सुर्य प्रसाद भुसाल/मध्यान्ह
गुल्मी : गुल्मीमा मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । दुर्घटनामा परेर ७५ वर्षका मनबहादुर फुम्जालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए । रुद्रवेणीबाट मलामी लिएर लिम्घातर्फ फर्किरहेको लु १ च ४३२० नम्बरको पिकअप जिप शनिबार राति सत्यवती गाउँपालिका वडा नम्बर–४ मौरीओडारमा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी सत्यवती गाउँपालिका वडा नम्बर ५ निवासी ३१ वर्षका कृष्ण थापा, ३५ वर्षका यसबहादुर बुढाथोकी, ४० वर्षका खेमु श्रीस, ६० वर्षका दुर्गाबहादुर राना, ३१ वर्षका भुपेन्द्रदेव खप्तरी (थापा) घाइते भएका छन् । त्यस्तै ५३ वर्षका पदम बहादुर बुढाथोकी, ३१ वर्षका भरत बुढाथोकी, २६ वर्षका मिलन राना, २६ वर्षका ठगबहादुर बुढाथोकी, ३४ वर्षका घनश्याम बुढाथोकी, ६ वर्षका चिनबहादुर राना र चालक सत्यवती गाउँपालिका–४ लिम्घा बस्ने २९ वर्षका शंकर विक पनि घाइते भएका प्रहरीले जनाएको छ ।
घाइतेहरुमध्ये ४ जनालाई थप उपचारका लागि पाल्पा पठाइएको छ भने अन्य घाइते ८ जनाको स्थानीय जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब ४० मिटर तल खसेको प्रहरी उपरीक्षक पोखरेलले बताए । जिपमा १३ जना सवार थिए । ब्रेक फेल भएर जिप दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies