राजकुमार भुजेल/मध्यान्ह
दोलखा : दोलखा सदरमुकाम चरिकोटमा ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुलाई चकलेट दिएर विदाइ गर्ने गरिएको छ । जिल्ला ट्राफिक कार्यालय चरिकोट, दोलखाले आइतबार दिउँसोदेखि ट्राफिक नियम पालना नगर्ने साना तथा ठूला सवारी चालकलाई ट्राफिक नियम सिकाउँदै र ट्राफिक नियमको पालना गर्न आग्रह गर्दै चकलेट दिन थालिएको हो ।
जिल्ला ट्राफिक कार्यालय दोलखाका इन्चार्ज ठाकुर प्रसाद भट्टराईले चालकहरुलाई सम्मानपूर्वक ट्राफिक नियमको पालना गर्न उनीहरुलाई आग्रह गरिएको बताए । सो अवसरमा दोलखामा ट्राफिक नियमको उल्लंघन गर्ने संख्या बढ्न नदिन सडक पेटी तथा छेउछाउमा ट्राफिक नियमका पालना अपनाउने बोर्डहरु राखेको उनले बताए ।
त्यस्तै अबको केही दिनमा सदरमुकाम चरिकोटमा सर्वसाधरणलाई दुर्घटनाबाट बच्न जेब्रा क्रसिङको समेत व्यवस्था गर्ने उनले जानकारी दिए । आइतबार मात्र दर्जनौं बढी साना तथा ठूला सवारीसाधनले उल्लंघन गरेको भेटिएको छ ।
ओबराज शाही/मध्यान्ह
हुम्ला : हुम्लाको सिमिकोट गाउँपालिकासहित ६ वटा स्थानीय तहमा नेवि संघले ज्ञापनपत्र बुझाएको छ । नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार ५५ औं स्थापना दिवसको अवसरमा संघले ज्ञापनपत्र बुझाएको हो ।
संघको ज्ञापनपत्रमा शैक्षिक क्षेत्रमा गुणस्तरीय शिक्षा ल्याउनुपर्ने, गाउँदेखि सहरसम्म शिक्षा बराबर हुनुपर्ने लगायत १७ बुँदे माग राखिएको छ ।
जिल्लाको सिमकोट गाउँपालिकामा शुक्रबार गाउँपालिका अध्यक्ष विजय भण्डारी, उपाध्यक्ष सुशिला रोकाय, प्रमुख प्रशासकीय अधिकृत सुवास आलेलाई नेवि संघका केन्द्रीय प्रतिनिधि अंगबहादुर सिंहको नेतृत्वमा ज्ञापनपत्र दिएको हो ।
शुक्रबार एकै समयमा ६ स्थानीय तहमा प्रतिनिधि गएर गाउँपालिकामा ज्ञापनपत्र दिएको केन्द्रीय प्रतिनिधि सिंहले बताए । उनका अनुसार १७ बुँदा भएको ज्ञापनपत्रमा नेपालको शिक्षा हेर्दा सोचे जस्तो नभएको, फरक हुँदै गएको हुँदा त्यसलाई मध्यनजर गर्दै हुम्लाका स्थानीय तहमा पनि ज्ञापनपत्र दिएको बताए । जिल्लाका स्थानीय तहले ज्ञापनपत्र अनुसार शिक्षामा हरेक कुरा परिवर्तन गर्ने विश्वास लिएको नेवि संघका जिल्ला सचिव बिनोद लामाले बताए ।
सिमकोटलाई मात्र लक्षित नगरेर सात वटै स्थानीय तहमा गुणस्तरीय शिक्षाको लागि गाउँपालिका लाग्नुपर्ने मानसरोवर बहुमुखी क्याम्पस स्ववियु सभापति नरेन्द्र भण्डारीले बताए । ज्ञापनपत्र अनुसार नभएपनि केही बुँदा लागू गर्नेतिर स्थानीय तह लाग्नुपर्ने ६ वटै स्थानीय तहले जोड दिएका छन् ।
५५ औं स्थापना दिवसको अवसरमा नाम्खा गाउँपालिकामा लामु लामा, खार्पुनाथमा सागर शाही, चंखेलीमा कर्ण प्रसाद जैसी, अदानचुलीमा हिम्मत सिंह, ताजाकोटमा लंक थापाले ज्ञापनपत्र बुझाएका छन् ।
त्यस्तै जिल्लाको सर्केगाड गाउँपालिकामा भने नेविसंघ केन्द्रीय सदस्य यन्जिर कार्कीले जिम्मेवार लिएको भएपनि ज्ञापनपत्र दिएका छैनन् ।
प्रचण्ड खत्री/मध्यान्ह
रुकुम पश्चिम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ३ दारकाट्यामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार ढारपाखा सामुदायिक वनबाट फैलिएको आगो गाउँमा पस्दा ७० वर्षीया बुदि कामीको मृत्यु भएको प्रहरीको भनाइ छ ।
बाँफिकोट ३ का वडा अध्यक्ष तिलबीर केसीका अनुसार घरमा आगो सल्किपछि घरभित्र रहेका गहना निकाल्न भन्दै घरभित्र छिरेकी कामीको जलेर मृत्यु भएको हो । वन क्षेत्रबाट गाउँतर्फ फैलिएको आगोले तीन वटा घर जलेर नष्ट भएका छन् ।
आगो नियन्त्रण हुन नसकेको वडा अध्यक्ष केसीले बताए । स्थानीयवासी र इलाका प्रहरी कार्यालय बाँफिकोटबाट गएको प्रहरी टोलीले आगलागी नियन्त्रणको प्रयास गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सन्तोष पौडेल/मध्यान्ह
बर्दिया : बर्दियाको बारबर्दिया नगरपालिकामा प्रारिम्भक बालविकास केन्द्रका शिक्षकहरुलाई क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको छ ।
प्रारम्भिक बालविकास केन्द्रका बालबालिकाको विकास तथा सिकाइमा प्रयोग योग्य विविध शैक्षणिक सामग्री निर्माण गर्ने तत्परता तथा सीप अभिवृद्धि गर्न सहयोग पुर्याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको राधाकृष्ण थारु जनसेवा केन्द्रकी परियोजना अधिकृत सीमा वलीले बताइन् ।
उनले भनिन्,‘तालिममा प्रारम्भिक बालविकास पाठ्यक्रमले निर्धारण गरेका विषयवस्तुलाई समावेश गर्दै बालबालिकाका ज्ञान, सीप र व्यवहारलाई बालबालिकाहरूको विकासात्मक अवस्था, क्षमता र अभिरुचि अनुसार प्रभावकारी शिक्षणका लागि विषयवस्तुगत ज्ञान तथा शिक्षण सीप विकासमा जोड दिइनेछ ।’
बालबालिकाको विकास तथा सिकाइ उपलब्धी मूल्यांकन, प्रगति, विश्लेषण तथा उपचारात्मक शिक्षण सञ्चालनका बहुआयामिक तौरतरिकाको सहभागीहरुबीच छलफल गराइने परियोजना अधिकृत वलीले बताइन् ।
बालबालिकाको विकास तथा सिकाइका लागि बालमैत्री वातावरणको व्यवस्थापन गर्नका लागि बालविकास केन्द्रमा आएका बालबालिकाको विविधता व्यवस्थापन गर्ने र अपाङ्गता पहिचान गरी सिकाइ सहजीकरणको सीप विकास गर्ने र आपतकालिन अवस्थाको व्यवस्थापन सम्बन्धी बुझाइ प्रष्ट पार्न सक्ने गरी प्रशिक्षित गर्ने कार्यक्रम समेत रहेको वलीले बताइन् ।
प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा सञ्चालित सशक्त बालिका परियोजना अन्तर्गत बारबर्दिया नगरपालिका वडा नम्बर ७ मा रहेको रम्मापुर सामुदायिक होमस्टेमा सञ्चालित तालिम १० दिनसम्म सञ्चालन हुनेछ ।
तालिममा बर्दिया जिल्लाका बारबर्दिया, ठाकुरबाबा, राजापुर नगरपालिका र गेरुवा गाउँपालिका गरी ४ वटा पालिकाका २० जना बाल विकास शिक्षकहरु सहभागी छन् ।
काठमाडौं : विश्व पृथ्वी दिवस सोमबार विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । ‘प्लानेट भर्सेज प्लाष्टिक’ अर्थात् पृथ्वी र प्लाष्टिक भन्ने नाराका साथ यो दिवस मनाइन लागिएको हो । हरेक वर्ष अप्रिल २२ मा यो दिवस मनाइने गरिन्छ ।
मानव र ग्रहको स्वास्थ्यको लागि प्लास्टिक प्रदूषणको हानि बारे सचेतना जगाउने उद्देश्य राखेको यस वर्षको नाराले जलवायु परिवर्तन र स्वच्छ ऊर्जादेखि प्रजातिहरूको संरक्षण र रूख रोप्नेसम्मका विभिन्न वातावरणीय मुद्दाहरूलाई समेटिएको छ । पछिल्ला वर्षमा बढिरहेको ट्रेकिङ ट्रेलहरूबाट उत्पन्न हुने वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने अभियान चलाइएको छ ।
विश्वस्तरमा उच्च रुपमा बढिरहेको जलवायु परिवर्तनलाई मध्यनजर गर्दै इन्ट्रेपिड ट्राभल नेपालले आफ्नो यात्राका क्रममा ट्रेकिङ लिडरहरूमार्फत आफूले गरेको फोहोर सफाइ गर्ने अभियान चलाएको छ । ‘यस अग्रगामी पहलले लिटर र यात्रु दुबैलाई आफ्नो पदयात्राको एक दिन फोहोर जम्मा गरेर पुरानो पदयात्रा मार्गहरूको पुनर्स्थापना गर्न सक्रिय रूपमा सहभागी हुन प्रोत्साहित गर्दछ’ ट्राभलका महाप्रबन्धक आशिष वर्माले भने ।
वर्माका अनुसार यो सरसफाइ अभियान यसअकिा परम्परागत सरफाइभन्दा फरक छ । यो अभियानमा सगरमाथा नेक्स्टसँगको रणनीतिक साझेदारी गरी यात्रुहरूले स्वच्छाले पूर्व–प्याकेज गरिएको फोहोरले भरिएको ‘केरी मी ब्याग’ नाम्चेदेखि सगरमाथा क्षेत्रको लुक्लासम्म स्वच्छाले पुर्याउने छन् । १६ किलोमिटरभन्दा बढीको पदयात्रा गर्ने यात्रीहरूले त्यस्ता झोलाहरूको उचित व्यवस्थापन गर्नेछन् । पर्यटन क्षेत्रमा भएको यो काम जिम्मेवार पर्यटन र वातावरणीय व्यवस्थापनको प्रतिक भएको वर्माको भनाइ छ ।
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा पौडेलविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
पौडेलले सार्वजनिक सेवाको पदमा रहँदा १ करोड १९ लाख २४ हजार ८ सय ४६ रुपैयाँ आय आर्जन गरेको देखिएको र सोही अवधिमा २४ करोड ९४ लाख ७१ हजार १ सय ७१ रुपैयाँ खर्च गरेको देखिएको अख्तियारले दाबी गरेको छ ।
यसरी जाँचअवधिमा सिर्जित सम्पत्ति एवम् खर्च तथा लगानीहरुमा गरिएको कूल खर्च र सोही अवधिको आयहरुको आय-व्यय प्रवाह विवरणअनुसार २३ करोड ७५ लाख ४६ हजार ३ सय २४ रुपैयाँ बराबरको खर्च तथा लगानी (सम्पत्ति)को वैधानिक स्रोत नखुलेको अख्तियारले बताएको छ ।
पौडेलविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुरमा २३ करोड ७५ लाख ४६ हजार ३ सय २४ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम बिगो अनुसार कैद र बिगोबमोजिम जरिवानाको सजाय हुन मागदाबी लिइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
साथै पौडेलले सार्वजनिक सेवाको पदमा रहँदा गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिबाट सहोदर दाजु अनिल पौडेलका नाममा खरिद गरेकाले जफत गर्ने प्रयोजनार्थ उनका दाजु अनिलविरुद्ध पनि मुद्दा दायर गरिएको प्रवक्ता घिमिरेले बताए ।
महेन्द्रनगर : प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले कतारका अमिरको नेपालको औपचारिक राजकीय भ्रमणमा हमासको कब्जामा रहेका विद्यार्थी विपीन जोशीको रिहाइका लागि पहल गर्ने विषय एजेण्डामा राखिएको बताएका छन् ।
कञ्चनपुरको महेन्द्रनगरमा आज सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जोशीको रिहाइका लागि कतारका अमिरले खेल्नसक्ने भूमिकालाई एजेन्डामा राखिएको बताए । “प्रभावित विद्यार्थीलाई स्वदेश ल्याउन सरकारले तदारुपतापूर्वक भूमिका निर्वाह गरिरहेको छ”, दाहालले भने, “आजै बिहान मात्रै कुवेतको एउटा टेलिभिजन अन्तर्वार्तामा मैले कतारले जोशीको रिहाइका लागि गर्नसक्ने भूमिकाबारे बोल्दै त्यस पहलका लागि माग समेत गरेको छु ।”
सुदूरपश्चिम विश्वविद्यालयबाट कृषि विज्ञान संकायबाट ‘सिक्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत इजरायल गएर काम गरिरहेको अवस्थामा प्यालेस्टाइन विद्रोहीको आक्रमणबाट विद्यार्थीहरुले ज्यान गुमाएको उक्त घटनाले निकै दुःखी तुल्याएको उनको भनाइ थियो ।
त्यसैगरी सम्बोधनका क्रममा बोल्दै प्रधानमन्त्री दाहालले विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभइ, व्यवहारिक, जीवन उपयोगी तथा सामाजिक रुपान्तरणका लागि सहयोगी हुनुसक्नुपर्ने बताए ।
“सुदूरपश्चिम विश्वविद्यालय स्थापनामा पनि मैले पहिलो चोटी प्रधानमन्त्रीको हैसियतले भूमिका खेल्ने अवसर प्राप्त गरेको थिएँ”, उनले भने, “अहिले सहिद दशरथचन्द राष्ट्रिय स्वाथ्य विज्ञान विश्वविद्यालय निर्माण गर्ने निर्णय गर्न पाउँदा गर्व महसुस भएको छ ।” रासस
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण गर्ने भएका छन् ।
भ्रमणका अवसरमा उनले राष्ट्रपति पौडेलसँग शितल निवासमा भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जानएको छ । त्यस्तै राष्ट्रपति पौडेलले उनको सम्मानमा राजकीय भोजको आयोजना गर्नेछन् ।
कतारका अमिर शेख थानीले वैशाख १२ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग द्विपक्षीय वार्ता गर्ने मन्त्रालयले जनाएको छ । वार्तापछि, दुवै नेताहरूले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने समारोहमा उपस्थित हुनेछन् । कतारका अमिर थानी सोही दिन काठमाडौंबाट स्वदेश प्रस्थान गर्नेछन् । रासस
महेन्द्रनगर : पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्यालेस्टाइन विद्रोहीको कब्जामा रहेका विद्यार्थीलाई सकुशल नेपाल फर्काउन सरकारले गम्भीरतापूर्वक कूटनीतिक पहल गरेको बताएका छन् ।
सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति ‘प्रचण्ड’ले प्यालेस्टाइन विद्रोहीको आक्रमणमा परेर नेपाली विद्यार्थीले ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गरे ।
“सुदूरपश्चिम विश्वविद्यालयको कृषिविज्ञान संकायबाट ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल गएर काम गरिरहेको अवस्थामा हाम्रा विद्यार्थीहरूले प्यालेस्टाइन विद्रोहीको आक्रमणमा परेर ज्यान गुमाउनु परेको घटनाले मलाई निकै दुःखी तुल्याएको छ”, प्रधानमन्त्री दाहालले भने, “उक्त घटनामा परेर ज्यान गुमाउनुहुने विद्यार्थीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । उहाँका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।”
उनले उक्त आक्रमणमा परेर घाइते भएका तथा अन्य प्रभावित विद्यार्थीलाई यथाशीघ्र स्वदेश फिर्ता ल्याउन र ज्यान गुमाउने विद्यार्थीहरूको शव फिर्ता ल्याउनका लागि सरकारले निर्वाह गर्नुपर्ने भूमिका तदारूकतापूर्वक निर्वाह गरेको उल्लेख गरे ।
“अझै पनि एकजना विद्यार्थी विद्रोहीको कब्जामा रहेका छन्,” प्रधानमन्त्री दाहालले भने, “उहाँलाई सकुशल स्वदेश फर्काउन आवश्यक कूटनीतिक प्रयास भइरहेको छ ।”
चौतारा : सिन्धुपाल्चोकका एक सय ९९ हेक्टर वनक्षेत्र डढेलोले नष्ट भएको छ । जिल्ला वन कार्यालयका अनुसार चौतारा साँगाचोकगढी नगरपालिकाको विभिन्न सामुदायिक वन डढेलोले सखाप पारेको हो ।
त्यसैगरी चौतारा साँगाचोकगढी नगरपालिका, बलेफी गाउँपालिका र सुनकोसी गाउँपालिकाका जंगल डढेलाले नष्ट भएको डिभिजन वन कार्यालयबाट परिचालित हरित स्वयंसेवक समूहका संयोजक शारदाप्रसाद चालिसेले जानकारी दिए ।
उनका अनुसार मेलम्चीको २६ हेक्टर क्षेत्रफल वन डढेलोले सखाप भएको छ । जिल्ला वन कार्यालयका वन अधिकृत रमेश दुलालका अनुसार गर्मी मौसमसँगै डढेलो लाग्ने क्रम जारी रहेकाले यकिन तथ्यांक प्राप्त हुन सकेको छैन । यसबाट महत्वपूर्ण जडीबुटी, वनयजन्तु र करोडौँका रुख बिरुवा नोक्सान भएका छन् ।
वनमा डढेलो लगाउँदै गरेको अवस्थामा सिन्धुपाल्चोकमा पहिलोपटक बलेफी गाउँपालिका वडा नम्बर ७ का ३५ वर्षीय मिलन लामालाई जलविरे प्रहरीले पक्राउ गरेको छ । सेल्ताप सामुदायिक वनमा आगो लगाउँदै गरेको अवस्थामा प्रहरीले लामालाई रंगे हात पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रनाउ निरञ्जन भट्टराईले जानकारी दिए ।
कसुर सावित भएमा क्षति भएको बिगो असुल गरी तीन वर्ष कैद वा ६० हजार जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था वन ऐन २०७६ मा छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies