मनीषा अवस्थी/मध्यान्ह
काठमाडौं : सिन्धुपाल्चोककी मनमाया तामाङ २०७१ सालमा काठमाडौं छिरिन् । श्रीमान गुमाएकी मनमाया काखे छोरी बोकेर त्यतिबेला कामको खोजीमा काठमाडौं आएकी थिइन् । काठमाडौं छिर्दा छोरी पाल्ने मात्रै सपना बोकेकी मनमायालाई केही काम मिलेन ।
एक वर्ष कामको खोजीमा कहिले सडक त कहिले आफन्तकोमा बसेकी मनमायाले केही साथीको सहयोगमा सुन्धारामा दुई सय रूपैयाँको लगानीमा नाङ्लो ब्यापार सुरू गरिन् । दुई सय लगानी बढाएर दुई हजार पुर्याएकी मनमाया पछिल्ला वर्षमा दैनिक ५ देखि ७ सय कमाउने गर्थिन् । जुन पैसा मनमायाका लागि काठमाडौं बसाइको डेरा भाडा, छोरीको स्कूल, पालनपोषण र अन्य आवश्यक खर्च पुगनपुग हुन्थ्यो । उनी सम्झिन्छन् ‘काठमाडौंमा बस्ने र छोरी पढाउने यही नाङ्लो पसलले गथ्र्यो ।’
तर महानगरपालिकाले फुटपाथमा व्यापार गर्न नदिने नीतिले उनी आफू प्रभावित भएको बताउँछिन् । काठमाडौं महानगरपालिकाले सडकमा फुटपाथ पसल निषेध गरेको डेढ वर्ष बढी भयो । त्यसबेला विकल्प नदिएर हटाएको भनी कतिपयले आलोचना गरेका थिए ।
महानगरको अभियानपछि कैयनले फुटपाथ व्यापार छाडे । तर आफैँ विकल्प खोज्न नसकेकाहरु जीविकोपार्जनका लागि सडकमै भेटिन्छन् । तिनै मध्येकी एक हुन्, मनमाया । सडकलाई जिविकोपार्जनको थलो बनाउँदै आउकी उनी महानगरको अभियानपछि आफैँ विकल्प खोज्न सकिरहेकी छैनिन् ।
पछिल्लो समय काठमाडौं महानगरका सडकमा ब्यवसायीहरू अघोषित रूपमा राति साढे ७ बजेपछि सडकमा व्यवसाय गर्न पुग्छन् । तर विगतमा जस्तो ढुक्कले व्यापार गर्न नपाउँदा र राति भएपछि मात्रै पुग्दा कमाइ राम्रो नहुन गरेको मनमायाको दुःखेसो छ । उनी भन्छिन्, ‘अहिले राति ७ बजे आएर कहिले काहीँ बोहनी त हुँदैन । म त मर्नु न बाँच्नु भएको छु ।’
मनमायाको जस्तै कथा धादिङकी मञ्जु धमलाको छ । २०७३ सालमा विवाह गरेकी मञ्जुले एक वर्षपछि श्रीमानलाई रोजगारीका लागि मलेसिया पठाइन् । तर श्रीमान दलालबाटै ठगिएपछि ३ महिनामै घर फर्किनुप¥यो । जाँदा लागेको ऋण थपियो । आमाबुवा पहिल्यै गुमाइसकेका उनका श्रीमानले जाँदा लागेको ऋण तिर्न भएको धादिङ बजार नजिकैको सानो घर र घडेरी नै बच्नुप¥यो, त्यसपछि उनीहरू सुकुम्बासी बने ।
मञ्जु दम्पत्ति कामको खोजीमा काठमाडौं छिरे । ज्याला मजदुरीको काम गर्दै दैनिकी चलाउँदै थिए, मञ्जुका श्रीमानलाई घर बनाउने ठाउँमा थुपारेको इट्टाले थिचेर गम्भीर घाइते बनायो । उनको स्पाइनले काम गर्न नमिल्ने भयो । दैनिकी धान्न काम खोज्दा नपाएपछि मञ्जुले नाङ्लो पसल शुरु गरेकी थिइन् । नयाँ बानेश्वरमा नाङ्लोमा बिस्कुट, चाऊचाऊ, चक्लेट बेचेर दैनिकी चलाउन थालिन् ।
२०७४ सालमा दुई सय कमाउने मञ्जु पछिल्ला समयमा नाङ्लो ब्यापारबाटै श्रीमानको उपचार र आफ्नो अन्य दैनिक खर्च निकाल्थिन् । दैनिक ६÷७ सय कमाउने मन्जु पनि महानगरले फुटपाथमा व्यापार गर्न नदिएपछि प्रभावित भइन ।
उनी भन्छिन्, ‘सडकमा कस्न दिइएन । सटर लिन म सक्दिन । अब के म मर्नु ?’
यी दुइ प्रतिनिधि पात्र मात्रै हुन् । पछिल्लो वर्ष काठमाडौं महानगरले सडकमा व्यापार गर्न प्रतिबन्ध लगाएपछि १२ हजार फुटपाथ व्यवसायी प्रभावित भएको बताइन्छ । सरोकारवालाहरु त्यसमध्ये करिब ५० प्रतिशतको अर्को विकल्प नभएको बताउँछन् ।
ब्यवसायीका अगुवा तथा स्वतन्त्र सडक व्यापार श्रमिक संगठनका अध्यक्ष कुमार सापकोटा भन्छन्, ‘फुटपाथमा ब्यापार गर्ने केही हुनेखानेका कारण अन्य मानिसहरू समस्यामा परेका छन् ।’
एकल महिला, घरबाट निकालिएका महिला, द्वन्द्व पीडित, घरबारविहीन मानिसले सडकमा ब्यापार गर्ने गरेको उनको भनाइ छ ।
काठमाडौं महानगर पछिल्ले वर्षमा नगरभित्रमा ठूला सडक छेउमा बस्ने फुटपाथ ब्यवसायीलाई सडकमा ब्यापार गर्न नदिने नीति लिएको छ । महानगरले फुटपाथमा जबरजस्त बस्ने ब्यवसायीलाई कारबाही गर्दै हटाएको हो । तथापि अहिले ब्यवसायीहरू अघोषित रूपमा राति साढे ७ बजेपछि सडकमा बसेर व्यवसाय गर्न पाउँछन् ।
ब्यवसायी सापकोटा भन्छन्, ‘महानगरले अप्ठ्यारामा परेका फुटपाथ व्यवसायीलाई व्यवस्थापन गर्नुपर्छ । बरू सबैलाई दर्तामा लगेर आर्थिक अवस्था र सम्पत्ति छानबिन गरौं न ।’
काठमाडौं उपत्यकामा तीन दशकअघि नै फुटपाथमा ब्यवसाय शुरू भएको पाइन्छ । २०४६ सालदेखि फुटपाथ व्यवसाय शुरु भएको विस्तारित हुँदै आएको हो । शुरूमा आर्थिक अवस्था निकै कमजोर भएका र अप्ठेरोमा परेका मानिस सडकमा व्यापार गर्न आएका थिए । तर पछिल्लो दशकमा ठूला सटरमा ठूलो लगानीको ब्यापार गर्नेहरू पनि सडक आएपछि समस्या भएको सरोकारवालाहरको भनाइ छ ।
सडक किनारमा, पैदलयात्री हिड्नुपर्ने ठाँमा अस्तव्यस्त तरिकाले ब्यवसायीहरू बस्दा आवतजावतमा कठिनाइ मात्र होइन, सडक दुर्घटना पनि बढाएको भनेर आलोचना समेत हुने गर्दथ्यो । साथै, यस्तो व्यवसाय गैरकानुनी रहेको भन्दै महानगरले निगरानी बढाएपछि फुटपाथ व्यावसायी प्रभावित भएका हुन् ।
काठमाडौं महानगरपालिका भित्रका अत्यन्त व्यस्त क्षेत्र कलंकी, रत्नपार्क, सुन्धारा, कालिमाटी, गौशाला, बालाजु, नयाँ बानेश्वर, कोटेश्वर लगायत स्थानमा यस्ता व्यवसायीहरूको पकड रहेको पाइन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies