सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : प्रहरी चौकी बंकुलबाट खटिएको टोलीले भन्सार छली गरेर नेपाल भित्र्याइएको कुखुरा बरामद गरेको छ । बौधिमाई नगरपालिका वडा नं. ७ स्थित भारतबाट अवैध रुपमा भन्सार छलि चोरी पैठारी गरी नेपाल ल्याइएको ब्रोइलर कुखुरा साइकलमा लोड गरी नेपाल ल्याउँदै गरेको अवस्थामा बरामद गरिएको हो ।
प्रहरी टोलीलाई देखेपछि ब्रोइलर कुखुरा फालेर साइकल लिइ उक्त व्यक्ति फरार भएका थिए । बरामद गरिएको १ सय ६ वटा ब्रोइलर कुखुरा जिल्ला प्रहरी कार्यालय रौतहटको प्राङ्गणमा जनप्रतिनिधि, सञ्चारकर्मीहरु तथा प्रहरी समेतको रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय गौरकी प्रहरी नायव उपरीक्षक एलिजा गिरीले जानकारी दिइन् ।
सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : रौतहटको यमुनामाई गाउँपालिका सरुअठामा जनप्रतिनिधिहरुद्वारा उब्जिएको बेथितिविरुद्ध नेपाली कांग्रेस यमुनामाई कार्यसमितिले कार्यालय प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ ।
गाउँपालिका निर्वाचित जनप्रतिनिधिहरु बहाल भएपछि पालिकामा बेथिति मौलाएको नेपाली कांग्रेस यमुनामाई गाउँपालिका कार्यसमितिको ठहर छ ।
निर्वाचित भएदेखि जनताले अपेक्षा गरेअनुसारको विकास निर्माण, सामाजिक सद्भाव, कानूनी राज्यको अनुभुती नभएको कार्यसमितिले जनाएको छ । यस पालिकाबाट निष्पक्षता, पारदर्शिता, जवाफदेहीता, मितव्यायिता र सुशासन समेतको कार्य कार्यान्वयन भएको देखिँदैन । साथै गाउँपालिका अध्यक्ष, कार्यालय प्रमुख र लेखाप्रमुख समेतको काम व्यवहारबाट सर्वसाधारण जनता, अन्नदाता किसान, वृद्धवृद्धा, बालबालिका लगायत समेतमा गम्भीर पीडामा रहेको कार्य समितिले जनाएको छ ।
संघीयताको मर्म भावना अनुसार स्थानीय तहका निर्वाचन पश्चात् जनप्रतिनिधिहरुले गुट उपगुट बनाइ प्रशासकीय अधिकृत फेरबदल गर्ने गराउने कार्य गाउँपालिका अध्यक्ष र लेखा प्रमुखले मिलिजुली आफ्नो कमाउ धन्धाको लागि हाकिम हेरफेर गर्ने र भ्रष्टाचार गर्ने प्रवृत्ति हावी रहेको समेत कांग्रेसले जनाएको छ ।
स्थानीय सरकारको मर्म विपरित स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधारमा समेत भ्रष्टाचारमा लिन रहेको व्यापक जनगुनासो आइरहेको हुँदा नेपाली कांग्रेस यमुनामाई गाउँपालिका कार्यसमितिको ध्यानाकर्षण भएको हो ।
गाउँपालिकालाई बुझाइएको ज्ञापन पत्रमा भनिएको छ, ‘ऐतिहासिक यमुनामाई गाउँपालिका पारदर्शिता, निष्पक्षता, मितव्यायिता, सामाजिक न्याय र आर्थिक सुशासन जस्ता कार्य नगरेकोले जनमानसमा उदासीन भएको छ । सम्पूर्ण जनमानसको हकअधिकार तथा सार्वजनिक महत्वको तपसिल बमोजिम जानकारी तथा जायज मागहरू नेपाली कांग्रेस यमुनामाई गाउँपालिका कार्यसमितिको जोडदार रुपमा माग गर्दछ ।’
जिल्ला समन्वय समिति रौतहट, जिल्ला प्रशासन कार्यालय रौतहट, जनलोकपाल आयोग मधेश प्रदेश जनकपुर धाम, अख्तियार दुरुपयोग अनुसंधान आयोग कार्यालय काठमाडौंलाई समेत बोधार्थ बुझाइएको छ । उक्त माग पाँच दिनभित्र सम्बोधन नभएमा आन्दोलनमा उत्रिन बाध्य हुने पनि कांग्रेसले जनाएको छ ।
भरत प्रधान/मध्यान्ह
लिस्बन : नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । बुधबार जुममार्फत सम्पन्न अधिवेशनले राईको अध्यक्षतामा आगामी तीन वर्षे कार्यकालका लागि ३९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा राजकुमार थापा, प्रेम पोमु, दिलनिशानी मगर, द्रोण रिजाल र बासु सत्याल चयन भएका छन् ।
अधिवेशनले महासचिवमा शेरबहादुर परियार, उपमहासचिवमा भरत प्रधान, कलश खरेल र अशिम लोप्चनलाई सर्वसम्मत चयन गरेको छ । सचिवमा महिन्दो वाइवा, रमेशराज बाँस्तोला र दिनेश गौतम चयन भएका छन् भने कोषाध्यक्षमा इन्दिरा चाम्लिङलाई चयन गरेको छ । शाखाको सदस्यमा भोला लामिछाने (स्पेन), वाइबी गुरुङ (डेनमार्क), कमल पराजुली (स्पेन), किशोर सुब्बा (पोर्चुगल), सन्जु काउछा (फिनल्यान्ड), दिपक भण्डारी (पोर्चुगल), बिनोद अधिकारी (क्रोएसिया), दिपक खतिवडा (पोर्चुगल), जसमान दर्नाल (जर्मनी), प्रकाश बगाले (माल्टा), पुस्तक रेग्मी (पोर्चुगल), लाक्पा तेन्जी शेर्पा (रोमानिया), धनराज विक (माल्टा), जनक बराल (बेल्जियम), नवराज दवाडी (पोर्चुगल), सेन्छेलुङ पतङ्वा (जर्मनी), बलराम राई (पोर्चुगल) कमल पन्थी (हंगेरी), माधव पोखरेल (इटाली), घनश्याम गौतम (स्पेन), सुभाष चाम्लिङ (बेल्जियम), तुलसा घिमिरे (पोर्चुगल), सर्मिला गुरुङ ठकुरी (पोर्चुगल्र), अमृता राई (रोमानिया) र मनि तमु सर्वसम्मत चयन भएका छन् ।
सो अवसरमा अधिवेशनलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले प्रेस स्वतन्त्रताको मुद्दामा नेपाली पत्रकारहरुले अहिले पनि लडाइँ लड्नुपर्ने अवस्था रहेको बताए ।
प्रेस स्वतन्त्रताको सन्दर्भमा नेपाली पत्रकारिता चुप लागेर बस्ने अवस्था नरहेको उल्लेख गर्दै पोखे्रलले श्रमजीवि पत्रकार र प्रेस स्वतन्त्रताको लडाईमा सबै पत्रकारहरु एक भएर लाग्नुपर्नेमा जोड दिए ।
पोख्रेलले विदेशी भूमिमा रहेर पत्रकारिता गर्दा पत्रकारिताको मूल्य मान्यता र सम्बन्धित देशको कानुनलाई समेत ध्यानमा राख्न आग्रह गरे । महासंघ सबै पत्रकारको साझा संस्था रहेको उल्लेख गर्दै उनले महासंघलाई बलियो र एकताबद्ध बनाउनुपर्ने धारणा समेत ब्यक्त गरे ।
शाखा अध्यक्ष प्रेम परियारको अध्यक्षता, उपाध्यक्ष राजकुमार थापाको स्वागत तथा महासचिव द्रोण रिजालको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा बेल्जियम तथा युरोपियन युनियनका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारी, नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा, समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणि सुवेदी, प्रेस चौतारी नेपालका उपाध्यक्ष देवीका घर्ती, नेपाल अमेरिका पत्रकार संघ(नेजा) का अध्यक्ष सुरज भण्डारी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) का केन्द्रीय अध्यक्ष गजुरधन राई, नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष शान्त पहारी, प्रेस सेन्टर नेपालका उपमहासचिव राजेश चाम्लिंग राईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
महासंघका प्रतिनिधि नरेश खपाङ्गी मगर तथा महासंघ केन्द्रीय सचिव सृजना अर्यालको संयोजकत्वमा केन्द्रीय सदस्यहरु सुनिल खड्का, रमेश खतिवडा, सरिता बराइली, केसी लामिछाने र रिंकुकुमारी मिश्र गठित निर्वाचन समितिले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । अधिवेशनले १० बुँदे घोषणापत्र समेत जारी गरेको छ ।
काठमाडौं : भारतबाट ब्यान्डविथ आपूर्ति रोकिँदा नेपालमा इन्टरनेट सेवा अवरुद्ध भएको छ ।
नेपालका निजी इन्टरनेट सेवा प्रदायकहरुले भारतीय इन्टरनेट सेवा प्रदायक कम्पनीलाई भुक्तानी नगर्दा नेपालको इन्टरनेट सेवा काटिएको हो । नेपालका निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरुले करिब ३ अर्ब रकम तिर्न बाँकी रहेको छ ।
इन्टरनेट सेवा प्रदायकले खरिद गरेको अन्तर्राष्ट्रिय इन्टरनेट ब्यान्डविथबापतको रकम भुक्तानी गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विदेशी मुद्रा सटही सुविधा रोक्दा भारतीय अपस्ट्रिम इन्टरनेट सेवा प्रदायकले भुक्तानी नपाएको भन्दै ब्यान्डविथ आपूर्ति बन्द गरिदिएको हो ।
मुख्य इन्टरनेट सेवाप्रदायक कम्पनीहरु वर्ल्डलिंक, सुबिसु, भायानेट, सीजी लगायतका कम्पनीका इन्टरनेट सेवा बिहीबार साँझदेखि प्रभावित भएका छन् ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गरेका छन् ।
राष्ट्रपति पौडेलले यही वैशाख २८ गते शुक्रबार दिउँसो दुई बजे बस्ने गरी अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
“नेपालको संविधानको धारा ९३ ९१० बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को वैशाख २० गते (आज) को सिफारिसमा वैशाख २८ गते शुक्रबारका दिन २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गर्नुभएको छ”, राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।
नेपालगञ्ज : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताएका छन् । बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्ता कारागारको आज उद्घाटन गर्दै गृहमन्त्री लामिछानेले कैदीबन्दीले माफी मिनाहा पाउने कुरा उनीहरूको अधिकारको विषय भएको उल्लेख गरे ।
“कैदीबन्दीको कैद मिनाहा माफीमा राजनीतिक दबाब र आर्थिक चलखेलको गुनासो आइरहेको छ”, उनले भने । कारागारमा कैदी जीवन बिताएका कैदीबन्दीलाई समाजमा पुनःस्थापना गर्न आवश्यक भएकामा जोड दिँदै गृहमन्त्री लामिछानेले कारागारलाई यातना गृहका रूपमा नभई सुधार गृहका रूपमा रुपान्तरण गराउन जरुरी भएको औंल्याए ।
“कारागारमा जेल जीवन बिताइरहेका कैदीबन्दीले आफूले गरेको अपराधको सजायभन्दा अन्य थप कुनै पनि सजाय पाउनु हुँदैन”, उनले भने । अपराधीले अपराध गरेको भन्दा थप सजाय दिइएमा त्यो अर्को अपराध हुने उल्लेख गर्दै गृहमन्त्री लामिछानेले कारागारलाई सुधारगृहका रूपमा रुपान्तरण गर्न मन्त्रालाय लागिपरेको बताए ।
गृहमन्त्री लामिछानेले कैदीबन्दीले आफ्नो सजाय भोगिसकेर समाजमा फर्केर जाँदा अझै पनि समाजले स्वीकार गर्न नसकेको उल्लेख गर्दै पारिवारिक तथा सामाजिक जीवन बिताउन परिवार र समाज सचेत हुनुपर्नेमा जोड दिए । “आवाज र पहुँचका आधारमा होइन, असल आचरण र कानुनले तोकेको मापदण्ड पूरा गरेको जोसुकै कैदीबन्दी नियमानुसार छुट्नुपर्छ”, उनले भने । गृहमन्त्री लामिछानेले कारागारमा अत्यधिक बल प्रयोग गर्ने गतिविधि नगर्न, अमानवीय गतिविधि नगर्न र आपराधिक क्रियाकलाप नहोस् भन्नेमा सरकार सचेत रहेको उल्लेख गरे ।
लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री दिनेश पन्थीले प्रदेशमा लागेको डढेलो नियन्त्रण गर्न कदम चाल्न संघीय गृह मन्त्रालयको ध्यानाकर्षण गराए । लुम्बिनी प्रदेश सरकारका समाजिक विकासमन्त्री रत्न खत्री, कारागार व्यवस्था विभागका महानिर्देशक काशीराज दाहाललगायतले कारागार सुधारका विषयमा आफ्नो धारणा राखेका थिए ।
विसं २०७९ मंसिरमा निर्माण गरिएको बाँकेको नौबस्ता कारागारमा हाल एक सय ३० कैदीबन्दी छन् । तीन हजार कैदीबन्दी राख्ने क्षमताको उक्त कारागारमा हाल करिब एक हजार कैदीबन्दी अट्न मिल्ने पहिलो चरणको काम सम्पन्न भएको छ । कारागारको दोस्रो र तेस्रो चरणको काम अझै बाँकी छ ।
सोलुखुम्बु : हिमाली जिल्ला सोलुखुम्बुमा जंगलको डढेलो गाउँमा सल्किँदा १० घर जलेर नष्ट भएका छन् । आगोले एक दर्जन बढी गाई, भैँसीको गोठ जल्नुका साथै पशुचौपायासमेत हताहत भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–३ पञ्चनमा बुधबार भएको आगलागीबाट स्थानीय बुद्धिमाया चर्मकार, पूर्णबहादुर अधिकारी, कालीबहादुर अधिकारी, हस्तिमाया राई र पारसमणि राईको घर र गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिए ।
यस्तै बडीसुवा राई, उत्तरकुमार राई, दिलबहादुर राई, निशान राई र टीकाध्वज राईको घर पनि आगोले जलेको प्रहरी निरीक्षक साहले बताए । उनका अनुसार घटनामा दर्जनौँ गोठ तथा घरपालुवा पशुचौपाया जलेर हताहत भएका छन् । थुलुङ दुधकोशी गाउँपालिका–३ पञ्चनस्थित राष्ट्रिय वन क्षेत्रमा लागेको डढेलो हावाको बेगका कारण घरमा सल्किँदा बस्ती नै खरानी भएको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताए ।
उनले भने, “वनमा फैलिएको डढेलो निभाउन प्रहरीसहित स्थानीय जनशक्ति सक्रिय थिए, एक्कासी आगो गाउँमा सल्कियो र गाउँ नै सखाप बनायो, त्यो आगो हावाले उडाएर ल्याएको झिल्कोबाट सल्किएको हुनुपर्छ, त्यहाँका अधिकांश घरमा खरको छानो भएकाले नियन्त्रणमा लिन समय लाग्यो ।” गाउँमा सल्किएको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, गाउँपालिकालगायतको सक्रियतामा नियन्त्रणमा लिन सफल भएको छ भने जंगलको डढेलो नियन्त्रण बाहिर रहेको छ ।
घटनाको क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । आगोले सबै धनसम्पत्ति जलेर खरानी भएपछि पीडितहरू अर्धचेत अवस्थामा पुगेको जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौलाले बताए । “आगोले सबै नष्ट गरायो, भएभरका सबै गुमाएपछि अहिले यहाँका स्थानीयमा चेत छैन, पूरै गाउँ नै रुवाबासीमा परिणत भएको छ, बस्ती नै खरानी भयो, जंगलमा लागेको आगो नियन्त्रणमा आउन सकेको छैन, धुवाँ र धुलोले अझै आँखा हेर्न सक्ने अवस्था छैन”, समन्वय प्रमुख निरौलाले भने ।
जिल्लाको नेचासल्यान गाउँपालिका–२ डिटीमा आज बिहान दुईवटा घर र बाख्राको एउटा खोर जलेर नष्ट भएको छ । बिहान ४ः३० बजे डिटीका ज्ञानबहादुर खत्रीको दुईवटा घर र एउटा खोर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
प्रहरी निरीक्षक रामचन्द्र साहका अनुसार आगलागीबाट रु ६५ लाख बराबरको क्षति भएको छ । ज्ञानबहादुरको दुईवटा घरमा भएको रु ५० हजार नगद, नौ तोला सुन, २० तोला चाँदी, २० मुरी अन्न, एक थान मोबाइल, लत्ताकपडा, भाँडावर्तनलगायत सबै सामग्री जलेर नष्ट हुँदा सो बराबरको क्षति भएको प्रहरी निरीक्षक साहले बताउनुभयो । आगोले नजिकै रहेको बाख्राको खोरसमेत जल्दा एउटा बोका र एउटा बाख्रा जलेर मरेको छ । आगलागीको कारण खुल्न सकेको छैन ।
सुर्य प्रसाद भुसाल/मध्यान्ह
सन्धिखर्क : जङ्गबहादुर राणाको न्वारन भएको स्थान भनेर चिनिने बल्कोटको पौवा प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा पर्ने लामो इतिहास बोकेको ऐतिहासिक पौवा पर्याप्त प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको हो । तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा तत्कालीन कर्णेल सनदसिंह टण्डनको नेतृत्वमा अत्यन्तै आकर्षक शैलीमा बनाइएको पौवाभित्र शिवालय मठ तथा अन्य मन्दिरहरू समेत रहेका छन् । विक्रम संवत १९०४ सालमा निर्माण गर्न शुरु गरी १० वर्ष लगाएर पौवा तथा मन्दिरहरू निर्माण गरिएको थियो ।
जङ्गबहादुरको बुबा बालनरसिंह राणा आर्मी अफिसर थिए । उनी बारुदखाना प्यूठानको प्रमुख थिए । १८६० को दशकमा जुम्लाको सिंजा प्रान्तमा गुठीको जग्गाले विवाद बढायो । विवाद बढेपछि गुठीको विवाद समाधान गर्न बालनरसिंहलाई १८६९ मा जुम्लामा खटाइएको थियो । जुम्लामा उनी श्रीमतीलाई लिएर गएका थिए । जुम्लामै रहँदा उनकी श्रीमती गर्भवती भइन् । त्यो समयमा गर्भवती हुँदा माइती जाने प्रचलन थियो । जुम्लाबाट माइती गोरखा जाने क्रममा अर्घाखाँचीको वाङ्गलामा रहेको लामपाटी अर्थात मथुरामा १८७४ सालमा जङ्गबहादुरको जन्म भएको थियो । त्यसबेला लामपाटीमा घनघोर जंगल रहेकाले नजिकैका पाण्डे थरका कृषकहरूले उनको स्याहारसुसार गरेको र पछि बल्कोटको पौवा रहेको स्थानमा लगि सुत्केरी र बच्चालाई राखिएको थियो । त्यहाँ स्थानीय खनाल थरका ब्राह्मणहरूले न्वारन गराएर बालकको नाम वीरनरसिंह राखेको संस्कृतिमा रुची राख्ने स्थानीय नारायण भट्टराईले बताए । सुत्केरी दरिली भएपछि जङ्गबहादुरकी आमा माइती गोरखा गएकी थिइन् । पछि वीरनरसिंह जङ्गे स्वभावको भएको हुनाले उनको नाम जङ्गबहादुर रहेको उनको भनाइ छ ।
जङ्गबहादुरको जन्म कतिले गोरखामा र कतिले काठमाडौंको थापाथलीमा भएको भन्ने गरेका छन् । तर उनी लाम्पाटीमा जन्मिएका थिए । त्यसैले जन्मको बारेमा एउटै ठाउँ कसैले भन्न नसकेको इतिहासकारहरूको भनाइ रहेको छ । इतिहासकार प्राध्यापक दिनेशराज पन्त र युवराज शमशेर जबराले जङ्गबहादुर लाम्पाटीमा जन्मिएको र बल्कोटको पौवामा आएर न्वारन भएको र पछि त्यसै स्थानमा कर्णेल सनदसिंह टण्डनको नेतृत्वमा विचित्रको पौवा निर्माण भएको उल्लेख गरेको गाउँपालिकाका पूर्वअध्यक्ष लेखनाथ पोख्रेलले बताए ।
पौवाको विषयमा तत्कालीन राजा सुरेन्द्र शाहको पालामा चार वटा लाल मोहर लागेका थिए । ती लाल मोहर तथा इतिहासकारहरू प्रोफेसर पन्त र जबराको विश्लेषणलाई आधार बनाएर अर्घाखाँची सम्पर्क सदनको चिनारी २०७२ मा समावेश गरिएको उनले बताए । आफू जन्मिएको लाम्पाटीमा पौवा तथा बगैँचा र न्वारन भएको ठाउँ बल्कोटमा विचित्रको पौवा निर्माणका लागि जङ्गबहादुर आफैंले कर्णेल सनदसिंहलाई लगाएका थिए ।
पौवा तथा मन्दिर निर्माण गरिसकेपछि सञ्चालनका लागि सयौं बिगाहा जमिन गुठीमा समेत रहेको छ । केही समय अघिसम्म पौवामा रहेको मन्दिरको संरक्षण गर्ने, फूलपाती टिप्ने, कोइला लैजाने, लिपपोत गर्ने, दैनिक बिहान बेलुका बाजा बजाउनेको समेत व्यवस्था थियो । अहिले पूजाआजा भइरहे पनि दैनिक बाजा बजाउने कार्य भने हटेको छ ।
पौवामा काठका आकृतिमा यौन अङ्ग र विभिन्न यौन आसन देखाइएको छ । पौवा निर्माण गरेका कालीगढको हात राणाकै पालामा काटिएको पनि स्थानीयहरु बताउँछन् । पौवा निकै आकर्षक भएकाले ती कालीगढले त्यस्तै कलात्मक पौवा अन्य स्थानमा बनाउन नसकुन् भन्ने हेतुले कालीगढको हात काटिएको भनाए रहेको भएता पनि कसले, कहिले, कसको हात काटेको भन्ने इतिहासकारले उल्लेख गरेका छैनन् ।
कर्णेल सनदसिंहको पालामा बल्कोटको पौवा, मथुराको पौवा, पाल्पा र गुल्मीको सिमानामा रहेको मनवाक पौवा, रिडीको बगैंचा, पाल्पा अर्गलीको बगैंचा, जोर्तेको पौवा र बाटोमा रहेका गौमुखी धाराहरू निर्माण भएको सामाजिक संस्कृतिको अध्ययन गरिरहेका नारायण भट्टराईले बताए ।
बल्कोटको पौवा, मन्दिर र गुठीलाई संरक्षण गरी प्रचारप्रसार गर्ने उद्देश्यले २०६६ सालमा डा.गोविन्द टण्डनको नेतृत्वमा पण्डित दिनबन्धु पोखरेलको प्रवचनमा महायज्ञ लगाइएको थियो । महायज्ञ लगाएपछि प्रचार प्रसारमा अघि बढ्न खोजे पनि पर्याप्त हुन नसकेको स्थानीय पीताम्बर खनालले बताए । लामो इतिहास बोकेको क्षेत्र भए पनि प्रचारप्रसारमा कसैले चासो नदिएको उनको भनाइ छ ।
जङ्गबहादुर जन्मिएको स्थानमा समेत आकर्षक पौवा निर्माण गरिएको छ, जसलाई लामपार्टी भनेर चिनिन्छ । यसको महत्व समेत ओझेलमा परेको छ ।
सन्धिखर्क–बल्कोट–तम्घास सडकको छेउमा पर्ने राणाकालीन इतिहास बोकेको पौवा सदरमुकाम सन्धिखर्कदेखि १८ किलोमिटरको दुरीमा पर्दछ । सदरमुकामदेखि पक्की सडकको पहुँचमा रहेको ऐतिहासिक पौवाको प्रचारप्रसार गर्न सकेमा पर्यटनको प्रचुर सम्भावना रहेको जानकारहरु बताउँछन् ।
रुपक खड्का/मध्यान्ह
बझाङ : फियान नेपाल बझाङले जिल्लाको छबिसपाथिभेरा गाउँपालिका र थलारा गाउँपालिकामा खाद्य अधिकार प्रभावित समूहको पैरवी कार्ययोजना तर्जुमा तथा सवाल हस्तान्तरण कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।
मुक्त हलिया खाद्य अधिकार समूहको 'बाँंच्न पाउने अधिकारको आधार : खाद्य अधिकार' भन्ने मूल नाराका साथ छबिसपाथीभेरा ६ बिसौना र थलारा ८ बिस्खेतका दलित परिवारको उत्थानका लागि सरोकारवालासँग सवाल हस्तान्तरण कार्यक्रम गरिएको हो ।
हलिया मुक्त भएको एक दशक बितिसक्दा पनि नेपाल सरकारबाट पाउनुपर्ने हलिया मुक्तको परिचयपत्रसमेत नपाएका १८ परिवारलाई परिचयपत्र दिलाउन सफल भएको फिल्ड कर्मचारी सीता सिंहले बताइन् ।
हलियाको जीविकोपार्जनका लागि विभिन्न समयमा फियान नेपालले स्थानीय र प्रदेश सरकारसँग समन्वय तथा सहकार्यमा चोयाका सामग्री उत्पादन, सिलाइ कटाइ, पञ्चेबाजा खरिदलगायतका सीपमूलक कार्यक्रम गरेको फिल्ड संयोजक सिंहले बताइन् ।
उत्पीडित वर्गका रूपमा सरकारले वर्गीकरण गरेपनि हालसम्म आफ्नो नाममा जग्गा जमिन नहुँदा टहरा लगाउन र जीविकोपार्जन गर्नसमेत हलियाहरुलाई कठिन भएको छ । स्थानीय सरकारले भूमिहीन दलित परिवारलाई स्थानान्तरण गरेर एकीकृत बस्ती बसाल्ने भनेपनि अहिलेसम्म नीतिगतरुपमा काम अगाडि नबढेको स्थानीय पार्की परिवारका एक सदस्यले बताए । तर गैरसरकारी संस्था फियान नेपालले पीडित परिवारको गुनासो लिँदै बाँच्न पाउने अधिकारका लागि विगत लामो समयदेखि वकालत र पैरवी गर्दै आएको छ ।
कार्यक्रमको प्रमुख आतिथ्यता थलारा गाउँपालिकाका उपाध्यक्ष राम खातीले गरेका थिए । कार्यक्रममा उनले हलियाको अधिकारलाई सुनिश्चित गर्नका लागि स्थानीय सरकार पनि जिम्मेवार भएको बताए । उनले भने, 'विगत लामो समयदेखि संस्थाले दलित परिवारका सवालका बारेमा धेरै मुद्दा उठान गरेको र हामीले जनप्रतिनिधिका हैसियतले उत्पीडित वर्गको उत्थानका लागि खाका बनाएर अगाडि बढ्नुपर्छ ।'
२०७४ सालदेखि दलित समुदायको हक र हितका लागि संघर्षरत उक्त संस्थाले २०८१ सालमा कार्यक्रमको अवधि समाप्त भएपछि अन्य ठाँउमा कार्यक्षेत्र बनाउने भएको छ । गैरसरकारी संस्थाले सिकाएको सीप र चेतनामूलक कार्यक्रमले दलित समुदायको जीवनमा केही सकारात्मक परिवर्तन आएको खाद्य अधिकार समूहका अध्यक्ष नरेन्द्र बिसीले बताए ।
काठमाडौं : काठमाडौं आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित शहरका रुपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्यांकअनुसार समग्र वायु गुणस्तर सूचकांक (एक्युआई) एक सय ६२ पुगेको छ ।
एयर क्वालिटी इन्डेक्स’ का अनुसार दोस्रो प्रदूषित शहरका रुपमा थाइल्याडको चियाङ माई शहर सूचीकृत भएको छ । यसैगरी इन्डोनेसियाको मेदान तेस्रो प्रदूषित शहरका रुपमा सूचीकृत रहेको छ ।
सुक्खा यामसँगै बढ्दै गइरहेको तापक्रम वृद्धिसँगै मुलुकको विभिन्न स्थानमा लागेको वन डढेलोका कारण वायुप्रदूषण पनि बढिरहेको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ३९ जिल्लाका एक सय ६५ स्थानमा वन डढेलो लागिरहेको छ ।
डढेलोविद् सुन्दर शर्माले मुलुकको विभिन्न स्थानमा लागिरहेको वन डढेलोसँगै प्रदूषण पनि बढिरहेको जानकारी दिए । “वनमा लागिरहेको डढेलोका कारण अहिले वायुप्रदूषण बढेर काठमाडौंलगायतका मुख्य शहरका हावा अस्वस्थ बनेको छ”, उनले भने, “केही समय पानी नपरे वन डढेलो पनि नियन्त्रणमा ल्याउन गाह्रो हुने र प्रदूषण अझै बढ्ने खतरा रहेको छ ।” तर जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार केही स्थानमा छिटपुट वर्षा भए पनि तत्कालका लागि राम्रो वर्षाको सम्भावना छैन ।
विपत् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीका अनुसार ० देखि एक्युआई ५० राम्रो अर्थात् ग्रीन सिग्नलले चिनिन्छ । “५१ देखि एक सयसम्मको एक्युआइलाई होसियार रहुँ अथवा पहेंलो संकेतले चिनिन्छ । यसैगरी एक सय एकदेखि एक सय ५० सम्मलाई अस्वस्थ जसमा श्वासप्रश्वास र मुटुरोगीका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ”, उनले भने, “एक सय ५१ देखि दुई सयदेखिको एक्युआइलाई पनि अस्वस्थ तर सबैलाई असर गर्छ भन्ने बुझिन्छ । २०१ देखि ३०० सयलाई धेरै अस्वस्थ्यका रुपमा लिइन्छ र तीन सय एकदेखि चार सयलाई खतरनाक र ४०१ देखि ५० लाई धरै खतरा मानिएको छ ।”
बढ्दो वन डढेलोका कारण वायुप्रदूषण पनि बढिरहेको भन्दै वन डढेलो जतिसक्दो छिटो नियन्त्रण गर्न नसके प्रदूषण बढेर आपत्कालीन अवस्थामा पुग्ने बताउँछन् वातावरण अभियन्ता राजन थापा । काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि नेपाल सरकारले निर्धारण गरेको एक्युआइको मान ३०० भन्दाबढी भएको अवस्थालाई विपद्का रुपमा लिने बताएको छ । यो विपद् रोक्नका लागि कार्ययोजनामा फोहर बाल्ने कार्य रोक्ने, सडक सफा गर्न ब्रमुर तथा भ्याकुमको प्रयोग व्यापक गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्न कार्ययोजनामा उल्लेख गरिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies