–निष्णु थिङ
धेरै वर्षपछि विश्वेश्वरप्रसाद कोइरालाको आन्तवृत्तान्त पुनः सरसर्ती पढ्न मनलाग्यो । कोइरालाको आत्मवृत्तान्त नेपालको राजनीतिक इतिहासको महत्वपूर्ण कालखण्ड बुझ्नलाई साह्रै उपयोगी छ । उनको जीवनी पढ्नलाई भर्खरै सार्वजनिक भएको भेषबहादुर थापाको ‘राष्ट्र–परराष्ट्र एकतन्त्रदेखि गणतन्त्रसम्म’ पुस्तकले कर लगायो । थापाको आत्मकथाले पनि नेपाली राजनीतिक र कूटनीतिक इतिहासलाई अर्को आँखीझ्यालबाट हेर्न मद्दत गर्छ । कोइरालाको वृत्तान्तले राजनीतिको आँखाबाट त्यो बेलाको समय बुझाउँछ भने थापाको जीवनीले प्रशासनिक र कूटनीतिक आँखाबाट । आ–आफूले बाँचेको युगलाई प्रतिनिधित्व यस्ता आत्मवृत्तान्तहरूले गरेका हुन्छन् ।
थापाको वृत्तान्त नौं वटा उपशीर्षकहरूमा बाँडिएर प्रस्तुत गरेको छ । प्रारम्भ नै राजा महेन्द्रको टेलिग्रामबाट हुन्छ । त्यतिबेला उनी अमेरिकामा आफ्नो अध्ययनको अन्तिम चरणमा हुन्छन्, जतिबेला यता महेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्थ गरेर सत्ताको बागडोर आफैले लिन्छन् । त्यत्रो लोकप्रिय मत ल्याएको सरकारलाई त्यसरी ‘कू’ गरेपछि उनलाई योग्य मानिसहरूको खोजी हुन्छ । आफ्नो नयाँ पञ्चायती सरकार सञ्चालन गर्न सक्ने जनशक्तिको खोजीको क्रममा उनले थापालाई निम्त्याउँछन् । राजा महेन्द्रलाई आफ्नो सत्ता हाँक्ने चालकहरूमा तुलसी गिरी, विश्वबन्धु थापा, सूर्यबहादुर थापा, कीर्तिनिधि बिष्टलगायतका प्रतिभाहरू फेला पर्छन् । यिनै व्यक्तिहरूको सहयोगमा निर्दलीय पञ्चायतको सूत्रपात महेन्द्रले गरेका थिए । थापाको पुस्तक पढेपछि महेन्द्रको प्रतिभा चिन्ने, प्रतिभाअनुसार जिम्मेवारी दिने र परिणाम निकाल्न सक्ने उनको खुबीको बारेमा थाहा पाइन्छ ।
कूटनीतिमा स–सानो गतिविधि र हाउभाउले समेत विशेष अर्थ र महत्व राख्दछ । सामान्य शिष्टाचारले पनि दुई देशबीचको सम्बन्धमा विशेष न्यानोपन र चिसोपन निम्तिन सक्छ भन्ने थापाले उल्लेख गरेको संस्मरणमा छ । इन्दिरा गान्धीको नेपाल भ्रमणक्रममा दरबारको अतिथि कक्षमा राजा महेन्द्र दश मिनेट विलम्ब हुँदा त्यसले नमिठो वातावरण सिर्जना गरेको प्रसगंले कूटनीतिमा स–साना विषयको महत्व र प्रभाव दर्शाउँछ । थापाले त्यस्तै अर्को प्रसगंको चर्चा गरेको छन्, २०२७ सालमा जाम्बियाको राजधानी लुकासमा असंलग्न राष्ट्रहरूको सम्मेलनमा इन्दिरा गान्धीले राजा महेन्द्रलाई हिज म्याजेष्टी भनेर हात मिलाउँदा राजा नउठेकोले गान्धी रिसाएकी थिइन् । राजा उठेर शिष्टाचार व्यक्त नगरेको कारणले गर्दा नेपाल र भारतबीच तनावको स्थिति सिर्जना भएको रहेछ । शासकहरूले सामान्य शिष्टाचार पालना नगर्दा इन्दिरा गान्धीले नेपालमाथि नाकाबन्दी लगाइन् र यहाँका जनताले त्यसबाट सिर्जित कष्ट सहन पर्यो । यस्ता घटनाहरूबाट पाठ नसिकेको कारणले गर्दा राजीव गान्धीसित राजा वीरेन्द्रले पनि त्यस्तै व्यवहार प्रदर्शन गरेको यस पुस्तकमा उल्लेख छ । फलस्वरुप पुनः भारत नाकाबन्दीकै तहमा ओर्लेका थिए ।
भारतको नेपालमाथि नाकाबन्दी गर्ने प्रवृत्ति नयाँ होइन । जतिबेला नेपाल भूकम्पले थिलोथिलो भएको थियो, नेपालको संविधान, २०७२ जारी गरेपछि भारतले आठ वर्ष अगाडि नाकाबन्दी गरेको हाम्रो स्मृतिमा ताजै छ । नेपालमाथि भारत निर्मम भएर प्रस्तुत भएको पटक–पटकको नाकाबन्दीले पुष्टि हुन्छ । भारतको परनिर्भरताबाट पाठ सिकेर आत्मनिर्भरतातर्फ अगाडि बढ्नु पर्नेमा झन् परनिर्भर बन्दै गइरहेको परिप्रेक्ष्यमा यस पुस्तकले प्रकाश पारेको छ । पञ्चायत सरकारले नेपालको उत्तरी क्षेत्रमा रहेको भारतीय सुरक्षा पोष्ट कसरी हटायो र भारतीय परनिर्भरताबाट आत्मनिर्भरताको लागि के–के प्रयास राजा महेन्द्रको पालामा भएका थिए ? त्यसको सजीव चित्रण यस पुस्तकमा पाइन्छ ।
नेपाल यतिबेला भूराजनीतिक तानातान र हानथापमा परेको छ । शीतयुद्धकालमा सोभियत संघ हाम्रो आकाशे छिमेकी मात्रै थियो । विश्वमा वर्चश्व स्थापित गर्न अमेरिका र सोभियत संघको दुई ध्रुवीय कडा संघर्ष भएको थियो । अहिले सोभियत संघको स्थानमा चीन पुगेको छ । चीन र अमेरिकाको शीत युद्ध शुरु हुन थालेको छ । चीन हाम्रो सीमाना जोडिएको पुरानो छिमेकी भएको नाताले दोस्रो शीतयुद्धको प्रत्यक्ष असर हामीलाई पर्नेवाला देखिन्छ । नेपाललाई आफ्नो विकास र समुन्नतिको बाटोमा बढ्नैछ, त्यसमा आफ्नो स्रोतसाधनले मात्रै नभ्याउने भएकोले बाह्य सहयोग र अनुदानको पनि उतिकै खाँचो छ । अहिले हामीलाई छिमेकीले प्रदान गर्ने आर्थिक सहयोग व्यवस्थापन गर्न हम्मेहम्मे हुन थालेको छ । त्यसमा दाताहरूले आफ्नो स्वार्थ नभई सहयोग त गर्दैनन् नै । पेचिलो कुरा चाँहि के हो भने हाम्रा छिमेकीहरूलाई आँच पुग्ने किसिमको सहयोगहरू आउन थालेका छन् ।
त्यसरी अन्तर्राष्ट्रियस्तरबाट प्राप्त सहयोग कसैलाई प्रतिकुल असर नपर्नेगरी नेपालको विकासलाई तीव्र बनाउने क्षमताको अभाव देखिन थालेको छ । विभिन्न स्वार्थबाट निर्देशित सहयोगहरूलाई व्यवस्थापन गर्न अक्षमता प्रदर्शन गरिरहेको बेला विगतमा कसरी सन्तुलन कायम गरेर व्यवस्थापन गरेको थियो भन्ने प्रशस्त उदाहरणहरू यस पुस्तकमा पाइन्छ । राजा र पञ्चायतले गरेका भनेर त्यसलाई नकार्न हुन्न । अहिलेको भूराजनीतिक खिचातानीलाई सन्तुलन मिलाएर अगाडि बढाउन इतिहासबाट पाठ लिन कुनै कन्जुस्याँइ, लघुताभाषा र लाज मान्नै पर्दैन ।
थापाले पूर्व भारतीय राष्ट्रपति केआर नारायणनका नेपालसित सम्बन्धित दुई वटा संस्मरणका सन्दर्भहरू उठाएका छन् । नारायणन उनका अमेरिका हँुदाका साथी रहेको प्रष्ट्याएका छन् । उनी भारतका राजदूत र थापा नेपालका । राष्ट्रपतिसित व्यक्तिगत तवरमा सम्बन्ध स्थापित भएकोले उनलाई भारतमा उच्च सम्मान र काम गर्न सहज भएका थिए । केआर नारायणन नेहरूको सचिवालयमा काम गर्दा, एफ्रो–एसियन सम्मेलनको आयोजना गरेको बेला उनी राजा त्रिभुवनसित आर्थिक सहयोग(चन्दा) माग्न नेहरूको प्रतिनिधि भएर आएको रहेछन् । त्यतिबेला राजाले दश हजार रुपैयाँ सहयोग गरेको जुन सबैभन्दा ठूलो रहेको पनि संस्मरण खुलाएका छन् । नेहरू त्यतिबेला भारतीय स्वतन्त्रताको तयारीमा भएकोले त्यो सहयोग भारतको स्वाधिनताको पक्षमा नेपालबाट प्रदर्शित उच्च ऐक्यबद्धता थियो नै । थापाले यो पहिलो संस्मरणचाहिँ उल्लेख गरे तर, दोस्रो संस्मरण बारेमा केही चर्चा नै छैन । त्यो छुटेको संस्मरण के थियो होला भन्ने उत्सुकता हुने नै भयो । पुस्तकको दोस्रो संस्करणमा यो समेट्न आवश्यक छ ।
उनले राजा महेन्द्रले आफ्नो शासनकालमा विभिन्न क्षेत्र, भूगोल र जातजातिका मानिसलाई खोजी खोजी जिम्मेवारी दिइएको प्रसङ्ग उप्काएका छन् । उनले राजा महेन्द्रका भनाईलाई जस्ताको तस्तै उतारेका छन्, “हेर, म त राजा । राजा हुन त यही परिवारमा जन्मनुपर्यो । यहाँ अरुलाई राख्न सकिन्न । तर, त्यसपछिका चार पद प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रिय पञ्चायत अध्यक्ष र राजसभा स्थायी समितिका अध्यक्षमध्ये एकमा जनजातिकै हुनुपर्छ र एउटा तराईको हुनुपर्छ ।”(पृष्ठ, २४१) यहीँ वाक्यलाई पुष्टि गर्न, ‘मन्त्रिपरिषद् गठनका बेला पनि सन्तुलन मिलाउन मानिसहरूको खोजी गरिन्थ्यो– वेदानन्द झा, नागेश्वरप्रसाद सिंह, समशेरबहादुर तुम्बाहाम्फे मन्त्रिपरिषद्मा सामेल गरिएका थिए । तराई र जनजातिहरूमा नेतृत्व क्षमता भएकाहरू खोजी गरिन्थ्यो । हरेकजसो नियुक्तिमा सन्तुलन मिलाउने प्रयत्न गरिन्थ्यो ।’ लेखेका छन् । (पृष्ठ, २४२)
तर लेख्दै जादा उनले, ‘जाति, वर्ग, धर्म, क्षेत्रीयता आदिका आधारमा पहिचान खोज्दा मध्ययुगतिर धकेलिन लाग्यौं कि भन्ने चिन्ता बढेको छ ।’ भन्न भ्याए । (पृष्ठ, २४१) त्यसले उनको हिन्दू आर्यन पहाडे पुरुषवादी अहंकार झल्केको देखिन्छ । उनले पुस्तकका कैयौं सन्दर्भमा तराईवासी शब्दहरू पटक–पटक चलाएका छन् । उनले खुलेर मधेशी भन्न नसकेको देखिन्छ । त्यसले उनमा महेन्द्रीय राष्ट्रवादी अहंकारको गहिरो प्रभाव रहेको देखाउँछ ।
भारतसितको सम्बन्ध
भर्खरै भारतीय विदेशमन्त्री एस. जयशंकर आएर विद्युत व्यापारमा मूख्य सम्झौता भए । तर, कतिपय नेपाल र भारतकाबीच रहेका सीमा विवाद र झमेलाबारे त्यस्तो केही उल्लेखनीय भएन । भारतसितको अहिलेको संवाद जे विषयमा भारत सरकारको रुचि छ, त्यसमा मात्रै हुने र नेपालको रुचिलाई पूरै वेवास्ता गर्दै आएको छ । भारतसितको सम्बन्ध यतिबेला पहेली बन्दै जान थालेको होकि भन्ने चिन्ता बढ्न थालेको छ । दुई पक्षीय सम्बन्ध झन् अविश्वास, संवादहीनता र तनावतिर उन्मुख भएको देखिन्छ । खुल्ला सीमानाको जति बखान गरेपनि सीमानामा नेपालका नागरिकहरूलाई आवतजावत कठिनाइ बढ्दै गइरहेको छ । सीमानामा परिचय–पत्र, नागरिकता अनिवार्य खोजिन्छ । भारतको अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालीको राहदानी चाहिन्छ । कालापानीको समस्या सुल्झिनको साटो बल्झिदै पो गएको छ । कालापानीमा सीमित विवाद लिपुलेकसम्म विस्तारित भएको छ ।
प्रबुद्ध व्यक्ति समूह गठन गर्न सहमत भएर दुवै सरकारद्धारा गठित समूहले प्रतिवेदन तयार पारेको यतिका वर्ष बितिसके भारतले त्यो बुझ्ने कुनै रुचि देखाएको छैन । भारतीय संस्थापनको हेपाहा प्रवृत्तिबाट स्वयम् राजा भुक्तभोगी भएका थिए । अहिले हाम्रो दलहरू र तिनका नेताहरू त भारतको एउटा गुप्तचरको ठाडो आदेशमा परिचालित हुने परिस्थितिमा हामीले नै पुर्यायो । थापाले इंगित गरे झैं, ‘भारतसँग धेरै लाचार बन्नुमा छात्रवृत्ति पनि एउटा कारण हो । राजनीतिक नेताहरूले आफन्त या कार्यकर्ताका निम्ति छात्रवृत्ति दिलाउने क्रममा आफूलाई धेरै गिराएका छन् । छात्रवृत्तिका लागि न्यूनतम नम्बर ल्याउन नसकेका व्यक्तिलाई सिफारिस गरेर पठाएपछि विश्वविद्यालयले अस्वीकार गर्दा त्यसमा हाम्रा प्रधानमन्त्रीकै तहबाट उपकुलपतिलाई पत्र लेखी यो एउटा अपवाद स्वीकार गर्न आग्रह गर्ने अवस्थासम्म पुर्याएका छन् ।’(पृष्ठ, २४०) उनले सविस्तार गर्दै, ‘भारतीयहरूले मसँग यस्ता विषय उठान गर्दा मैले एकदमै ग्लानि महसुस गर्नु परेको थियो ।’(पृष्ठ, २४०) उनले नेपाली नेताहरूको द्धैध चरित्रलाई उदाङ्गो पारेका छन्, ‘भाषणमा भारत विरोधी अभिव्यक्ति दिने तर व्यवहारमा ठीकविपरीत कार्यशैली प्रदर्शन गर्ने काम दलहरूबाट भएको हो ।’(पृष्ठ, २०६)
‘यता नेपालका प्रधानमन्त्रीहरू भने भारत भ्रमणमा जान हानाथाप गरेको देखिन्छ । ...तर कताकता हाम्रो मानसिकतामा त्यहाँ गएर धाप नपाएसम्म वैध हुन्नौं कि भन्ने भ्रम रहेको देखिन्छ ।’(पृष्ठ, २१६) यस्ता परनिर्भर मानसिकताबाट नेपाल झन हेपिन परेको उनले बताउँछन् । ‘उच्च पदमा रहेकाहरू आफ्नो तह र मर्यादामा नबसेसम्म मुलुकलाई अपहेलित हुनबाट रोक्न सकिन्न ।’(२१७)
विपिको आत्मवृत्तान्त होस् या थापाको आत्मकथा, दुवैले चीनले जहिलेपनि नेपाललाई भारतसित राम्रो सम्बन्ध राख्न उत्प्रेरित गरेको बताइन्छ । चीनलाई नेपाल मामिला त्यति रुचिको विषय थिएन । तर, अहिले चीनको त्यो नेपाल नीति बद्लिएको देखिन्छ । उनीहरू नेपालको राजनीतिमा सूक्ष्म व्यवस्थापनको तहमै ओर्लेको स्थिति छ । विपि भारतमा रहँदा भारतीय संस्थापनको साथ नपाएको, दुःख दिएको उनको आत्मवृत्तान्तमा उल्लेख छ । उनले राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फिर्ता हुनुमा सिक्किमको विलयले झस्केको हुनु पर्छ । राष्ट्रियताका मामलामा विपि र राजा महेन्द्रले समान प्रकारको सम्झौताहीन निष्ठा अवलम्बन गरेको देखिन्छ ।
अहिले बजारमा आएका आत्मवृत्तान्तहरू आत्मप्रशंसाले ओतप्रोत छन् । आफूलाई नायक देखाउने उद्देश्यले आत्मकथाहरू लेखिएका सन्दर्भमा थापाका पुस्तक केहीहदसम्म बच्ने प्रयत्नका बावजुद पनि जोगिएका भने छैन । तैपनि उनले आफ्नो जीवनको उत्तरार्धमा यो कोसेली पस्केर अहिलेका नयाँ पुस्तालाई त्यो समय बुझ्न सहयोग गरेकोमा उनलाई धन्यवाद दिनैपर्छ । सार्वजनिक पदधारण गरेका व्यक्तिहरूका जीवन वैयक्तिक भएपनि राष्ट्रको जीवनलाई देखाउने ऐना हुन् । यस्ता आत्मकथा वा जीवनी स्वयम राजा महेन्द्र, वीरेन्द्र, मदन भण्डारी(यद्यपि उनको हत्या), गिरिजा प्रसाद कोइराला, सुशील कोइरालालगायत राज्यको राजनीतिक, कूटनीतिक र प्रशासनिक उच्च पदमा बसेकाहरूले लेखेर छाडे, अहिलेका पुस्ताले विगत सजिलै थाहा पाउन सकिन्थ्यो । साथमा, राज्यको संस्थागत स्मृति पनि बलियो हुने थियो । बलियो संस्थागत स्मृतिको जगमा बलियो राज्यसञ्चालन गर्न आवश्यक छ । यतिबेला नेपालमा अमेरिका, भारत र चीनको त्रिपक्षीय प्रतिस्पर्धा चर्केर गएको बेलामा थापाको आत्मकथाले उपलब्ध गराएको साहित्यले राज्यसञ्चालनमा कहिँ न कहिँ उपयोगी हुने नै छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies