सिलगढी, दार्जिलिङ : युगेन्द्र-लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठी सिलगढी, भारतले चार जना सर्जकहरुलाई सम्मान गर्ने भएको छ । गुठीका अध्यक्ष एवम् साहित्यिक पत्रकार राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सर्जकहरु कृष्ण प्रधान, चन्द्र भण्डारी, डी. आर. उपाध्याय र अनिता निरौलालाई सम्मान गर्ने निर्णय गरेको हो ।
सम्मानित हुने सर्जक प्रधानले साहित्य सिर्जना र पत्रकारितामा लामो समयदेखि योगदान गर्दै आएका छन् । पेशाले अध्यापन गर्ने प्रधानका कविता, (लामो कविता), गीत, हास्यव्यंग्य निबन्ध र समालोचनाका ४० कृतिहरु प्रकाशित रहेका छन् । आकाशवाणी खरसाङको अनुमोदित गीतकार र फुटबल कमेन्टेटर पनि रहेका सर्जक प्रधानले विभिन्न संस्थाबाट ११२ भन्दा बढी सम्मान र पुरस्कार पाइसकेका छन् ।
यसैगरी सम्मानित हुने अर्का पत्रकार एवम् सर्जक चन्द्र भण्डारी लामो समयदेखि पत्रकारिता गर्दै गीत, कविता, कथा, संस्मरणमा कलम चलाउँदै आएका छन् । भण्डारी गीत सिर्जनामात्र गर्दैनन् आफैं गाउँछन् पनि । वि.सं. २०२४ देखि साहित्य सिर्जनामा लागेका भण्डारीका ४ सय बढी कविता, ३ सय बढी गीत, २५ कथा, ३ वटा गीति एल्बम रहेका छन् । भण्डारीका जेल संस्मरणलगायतका कृतिहरु प्रकाशोन्मुख छन् । भण्डारीले आँखो, देवानछाप, स्मारक, मेचीनगर, साराँश, प्रकाश, युगज्ञान, सुगन्धजस्ता पुस्तक पत्रपत्रिकाको सम्पादन पनि गरेका छन् । विगत ३० वर्षदेखि पत्रकारितामा र २० वर्षअघिबाट रेडियो कार्यक्रम उत्पादन तथा प्रशारण पनि गर्दै आएका भण्डारी विभिन्न एक दर्जन बढी संघसंस्थाबाट सम्मानित र पुरस्कृत भइसकेका छन् ।
सम्मानित हुने अर्का विश्वकीर्तिमानी सर्जक डा. डी. आर. उपाध्याय उपन्यास, कविता, गीत, कथा तथा विभिन्न विषयमा लेख रचना लेख्छन् । डा. उपाध्यायले १४ उपन्यास, २ सय बढी गीत सिर्जना, संगीत र गायन पनि गरेका छन् । ३३ बढी म्युजिक एल्बम निकालेका डा. उपाध्यायले १३२ बढी विश्वकीर्तिमानी अवार्ड र अन्य थुप्रै सम्मान र पुरस्कार पाएका छन् । अमेरिका बुक अफ रेकर्ड्स यूएसए, यूरोपिएन रेकर्ड बुक्स हंगेरी र द ब्रिटिश वर्ल्ड रेकर्डस् लण्डनको ब्राण्ड एम्बेसेडरसमेत रहेका डा. उपाध्यायका तीन वटा गीति संग्रह पनि प्रकाशित रहेका छन् ।
यस्तै अर्का सम्मानित सर्जक अनिता निरौलाले लघुकथा, नाटक, जीवनी, निबन्ध, अनुवाद, पत्रकारितामा योगदान गर्दै आएकी छन् । उनका ब्ल्यक एण्ड ह्नाइट, सिक्किममा संगीतभित्रकाहरु र साहित्यकार सानुभाइ शर्माको मोनोग्राफ कृतिहरु प्रकाशित रहेका छन् । विगत ४५ वर्षदेखि आकाशवाणीलगायतमार्फत पत्रकारितामा योगदान गर्दै फेसबुक र युट्युब पेजमा 'वाणी'को सञ्चालन गरेकी निरौलले वृत्तचित्रहरु पनि निर्माण गरेकी छन् । उनका हिन्दी कविता र लेखहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । शिक्षण पेशामा समेत रहेकी निरौलाले नेपाली सांगीतिक कार्यक्रममा प्रत्यक्ष पाश्व उद्घोषक भएर पनि योगदान पुर्याएकी छन् ।
इन्डिया बुक अफ रेकर्डमा नाम लेखाउन सफल सर्जक निरौलाले शोभा राई खोजी पत्रकारिता पुरस्कार, प्रेस क्लब अफ सिक्किम र डब्लू फ्याक्टरबाट वुमन एचिभरको सम्मानलगायतका सम्मान र पुरस्कार पाएकी छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies