काठमाडौं : विज्ञहरूले वैदेशिक रोजगारीमा जाने कामदारहरूलाई लगानीका विषयमा तालिम नदिएसम्म उनीहरूले आर्जन गरेको लगानी पुँजी निर्माणमा जान नसक्ने बताएका छन् । हाम्रो सम्मान परियोजनाको सहकार्यमा वैदेशिक रोजगार पत्रकार समाजले आइतबार आयोजना गरेको कार्यक्रममा विज्ञहरूले उक्त कुरा बताएका हुन् ।
कार्यक्रममा वैदेशिक रोजगारको क्षेत्रमा लामो समयदेखि अनुसन्धान गरिरहेका विज्ञ डा. गणेश गुरूङले आफु र परिवारको दैनिक जीवन सञ्चालन गर्न नसकेर विदेश जाने युवा युवतीलाई दीर्घकालीन पुँजी निर्माणको क्षेत्रमा लगानीको लागि बाध्य पार्न नसके पनि वैदेशिक रोजगार अघिको अभिमुखीकरणमा त्यस विषयमा जानकारी दिन सके उनीहरूले आर्जन गरेकोमध्ये केही हिस्सा पुँजी निर्माणका लागि प्रयोग हुन सक्ने बताए ।
उनले भने, ‘कामदारहरूले पठाएको रेमिट्यान्स शिक्षा, स्वास्थ, आवास निर्माणमा खर्च भएको छ । उनीहरूले पठाएको रकमबाट परिवारले पर्याप्त पोसिलो भोजन पाएका छन्, यसले कुपोषण हटाएको छ, त्यसैले यसलाई पुँजी निर्माण कार्यमा लगानी भएन भनी परिभाषित गर्नु हुँदैन ।’
विज्ञ गुरूङले कामदारको श्रीमान वा श्रीमतीको एउटा घर खर्चका लागि एउटा बैंक खाता र पुँजी निर्माणका लागि अर्को बैंक खाता भए उनीहरूलाई दीर्घकालीनरूपमा पुँजी निर्माणका लागि लगानी गर्न प्रेरणा मिल्ने पनि बताए ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले वैदेशिक रोजगार वर्तमानको सन्दर्भमा अति महत्वपूर्ण रहेको भन्दै कामदारले पठाएको रेमिट्यान्सको सदुपयोग सम्वन्धमा केन्द्रदेखि स्थानीय सरकारहरूले ठोस् कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । वैदेशिक रोजगारीमा जाने कामदारहरूमा भविष्यको लागि लगानीको महत्व बुझाउनुपर्ने र उनीहरूलाई विकल्पसमेत दिनुपर्ने भन्दै भट्टले त्यसका लागि सञ्चारक्षेत्रले सकारात्मक भूमिका खेल्नुपर्ने बताए ।
वैदेशिक रोजगारीमा गएका नेपाली कामदाहरूले आर्थिक वर्ष २०७५/०७६ मा ८ सय ७९ अर्ब रूपैयाँ रेमिट्यान्स पठाएका थिए । त्यसमध्ये ७८.९ प्रतिशत उपभोगमा, ७.१ प्रतिशत ऋण तिर्न, ४.५ प्रतिशत जग्गा जमिनमा, ३.५ प्रतिशत शिक्षा क्षेत्रमा, २.५ प्रतिशत पुँजी निर्माण कार्यमा, २.५ प्रतिशत अन्य क्षेत्रमा र शुन्य दशमलव ७ प्रतिशत बचतमा रहेको आंकलन छ । नेपाल आउने रेमिट्यान्सको ५० प्रतिशत हिस्सा खाडी र मलेसिया जाने न्यून आर्थिक हैसियतका कामदारहरूले पठाउने गरेका छन् । विज्ञ गुरूङले साँझविहान हातमुख जोड्न नसकेको कामदार र उसको परिवारलाई पुँजी निर्माणमा लगानी नगरेको भन्दै आलोचना गर्न नहुनेमा जोड दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies