–टेकेन्द्र देउवा
सुदूरपश्चिमको धनगढीबाट २०५६ सालमा पत्रकारिता शुरू गरेका दीर्घराज उपाध्यायका शुरूवाती दिन सहज थिएनन् । तिनै उपाध्यायले दुई दशक लामो अविचलित संघर्षले मोफसलबाट पत्रकारितामा अलग पहिचान बनाएका छन् ।
खाँचा भरेर अखबार छाप्ने गिद्दे प्रेसबाट शुरू भएको पत्रकारिता यो दुई दशकमा डिजिटल युगमा प्रवेश गरेको देख्दा उनलाई शुरूवाती दिनहरू सपना जस्तै लाग्छन्, अचेल । कहाँ त्यो यासिका क्यामेराको युग । कहाँ यो डिजिटल युग ?
सेती समाचारबाट पत्रकारिता शुरू गरेका उनले एक वर्षपछि नयाँ सडक दैनिकको संवाददाताका रूपमा काम गरे । २०५८ जेठ १९ गते राजधानी दैनिकमा जोडिएका उनले एक दशक बढी समय सुदूरपश्चिम ब्यूरोका रूपमा काम गरे । उनी राजनीति, अर्थ, पर्यटन, खेलकुद, शिक्षा, समाज सबै विषयमा कलम चलाउँथे ।
पानामा लेखेर काठमाडौं फ्याक्स गर्थे । प्रति पानाको फ्याक्स शुल्क २५ रूपैयाँ थियो । यासिका क्यामेरा, कोडाकको रिल, साइकलको यात्रा, एउटा फोटो पठाउन कहिल्यै काहीँ पूरै रिल बिग्रिन्थ्यो । आम्दानीभन्दा खर्च बढी । ६० को दशकमा धनगढीमा इन्टरनेट सेवा शुरू भयो । मेल गरेको प्रति मिनेटको १५ देखि २० रूपैयाँ शुल्क लाग्थ्यो । डिजिटल क्यामेरा र कम्प्युटर र ल्यापटप भित्रिसकेको थियो । सँगै अफसेट प्रेस भित्रियो । पत्रकारिताले गिद्दे प्रेसबाट अफसेटमा फड्को मार्यो ।
उता माओवादीले २०५२ सालमा शुरू गरेको सशस्त्र विद्रोह चरमोत्कर्षमा थियो । गाउँबाट सल्किएको माओवादी विद्रोह शहरभित्र पनि फैलिसकेको थियो । धनगढीमा दिउँसै गोली चल्थ्यो । माओवादीले छापामार शैलीमा प्रहरी र राजनीतिकर्मीलाई निशाना बनाउँथे ।
लठ्ठीबाट विद्रोह शुरू गरेका माओवादीका हातमा भरुवा बन्दुक हुँदै एम १६ आइसकेको थियो । त्योसँगै माओवादीले थुप्रै जिल्लाका सदरमुकाम, सेना, सशस्त्र प्रहरी र प्रहरीका गण तथा चौकीहरू कब्जा गरी ठूलो मात्रामा हतियार कब्जा गरेका थिए । पत्रकारहरू माओवादी विद्रोही र सरकारको दोहोरो चेपुवामा थिए । ‘सेल्फ सेन्सरसीप’ थियो । तर, उनले माओवादी र राज्य पक्षका ज्यादती लेख्न छोडेनन् । माओवादी र सुरक्षा फौजबीच भिडन्तको नजिकबाट रिपोर्टिङ्ग गरेका उनले दुवै पक्षको क्षति आँखै अगाडि देखेका छन् । उनी रिपोर्टिङ्गका लागि रोल्पादेखि बाजुरासम्म पुगे । उनी माओवादी सशस्त्र संघर्ष र द्वन्द्व पत्रकारिताका एक साक्षी हुन् ।
सिंहदरबार र काठमाडौं खाल्डोलाई सबैथोक मान्ने र त्यही सेरोफेरोलाई मात्र महत्व दिने समय र सोचमा उपाध्याय अपवाद थिए । उनले जहिल्यै सिमान्तकृत र भूँई मान्छेका कुरा उठाए । उनी रेडियो बहस कार्यक्रम लिएर कैलालीको पण्डौन, सुगरखाल, पवेराको हौसलपुर र मोहन्याल पुगे । जनताका मुद्दा र माग सम्बोधनका लागि निरन्तर राज्यलाई दबाब दिइरहे ।
धनगढीबाट इमेज टेलिभिजन, कम्युनिकेशन कर्नर, हिमाल खबर पत्रिका, नेपाली टाइम्स र नेपाल म्यागिजनका लागि काम गरेका उनले सञ्चारिका समूहको क्षेत्रीय सम्पादकका रूपमा समेत जिम्मेवारी निर्वाह गरे । रिपोर्टरबाट शुरू भएको उनको पत्रकारिताको क्यारियर, संघर्ष र सफलता पत्रकारिता गर्न चाहनेहरूका लागि प्रेरणादायी कथा हो ।
२०६६ सालदेखि सुदूरपश्चिमको अग्रणी सञ्चार गृह पश्चिम टुडे मिडिया हाउस सञ्चालन गर्दै आएका उपाध्यायकै नेतृत्वमा ब्रोडसिट दैनिक, १००० वाट क्षमताको एफएम रेडियो र पश्चिम टुडे डटकम अनलाइन न्यूज पोर्टल सञ्चालनमा छन् । जसको उनी अध्यक्ष तथा प्रधान सम्पादकको जिम्मेवारीमा छन् ।
उनी सन् २०१३ देखि २०२३ सम्म संसारका विभिन्न देशमा रिपोर्टिङ र कार्यक्रमका सिलसिलामा पुगे । बंगलादेश र चीन गए । त्यहाँको स्टोरीहरू गरे । चारैतिर द्वन्द्व हँुदा पनि जोर्डन कसरी जोगिएको छ, त्यस सम्बन्धमा लेखे । अनमीन मिसनमा द्वन्द्वग्रस्त मुलुक सुडान पुगे । शान्ति सेनाले शान्ति स्थापनार्थ खेलेको भूमिका, जातीय द्वन्द्वले छियाछिया भएको सुडानको बारेमा लेखे । इथोपियाले विकासमा मारेको फड्को लेखे । पहिलो आम निर्वाचनका क्रममा उनी सन् २०१६ मा म्यानमार पुगे । निर्वाचनको परिणामपछि सुकीका चुनौती र त्यहाँका नेपालीहरूको समग्र अवस्थाका बारेमा लेखे ।
२० भन्दा बढी मुलुकको भ्रमण गरिसकेका उनले थुप्रै अन्तर्राष्ट्रिय अवार्ड पनि पाएका छन् । उनले सन् २०२२ मा अमेरिकी सरकारको विदेश मन्त्रालयले निमन्त्रणमा तीन हप्ता लामो आईभिएलपी कार्यक्रममा सहभागी हुने अवसर पाए ।
पत्रकारको सुरक्षाका लागि अविचलित संघर्ष
१७ हजार जनाले ज्यान गुमाएको १० वर्षे सशस्त्र द्वन्द्वमा माओवादी र सरकार पक्षबाट थुप्रै पत्रकारहरू मारिए । विस्थापित भए । उनले द्वन्द्वको रिपोर्टिङ मात्र गरेनन्, नेपाल पत्रकार महासंघको नेतृत्वमा रहँदा मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेण्टीका लागि दुवै पक्षलाई दबाब दिए । २०६५ जेठ १३ गते माओवादी अपहरणबाट मुक्त गरी उर्माबाट ल्याएका पत्रकार लक्की चौधरीलाई दुई दिनपछि जिल्ला प्रशासन कार्यालयमा माओवादी आक्रमणबाट पुनः जोगाए । सोही समय भएको झडपमा प्रहरीले गोली चलाउँदा तीन जना प्रदशर्नकारीको घटनास्थलमै मृत्यु भयो । उपाध्यायको कुशल नेतृत्वका कारण सबै पत्रकारहरू जोगिए । त्यसपछि तीन दिनसम्म लागेको कफ्र्युकै बीच उनले चौधरीलाई काठमाडौं पुर्याए । बन्द पत्रिकाहरू उपाध्यायकै पहलमा पुनः सञ्चालनमा आए । र, पत्रकारहरू काममा फर्किए ।
नेपाली सेनाले नियन्त्रणमा लिएका पत्रकार नगेन्द्र उपाध्यायलाई उनले हिरासतबाट मुक्त गरे । टीकापुरमा तत्कालिन रेडियोकर्मी (हाल नागरिक उन्मुक्ति पार्टीका प्रमुख) रेशम चौधरीमाथि दुव्र्यवहार गर्नेलाई माफी मगाए । कानुनी दायरामा ल्याएका पत्रकार कर्ण कुँवरमाथि आक्रमण गर्ने माओवादी कार्यकर्ताहरूलाई लिखित माफी मगाई छाडे ।
कैलालीको अत्तरीयाबाट वेपत्ता पारिएका जनदिशा दैनिकमा कार्यरत पत्रकार जगतप्रसाद (जेपी) जोशीका परिवारलाई न्याय दिलाउन उनले निकै संघर्ष गरे । उपाध्यायकै अगुवाइमा थालिएको आन्दोलनका कारण जोशीको परिवारलाई राज्यले १० लाख रूपैयाँ क्षतिपूर्ति दियो । र, घटनामा संलग्न व्यक्तिहरू पक्राउ परे ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पत्रकारहरूको हकहीत, अधिकार र सुरक्षाका लागि निर्वाह गरेको भूमिकाको उच्च मूल्यांकन गर्दै नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले नेपाल पत्रकार महासंघका ७५ जिल्ला र एशोसियट गरी एक सयभन्दा शाखा अध्यक्षमध्ये उपाध्यायलाई महासंघको ५४औं स्थापना दिवसका अवसरमा २९ मार्च २००९ मा काठमाडौंमा आयोजित समारोहमा प्रमुख अतिथि सभामुख सुवास नेम्वाङको हातबाट उत्कृष्ट शाखा अध्यक्षको अवार्ड प्रदान गरेको थियो ।
सन् २०१८ देखि ०२२ सम्म सामुदायिक रेडियो प्रसारक संघको प्रदेश अध्यक्ष समेत रहेर काम गरेका उनले आफ्नो कार्यकालमा रेडियो र रेडियोकर्मीहरूको समेत हकहीत, अधिकार र सुरक्षाका लागि बहस, पैरवी र संघर्ष गरेका थिए ।
समाजसेवामा पनि सधैँ अगाडि
सामाजिक क्षेत्रमा सक्रिय उपाध्यायकै अगुवाईमा सन् २०१३ मा धनगढीमा रोटरी क्लबको स्थापना भएको हो । उपाध्यायको संयोजनमा धनगढीबाट एक करोड रूपैयाँभन्दा बढीको राहत सामग्री २०७० सालको महाभुकम्पबाट प्रभावित जिल्लाहरूमा वितरण गरिएको थियो । चिकित्सकको टोलीले गोरखा पुगेर घाइतेहरूको उपचार गरेको थियो ।
करिब दुई करोड रूपैयाँको लागतमा कैलालीको गोदावरी नगरपालिकाको ओलानीमा उनकै अगुवाईमा निर्माण भएको खानेपानी आयोजनाबाट एक हजार बढी घरधुरीले शुद्ध खानेपानी पिउन पाएका छन् ।
कोभिड–१९ को महामारीमा उनकै अगुवाईमा ह्युमानिटी फाउण्डेसनले भारतबाट आएका ३० हजारभन्दा बढी नेपालीलाई निःशुल्क खाना र पानी वितरण गरेको थियो । पहिलो चरणमा पीसीआर परीक्षण नभएर मृत्यु भएका मान्छेहरूको जव लाश उठ्न सकेन । उनकै अगुवाईमा ह्युमानिटी फाउण्डेसन र सुदूरपश्चिम समाज अमेरिकाका तर्फबाट विश्वव्यापीरूपमा थालिएको आर्थिक संकलन अभियानबाट एक करोड रूपैयाँभन्दा बढी संकलन गरी डडेल्धुरामा पीसीआर मेसिनको स्थापना भयो । र, सुदूरपश्चिमका सात वटा पहाडी जिल्लाका बासिन्दाको पीसीआर परिक्षण सहज भयो ।
अक्सिजनको अभावमा कोभिडको दोस्रो चरणमा मान्छेहरूको धमाधम मृत्यु हुन थालेपछि उनको टीमले अक्सिजन बैंकको स्थापना गर्यो । र, सरकारी अस्पतालहरूसँगै सर्वसाधारणहरूलाई निःशुल्क अक्सिजन वितरण गरे ।
कोभिडमा आममान्छे मृत्युको भयले घर बाहिर निस्किएनन् । उनी कोभिडको पहिलो र दोस्रो लहरमा कैयौं रात सुतेनन् । उनी संक्रमितहरूको जीवन रक्षाका लागि अक्सिजनको जोहो गरिरहेका हुन्थे । उनको संस्थाले त्यो अबधिमा बेड नभएका अस्पतालमा बेड उपलब्ध गराए । चिकित्सकहरूलाई पीपीई सेट र मास्क उपलब्ध गराए । आम सर्वसाधारणहरूलाई मास्क र सेनिटाइजर बाँडे ।
पत्रकार कर्ण बोहराकी मृगौला पीडित पत्नीको उपचारका लागि उनकै अगुवाइमा थालिएको आर्थिक संकलन अभियानमा १२ लाख रूपैयाँ संकलन भएको थियो । जुन रकम उनले बोहराकी पत्नीलाई हस्तान्तरण गरेका थिए ।
उनले उपचारमा सहयोग गरेर थुप्रै विपन्न व्यक्तिहरूको जीवन जोगाएका छन् । अन्यायमा परेकाहरूलाई न्याय दिलाउन पहल गरेका छन् । र त, उनी न्याय नपाएकाहरूसँगै उपचारबाट बञ्चितहरूको आशाको केन्द्र भएका छन्, उनी । भन्छन्, “आफू मात्र बाँच्नु के बाँच्नु ? अरुलाई बचाए पो जीवन सार्थक हुन्छ ।”
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies