालीगण्डकी करिडोर भएर अवैध रुपमा पशुचौपाया निकासी भइरहेको भन्ने व्यापक जनगुनासो आइरहेको र सोही विषयलाई लिएर रामपुरमा झडपसमेत भएको विषयप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको समेत ध्यानाकर्षण पत्रमा उल्लेख छ । सो विषयमा सत्यतथ्य जनसमक्ष ल्याउन र आगामी दिनहरुमा त्यस्ता गतिविधि हुन नदिने व्यवस्था गर्न पनि कांग्रेस पाल्पाले जोडदार माग गरेको छ । उसले स्वास्थ्य बीमा सबै नेपालीको स्वास्थ्य उपचारसँग सम्बन्धित विषय भएकाले सबैसँग मिलेर स्वास्थ्य बीमा कार्यक्रम सहज र विरामीमैत्री बनाउन सम्बन्धित निकायसँग कांग्रेसले पहल गरेको पनि बताइएको छ । तर सेवा प्रदायक स्वास्थ संस्थाहरुबाट सहज सेवा प्राप्त भएन भन्ने जनगुनासो आएकाले यसप्रति पनि कांग्रेसको ध्यानाकर्षण भएको छ ।
उसले यस विषयमा सिफारिश प्रक्रिया झन्झटिलो भएकाले उक्त प्रक्रिया सरल र सहज बनाउन सम्बन्धित निकायमा तत्काल पहल गरिदिन समेत प्रजिअ काफ्लेसँग जोडदार माग गरेको छ ।
कांग्रेसले जिल्ला भित्रका विभिन्न ठाउँमा निर्माण र मर्मत सम्भारको काम भइरहेका ठाउँहरुमा खाल्डाखुल्डी धुलो आदिका कारणले यात्रु वर्गलाई असुविधा भइरहेकाले त्यसतर्फ पनि ध्यान दिन भनेको छ ।
उसले पाल्पामा सञ्चालित खानी, उद्योगहरु मापदण्डअनुसार नचलेको, नजिकमा मानववस्तीमा वातावरणीय असर पुगिरहको भन्ने जनगुनासोप्रति पनि आफ्नो ध्यान आकर्षण भएको जनाएको छ । तत्काल यसको व्यवस्थापनका लागि पनि कांग्रेसले माग गरेको छ । जिल्लामा रहेका सार्वजनिक जग्गा र यहाँ रहेका ऐतिहासिक, सांस्कृतिक पुरातात्विक, धार्मिक सम्पदाहरुको संरक्षण र सम्वद्र्धनमा समेत ध्यान दिनुुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
प्रजिअ काफ्लेले ध्यानाकर्षण पत्र बुझ्दै कांग्रेसले ध्यानाकर्षण गराएका जनसरोकारका विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले कांग्रेसले उठाएका केही विषयहरु सम्बोधन भइसकेको र केही सम्बोधनकै क्रममा रहेको उल्लेख गरे । प्रजिअ काफ्ले जनताका समस्याहरु समाधानमा स्थानीय, प्रदेश, संघीय सरकार राजनीतिक दलहरुसँग समन्वय भइरहेको बताए । कार्यक्रममा कांग्रेस जिल्ला सचिव सुनिता अधिकारीले ध्यानाकर्षण पत्र वाचन गरेर सुनाएकी थिइन् ।
राहुल गुप्ता/मध्यान्ह
बारा : बाराको फेटा गाउँपालिका वडा नम्बर १ रजवटीयामा टोल सुधार समिति गठन गरिएको छ । भ्रष्टाचारविरुद्धको अभियान अन्तर्गत रजवटीयामा २९ जना कार्यसमितिसहित टोेल सुधार समिति गठन गरिएको हो ।
फेटा गाउँपालिका वडा नम्बर १ रजवटिया टोलका जनतासँग पटक–पटक भइरहेको विभेद, बजेटमा भइरहेको भ्रष्टाचार, अनियमितता, शिक्षामा हुने गरेको कमी कमजोरी, कृषकको नाममा भइरहेको ज्यादती, युवाहरूको भविष्यसँग भइरहेको खेलवाड लगायत विषयमा ध्यान केन्द्रित गर्दै टोल सुधार समिति गठन गरिएको स्थानीय युवाहरुले बताएका छन् ।
टोल सुधार समितिको संयोजकमा शेषनाथ यादव, सह–संयोजकमा उपेन्द्र यादव रहेका छन् । यस्तै सदस्यहरुमा कृष्ण साह, सुदेश कुश्वाहा, जवाहिर पासवान, अमिर पासवान, सनोज कुमार यादव, विकेश पासवान, सेन्डो पासवान, अम्बिका पडित, रामकिसुन पडित, जितेन्द्र पासवान, छटु पासवान, राहुल पासवान, अमिरलाल पडित, श्रीलाल पासवान, राजशंकर पासवान, भोला कुमार पासवान, रामभरोस यादव, राकेश कुमार प्रजापति, देवलाल प्रसाद यादव, चन्द्रिका पडित, नथुनी पासवान र रमेश पासवान लगायत २९ जना रहेका छन् ।
ओबराज शाही/मध्यान्ह
हुम्ला : हुम्लाको सिमकोट गाउँपालिकाभित्रका दुई वटा वडाका गर्भवती महिलाको घरमै गएर अल्ट्रासाउण्ड र भिडियो एक्सरे गरिएको छ । सिमकोट गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा गर्भवती महिलाको गाउँमै पुगेर अल्ट्रासाउण्ड र भिडियो एक्सरे गरिएको स्वास्थ्य शाखाका वरिष्ठ अनमी मनमाया शाहीले बताइन् ।
शाहीका अनुसार सिमकोट गाउँपालिकाको वडा नं. ८ स्याँडा र वडा नं. ७ डाडाँफयाका विभिन्न गाउँ टोलमा गएर २० जना गर्भवती महिलाको अल्ट्रासाउण्ड र भिडियो एक्सरे गरेको बताइन् । अल्ट्रासाउण्ड र भिडियो एक्सरे एकै दिनमा गरिएको थियो ।
आइतबार वडा नं.८ को स्याँडाका ६ जना, सोही वडाको खोल्सी गाउँका ८ जना गर्भवती महिलाको एकैसाथ स्वास्थ्य चौकी र गर्भवती महिलाको घरमै गएर अल्ट्रासाउण्ड र भिडियो एक्सरे गरिएको हो ।
यस्तै वडा नं.७ डाडाँफया २ जना र सोही वडाको चौंगनफयमा ४ जना गर्भवती महिलाको अल्ट्रासाउण्ड र भिडियो एक्सरे गरेको सिमकोट स्वास्थ्य शाखा स्रोतले जनाएको छ ।
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नर भण्डारीले सिमकोट गाउँपालिका सबै वडामा यो कार्य गरिने बताए । गर्भवती महिलाको बच्चा कस्तो छ, कसरी चल्छ, अपांग छ कि छैन ?, उल्टो छ कि जस्ता जटिल समस्या हेर्नको लागि महिनाको एक पटक अल्ट्रासाउण्ड र भिडियो एक्सरे गरिएको प्रमुख भण्डारीले बताए ।
उनका अनुसार यो कार्य घरदैलोमा सञ्चालन हुँदा गर्भवती महिलाको समय बचत हुने, आर्थिक भार भेल्नु नपर्ने, न्यून आयस्रोत भएका महिलाहरुले पनि स्वास्थ्य लाभ लिन सक्ने हेतुले गाउँपालिकाले घरदैलोमै कार्यक्रम सञ्चालन गरेको हो । सिमकोट गाउँपालिकाका ८ वटै वडामा यो अभियान सञ्चालन हुँदै आएको छ ।
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा एनआरएनए अभियन्ता डीबी क्षेत्री मनोनीत भएका छन् । पार्टी केन्द्रीय कार्यालय (पदाधिकारी)को वैशाख २१ गते बसेको बैठकको निर्णयअनुसार ओमानलाई आफ्नो कार्यक्षेत्र बनाउँदै आएका क्षेत्रीलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको हो ।
प्रवासमा रहेर उनले पार्टीका लागि खेलेको भूमिकालाई उच्च मूल्यांकन गर्दै केन्द्रीय सदस्यमा मनोनीत गरिएको हो । गैरआवासीय नेपाली संघ (एनआरएनए)का नेतासमेत रहेका उनले मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकको हकहितका लागि हजारे अभियान सञ्चालन गरेका थिए । उनी मध्यपूर्वमा रहेका श्रमिकहरूबीच लोकप्रिय मानिन्छन् । क्षेत्रीलाई केन्द्रीय सदस्य बनाएपछि माओवादीको प्रवासमा रहेका नेपालीहरूमा लोकप्रियता बढेको छ ।
यस्तै माओवादी केन्द्रले दुई नेतालाई भने जिम्मेवारीबाट हटाएको छ । केन्द्रीय सदस्यको भूमिकामा रहेका राम कुमार शर्मा र इन्दु कुमारी शर्मालाई जिम्मेवारीबाट हटाइएको हो । उनीहरूले केही समयअघि पार्टी परित्यागको घोषणा गरेका थिए ।
सुर्य प्रसाद भुसाल/मध्यान्ह
अर्घाखाँची : अर्घाखाँचीको शितगंगा नगरपालिकामा जिल्लाका महिला सञ्चारकर्मीहरुका लागि एकदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । शितगंगा नगरपालिकाको सहयोग, कमलपोखरी युवा क्लबको आयोजना तथा न्युज पाना मिडिया प्रा.लि.को सहजीकरणमा सञ्चलालित तालिममा जिल्लाका विभिन्न मिडियामा कार्यरत ३२ जना महिला सञ्चारकर्मी सहभागी थिए ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य बिजुला रायमाझीले अहिले पनि महिला सहभागिता ३३ प्रतिशतकै आधारमा हुन नहुने बताउँदै सक्रियताको आधारमा हरेक क्षेत्रमा समान सहभागितामा महिला सक्रिय हुनुपर्नेमा जोड दिइन् ।
नगर प्रमुख छबिलाल पौडेलले हरेक क्षेत्रमा महिला सहभागिताका लागि नगरपालिकाले निरन्तर सहयोग गरिरहेको बताउँदै नगरको विकास अवस्थाका बारेमा सुझाव दिन र समाचार उठान गर्न महिला पत्रकारलाई अनुरोध गरे ।
पत्रकारिता क्षेत्रमा महिलाको सक्रियता बलियो बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको नगर उपप्रमुख गीता भाटले बताइन् । सञ्चार क्षेत्रमा लागेका महिलाको अवस्था र सक्रियताको बारेमा यो तालिमबाट जानकारी प्राप्त भएको र सञ्चार क्षेत्रमा महिलालाई आवाजविहीन समुदायको आवाज ल्याउन यो तालिमले सहयोग गर्नेमा आफू आशावादी रहेको उपप्रमुख भाटले बताइन् ।
तालिमले न्यूनतम आचारसहिंताबारे धेरै कुरा सिक्न पाएको भएको बताउँदै महिलालक्षित यस्ता कार्यक्रमहरु नगरपालिकाले निरन्तर प्रदान गर्नुपर्ने तालिममा सहभागी सरस्वती पुरीले बताइन् । तालिममा सहभागी महिला सञ्चारकमीहरुले कलमको माध्यमबाट महिला हिंसा उत्पीडनका आवाज बुलन्ध गर्नुपर्नेमा जोड दिए ।
महिला सशक्तीकरण, पत्रकारिता आचारसंहिता, महिला र सञ्चारलगायतका विषयमा प्रशिक्षक हृदय भुसाल, मधु श्रेष्ठ तथा बिजुला रायमाझीले प्रकाश पारेका थिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, योजना अधिकृत नुमलाल खनाललगायतको उपस्थिति रहेको थियो । सचिन बोहराको अध्यक्षतामा भएको कार्यक्रम विक्रम आर्चायले सञ्चालन गरेका थिए ।
काठमाडौं : अनुसन्धान वा अभियोजनका क्रममा पक्राउ परेका व्यक्ति अस्पताल बस्नु परे सरकारी अस्पताल वा नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको सिफारिस अनिवार्य गरिएको छ । तर मानसिकरुपमा अस्वस्थ वा अस्पतालमै बसेर उपचार गराउनुपर्ने दीर्घ रोगीको हकमा भने सिफारिस अनिवार्य गरिएको छैन ।
पक्राउ पर्ने व्यक्तिहरु हिरासतमा नबसी अस्पताल भर्ना हुने प्रवृत्तिप्रति जनस्तरबाटै प्रश्न उठेपछि गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयअनुसार उक्त व्यवस्था गरेको हो । पक्राउ परेका व्यक्तिहरुलाई अस्पताल बस्न चिकित्सकले गर्ने सिफारिस समेत असामान्य र अविश्वसनीय भएको भन्दै यस्तो प्रवृत्ति न्यूनीकरण गर्न उक्त व्यवस्था गर्न लागिएको जनाइएको छ ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सचिवालयले आज सार्वजनिक गरेको विवरणअनुसार अस्पताल लैजानुपर्ने विकल्पका रुपमा हिरासतमै सरकारी अस्पताल अथवा नेपाल मेडिकल काउन्सिल दर्ता चिकित्सकले परीक्षण गरेर मात्रै अस्पताल राख्नुपर्ने/नपर्ने सम्बन्धमा निर्णय हुने र सोहीअनुसार गर्न निर्देशन दिइएको जनाएको छ ।
तर शारीरिक एवं मानसिक रुपमा अस्वस्थ भएको अवस्था, दीर्घरोगीहरु जस्तैः उच्च रक्तचाप, मधुमेहलगायत नियन्त्रण नभएर अस्पतालमै बसेर उपचार गर्नुपर्ने अवस्थामा भने अस्पताल लग्नुपर्ने निर्देशनमा उल्लेख गरिएको छ ।
अस्पतालमा निगरानीका लागि ४८ घण्टाभन्दा बढी राख्नुपरेमा उपयुक्त कारण खुलाउनपर्ने पनि गृहमन्त्रालयले जनाएको छ । प्रहरी नियन्त्रणमा रहेका व्यक्तिलाई चिकित्सकीय सहायता उपलव्ध गराउने हालको कानूनी प्रबन्ध र अभ्यासलाई वस्तुगत, तथ्यपूर्ण र विश्वसनीय बनाउन मन्त्रालयले गत चैत १३ गते नेपाल मेडिकल काउन्सिललाई अध्ययन गरी रायसहितको प्रतिवेदन दिन अनुरोध गरेको थियो ।
काउन्सिलले यही वैशाख २३ गते बुझाएको प्रतिवेदनका आधारमा गृह मन्त्रालयले तीन बुँदे निर्णय गरेको जनाइएको छ ।
गृह मन्त्रालयको आग्रहअनुसार अध्ययन गर्न काउन्सिलले सदस्य डा विश्वराज दवाडीको संयोजकत्वमा नौ सदस्यीय समिति बनाइएको थियो । पहुँचका आधारमा हिरासत छल्ल स्वास्थ्यलाई बहाना बनाउने घटना यदाकदा देखिएको भन्दै पदभार ग्रहण लगत्तै मन्त्री लामिछानेले यसबारे चासो लिएर छलफल शुरु गरेका थिए ।
“आवश्यक पर्दा उपचार पाउनु सबैको हक हो । राज्यले त्यो हक सुरक्षित गर्छ । तर कतिपय घटनामा हिरासत छल्न नै अस्पताल जाने प्रवृत्ति पनि देखिएकाले सबैलाई समान व्यवस्था र व्यवहार होस् भनेर केही व्यवस्था गर्ने निर्णय भएको हो”, गृहमन्त्री लामिछानेको भनाइ उदृत गर्दै उनको सचिवालयले उल्लेख गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies