काठमाडौं : लोक दोहोरी, लोक पप तथा आधुनिक गीत–संगीत क्षेत्रमा चर्चित नाम हो, गीता भट्टराई । नवलपुर मध्यविन्दु नगरपालिका वडा नं ८ मा बुबा रामप्रसाद आचार्य र आमा इन्द्रादेवी आचार्यको कोखबाट जन्मिएकी गायिका भट्टराईलाई सानैदेखि गीत–संगीतमा रुची थियो । गीता सानैदेखि घरका काम गर्दा, बाटोमा हिँड्दा पनि गीत गुनगुनाउने गर्थिन् । सानैदेखिको रुचीलाई वास्तविकतामा परिणत गर्न धेरै मिहिनेत गरिन् गीताले । आफ्नो गायिका बन्ने धोको पूरा गर्न उनले संगीत पनि सिकिन् । संगीत सिकेर यो क्षेत्रमा होमिएकी गायिका भट्टराईले पछाडि फर्किएर हेर्नु परेको छैन ।
काठमाडौंको बनस्थली बस्दै आएकी गायिका भट्टराई विद्यालयमा हुने हरेक कार्यक्रममा गायनका लागि तम्तयार भएर बस्थिन् । विद्यालयका कार्यक्रममा आफ्नो गायनको प्रतिभा देखेर विद्यालयका शिक्षक, शिक्षिका तथा साथीहरुले बेजोड प्रशंसा गर्ने गरेको उनले सुनाइन् । गायन कौशल राम्रो भएकै कारण उनी विद्यालयका कार्यक्रममा विभिन्न पुरस्कारबाट पुरस्कृत हुन्थिन् ।त्यस्ता कार्यक्रममा उनी प्रथम, द्वितीय तथा तृतीय हुन्थिन् ।
२०६८ सालबाट औपचारिकरुपमा गीत–संगीत क्षेत्रमा लागेकी गायिका भट्टराईले हालसम्म एक सय वटा भन्दा बढी गीत बजारमा ल्याइसकेकी छिन् । उनका ‘चन्द्रागिरि घुम्न जाँदा’, ‘स्विट्जरल्यान्ड घुम्न जाँदा’, ‘माया जालमा परें’, ‘रेलको साँचो रेलैले भाँच्यो’, ‘भुल्न गाह्रो भो’, ‘ए ठूले’, ‘नक्कलीले खायो मेरो देश’, ‘मेरो प्यारा परदेशी भूमिमा’, ‘मोतीराम र जमुना’, ‘बिहे गर्ने भन्दाभन्दै जोवन ढल्क्यो’ लगायतका गीत दर्शक स्रोतामाझ चर्चित छ । उनको आफ्नै रचना, लय र स्वर रहेको ‘ए ठूले’ बोलको गीत झण्डै करोड क्लबमा पुग्न सफल भएको छ । गायिका भट्टराईको पछिल्लो पटक सार्वजनिक भएको ‘चोखो मायामा’ बोलको गीत पनि दर्शक स्रोताले रुचाएका थिए । उनको उक्त गीत युट्युबको ट्रेन्डिङमा पनि आएको थियो । साथै आफू अहिले नयाँ गीत सार्वजनिक गर्ने तयारीमा रहेको पनि उनले सुनाइन् । हाल उक्त गीतको रेकर्डिङको काम भइरहेको उनले बताइन् । उनले लोक दोहोरी, लोक पप, तीज, रक, आधुनिकलगायतका विभिन्न विधाका गीतमा आफ्नो सुमधुर स्वर दिएकी छिन् भने सबै विधामा सफलतासँगै चर्चा कमाउन सफल भएकी छिन् । गायनसँगै गायिका भट्टराईले केही म्युजिक भिडियोमा अभिनय पनि गरेकी छिन् । आफ्नो मुख्य विधा गायन नै भएपनि नयाँ केही गर्ने उत्साह र इच्छाका कारण मोडलिङ गरेको उनी बताउँछिन् ।
दर्शक स्रोताले माया गरेकै कारण देश तथा विदेशमा हुने विभिन्न कार्यक्रममा उनको माग पनि उत्तिकै छ । गायिका भट्टराईले देशका विभिन्न जिल्ला तथा विदेशमा आफ्नो प्रस्तुतिबाट दर्शक स्रोताको मन जितिसकेकी छिन् । गायिका भट्टराईले कतारमा लोक दोहोरी प्रतिष्ठान दोहा, कतारले आयोजना गरेको कार्यक्रम तथा भारतीय दूतावासले कतारमा आयोजना गरेको कार्यक्रममा पनि सांगीतिक प्रस्तुति दिइसकेकी छिन् । सन् २०२२ मा कतारमा आयोजित फिफा विश्वकप फुटबलको अवसरमा विभिन्न भारतीय तथा नेपाली समाजले गरेका कार्यक्रमहरुमा गायिका गीताले नेपालको राष्ट्रिय झण्डा बोकेर आफ्नो प्रस्तुति दिएकी थिइन् ।
लोकसंगीत बहुउद्देश्यीय सहकारी संस्थाको संस्थापक सदस्य, लोकदोहोरी प्रतिष्ठानको आजीवन सदस्य तथा सहयात्रा नेपालको मानार्थ सदस्यसमेत रहेकी गायिका भट्टराई आफ्नो प्रस्तुतिले दर्शक स्रोताको मुहारमा खुसी ल्याउँदा जस्तो आनन्दको अनुभूति अन्य केही गर्दा नपाइने बताउँछिन् । दर्शक स्रोताको मायाले नै आफूलाई यस क्षेत्रमा झनै क्रियाशील भएर लाग्न उत्प्रेरित गरेको उनको भनाइ छ ।
एक दशक लामो सांगीतिक यात्रमा गायिका भट्टराई विभिन्न अवार्डबाट सम्मानित पनि भएकी छिन् । उनले ‘जमुना र मोती’ बोलको गीतबाट ‘सहयात्रा तीज म्युजिक अवार्ड २०७५’मा सर्वोत्कृष्ट अवार्ड, ‘मेलोडी म्युजिक अवार्ड २०७७’मा सर्वोत्कृष्ट गायिका, ‘ए ठूले’ बोलको गीतबाट ‘हिमालयन इन्टरनेशनल नेपाली म्युजिक अवार्ड २०७८’मा सम्मान, ‘माया जालमा परें’ बोलको गीतबाट ‘स्टार इन्टरनेशल अवार्ड २०७८’मा उत्कृष्ट अवार्ड, ‘चन्द्रागिरि घुम्न जाँदा’ बोलको गीतबाट ‘तेस्रो एपिक म्युजिक अवार्ड २०७८’मा सम्मान पाएकी छिन् ।
गत साउनमा राजधानीको भृकुटीमण्डपमा आयोजना गरिएको जनचेतनामूलक सांगीतिक कार्यक्रममा गायिका भट्टराईले हजारौं दर्शकहरुलाई आफ्नो सुमधुर स्वरले मन्त्रमुग्ध बनाइन् । हजारौं दर्शक स्रोताहरुबाट वाहवाही कमाइन् ।
मिहिनेत, लगनशीलता तथा दृढ संकल्प लिएर अगाडि बढेमात्र जिन्दगीमा सफलता पाइने बताउने गायिका भट्टराईले यही मूलमन्त्रका साथ सांगीतिक क्षेत्रमा सफलता हासिल गरेकी छिन् । आफ्नो गायिका बन्ने सपना पूरा गरेकी उनले यस क्षेत्रमा आउने नयाँ प्रतिभाहरुको सपना पूरा गर्नका लागि प्रशिक्षण दिँदै आएकी छिन् । साथै गायिका भट्टराईले विभिन्न गायन प्रतियोगिताहरुमा निर्णयकको भूमिका पनि निभाउँदै आएकी छिन् । पछिल्लो समय गत असोजमा तीजको अवसर पारेर हेटौंडामा भएको तीज गीत प्रतियोगिता एवम् महोत्सवमा पनि गायिका भट्टराईले निर्णायकको भूमिका निभाएकी थिइन् । गायिका भट्टराईले युनिभर्सल टेलिभिजनमा तीज विशेष कार्यक्रम पनि सञ्चालन गरेकी थिइन् । सांगीतिक क्षेत्रमा लाग्ने बाल्यकालको इच्छा, सांगीतिक क्षेत्रमा गरेको संघर्ष र अहिले संगीत प्रशिक्षण दिनेसम्मको यात्रा सम्झिँदा गायिका भट्टराई निकै खुसी महसुस गर्छिन् ।
भविष्यमा पनि गीत संगीतकै माध्यमबाट देश र जनताका साथै दर्शक स्रोताहरुलाई मनोरञ्जन प्रदान गर्नु नै आफ्नो मुख्य लक्ष्य रहेको गायिका भट्टराईले बताइन् । गीत–संगीत नै आफ्नो जिन्दगी रहेको र बाँचुञ्जेल यसै क्षेत्रमा क्रियाशील भइरहने गायिका भट्टराईको अठोट छ । मिहिनेत गर्नेलाई गीत–संगीतमा करियर बनाउन गाह्रो नभएको तथा यसै क्षेत्रबाट नाम र दाम दुबै कमाउन सकिने बताउँदै गायिका भट्टराई गीत–संगीत क्षेत्रमा प्रवेश गर्नेहरुलाई प्रशिक्षण लिएर र पूर्णरुपमा केही गर्छु भन्ने अठोट लिएर मात्र आउन सुझाव दिन्छिन् । साथै गायिका भट्टराई गीतका अन्य विधासँगै नेपालको मौलिक लोक भाकालाई बचाइराख्नुपर्नेमा जोड दिन्छिन् । लोक भाकाको संरक्षणसँगै नेपालको गीत–संगीत क्षेत्रको उत्थानका लागि सरकारले विषेश पहल गर्नुपर्ने उनी बताउँछिन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies