-प्रह्लाद दवाडी
मने रिमरिमे उज्यालोमा घरबाट गाउँको फेदमा भएको धने साहूको कुतिया खेत हेर्न गयो । टिस्टा नदीको भेल बाढीले मनेको पाक्न लागेको धान खेती सबै बगाएर लगेछ । हल गोरू कटेरोसँगै बगाए छ । फलिरहेको सिम्बि बारी बगरै बगर बनाएछ । बुढी सुत्केरी हुने वाला छे । धने साहूलाई सात मुरी धान कसरी तिर्नु, घरमा भात कसरी खानु, सबै टिस्टाले नष्ट पारेछ । दसैँ आउन लागेको छ, केटाकेटीलाई नयाँ लुगा, पाउना पात, दसैँ खर्च सम्झेर मनेलाई भाऊन्न भयो र थचक्क चिसो भुइँमा बस्यो ।
“घरमा गाई ब्याउन आँटेको छ, घाँस खोले एक थोप्पो छैन, किन यहाँ बसेको ? हिँड घर ।” श्रीमतीले टाउको सुम्सुम्याउँदै मनेलाई बोलाई ।
“हेर न बुढी, मेरो त सबै हात गोडा गलेर आयो । अब के गरेर खानु ? सर्वनाश भएछ । पाखुरा चलाएर खाने ठाउँ पनि रहेन ! दसैँ आयो, कसरी मनाउनु ?”
“बजारको त घर मान्छे कति बगाएर लगेछ, कति पुरेछ, हरिबिजोग । हाम्रो त ज्यान बाँच्यो, हामी त भाग्यमानी हौं । आफ्नोभन्दा अरूको दुःख हेर्नुपर्छ, हामी त अरूलाई उकास्न पो जानुपर्छ, यसपाली दसैँ नमानौं, हिँड जाऔं ।”
मने आफ्नै भुटेको मकै र मागेको मोही बोकेर राहत कार्यमा सहयोग गर्न बजारतिर लाग्यो । बजारमा बाल बच्चा, बिरामी, बुढा बुढी, देख्दा आफ्नै घरको याद आयो । भग्नावशेषहरूबाट लासहरू निक्लिरहेका थिए । मनेले तीन दिनसम्म पानी झरीमा, टन्टलापुर घाममा पनि आफ्नै सातु खाएर, फरुवा बेल्चा चलाएर, घर खोदलेर निकाल्यो, घर दोकानभित्र पुरिएर थुनिएका कतिलाई जीवितै उद्धार गर्यो । कैयौं घरको हिलो मैलो सफा गर्यो ।
आज बडा दसैँ सप्तमीको दिन, मनेको घरमा एउटा गाई ब्यायो, बिहानको राति । बहर पाएछ । मनेले दुर्गा मातालाई धन्यवाद दिँदै एक हल गारूको सपना देख्यो । स्वास्नी बिसन्चो छे । बिहान गाईको धन्दाले गर्दा मनेले खाना खान पाएन । मने बकसबाट पैसा निकालेर फेरि बजारको रूप फेर्न हिँड्यो ।
बजारको हिलोको गन्धमा पीडित बालबच्चाहरू रोइरहेको देखेर मनेले पटुकामा चेपेको पैसा निकालेर माथ्लो बजारमा बुद्धि साहुको पसलतिर लाग्यो ।
“साहुजी, मलाई एक लिटर बोतलको पानी र दुई प्याकेट बिस्कुट दिनुहोस् न ।”
“पानीको नब्बे रुप्पे र बिस्कुटको एक सय बीस गरेर दुई सय दस रुप्पे हुन्छ ।”
“पानीको बीस रुप्पे र बिस्कुटको बीस रुप्पे गरेर जम्मा साठी रुप्पे होइन र ?”
“मेरोमा सामान कम्ती छ, अहिले बाढीले गर्दा बाटो छैन र समान आएको छैन । दाम त बढेको छ ।”
मनेले ती रोहिरहेका बचेराहरू सम्झ्यो र महँगो भए पनि किनेर बाँडी दिने विचार गर्यो ।
“होइन साहुजी, म त यहाँ सेवा गर्न आएको की । त्यहाँ बच्चाहरू रोहिरहेका छन् । पानी पिउन दिनुपर्यो भनेर । अलिक मिलाएर दिनु होस् न ।”
“दाम त त्यति नैं पर्छ ।”
“ल दिनुहोस् । अनि तपाईं त दोकान चलाई रहनु भएको छ गद्दीमा बसेर । तपाईंको घर चै केही भएन ?”
“भयो नी । तल्लो बजारमा भएको दुइटै घरमा भेल पसेको छ । थुप्रो गाउँलेहरू आएर सफा गरिरहेको छ । मेरो त्यहाँ केही काम छैन, उनीहरू आफ्नै खानेकुराहरू लिएर आउँछ, पकाउँछ बाँड्छ, काम गर्छ जान्छ । म त त्यहाँ खाना खान मात्र जान्छु अनि यता आफ्नु काम छोड्नु भएन नि ।”
मने पानी र बिस्कुट किनेर दोकानबाट हिँड्यो ।
भोलि पल्ट दिउँसो साहुजी खाना खान आयो । दृश्य देखेर उ अत्तालियो ।
“अरे आज त कोही छैन त ? यो कसले सफा गरेर सक्छ ? यो गाउँलेहरू कहाँ मर्यो ? आज गाउँले आएन ? अझै आएको छैन रहेछ । किन आएन आज गाउँले ?”
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies