बाजुरा : बाजुराका मध्यान्हकर्मी नहकुल जोशीको पहिलो उपन्यास ‘नाजवाफ’ सार्वजनिक गरिएको छ । आइतबार सुदूरपश्चिमको राजधानी धनगढीमा आयोजित एक समारोहमा सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले उक्त पुस्तकको विमोचन गरे । विगत लामो समयदेखि पत्रकारितामा कलम चलाउँदै आएका र हाल शिक्षण पेशामा आवद्ध जोशीको प्रथम कृति सार्वजनिक भएको हो ।
उपन्यासमा मुख्यरुपमा राज्यव्यवस्था परिवर्तनका निम्ति तत्कालीन खस साम्राज्यको योगदान र उपलब्धिमा आधारित रही यहाँका समस्या, कुप्रथा, विकास निर्माण र जनजीवनका बारेमा चित्रण गरिएको छ ।
जनताको जीवनस्तर र व्यवस्था परिवर्तनका निम्ति खस साम्राज्यको योगदान प्रशस्तै भए पनि विकास निर्माण र मानिसको जीवनस्तर फेरिने कुरामा राज्यको ध्यान नगएको तर्फ उपन्यासले इङ्गित गरेको छ । युद्धको समयलाई देखेको, भोगेको र अनुभव गरेको अलग–अलग पुस्ताले दुई दशकसम्म पनि परिवर्तनको महसुस नगर्नुले व्यवस्था फेरिँदैमा जनताको अवस्था फेरिँदैन भन्नेतर्फ आज आममानिसमा प्रश्न उठिरहेका बेला त्यस्तै प्रश्नको घोचपेच रहेको उपन्यास बजारमा आएको पत्रकार तथा समीक्षक अर्जुन शाहले बताए ।
मायाप्रेमसँगै विद्यमान मौसमी बसाइँसराइ, छुवाछुत, छाउपडी, बहुपति प्रथालगायतका दर्जनौं प्रथा र समस्याहरुलाई मुख्य प्रश्नका रुपमा उठान गर्दै सुदूरकर्णालीका समृद्धिका दिन कहिले आउँछन भन्ने कुरा उपन्यासमा गहनरुपमा आएको शाहको भनाइ छ । युद्ध साहित्यभित्र सामाजकि जनजीवनको तार्किक चित्रणले उपन्यास पठनीय रहेको उनले बताए ।
२१औं शताब्दीमा पनि हामी सबै एकै मानव हौं भन्ने भावनाको विकाससमेत नभएकोतर्फ उपन्यासले मुख्यरुपमा प्रश्न उठाएको लेखक जोशीले बताए । अन्तरजात भएकै कारण प्रेम सफल नभएको, लेकाली भेगमा बस्ने मानिसहरुले भोग्ने समस्या, अपहेलित खस भाषा र संस्कृतिको सम्मान हराउँदै गएको, बहुपतिजस्ता विध्यमान प्रथा अन्त्य गर्न मानिसमा चेतनाको सञ्चार हुन आवश्यक रहेको उनको भनाइ छ ।
आइतबार सुननन्दा मिडिया हाउसका निर्देशक अनिल शाहीको अध्यक्षतामा आयोजित विमोचन कार्यक्रमको प्रमुख अतिथि प्रदेश प्रमुख देवराज जोशी रहेका थिए । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेश कुमार शाही विशेष अतिथि रहेको कार्यक्रममा बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकाया, पत्रकार महासंघ सुदूरपश्चिमका अध्यक्ष योगेश रावल, पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशी, प्रदेश प्रमुखको कार्यालयका सचिव पुष्कर खड्कालगायत पत्रकार तथा स्थानीयको उपस्थिति रहेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies