काठमाडौं : साउन ९ गते केहीबेर भेटवार्ता भएपछि एकअर्का आ–आफ्नो एक्सनमा उत्रिएका नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच आइतबार भेटवार्ता भएको छ । कार्यकारी अध्यक्ष प्रचण्ड अर्का बरिष्ठ नेता झलनाथ खनाललाई लिएर प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । आइतबार बिहान १० बजेतिर बालुवाटार पुगेका दाहालले अर्का अध्यक्ष ओलीसँग झण्डै तीन घण्टा छलफल गरे ।
भेटवार्ता स्रोतका अनुसार, चार नेता सहभागी सम्वादमा दुवै पक्षले अडान भने छोडेनन् । प्रधानमन्त्री ओलीले अध्यक्षबाट आफुलाई हटाउने हो भने महाधिवेशनमै जानुपर्ने बताए । “फागुनमा महाधिवेशन तोकेका छौं । यदि, सकिन्छ भने मंसिरमै महाधिवेशन गरौं । म अध्यक्ष छोड्न तयार छु”, ओलीको भनाइ उदृत गर्दै बालुवाटार स्रोतले भन्यो । तर, बीचमा कसैले दबाव दिएकै भरमा भने अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछोड्ने ओलीले अडान लिएका थिए । “कसैले बैठकमा मागेको भरमा पद छोडिन्न, यो अनुचित हुन्छ”, ओलीको भनाइ थियो ।
जवाफमा दाहालले भने पार्टी निर्णय मान्न आग्रह गरेका थिए । जारी स्थायी कमिटी बैठकको अन्योल हटाउनुपर्ने तर्क गर्दै दाहालले कसैले पनि पार्टी निर्णय मान्दिन भन्न नपाइने बताएका थिए । “केन्द्रीय कमिटी बैठकको माग पनि भएको छ । विधान अनुसार कसैले लिखित माग गरे बैठक बोलाउनुपर्ने हुन्छ”, यसतर्फ पनि ध्यान दिनुपर्ने दाहालको भनाइ थियो ।
आइतबार केही दिनदेखि बन्द रहेको भेटवार्ताको ‘गेट’ खुलेपनि सहमति भने जुट्न सकेन । तर, छलफल सकारात्मक बनेको दाहालका प्रेस संयोजक बिष्णुप्रसाद सापकोटाले बताए । “छलफललाई जारी राख्नेगरी नेताहरु उठ्नु भएको हो”, सापकोटाले भने । अर्को बैठकको समय भने निर्धारण गरिएको छैन । प्रचण्डले बालुवाटारमा भएका सम्वाद आफ्नो समूहका नेताहरुलाई जानकारी दिएका थिए ।
गएको साउन १३ गते स्थायी कमिटी बैठक प्रधानमन्त्री ओलीले एक्लौटी निर्णयका आधारमा अनिश्चितकालका लागि स्थगित गरेका थिए । तर, प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल समूहले भने बहुमत सदस्य राखेर बैठक चलाएका थिए । गएको असार १० गतेदेखि स्थायी कमिटी बोलाइएको नेकपामा बैठक चलिरहेकै बेला विभाजनको खतरा बढेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies