गत बुधबार (६ मंसिरमा) न्याय परिषद्ले सर्वोच्च अदालतमा ६ जना र उच्च अदालतमा ६ जना न्यायाधीश सिफारिस गरेको थियो । सिफारिस भएका व्यक्तिहरुबारे खासै समस्या देखिएको छैन । यदि भएपनि सुनुवाई समितिमा सिफारिस भएकाहरुले जवाफ दिनुपर्नेछ, त्यसैअनुसार प्रक्रिया अगाडि बढ्नेछ । तर सिफारिसको आधार व्यक्तिको योग्यता मात्रै नभएको कसैसामु लुकेन । प्रमुख राजनीतिक दलहरुबीच भागबण्डाका आधारमा न्यायाधीश सिफारिस भएका थिए । यसअघि पनि त्यसरी नै न्यायाधीश सिफारिस हुँदै आएकाले ठूलो विषय मानिएन । कतिसम्म भने सिफारिस भएका न्यायाधीशहरु कुनै बेला पार्टी कार्यालय पुगेर धन्यवाद दिएको विषय सधैं चर्चा हुने गर्छ । अझ सर्वोच्च अदालतको नेतृत्वमा आफूप्रति रुझान राख्ने व्यक्ति लैजाने राजनीतिक नेतृत्वले प्रयत्न गर्दै आएका छन् ।
यसरी सर्वोच्च अदालत जस्तो स्वतन्त्र र निष्पक्ष निकायमा समेत दलीय भागबण्डा हुनु जस्तो बिडम्बना अर्को हुन सक्दैन । तर भइरहेकै छ । न्यायालयमा भागबण्डा गर्न तयार हुने दलहरुबीच राज्यका अरु निकायलाई पनि भागबण्डा गर्दै आएका छन् । भागबण्डा नमिलेसम्म सिफारिस नै नगर्ने प्रवृत्ति निकै पुरानो हो । जसको ज्वलन्त उदाहरण बनेको छ, त्रिभुवन विश्वविद्यालय । अहिले त्रिवि कार्यबाहक उपकुलपतिको नेतृत्वमा चलिरहेको छ । तर सरकारले उपकुलपति नियुक्त गर्न सकेको छैन । प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति रहने वैधानिक व्यवस्था रहेपनि विश्वविद्यालयको कार्यकारी नेतृत्व उपकुलपति गर्छन् । त्यसैले त्रिविलाई नेतृत्व तत्काल आवश्यक छ । तर दलहरुबीच भागबण्डामा कुरा मिल्न नसक्दा मुलुककै ठूलो र पुरानो विश्वविद्यालय कार्यबाहक नेतृत्वबाट चलिरहेको छ ।
बाँकी संवैधानिक निकाय पनि राजनीतिक भागबण्डाका आधारमा चल्न थालेको धेरै भइसक्यो । तर राजनीतिक नेतृत्वले यस्तो प्रवृत्ति सच्याउने प्रयत्न समेत गरेको देखिदैन । बद्नाम हुन तयार हुने, तर गलत प्रवृत्ति सच्याउन राजनीतिक नेतृत्व तयार नरहेको प्रमाण सर्वोच्चमा न्यायाधीश नियुक्तिले पुष्टि गरेको छ । जबकी राजनीतिक दलहरुको भागबण्डाको प्रवृत्तिविरुद्ध जनमत लगातार बढिरहेको छ । गत वर्ष स्वतन्त्र र नयाँ राजनीतिक शक्तिको उदय पनि दलहरुको कार्यशैलीप्रति नागरिक वितृष्णाको उपज थियो । कतिसम्म भने पुराना र मुख्य दलहरुप्रति नागरिक वितृष्णा बढेर जाँदा व्यवस्थाविरुद्ध हुने गतिविधिमा समेत नागरिक समर्थन बढ्दो छ । तर राजनीतिक नेतृत्वमा सुधार देखिएको छैन, जसको असर व्यवस्थामाथि पर्ने खतरा छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies