काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच सम्वाद समेत रोकिएको छ । गएको बुधबार प्रचण्ड, बरिष्ठ नेता झलनाथ खनाल, बरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकार भेटघाट कार्यक्रम राखेपछि सम्वाद रोकिएको छ । साउन १८ गतेदेखि दिनु दुई अध्यक्ष बीच भेटवार्ता हुँदै आएको थियो । तर, आफू इतरका समूहले पत्रकारहरुसँग पार्टीभित्रको विवादबारे जानकारी दिएपछि सम्वाद समेत रोकिएको छ ।
प्रचण्डलाई मनाउन महासचिव बिष्णुप्रसाद पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सक्रिय थिए । तर, प्रचण्ड निवासमा आवत–जावत नै बन्द गरिएपछि भने सम्वाद हिनताका अवस्था आएको छ । महासचिव पौडेलको सुरक्षार्थ खटिएका प्रहरीमा संक्रमण देखिएपछि झनै समस्या आएको छ ।
आफ्नाहरुसँग प्रधानमन्त्री
प्रधानमन्त्री ओली भने आफू निकटका नेताहरुसँग भेटवार्तामा व्यस्त छन् । बुधबार आफू निकट नेता माधव ढुंगेल उपाध्यक्ष रहेको राष्ट्रिय यवा परिषदले गरेको कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी भएका थिए ।
भर्चअल सम्बोधन गरेका प्रधानमन्त्री ओलीले रोजगारीका लागि युवा विदेशिनुपर्ने बाध्यताको अन्त्य गरिने बताए । प्रधानमन्त्री ओलीले केही वर्षभित्र रोजगारीका लागि विदेशिनुपर्ने बाध्यताको अन्त्यका लागि सरकारले रणनीति बनाइरहेको बताए ।
“छनोटका हिसाबले बाहिर जाने कुरा बैग्ले हो । देश निर्माण गर्ने शक्ति बाहिर जाने खुशीको कुरा होइन” प्रधानमन्त्रीको भनाइ थियो, “तर बाध्यताका हिसाबले बाहिर जाने अन्त्य गर्ने रणनीतिका साथ काम गरिरहेका छौँ । चाँडै नै ठोस योजना ल्याउने छौँ ।”
सीप र जोसजाँगर भएको बेला रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै युवालाई स्वदेशमा नै पर्याप्त रोजगारीका अवसर सिर्जना गरिने बताए । प्रधानमन्त्री ओलीले युवाको विकास, रोजगारीको अवसर, ज्ञान, सीप र क्षमता देशभित्र नै भरपुर प्रयोग गरेर मुलुकलाई अगाडि बढाउने बताए ।
युवा देश विकासको सहयात्री भएकाले उनीहरुको जुन क्षेत्रमा रुचि र ज्ञान छ सोही क्षेत्रमा उपयोग गरिने समेत प्रधानमन्त्री ओलीले बताए । “नवप्रवर्तनकारी, ज्ञान, सीप भएको सिर्जनशील समयमा युवाले बाहिर गएर बिताउन नपरोस्” प्रधानमन्त्री ओलीले भने, “आफ्नै देशको विकासमा श्रम खर्च गर्न सकियोस् । अनिमात्र नेपाल आत्मनिर्भर, विकसित देश बन्नेछ ।” प्रधानमन्त्री ओलीले देश विकासका आधारमा युवालाई प्रयोग गर्न नसकिएको उल्लेख गर्दै अब खोज अनुसन्धानमा नयाँ युवा पिँढीलाई अगाडि बढाइनेसमेत धारणा राखे ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies