काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीका कारण व्यवसाय बन्द भएपछि व्यवासायका लागि करोडौं लगानी गरेका कतिपय वैदेशिक रोजगार व्यवसायी साँझ बिहान हातमुख जोड्न नसक्ने नाजुक अवस्थामा पुगेका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार हाल वैदेशिक रोजगार व्यवसायीहरुका ८ सय ५४ वटा संस्था कार्यरत रहेका छन् । कोरोना भाइरसका कारण नेपाली कामदार वैदेशिक रोजगारीमा जान नपाएपछि उनीहरुमध्ये ८० प्रतिशत नराम्रोसँग प्रभावित हुने देखिएको छ ।
केही वैदेशिक रोजगार व्यवसायीहरुको जलश्रोत, व्यवसायिक कृषि, अस्पताल र रेमिट्यान्स लगायत कम्पनीमा लगानी रहेको छ । त्यस्ता व्यवसायीहरुलाई दैनिकी सञ्चालनमा समस्या नभएपनि अधिकांश वैदेशिक रोजगार व्यवसायीहरुको लगानी वैदेशिक रोजगार व्यवसायमा मात्र रहेको छ । उनीहरु सामान्य दैनिकी सञ्चालनको समस्यामा पर्न सक्ने आँकलन गरिएको छ ।
कोरोना भाइरस संक्रमणपछि व्यवसायीहरुको आर्थिक अवस्थावारे अध्ययन गरेका नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित कुमार श्रेष्ठले ८० प्रतिशत व्यवसायी पूर्णरुपमा वैदेशिक रोजगार व्यवसायमा मात्र निर्भर रहेको पाइएको बताए । उनले भने, ‘कोरोना भाइरसको संक्रमण लम्बिदै जाँदा विगतमा बाढी पहिरो, भूकम्प जस्ता विपद्को अवस्थामा राहत जुटाएर सामाजिक सेवा गरेका व्यवसायी अहिले आफैं कसरी बाँच्ने भन्ने गम्भीर अवस्थामा पुगेका छन् ।
महासचिव श्रेष्ठले सक्रिय रहेकामध्ये करिब २ सय ५० म्यानपावर कम्पनीमा ५ देखि २० जना र बाँकी ६ सय कम्पनीमा ५ देखि १० जना कामदार रहेको र कम्पनी बन्द हुँदा उनीहरुले पनि विगत साढे तीन महिनादेखि रोजगारी गुमाएको बताए ।
नेपाल सरकारको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले फागुन २९ गतेदेखि वैदेशिक रोजगारीमा जाने श्रम स्वीकृति स्थगन गर्ने निर्णग गरेको थियो । त्यसको भालिपल्ट फागुन ३० देखि म्यानपावर कम्पनी बन्द रहेका छन् ।
म्यानपावर कम्पनीहरुले नगद ५० लाख धरौटी वापत सवा ४ अर्ब र न्यूनतम १ करोड ५० लाख रुपैयाँको बैंक ग्यारेन्टी वापत करिब १३ अर्ब रुपैयाँ बराबरको बैंक ग्यारेन्टी राखेका छन् । व्यवसाय बन्द भएपनि अघिकांशले बैंकको व्याज तिरिरहेका छन् ।
संघले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अर्थ मन्त्रालय समक्ष घरभाडा, कर्मचारीको तलव तथा ईजाजतपत्रका लागि बैंकबाट लिएको ऋणको साँवा तथा व्याज भुक्तानी गर्न समस्या रहेकोले धरौटी वापत राखिएको न्यूनतम ५० लाख रुपैयाँ धरौटी एक वर्षका लागि फिर्ता गरिदिनुपर्ने लगायतका माग राखेको थियो । त्यस्तै माग सरकार नजीक रहेको प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको थियो । तर संसदमा पेश भएको आर्थिक वर्ष २०७७/०७८ को बजेटमा ती पक्षको संवोधन नभएपछि संकटमा रहेका व्यवसायीहरुलाई थप निराश बनाएको छ ।
संघका अध्यक्ष विष्णु गैरेले कोरोना भाइरसको संक्रमण अघिसम्म मुलुकको अर्थतन्त्रमा एक चौथाई हिस्साको योगदान दिएको क्षेत्रलाई चलायमान बनाउन व्यवसायीहरुको आत्मबल उकास्दै मन्त्रालय र विदेशस्थित कूटनीतिक नियोगहरु पचिलान गर्नु अनिवार्य रहको तर त्यस अनुसार कार्यक्रम नआएपछि व्यवसायीहरु बढी समस्यामा परेको बताउँछन् ।
कोरोना भाइरसको माहामारीका कारण भारतबाट दश लाख, खाडी मुलुहरुबाट साढे पाँच लाख र आन्तरिक श्रम बजारमा वर्षेनी प्रवेश गर्ने गरी ५ लाख नेपाली श्रम बजारमा करिब २२ लाख युवा युवती आउने भन्दै संघका अध्यक्ष गैरेले यी सबैलाई नेपाली श्रम बजारले नधान्ने भएकोले नेपालको बेरोजगारी समस्या समाधान गर्न योगदान दिएको वैदेशिक रोजगार क्षेत्रलाई ध्यान नदिँदा शुरुमा व्यवसायी पीडित भएपनि अन्ततः त्यसले देशको अर्थव्यवस्थालाई नै नोक्सान गर्ने भएकाले व्यवसायीहरुका समस्या सुनिनुपर्ने अध्यक्ष गैरेले बताए ।
कोरोना कहर कति लामो समय रहला ? सबैले यो प्रश्नको उत्तर खोजी हरेका छन् । तर नेपाली कामदारका प्रमुख रोजगार गन्तव्यहरुमा कोरोना संक्रमणकाबीच पनि आर्थिक गतिविधि शुरु भएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल महामारीको असर बढीमा ६ महिनासम्म रहने र विस्तारै सहज हुने आँकलन गरिएको बताउँछन् ।
वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरुको आकर्षण भने कोरोना महामारीबीच पनि घटेको छैन । कोरोना माहामारीकाबीच नेपाली युवाहरु रोजगारीका लागि कोरिया र जापान उडिसेकेका छन् । अन्तर्राष्ट्रिय उडान शुरु भए खाडी र मलेसिया जान चाहनेको भीड विमानस्थलमा खचाखच हुने कतिपयको विश्लेषण रहेको छ ।
विज्ञहरु भन्छन्, ‘विगतमा महामारीका पटक–पटकका श्रृंखाला व्यहोरेको मानवजाती मृत्युदेखि डराउँदैन, मृत्युदेखि डराएको भए मानवजातीले जुन प्रगति गरेको छ त्यो सम्भव नै थिएन ।’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies