सातै प्रदेशका गृहमन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर प्रहरी समायोजन प्रक्रिया अविलम्ब अगाडि बढाउन आग्रह गरेका छन् । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको समेत उपस्थितिमा प्रधानमन्त्री प्रचण्डसँग प्रदेशका गृहमन्त्रीहरुले प्रहरी समायोजन प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन् । प्रधानमन्त्री र गृहमन्त्रीले पनि प्रहरी समायोजन अगाडि बढाउने आश्वासन दिएका छन्, तर कहिले भन्ने खुलाएका छैनन् । तर मुख्यमन्त्री र प्रदेशका गृहमन्त्रीहरुले प्रहरी समायोजन प्रक्रिया अगाडि बढाउन आग्रह गरेको पहिलोपटक भने होइन । हुनपनि मुलुक संघीयतामा गएको झण्डै दशक हुन लाग्दा अहिलेसम्म प्रदेशसँग आफ्नै प्रहरी छैन । निजामति सेवा ऐन छैन । तर संविधानले सरकारकै कल्पना गरेको छ ।
प्रहरी र कर्मचारी नभएको सरकार पूर्ण हुने कुरा पनि हुन्न । किनकि कर संकलन, कर्मचारी र प्रहरी प्रशासनले नै प्रदेश सरकारको अनुभूति नागरिकमा हुने हो । स्थानीय सरकार प्रभावकारी देखिनुमा पनि यिनै तीन कुरा हुनु हो । संविधानको अनुसूची–८ बमोजिम अधिकार उपयोग गरी स्थानीय सरकारले कर संकलन, आवश्यक कर्मचारी नियुक्ति र प्रहरी भर्ती गरिरहेको छ । राजधानी उपत्यका रहेको काठमाडौं, ललितपुरको ललितपुर लगायत ठूला महानगरहरुको प्रहरी प्रभावकारी पनि देखिएका छन् । स्वतन्त्र मेयर जितेका बालेन्द्र शाहको ठूलो शक्ति अहिले महानगर प्रहरी नै देखिएका छन् । आफ्नै प्रहरी उपयोग गरेर मेयर बालेनले आफ्ना निर्णय कार्यान्वयन गर्दै आएका छन् । अटेर गर्ने व्यवसायी होओस् अथवा अरु कसैलाई महानगर प्रहरीबाटै कार्यान्व्यनमा ल्याइरहेका छन् ।
अरु स्थानीय सरकारले पनि कर्मचारी नियुक्तिदेखि आवश्यकता अनुसार प्रहरी भर्ती गरिरहेका छन् । तर प्रदेश सरकारसँग स्थानीय सरकार जति पनि अधिकार देखिदैन । किनकि अहिलेसम्म प्रदेश आफैले कर्मचारी नियुक्त गर्न सकेका छैनन् भने प्रहरी समायोजन हुन सकेको छैन । मधेश प्रदेश सरकारले अघिल्लो कार्यकालमै संघीय सरकारले आवश्यक साथ नदिए आफ्नै प्रहरी भर्तीको चेतावनी दिएको थियो । तर पार्टी नेतृत्वको दबावमा परेर प्रदेशका मुख्यमन्त्री र गृहमन्त्रीले संविधान बमोजिम अधिकार उपयोग गर्ने हिम्मत गरेको देखिदैन । तर प्रदेश प्रभावकारी नदेखिएको उदाहरण दिएर अहिलेकै व्यवस्थाप्रति प्रश्न उठाउने काम भइरहेको छ । व्यवस्थाप्रति उठ्ने चिन्ता प्रमुख दलका नेतृत्वमा पनि देखिन्छ । तर प्रदेशलाई कमजोर बनाउन आफै लागिपरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies