–मधुसुदन अधिकारी
एकदिन आसामको रेलुवे प्लेटफर्ममा मधेशी र पहाडेको भेट भयो । उनीहरू आसाम आएको उद्देश्य के कारण हो एक अर्कालाई सोधखोज गर्न थाले । मधेशीले भन्यो, “साथी ! मेरो जन्मस्थानमा सानोतिनो रोजगार गरिखान लाज लाग्यो र आसाम आएको सानोतिनो रोजगार गरी धन कमाउन ।”
मधेशीले उसको मनका कुरा भनेपछि पहाडेले पनि उसको मनका कुराहरू भन्न थाल्यो, “साथी ! मेरो पनि तिम्रो जस्तै समस्या छ । पहाडमा साह्रै कष्ट, दिनरात भारी बोकेर हिँड्नु, दुःख धेरै गर्नुपर्ने, पैसा थोरै हुने । यहाँ आसाममा त एक अर्कालाई बहुतै उपकार गर्छन् रे, सुनेको थिएँ र म पनि आसाम आएको ।”
यसरी एक अर्काको दुःख सुख कुराकानी गर्दै “फेरि भेटौंला” साथी भन्दै शहरभित्र पसे । मधेशी शहरको ठूलो एउटा पसलमा काम गर्न लाग्यो । चार÷पाँच महिना पसलमा काम गरेपछि मधेशीले एउटा स्टोप किन्यो र शहरको फुटपातमाथि एउटा पानीपुरीको पसल खोल्यो ।
शुरूवातमा पानीपुरीको पसल थोरै नै ग्राहकहरु हुन्थे, पछि गएर पानी पुरीखाने ग्राहक निकै हुन थाल्यो । विस्तारै मधेशीले उसको मधेशी फहराउँदै ति बिरालाका कान जस्तै पानीपुरी एकातिर र अर्कातिर चार्ट मसाला, आमलेटहरु पनि राख्न थाल्यो । यसरी उसको पानीपुरीको पसल निकै चल्ती हुन थाल्यो ।
शहरका केटाकेटीहरु, बेलुकी ट्यूसन पढ्न जाँदा आउँदा त्यही बाटो पथ्र्याे र त्यही नै सबैको भेटघाट हुन्थ्यो । शहरका फुटपाटमाथि सानो उद्योग गरी मधेशीले एउटा ट्रक गाडी किन्यो । आफ्नो बालबच्चा परिवार सबैलाई एकै ठाउँमा भेला पार्यो ।
यता पहाडे शहरको नाला नालीको दुर्गन्ध सहन नसकेर उ घनघोर जङ्गल खोज्दै गाईवस्तु पाल्न हिँड्यो । निकै दिन यताउता बराल्लिएपछि पहाडे एकजना महाजनको गोठमा पुग्यो । आफ्नो वृतान्त सबै बताएपछि महाजनले उसलाई गाई गोठालो राखे । दिनभरी झरी, बादल, जुका, काँढा कष्ट सहेर गाई चराई बेलुकी गोठमा आउँथ्यो । राति दूध र भात खान पाउँदा दिनभरीको थकाई सबै बिर्सिन्थ्यो । यसरी दुई/चार वर्ष अर्काकोमा गोठालो बसेर पहाडेले पनि आफैं नै एउटा गाईगोठ बनायो । आफूँ बसेको ठाउँ विकास हुँदै जान थाल्यो र उसलाई त्यहाँ बस्न मन लाग्न छाड्यो । एक ठाउँमा बसीरहे लेऊ लाग्छ, हिँडेरहे छेऊ लाग्छ । भन्थे हाम्रा बुढापाकाहरुले साँच्चै हो रहेछ । पहाडेको हिँड्ने बानी भएकोले उ अझै जंगल फाँड्न हिँड्यो । पहाडेले आफ्नो गोठ बसाइँ सा¥यो र त्यहीँ बस्न थाल्यो । नयाँ ठाउँमा उसको गाई वस्तुलाई फापेन गाईवस्तु खोरेत रोग लागेर सबै मर्दै गए ।
राज्यमा जाती, वर्ण, धर्म लिएर ठूलो एउटा राजनैतिक आन्दोलनको खुल्दुली मच्चियो । यो देखेर मधेशीले आफ्नो एउटा ट्रक गाडीमा सबै समान, बालबच्चा हाल्यो र भारत–नेपालको समतल क्षेत्रमा सानो उद्योग गर्न थाल्यो । हुलमुलमा ज्यान जोगाउनु अनिकालमा बिऊ जोगाउनु पर्दछ भन्दै पहाडे पनि उसको आफन्त पुर्खाहरुलाई पहिल्याई उसको जम्मस्थान पहाड पुग्यो । धेरै वर्षपछि आफ्नो पुर्खेउली खोज्दै गएको पहाडेलाई जन्म स्थानमा कसैले नचिन्ने भए ।
अंशवण्डा दिनुपर्छ भन्ने डरले उसको दाजुभाइले पनि चिनेनन् । “एकै आमा–बाउका सन्तान पनि धेरै वर्षपछि भेट हुँदा चिन्दा रैनछन् थुक्क !” भन्दै दुई देशका समतल क्षेत्रमा पहाडे आयो । त्यहाँ उसले आसामको रेलुवे प्लेटफर्ममा भेटेको साथी मधेशीलाई भेट्यो र आफ्नो सबै कुरा बतायो ।
मधेशीले भन्यो, “हेर साथी ! अहिल्यै हालैमा म यहाँका मधेशी संगठनको नेता बनेको छु । तिम्रो दुःख दर्द सुन्ने मेरो समय छैन् । तिमी जस्ता पहाडे त यहाँ कति छन् कति ।”
पुरानो साथीको जवाफ सुनेर पहाडे निकै दुःखी भयो । उन निर्विकल्प बनेर फर्कियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies