सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : गर्मीसँगै बढेको जिल्लासहित मधेशका जिल्लामा आगलागीका घटनाहरू बढ्न थालेका छन् ।
रौतहटमा १८ पालिका छन् । जिल्लाको चन्द्रपुर नगरपालिका र गौर नगरपालिकासँग मात्र वारुणयन्त्र रहेको छ । कटहरिया नगरपालिकाले पनि वारुणयन्त्र किन्ने कुरा गरेको सात वर्ष बितिसक्दा समेत वारुणयन्त्र किन्न सकेको छैन ।
पालिकाहरूले मेयर, उपमेयर र कार्यालय प्रमुख चढ्नका लागि महंगो गाडी खरिद गर्ने गरेको तर सर्वसाधारणलाई अत्यावश्यक रहेको वारुणयन्त्र र एम्बुलेन्स खरिद गर्नका लागि चासो नदेखाएको सर्वसाधारणको गुनासो छ ।
रौतहट जिल्लामा आगलागीका घटना भएको खण्डमा सर्लाही जिल्लाका विभिन्न पालिका र बारा जिल्लाको निजगढ़ नगरपालिकाको वारुणयन्त्र मगाउनुपर्ने बाध्यता रहेको छ ।
जिल्ला दैवी प्रकोप उद्धार समिति रौतहटले दुई वर्ष अघि नै जिल्लाको सबै पालिकामा वारुणयन्त्र खरिद गर्न पहल गर्ने निर्णय गरेको थियो ।
सुर्य प्रसाद भुसाल/मध्यान्ह
अर्घाखाँची : अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा भिडियो एक्सरे सेवा शुरु भएको छ । गर्भवती महिलाहरुका लागि ग्रामीण भिडियो एक्सरे अल्ट्रासाउण्ड सेवा सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले बताए ।
संघीय सशर्त अनुदानतर्फको आ.व. २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत गर्भवती महिलाहरुका लागि ग्रामीण अल्ट्रासाउण्ड शुरु गरिएको पाण्डेले जानकारी दिए ।
सोमबारबाट चिदिका स्वास्थ्य चौकीबाट शुरु गरिएको सेवा बल्कोट प्राथमिक स्वास्थ्य केन्द्र वडा नम्बर ३ को दुन्द्रुक प्राथमिक स्वास्थ्य केन्द्र वडा नम्बर ४ को केरुङ्गा प्राथमिक स्वास्थ केन्द्रमा सञ्चालन गरिएको थियो । सो क्रममा चार दर्जन गर्भवती महिलाहरुले सेवा लिएका छत्रदेव स्वास्थ्य शाखाका प्रमुख बुद्धि न्यौपानेले बताए ।
यो कार्यक्रम सबै वडास्तरीय स्वास्थ्य संस्थामा सञ्चालन हुनेछ र वैशाख १३ गतेसम्ममा सम्पन्न गर्ने योजना रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्विराज न्यौपानेले जानकारी दिए ।
विगतको तुलनामा अत्याधिक महिलाहरु ग्रामीण भिडियो एक्सरे सेवामा सहभागि हुने अपेक्षा समेत रहेको गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठको भनाइ छ ।
छत्रदेव गाउँपालिकाबाट सन्धिखर्क हुँदै बुटबल तथा गुल्मी हुँदै पाल्पा अल्ट्रासाउण्ड गर्नका लागि जाँदा गर्भवती महिलाहरुलाई निकै समस्या हुने तथा खर्च पनि धेरै हुने हुँदा झन्झट भएको थियो । महिलाहरुका लागि गाउँपालिकामा समेत सेवा लिन सकिन्छ भन्ने विश्वास दिलाउन समेत यसले सहयोग पु¥याएको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए ।
कमल कुमाल/मध्यान्ह
कालीकोट : कालीकोटको रास्कोट नगरपालिका वडा नं.८ ले विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेको छ । कम उमेरमै विवाह हुँदा प्रजनन् स्वास्थ्यमा समस्या देखिने र आमा बच्चाकै ज्यान जोखिममा पर्ने भन्दै वडाले विवाह गर्न वडाको सिफारिस अनिवार्य गरेको हो ।
रास्कोट नगरपालिका वडा नं ८ को आयोजनामा प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा सामाजिक जागरण तथा विकास प्रतिष्ठान सादा नेपालको साझेदारीमा सञ्चालित बालविवाह, छिटो गरिने विवाह र बलजबस्ती गरिने विवाह रोकथाम परियोजना अन्तर्गत वडा नम्बर ८ का किशोर किशोरीले विवाह गर्दा वडाको सिफारिस अनिवार्य लिनुपर्ने नियम गरेको छ । कानूनी रूपमा विवाह गर्न २० वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था छ । ‘
विवाहका लागि वडाबाट सिफारिस लिँदा उनीहरूको वास्तविक जन्म मिति थाहा हुने र बाल विवाह न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा वडाले लिएको छ ।
समाजमा बढ्दै गएको बालविवाहलाई मध्यनजर गरी यस वडाले न्यूनीकरणका लागि सम्पूर्ण टोल बस्तीमा विवाहपूर्व वडाबाट सिफारिस लिइ विवाह कार्य अगाडि बढाउन हुन आग्रह गरेको समेत फिल्ड अफिसर मंगल कुमारी उपाध्यायले बताइन् । साथै यो भन्दा पहिला वडा नम्बर ३, र ४ ले विवाह पूर्व सिफारिस लिने निर्णय गरिसकेको छ ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमण पश्चात बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिरसँग आग्रह गरेका छन् ।
राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा मंगलबार अपराह्न यहाँ आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग राष्ट्रपति भवन शीतल निवासमा भएको द्विपक्षीय भेटवार्ताका अवसरमा उनले सो आग्रह गरेका हुन् ।
राष्ट्रपति पौडेलले आफूहरूका लागि विपीनको रिहाई महत्वपूर्ण चासोको विषय रहेको बताएको र रिहाइका लागि कतारका अमिरलाई पहल गरिदिन आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । गत ७ अक्टोबर २०२३ मा हमासको आक्रमणमा परी जोशी बेपत्ता नै रहेका छन् । कतारका अमिरले यसबारेमा विगतमा पनि चासो लिएर पहल गरेको र यसबारेमा थप पहल गर्ने पनि बताएका थिए ।
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : पर्वते राजा नामले परिचित लोक तथा दोहोरी गायक राम चन्द्र (आरसी) पौडेल कतार आउने भएका छन् । पर्वत समाज कतारको वार्षिक साधारण सभा तथा विविध सांस्कृतिक कार्यक्रममा सांगीतिक प्रस्तुति दिन केही समयदेखि बेलायतमा रहेका उनी सिधै कतार आउने भएका हुन् । संस्थाले बहुउद्देश्यीय अक्षय कोष स्थापना गर्ने उद्घोष गरी आगामी अप्रिल २६ तारिकमा नज्मास्थित कलीकोट रेस्टुरेन्टमा कार्यक्रमको आयोजना गर्न लागेको हो ।
पौडेलसहित गैरआवासीय नेपाली तारा–३ का विजेता रुस्तम तामाङ, नृत्य विधामा प्रथम नृत्याङगना निरु श्रेष्ठ सहित डेढ दर्जन कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ । मानवीय सहयोगलाई थप व्यवस्थित र दीर्घकालीन बनाउनको लागि पर्वत समाज कतारको संरक्षकत्वमा बहुउद्देश्यीय अक्षय कोष स्थापना गर्न लागिएको संस्थाका अध्यक्ष रघुनाथ शर्माले मध्यान्हलाई जानकारी दिए ।
उनले सांगीतिक प्रस्तुतिका लागि कतारमा श्रम गरिरहेका प्रतिभाशाली कलाकारलाई समाजले प्राथमिकतामा राखेको र संस्था स्थापनादेखि नै पर्वत समाजले कतारमा स्थापित विभिन्न संघसंस्थासँग सहकार्य गर्दे आएको स्मरण गर्दै अध्यक्ष शर्माले अक्षयकोष स्थापना गर्ने पवित्र अभियानमा आफूले पनि सबैबाट साथ सहयोग पाउने अपेक्षा गरेको बताए ।
बहुउद्देश्यीय अक्षय कोष स्थापना गर्नुको उद्देश्य प्रवासमा कार्यरत तथा वैदेशिक रोजगारीबाट फर्केका पर्वतेलीहरुलाई सहयोग गर्ने तथा पर्वत जिल्लाका विभिन्न सामाजिक एवं शैक्षिक संस्थाको भौतिक संरचनाहरूको पुनः निर्माण तथा अन्य कार्यमा सहयोग पुर्याउने रहेको अक्षय कोषका सचिव सन्तोष क्षत्रीले जानकारी दिए । अक्षयकोष मुनाफा रहित जनहितकारी रहेकोले यसलाई पारदर्शी एवं व्यवस्थित रूपमा दीर्घकालीन बनाउनका लागि जिल्ला प्रशासन कार्यालय पर्वतमा दर्ता गरेर अगाडी बढ्ने प्रक्रियामा रहेका अक्षयकोषका अध्यक्ष अजय विश्वकर्माले बताए ।
संस्थाले कार्यक्रममा सहभागिताका लागि कतारमा स्थापित सम्पूर्ण संघ–संस्था, समाजसेवी, बुद्धिजीवी एवम् पत्रकारहरूलाई निमन्त्रणा पठाइ सकिएको भन्दै सहभागिताका लागि अनुरोध गरेको छ । विविध सांस्कृतिक कार्यक्रममा यातायातको सुविधा सहित प्रवेश निःशुल्क गरिएकोले पर्वतेली दाजुभाइ तथा दिदीबहिनीलाई सहभागिताका लागि विशेष आह्वान गरिएको छ । मध्यान्ह राष्ट्रिय दैनिक साधारण सभा विविध सांस्कृतिक कार्यक्रमका लागि आधिकारिक सञ्चार सहयोगी संस्थाको रूपमा रहेको छ ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्ने जस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई आग्रह गरेका छन् ।
राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुईदिने राजकीय भ्रमणमा मंगलबार अपराह्न यहाँ आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग राष्ट्रपति भवन शीतल निवासमा भएको द्विपक्षीय भेटवार्ताका अवसरमा उनले यस्तो आग्रह गरेका हुन् ।
“आजको विश्वको साझा समस्या भनेकै जलवायु परिवर्तनबाट हाम्रो पृथ्वीलाई कसरी सुरक्षित राख्ने, हाम्रो हिमाललाई कसरी जोगाउने, पानीको स्रोत कसरी बचाउने र वातावरण सन्तुलन कसरी राख्ने भन्ने नै हो, यसमा सबैको सहकार्य हुन जरुरी छ, यो मानव अस्तित्वको विषय छ, विशेषगरी विकसित मुलुकहरू यस विषयमा बढी गम्भिर हुनुपर्छ भन्ने म ठान्दछु”, राष्ट्रपतिको भनाई उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
उनका अनुसार राष्ट्रपति पौडेलले मध्यपूर्वी क्षेत्रमा देखिएको द्वन्द्वको वातावरणले हामीलाई चिन्तित तुल्याएको पनि बताएका थिए । राष्ट्रपति पौडेलले यस क्षेत्रमा युद्धको अन्त्य र शान्तिको पुनर्स्थापनाको कामना गर्दै कतारले शान्ति स्थापनाको लागि खेल्दै आएको भूमिकाको प्रशंसा गरेका थिए ।
त्यस्तै कतारका अमिरले जलवायु परिवर्तनको असरले विश्व नै समस्यामा परेको र यसको न्यूनिकरण सम्बन्धी सम्झौताहरुको सबै मिलेर पालना गरे राम्रो परिणाम आउने र सबैका लागि सुखद वातावरण तयार हुने बताए । कतारका अमिरले नेपालसँग अझ राम्रो सम्बन्ध स्थापित गरेर सहयोगका थप क्षेत्रहरु पहिचानका लागि यो भ्रमण उपलब्धीमूलक हुने विश्वास व्यक्त गरे । अमिरले कतारको विकासमा नेपालीहरुको ठूलो योगदान रहेकोमा त्यसको प्रशंसा गर्दै आभार प्रकट गरेका थिए । उनले दुई देशबीच बुधबार हुने समझदारी तथा सम्झौता नेपालमा रहेका जलस्रोत, कृषि, पर्यटनजस्ता क्षेत्रहरुमा लगानीको नयाँ सम्भावनाहरु बढाउन सकिने विश्वास व्यक्त गरे ।
त्यस्तै नेपाल र कतारबीच सदैव सुमधुर सम्बन्ध रहिआएको बताउँदै राष्ट्रपति पौडेलले हाम्रा सम्बन्ध मित्रता, आपसी सम्मान, विश्वास र सद्भावमा आधारित रहेको स्पष्ट पारेका थिए ।
दुई मुलुकबीच नियमितरूपमा उच्चस्तरीय भ्रमणहरूको आदानप्रदान हुने परम्परा रहिआएको र यसबाट द्विपक्षीय सम्बन्धको विस्तारमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यस ऐतिहासिक भ्रमणले नेपाल र कतारको सम्बन्धलाई नयाँ उचाईमा पुर्याएको बताएका थिए । राष्ट्रपति पौडेलले राजनीतिक रूपान्तरणका मुद्दाहरू टुंगोमा पुगेसँगै नेपाल अब आर्थिक विकास र समृद्धिको यात्रामा अगाडि बढेको उल्लेख गर्दै विकास र समृद्धि हासिल गर्ने नेपालको प्रयासहरूमा कतारको सहयोग निरन्तर रहने विश्वास पनि व्यक्त गरेका थिए ।
दुई मुलुकबीच व्यापार, पर्यटन र लगानीका क्षेत्रमा सहकार्यको राम्रो सम्भावना रहेको सन्दर्भमा यी क्षेत्रहरुमा हाम्रो सहयोग एवम् सहकार्य भविष्यमा थप घनीभूत हुने राष्ट्रपति पौडेलले विश्वास व्यक्त गरेका थिए ।
राष्ट्रपति पौडेलले कतार नेपाली कामदारहरूका लागि वैदेशिक रोजगारीको एक प्रमुख एवम् आकर्षक गन्तव्य मुलुक रहँदै आएको र आधुनिक कतारको विकासमा नेपाली कामदारहरूले पनि उल्लेखनीय योगदान गरेको स्मरण गराएका थिए ।
राष्ट्रपति पौडेलले अमिरको दूरदर्शी नेतृत्वमा कतारले गरेको दिगो विकास र समृद्धि देखेर धेरै खुसी लागेको बताउँदै मुलुकलाई एक उच्चविकसित राष्ट्र बनाउने अमिरको दीर्घकालीन सोच र दृढ अठोटको प्रशंसा गरेका थिए ।
सुर्खेत : लेखक माधव चौलागाईंको पुस्तक 'सपादलक्ष कर्णाली' विमोचन गरिएको छ । मंगलबार वीरेन्द्रनगरमा आयोजित पुस्तक पर्व कर्णाली लिटरेचर फेस्टिभलमा पुस्तक विमोचन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेशका प्रमुख तिलक परियार र लेखककी आमा मनसोभा चौलागाईंले सो पुस्तक विमोचन गरेका हुन् ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानी बीच राष्ट्रपति भवन निवासमा शीतल निवासमा द्विपक्षीय भेटवार्ता शुरु भएको छ । सो भेटमा आपसी हित र चासोबारे छलफल हुने जनाइएको छ ।
कतारका अमिर शेख तमिम विन हमाद अल थानी राष्ट्रपति भवन शीतल निवास आइपुग्दा उनलाई राष्ट्रपति पौडेलले स्वागत गरेका थिए ।
सो भेटवार्तामा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उर्जा तथा जलस्रोत मन्त्री शक्ति वस्नेत, परराष्ट्र सचिव सेवा लम्साल, राष्ट्रपति कार्यालयका सचिव डिल्लीराम शर्मा, प्रमुख स्वकीय सचिवसहित राष्ट्रपतिका विज्ञ एवम सल्लाहकार सहभागी छन् । साथै सो भेटघाटमा कतारको उच्च प्रतिनिधिमण्डलको समेत सहभागिता छ ।
राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर थानी नेपालको दुईदिने राजकीय भ्रमणमा मंगलबार अपराह्न नेपाल आइपुगेका हुन् । राष्ट्रपति पौडेलले कतारका अमिर थानीलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरेका थिए ।
राष्ट्रपति पौडेलसँगको भेटवार्ताका लागि विमानस्थलबाट कतारका अमिर शीतल निवास पुगेका हुन् । कतारका अमिरको यो पहिलो नेपाल भ्रमण हो । कतारका अमिरको भ्रमणका अवसरमा सरकारले मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कतारका अमिर थानी आजै साँझ राष्ट्रपति पौडेलले सोल्टी होटेलमा आयोजना गर्ने रात्रिभोजमा सरिक हुनेछन् ।
कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आएपछि उनलाई त्रिभुवन विमानस्थलमा नेपाली सेनाको टोलीले विशेष सम्मान (गार्ड अफ अनर) प्रकट गरेको छ ।
आइतबार एसियाली देशहरूको भ्रमणमा निस्केका अमिर अल थानी मंगलबार बंगलादेशबाट नेपाल आएका हुन् ।
सो अवसरमा कतारका अमिरको सम्मानमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो ।
-रेशमराज पाैडेल
आप्रवासी कामदारका दुई स्रोत मुलुक फिलिपिन्स र बंगलादेशको राजकीय भ्रमण सम्पन्न गरी कतारका अमिर शेख तमिम बिन हमाद अल थानी अर्को स्रोत मुलुक नेपाल अवतरण गरेका छन् । विश्वकै धनी मुलुककाे हैसियतमा रहेको, करिब पौने ४ लाख नेपालीले राेजगारी गरिरहेको र इतिहासदेखि सुदूर भविष्यका दिनमा पनि भरपर्दाे मित्रराष्ट्रका प्रमुखको नेपाल भ्रमण नेपाल र नेपालीका लागि गाैरवको विषय हो । नेपालीहरुले कतारकाे समृद्धिका लागि गरेको कडा मिहिनेत, परिश्रम र इमान्दारिताकाे कतारले गरेको सम्मानका रूपमा पनि अमिरकाे भ्रमणलाई हेरिएको छ ।
आर्थिक, सामाजिक, सांस्कृतिक, युवा तथा खेलकुद र प्रविधिका क्षेत्रमा नेपाल र कतारबीच आपसी हितका लागि सहयोगका प्रशस्त सम्भावना छन् । खाद्य प्रशोधन, पिउने प्रयोजनका लागि हिमालयन मुहानको पानी, पेट्रो केमिकल र जलविद्युत उत्पादन, बैंकिङ र वित्त लगानीका परम्परागत क्षेत्र हुन् भने पेट्रोलियम पदार्थ, हस्तनिर्मित गलैंचा, कपडा, हस्तकला, औषधीय जडिबुटी, दाल, अलैंची, अदुवा, ताजा तरकारी, फलफूल आदिको व्यापारमा सहकार्यकाे प्रचुर सम्भावना रहेकाे छ । यी पक्ष नेपालका पूर्वराष्ट्रपति रामवरण यादवकाे कतार भ्रमणका बेला नै पहिचान गरिएका क्षेत्र पनि हुन् । यसका अतिरिक्त स्वास्थ्य क्षेत्रमा सहकार्य र कतारी लगानीकर्ताले नेपालको जलविद्युत, पर्यटन र पूर्वाधार विकासमा लगानी गर्ने सम्भावना छ । कतारले नेपालसँग कृषि, ऊर्जा र अन्य लगानीका क्षेत्रमा सहकार्य गर्न सक्ने अवस्था छ ।
तर नेपालले अपेक्षा गर्दैमा कतारबाट यी क्षेत्रमा लगानी आउन सक्ने देखिँदैन । कतारका अमिर थानीले नेपाल भ्रमणमा आउनुपूर्व फिलिपिन्स र बंगलादेशकाे भ्रमण गरिसकेका छन् । दुवै मुलुकले प्रष्ट याेजनासहित कतारी लगानीका क्षेत्र पहिचान गरी प्रस्ताव गरेका छन् ।
बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दीनले कतारलाई बंगलादेशको विशेष आर्थिक क्षेत्र (सेज)मा थप लगानी गर्न आग्रह गरेका छन् । बंगलादेशले कृषि उत्पादन र प्रशोधन, खाद्य प्याकेजिङ, स्मार्ट कृषि र मल उत्पादन जस्ता उत्पादनदेखि उपभोग, खाद्य आपूर्ति श्रृंखलालगायत विभिन्न क्षेत्रमा लगानीलाई स्वागत गर्ने प्रतिबद्धता जनाएको छ । बंगलादेशले कतारलाई खाडी क्षेत्रमा बहुमूल्य विकास साझेदार भएको स्वीकार गर्दै दुई देशबीचको सहयोगसम्बन्धी पाँच सम्झौता र पाँचवटा एमओयूमा हस्ताक्षर गरेका छन् । उनीहरूबीच आगामी दिनमा द्विपक्षीय सहयोगलाई थप विस्तार र सुदृढ बनाउने याेजना छ । बंगलादेशमा पेट्रो केमिकल, ऊर्जा, मेसिनरी, सूचना प्रविधि, इलेक्ट्रोनिक्स, सिरामिक्स, कृषि व्यवसाय, खाद्य प्रशोधन जस्ता क्षेत्रमा कतारी लगानीकर्ताले ठूलो प्रोत्साहन र सहयोग पाउन सक्ने भन्दै बंगलादेशका राष्ट्रपति शाहबुद्दीनले लगानीको प्रस्ताव गरेका छन् ।
यसका साथै, बंगलादेशी राष्ट्रपति शाहबुद्दीनले कतारका अमिरलाई बंगलादेशबाट थप युवा, दक्ष र अर्धदक्ष जनशक्ति, सूचना प्रविधि विशेषज्ञ र व्यावसायिक प्राविधिकहरू राेजगारीमा भर्ना गर्न आग्रह गरेका छन् । नेपाली कामदार फिलिपिन्स र बंगलादेशी कामदारहरूसँग प्रतिस्पर्धी मानिन्छन् । तर भाषा तथा अन्य पक्षमा नेपाली कामदार अपेक्षितरुपमा कमजाेर देखिन्छन् । कतारी लगानी भित्र्याउने विषयमा पनि प्रतिस्पर्धा चर्काे छ । कतारका अमिरले भ्रमण गरेका बंगलादेश र फिलिपिन्स दुवै मुलुकले कतारी लगानीलाई पूर्णरूपमा सुरक्षा गरिने प्रतिबद्धता जनाइसकेका छन् ।
दुई एशियाली मुलुकले लगानीका लागि कतारी लगानीकर्ताहरुलाई राताे कार्पेट बिछ्याइसकेको अवस्थामा उनीहरूभन्दा बढी आकर्षक प्याकेज निर्माण गर्नुपर्ने बाध्यता नेपालसामु खडा भएको छ । तर व्यक्तिगत स्वार्थलाई सर्वेसर्वा ठानिरहेका नेपाली प्रशासन र राजनीतिक नेतृत्वले कतारी लगानीका लागि वातावरण बनाउने विषय तत्कालै विश्वास गरिहाल्ने अवस्थामा देखिँदैन । खासगरी १९ वर्ष पुरानो श्रम सम्झौतामा प्रगति हासिल गर्न नसकेको सन्दर्भमा कतारी लगानी आकर्षित हाेला त ? नेपाली प्रशासनिक र राजनीतिक क्षेत्रमा रहेको व्यक्तिवादी साेचले यस प्रश्नको सकारात्मक उत्तरकाे अपेक्षा गरिहाल्नु पनि हताराे हुनेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies