–रसुवाली कवि
नेकपा (एमाले)का प्रभावशाली नेता हुन् विष्णु रिमाल । मजदुर आन्दोलनमा छुटाउनै नहुने एउटा नाम पनि हो– विष्णु रिमाल । संसारभरका मजदुर एक होऔं र एकजुट होऔं भन्ने माक्र्सवादी मान्यताकै आलोकमा ट्रेड युनियन आन्दोलनमा रिमाल अग्र भूूमिकामा रहे । उनीसँग संगत गरेका नेता र लेखकहरू उनलाई वैचारिक, व्यवहारिक र साहित्यिक चेत भएका नेताको रूपमा बुझ्छन् । रिमालले थुप्रै पुस्तक लेखन, प्रकाशन, सम्पादन, अनुवादसमेत गरेका छन् । पंक्तिकार व्यक्तिगतरूपमा निकट नभए पनि उनका रचनाहरू पढिरहेको हुन्छ । उनका केही कविता समेत पढेको छु ।
छिमेकी जिल्ला नुवाकोटका रिमाल भएकोले पंक्तिकार नाता सम्बन्धका पहेलीहरू हुने कुरा पनि भए । यी फरक विषय हुन् । आन्दोलनका हिसाबले पंक्तिकार र उनी फरक–फरक आन्दोलनमार्फत आएको हुनाले पनि मान्यताहरू केही फरकपना अवश्य पनि छन् । तथापी आधारभूत मान्यतामा हाम्रो सहमति हुन्छ र हुनुपर्छ । किनकी माक्र्सवादलाई बुझ्ने तरिका सही र वैज्ञानिक भएन भने भने हामी गोलचक्कर फस्न सक्छौं । आजको कम्युनिस्ट आन्दोलन र ट्रेड युनियन आन्दोलन पनि गोलचक्कर फस्दै गएको अनुभुति मजदुरहरूले गरिरहेकै छन् । यो हाम्रो आन्दोलनको लागी गम्भीर विषय हो ।
पंक्तिकारको हातमा विष्णु रिमालको पुस्तक छ ‘गरिखानेको नाममा’ । यहाँ यो पुस्तकको बारेमा केही लेख्ने जमर्को गरिएको छ ।
ट्रेड युनियनसँग सम्बन्धि विभिन्न सामाग्रीहरूको अटाएको यो पुस्तक मोटो आकारको छ । लेखक रिमालले आफ्ना लेख र भनाईको तात्पर्य पुष्टि गर्न थप सन्दर्भ सामाग्रीसमेत समावेश गरेकोले पुस्तकमार्फत ट्रेड युनियनको बहु आयामिकतालाई बुझ्न पाठकलाई सहज हुन्छ । उनले धेरै ठाउँमा रोजगारीका लागि श्रम कानुनको सुधार, श्रमिकको संरक्षणका लागि सामाजिक सुरक्षा, तत्काल न्यायका लागी राष्ट्रिय श्रम आयोगको मागलाई अगाडि सारेका छन् । ट्रेड युनियनसँग जोडिएको ट्रेड युनियन ऐनको संशोधनको मागलाई समेत पुस्तकमा उठाइएको छ । अन्तर्राष्ट्रिय श्रम संगठनको महासभाले उठाएको कामको अधिकार र आधारभुत सिद्धान्तसम्बन्धि घोषणाको सन्दर्भलाई रिमालले नेपाली सन्दर्भमा जोड्न खोजेका छन् ।
विष्णु रिमालको भाषा सरल छ । ट्रेड युनियनसँग सामान्य चासो राख्नेहरूले सहजै बुझ्ने खालको भाषा यस पुस्तकमा रहेको छ । उनी एक ठाउँमा लेख्छन्– ‘फेदमा भने हुने खानेहरूको संसार छ । विश्व परिदृश्यमा समेत उनीहरूको संख्या हुनेखानेहरूको भन्दा कता हो कता ज्यादा छ । उनीहरू अभाव र गरिबी, आवासका लागी झुपडी, रोग र अज्ञानता, राजनीतिकरूपमा अधिकारबिहीनता, निराशा, बेरोजगारी वा रोजगारी भएपनि दुई छाक टार्न धौधौ पर्ने ज्याला र मानवीय विकासका आधारभूत सबै क्षेत्रबाट वञ्चिति जस्ता दुःखको साझा धागोमा उनिएका छन् । र, भनिरहनु पर्दैन – यी दुईमध्य बलियाले नै निर्धामाथि सजिलै शोषण’ – शासन गर्छ ।’ (पृष्ठ २३१ )
श्रमिक महिलाहरूको हालत अहिले विश्वभर कमजोर रहेको छ । गाउँले अर्थतन्त्रदेखि बहुराष्ट्रिय कम्पनीले समेत महिलाको श्रम शोषण गरेका छन् । सामान्य उदाहरण पंक्तिकारकै गाउँघरको दिउ । पंक्तिकारको गाउँमा महिलाले दिनभर धान काटेको ज्याला पाँच सय हुँदा पुरुषको ज्याला सात सय रहेको छ । नेपाली मजदुर आन्दोलनमा श्रमजीवी महिलाहरूको अधिकारको सवाल कर्मकाण्डी रहेको छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका नाममा पाँचतारे होटेलमा पुरुष नेताहरूलाई मेजमानी दिएर महिलाहरूको श्रम र अधिकारको विषयमा कार्यपत्र प्रस्तुत गर्दै एउटा ‘झुरेस्ट’ कर्मकाण्ड सधैँ मञ्चित हुन्छ । पुस्तकमा विष्णु रिमालले श्रमजीवी महिलाहरूको सवाल पनि उठाएका छन् । यो उनीसम्बद्ध ट्रेड युनियन आधिकारिक धारणासँग पनि सम्बन्धित नै देखिन्छ ।
उनले महिलाहरूलाई समान अधिकारका लागि मुलतः चार सवाललाई अगाडि सारेका छन् । ती हुन्– अर्थतन्त्रमा हामीलाई गणना गर, श्रमशक्तिमा हाम्रो हेक्का राख, नीति निर्णयमा हामीलाई चासो राख, नेतृत्वमा हामीलाई संलग्न गर । यी चार सवाल आधारभूत हुन् । समग्र महिला श्रमिकहरूको सवालमा बृहत छलफल जरुरी हुन्छ । एक ठाउँमा रिमालले वंश र अंशको सवाल पनि उठाएका छन् । अहिलेको महिला आन्दोलनमा यो पनि तातो विषय हो ।
पुँजीपतिहरूलाई सहुलियत दिनुपर्छ भन्ने बहसमा रिमालले पुँजीपति र मजदुरहरूबीच निरन्तर संघर्ष, एकता र संघर्ष हुन्छ भन्नेमा जोड दिएको देखिन्छ । एक ठाउँमा उनी लेख्छन्– “धेरैलाई लागेको हुनसक्छ – समाज पूर्ण पुँजीवादी नहुँदा पुँजीपतिहरूलाई सहुलियत दिइनुपर्छ । यसले उनीहरूलाई लगानीको उत्प्रेरणा जगाउँछ । र सायद यस्तो सोच्नेहरू ठान्छन् त्यो सहुलियत श्रमिकहरूको गाँस काटेर मात्र सम्भव छ । हाम्रो बुझाइमा आर्थिक गतिविधिमा लगानी एक पक्षले मात्र गर्दैन । त्यहाँ दुई पक्ष हुन्छन् । एउटा पक्षले भौतिक तथा मौद्रिक पुँजी लगानी गर्छ अर्को पक्षले जिवित श्रमशक्ती लगानी गर्छ । अघिल्लोले सारा सम्पत्ति लगानी गर्छ, पछिल्लोले सम्पुर्ण जीवन ।” ( पृष्ठ २७१)
यहाँनेर थप बहस जरुरी गर्नपर्छ । अझ ट्रेड युनियनका नेताहरूले झन् बहस गर्नुपर्छ । पुँजीपतिले गरेको लगानी मनग्य नाफा कमाउनका हो । श्रमिकहरूले जीवन नै दिएको पेट पाल्नका लागि । यसैले यहाँनेर पुँजीपतिप्रति विष्णु रिमालहरू जस्ता कम्युनिस्ट नेताहरू किन भावुक हुनु ?
रिमालले यस पुस्तकमा श्रमिक महिलाहरूको सवाललाई अलि गम्भीर ढंगले उठाएका छन् । उनले एउटा ठाउँमा मार्गरेट थ्याचरको भनाइलाई साभार गरेका छन् । उनी भन्छिन्– यदि तपाईंलाई केही भनेमात्रै हुन्छ भने पुरुषलाई अघि सार्नुस्, यदि तपाईंलाई केही गर्नैछ भने महिलामा भर पर्नुस ।’ यो आदर्श वाक्य अमुर्त छ । आज हाम्रो आन्दोलन पनि यस्तै अमुर्तता फस्ने डर भएको छ ।
क्लारा जेटकिनले भने जस्तै समाजवादी आन्दोलनले मात्र श्रमिक महिलाका समस्यालाई हल गर्छ । कम्युनिस्ट पार्टी सम्बद्ध ट्रेड युनियनहरूको साझा गन्तव्य समाजवादी आन्दोलन नै हो । हामीले यहिनेरबाट बहस थाल्नुपर्ने हुन्छ । रिमालले नै उदाहरण दिएको पाउलो फ्रेरीको भनाइ जस्तै जनताले आफूलाई उदयीमान नेताभित्र खोज्नुपर्छ र नेताले आफूलाई जनताभित्र खोज्नुपर्छ । तर आजको उदयीमान नेता को त ? हाम्रो समयले प्रश्न गरिरहेको छ । ट्रेड युनियनको आन्दोलनमा यो समस्या तड्गारो छ ।
नेपाली समाजको अन्तरविरोधलाई हल गर्ने सवालमा वर्गसंघर्षलाई जोड दिनुपर्छ भन्नेमा रिमालको जोड रहेको छ । उनले उल्लेख गरे जस्तैः हाम्रो देशमा जहाँ एक चौथाइ जनसंख्या अति गरीब छन्, त्यही मास (आम जनसमूूह) नै वास्तविक क्लास वर्ग हुन् ।’ (पृष्ठ ३२०) नेपाली समाजको मुल समस्यालाई वर्गीय ढंगले हेर्न सकिएन भने त्यो सैद्धान्तिक दुर्घटनामा फस्छ भन्नेमा पनि देखिन्छ ।
यस किताबमा विष्णु रिमालको एउटा चिठी पनि रहेछ, ‘कमरेड प्रचण्डलाई खुल्लापत्र ।’ उनले प्रचण्डहरूले अगाडि सारेको ‘एक्काइसौं शताब्दीको जनवाद’ र मदन भण्डारीले अगाडि सारेको ‘जनताको बहुदलीय जनवाद’लाई जोडेर प्रचण्डलाई प्रश्न गरेका छन्– फरक छौं भन्ने तपाईंहरूको भनाइ मान्दा जनताको बहुदलीय जनवाद होइन भने निःसन्देह तपाईंहरू एमाले होइन । नौलो जनवादी होइन भने तपाईंहरू माओवादी नै होइन । सामाजीक जनवादी होइन भने तपाईंहरू पुरानो कांग्रेस पनि होइन । त्यसो भए के हो एमाओवाद र कहाँ छ तपाईंको एमाओवादी ?’(पृष्ठ ३६६) हेटौंडा महाधिवेशनपछि रिमालले सोधेको प्रश्न अहिले उतिकै सान्दर्भिक छ । तर, एमाले र माओवादी एकता भइसकेको र प्राबिधिक कारण फुट आएकोले यसमा थप बहस आवश्यक छैन ।
रिमालको ‘गरिखानेको नाममा’ नामक पुस्तक कम्युनिस्ट आन्दोलन र पछिल्लो राजनीति आन्दोलनको सन्दर्भमा समेत महत्वपूर्ण रहेको छ । श्रमिक आन्दोलन, विश्व परिस्थिति, बदलिँदो विश्व र मजदुरहरूको सवाल, बहुराष्ट्रिय कम्पनीका बुटले कुल्चे पनि हिलोमा कमल झैँ फुलिरहेका मजदुरहरूको आवाज पुस्तकमा छ । माक्र्सवादी सौन्दर्य चिन्तक तथा एमालेका वैचारिक नेता प्रदिप ज्ञवालीले यस पुस्तकमा भने जस्तै ‘हिजो प्रत्यक्ष देखिने श्रम शोषण अहिले जटिल, विस्तारित र दिग्भ्रमित पार्ने खालको भएको छ ।’
विष्णु रिमालले जुन ढंगले यो खालको बहस उठान गरेका छन्, यो अहिले कम्युनिस्ट आन्दोलनले उठाउनु पर्ने बहस पनि हो । रिमाललाई यो वैचारिक बहसका निम्ति हार्दिक बधाई । आगामी दिनमा पनि यस्तै खुराकको अपेक्षा छ । जस्तो उनको छोटो कविता छ –
आफ्नै आँटमा उभिएर म
आफ्नै प्रतिभा देखाउँछु
कोही मञ्च दिऊन् वा नदिउन्
म आफैं रंगमञ्च बनाउँछु
जो आफूलाई स्टार ठान्छन्
तिनकै सामु म चम्कन्छु
तिनका चमकलाइ फिका पार्ने
सुर्य आफैलाइ बनाउँछु
कम्युनिस्ट आन्दोलनमा एकले अर्कोलाई निषेध गरिरहेको सन्दर्भमा रिमालले गम्भीर बहसको थालनी गरेका छन् । पुस्तक नेपाल श्रमजीबी मजदुर नेता र आम श्रमप्रति विश्वास गर्नेहरूले पढ्न जरुरी छ । पाँचतारे होटेलका लामा बहसबाट मजदुर झुपडीसम्म श्रमिक आन्दोलन बहस गर्न अब रिमाल जस्ता नेताहरूले प्रेरित गर्ने बेला आएको छ । यस्ता पुस्तक र बहसले मात्र हाम्रा आधारभूत वर्गलाई रक्षा गर्छ र अधिकारको आन्दोलनप्रति प्रेरित गर्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies