पवन जायसवाल/मध्यान्ह
नेपालगञ्ज : शाश्वत आचार्य स्मृति प्रतिष्ठानले तीन जना श्रष्टालाई सम्मान तथा पुरस्कृत गरेको छ । एक विशेष कार्यक्रम तथा कवि गोष्ठीको आयोजना गरी ‘शाश्वत स्रष्टा सम्मान, पुरस्कार वितरण गरिएको हो । पुरस्कृत तथा सम्मानित हुने स्रष्टाहरू आख्यानकार कल्पना खरेल, कथाकार गणेश जिसी र लोक गायक तथा कवि भीमबहादुर शाही रहेका छन् । सुर्खेतका प्राज्ञिक व्यक्तित्व डा.महेन्द्र कुमार मल्लले ‘शाश्वत स्मृति पुरस्कार’ को नगद धनराशी सहित सम्मानपत्र प्रदान गरेका थिए ।
शाश्वत आचार्य स्मृति प्रतिष्ठान प्रा.डा.जनार्दन आचार्य र वरिष्ठ साहित्यकार किरण आचार्यले आफ्ना कान्छा सुपुत्र स्व.शाश्वतको स्मृतिमा स्थापना गरिएको संस्था हो । उक्त संस्थाले स्थापना कालदेखि राष्ट्र निर्माता पृथ्वी नारायण शाहको जन्म जयन्ती, विभिन्न अवसरमा राष्ट्रियताको सवाल र समसामयिक विषयमा बेला–बेलामा विचार गोष्ठीको आयोजना गर्दै आएको छ । कार्यक्रममा शाश्वत आचार्य स्मृति प्रतिष्ठानका अध्यक्ष प्रा.डा.जनार्जन आचार्यले मन्तव्यका क्रममा भने, ‘शाश्वत आचार्यको सम्झनामा मोफसलमै लुकेका प्रतिभा र उहाँहरुको योगदानलाई प्रोत्साहन गर्नका निमित्त यो ‘शाश्वत स्रष्टा सम्मान, पुरस्कार स्थापना गरेर हरेक वर्ष श्रष्टालाई प्रदान गर्ने उद्देश्य रहेको बताउनु भयो । ‘आफ्नै ठाउँमा केही गरौँ’ भन्ने सोंचले यस संस्थाले विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।’
यसवर्ष शाश्वत आचार्य स्मृति प्रतिष्ठानद्वारा पुरस्कृत तथा सम्मानित बाँके जिल्लामा रहेर कलम चलाउने कल्पना खरेल साहित्य साधनारत चर्चित तथा स्थापित नारी स्रष्टा हुन् ।
उपन्यासकार खरेलले कृतिहरूमा विवेक र नैतिकतालाई हतियार बनाएकी छिन् । उनले उपन्यास मार्फत् समाजमा परिवर्तनको नयाँ ढोका खोल्न चाहेको स्पष्ट देखिन्छ । सामाजिक अन्तर्विरोध र संघर्षलाई भित्रैसम्म पसेर गहिरो अन्तरदृष्टि लगाएर उपन्यासको विषयवस्तु बुनिएको पाइन्छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा खरेलको ‘रानी तलाउ’ उपन्यासले सर्वोत्कृट पुस्तक पुरस्कार–२०८० प्राप्त गर्न सफल भएको थियो । उनका ‘लभ इन जेरुसलेम’ उपन्यास, ‘समलिङ्गी सम्बन्ध’ उपन्यास, ‘पुरुष उपन्यास, ‘रागिनी’ कथा संग्रह, ‘क्षितिज पारीका शब्दहरु’ गीतिसंग्रह, ‘कामना’ गीति एल्बम प्रकाशित छन् ।
खरेलका दुई सयभन्दा बढी लेख रचना पत्रपत्रिकामा प्रकाशित भइसकेका छन् भने उनको शब्दमा रहेको ‘सेतो कात्रोमा गोजी हुँदैन’ लगायत दुई दर्जन गीतहरू रेकर्ड समेत भइसकेका छन् । खरेल जी. नेपाल फोर के टेलिभिजनको ‘भावसरोवर साहित्यिक कार्यक्रम’को प्रस्तोताका रुपमा पनि साहित्यिक कार्यक्रम सञ्चालन गर्छिन् । त्यस्तै सम्मानित अर्का व्यक्तित्व नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ६ फुल्टेक्रामा बसोबास गर्दै आएका मोफसलमा रहेर साहित्य एवं पत्रकारिताका क्षेत्रमा कलम चलाउने गणेश जिसीका कथा, नाटक, निबन्ध, कविता, उपन्यास, गणेश जिसीका क्रन्दन कथा सङ्ग्रह, सम्झौता तथा अज्ञात अनाथिनी गरी दुई वटा उपन्यास, मंगलचा खण्डकाव्य, शहरभित्र हराएको मान्छे कविता संग्रह र गणेश जिसीका हाइकु कथाहरुसहित ६ वटा कृतिहरू प्रकाशित भएका छन् । कुचवदिया जाति, राउटे जाति र राजी जातिको परिचयात्मक अध्ययन समेत गरेका जिसीले शान्ति यात्रा मासिकको सम्पादन गरी सम्पादकीय अनुभव समेत हाँसिल गरेका जिसी नेपाल पत्रकार महासंघका सदस्य, भेरी साहित्य समाजका सल्लाहकार, वि.विकास स्मृति साहित्यिक पुरस्कार गुठी, सिर्जना कला साहित्य प्रतिष्ठान नेपालगञ्ज लगायत विभिन्न संघसंस्थामा आवद्ध छन् । वि.सं. २०३८ मा ‘सिपाही’ शीर्षकको कविता लेखेर राष्ट्रिय स्तरको कविता प्रतियोगितामा जिसीले प्रथम स्थान प्राप्त गरेका थिए ।
पुरस्कृत अर्का स्रष्टा भीमबहादुर शाही पेशाले अधिवक्ता हुन् । लोकगायक र लोकसंस्कृति अन्वेषकको परिचय पनि बनाएका ७१ वर्षीय कवि लेखक शाहीका ‘हजारी फूल’, ‘मेरो जीवनको पाइला’, ‘अभागिनी आमा’, ‘विजया र कान्तावती’, ‘डोल्पा दर्पण’, ‘शान्ति क्षेत्रभित्रको ज्वालाक्षेत्र’, ‘वेदना मनभित्रमा’, ‘स्वप्नावली’, ‘झ्यालबाट बाहिर हेर्दा’, ‘योगी र भोगीको संवाद’ लगायत विभिन्न विधाका २६ वटा पुस्तक प्रकाशित भइसकेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies