तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : उपाधि दाबेदार टोली अस्ट्रेलियामाथि अतिरिक्त समयमा जित हासिल गर्दै दक्षिण कोरिया कतारमा जारी एसियन कपको सेमिफाइनलमा प्रवेश गरेको छ । १० जनामा सीमित अस्ट्रेलियामाथि दक्षिण कोरियाले २-१ को जित निकाल्न सफल भएको हो । त्यस्तै जोर्डनले शुक्रबार नै ताजिकिस्तानविरुद्ध जित हासिल गर्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
शनिबार सम्पन्न अर्को खेलमा जापानमाथि नाटकीय जित दर्ता गर्दै इरान एएफसी एसियन कपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार साँझ भएको क्वाटरफाइनल खेलमा इरानले जापानमाथि २-१ को रोमाञ्चक पुनरागमन जित दर्ता गरेको हो । खेलमा जापानले शुरुवाती अग्रता लिएको थियो । खेलको २८औं मिनेटमा हिडेमासा मोरिटाले गोल गर्दै जापानलाई शुरुवाती अग्रता दिलाएका थिए । खेलको ५५औं मिनेटमा इरानले खेलमा बराबरी गोल गर्यो । सरदार आजमुनको अशिष्टमा मोहम्मद मोहेबिले गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको इन्ज्युरी समयमा इरानले पेनाल्टीमार्फत गोल गर्दै जित हासिल गर्यो । को इटाकुराले बक्स भित्रबाट फाउल गरेपछि इरानले पेनाल्टी पाएको थियो । पेनाल्टीमा अलिरेजा जाहान बक्सले गोल गर्दै इरानको अन्तिम चारमा स्थान सुरक्षित गरे l
शनिबार सम्पन्न अर्को खेलमा गोलरक्षक मिसाल बार्शामले पेनाल्टी सुटआउटमा ३ वटा बचाउ गरेपछि साविक विजेता तथा जारी एसियन कपको आयोजक कतार सेमिफाइनलमा पुग्ने अन्तिम टोली बनेको छ । बार्शामको उत्कृष्ट प्रदर्शनमा उज्बेकिस्तानमाथि टाइब्रेकरमा ३-२ को जित निकाल्दै कतार अन्तिम चारमा पुगेको हो । निर्धारित समय र अतिरिक्त समय १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । टाइब्रेकरमा बार्शामले उज्बेकिस्तानका अशुरमाटोभ अब्दिराहमाटोभ र माशारिपोभको पेनाल्टी रोक्न सफल भएका थिए ।
सेमिफाइनलको पहिलो खेल जोर्डन र दक्षिण कोरियाबीच मंगलबार साँझ ६ बजेबाट अहमद बिन अलि स्टेडियम अल रैयानमा हुनेछ भने बुधबार साँझ ६ बजेबाट कतारले इरानविरुद्ध अल थुमामा स्टेडियममा खेल्नेछ l
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies