–धनराज गिरी
“के छ चितवनमा साहित्यिक गतिबिधि ?” चितवनेतर साहित्य प्रेमीहरूको यो अस्थायी प्रश्न हो, जसरी, ‘प्रश्न’बाटै हाम्रो साहित्यिक अवैतनिक राजदूत भएका मुक्तिनन्दन, मानक पाठक, उदय अधिकारीको भूमण्डलीकृत प्रश्न हुने गर्दछ, “अहिले के पढ्दै हुनुहुन्छ ?” उत्तर सत्य हुन पनि सक्छ, नहुन पनि सक्छ, किन कि किताब पढ्ने काम पनि एउटा ‘सकस’ हो, ‘अन्तरमनको यात्रा’ मात्र होइन । मलाई बारम्बार आउने यो प्रश्नको उत्तर के दिने ?
चितवन आफैंमा एउटा रहस्यमयी जिल्ला हो । त्यसो त हरेक जिल्लाको कहानी उस्तै होला । “चितवनमा साहित्यिक गतिविधि राम्रो छ” यो उत्तर सकारात्मक हो, अपेक्षित हो र केही मात्रामा सत्य पनि हो । यतिखेर म यी शब्दहरू लेख्दा तनावमा छैन । मन शान्त छ । मेरो स्थायी स्वभाव हो, “त्यहाँ राम्रो के छ ?” नकारात्मकता मेरो गन्तव्य होइन । ‘अतिवाद’ अति नै हुन्छ, एक्लो भइन्छ । म एक्लो हुन जन्मिएकै होइन । सत्यतथ्य र धरातलीय यथार्थ अलि असजिलो नै हुन्छ ।
अब चितवनबाट अलिकता बाहिर गएर हेरौं, ‘घनेन्द्र ओझा’को अनुहार र शैलीले सुरु सुरुमा म पनि ‘घनेन्द्र ओझा’ बनेर ‘अलग धारतिर’ लागेको हुँ । अकडो, अरर्रोे, छिद्रान्वेषी अनेक नाम पायो, यो पूर्व अनाम अनेक नाम पायो, यो पूर्व अनाम मण्डलीले, पञ्चायती व्यवस्था रहिरहेको भए र ‘केटी’कै माया पाइरहेको भए म पनि ‘बदनाम मण्डले’ हुने थिएँ । ‘केटी मनपर्छ’ प्रोफेसर जगमोहन आजादलाई, मकवानपुरे हो नि त । यो ‘राधिकाकान्त’ अशान्तले मेरो ध्यान तान्यो । मलाई ५१ प्रतिशत ठीक लाग्यो यो मान्छे । यस्तो ‘अकडो’ चाहिन्छ । अनि उसले वास्ता गर्ने नगर्ने, उसको कुरा, ऊ एक प्रतिभा हो, म प्रतिभालाई सम्मान गर्छु, यो कुरो प्रतीक ढकाल र भवानी खतिवडालाई मात्र होइन ‘रमाकान्त’ महेश पौडेललाई पनि थाहा छ ।
‘सन्तापको धून’ जहाँ पनि हुन्छ । पक्षधरता जहाँ पनि हुन्छ । ‘आत्मीय’ दुर्लभ कुरा हो । चितवनको साहित्यिक माहौल अति ‘आत्मीय” छ भनेमा भद्दा मजाक हुन्छ । म त्यस्तो स्तरको मजाक गर्दिन । हो, चितवनको साहित्यिक माहौलमा ‘काम चलाउ एकता’ छ । आँटेपछि कार्यक्रम सम्पन्न भएको छ । साहित्यिक ‘सत्यनारायण पूजा’ र ‘राजसुय यज्ञ’ सम्पन्न गर्ने ‘बादशाह’हरू पनि छन् । एकाहा, रुद्री, पुटिक, खुजुरे कारोबार ‘लक्ष्मीकान्त’ सम्पूर्णले धानेको छ । समग्रमा, चितवनको साहित्यिक माहौल त्यति निराशाजनक छैन, रमाइलो, यहाँ सत्य बोल्नसक्ने, सार्वजनिकरूपमा, को–को ? यो चाहिँ ‘कपिल कमेडी’ है, यसलाई मजाककै रूपमा लिनुहोला, कुरा गम्भीर भए पनि, सम्पूर्ण किताबमा एक दिन भनियो, चितवनमा, आमले बोल्न असजिलो मान्ने सत्य उदय अधिकारी भाइले बोल्छ, उदयले नसके रमेश प्रभात आउँछ, आफैं अराजक बनेर, उदय र रमेशको पनि हिम्मत नभएमा ‘लेखरामजनक’ प्रोफेसर जगमोहन आजाद बोल्छ, मज्जाले बोल्छ, साथीहरूलाई थाहा छ । परिणामको चिन्ता गर्दैन ‘शेर’ लेख्ने ‘आरजूको बा’, ‘साझा बा’ र... प्रोफेसर जगमोहन आजादले पनि शहीदहरू सम्झिएर मौन धारणा गर्न विवश भएमा एउटा खास ‘शेर’ बोल्छ, गर्जिन्छ, उसको नाम हो ‘प्रेमराज रिमाल’ शारदाकान्त, भित्री सागर प्रशान्त, अनुभूत तथ्य ।
घरभित्र एकजोडी ‘पति’ र ‘पत्नी’, ‘पतिपत्नी’ हुन नसकेको अनन्त कथाहरू छन् । म आफै पनि ‘मित्रजालमा’ परेको रहेछु, अति भ्रममा बाँचेको रहेछु । हामी ‘९९.९९%’ ले गर्ने अभिनय नै हो । ‘काम चलाउ मेलमिलाप’ भए काम चल्नेरहेछ । ‘आत्मीय’ मित्र उही भानुप्रसाद उपाध्यायले खुल्लारूपमा घोषणा गरेजस्तै ‘प्रोफेसर जगमोहन आजाद’, मित्र भानुको विश्वासलाई सलाम गर्दछु । तर म भानु होइन । म अझै पनि ‘केही’ पात्र र पात्राहरूलाई आत्मीय मान्दछु मानिरहेछु, आखिर मान्न त पाइन्छ नि ?
‘घायल लक्ष्मण बोकेर आज यो सीतापति हृदयको इन्द्रप्रस्थ आएको छ । त्यसो त हामी चितवनको सम्पूर्ण साहित्यिक माहौललाई ‘हस्तिनापुर’ बनाउन सक्दछौं । पितामहको अनिकाल छैन । केदारनाथ खनाल गुरु बा, गोविन्दराज विनोदी छन्दाशुतोष, रामबाबु घिमिरे सर, डी.आर. पोखरेल मितवा आदि आदि । साहित्यिक ‘शिशुपाल र जरासन्धहरू’ आफैं कुकर्मको फल पाएर पतेराले चुसेको धानजस्तो हुनेछन् । घायलजी, तपाईंमाथि लक्ष्मण अर्यालजीको सर्जरी अत्यन्त आत्मीय लाग्यो । ‘राजेन्द्र घायल’ वास्तवमा चितवनको साहित्यिक माहौलको एक अलग पहिचान, म पनि स्वयम् ‘घायल’ घायल र म घायल, हामी ‘सीतापति’ हाम्रो भावना मिल्छ, मन मिल्छ, हामीलाई माया भए पुग्छ ।
हाम्रो ‘इन्द्रप्रस्थ’ बन्न आयो, ‘रत्ननगर वाङ्मय प्रतिष्ठान’ पूर्वी चितवन, आफैंमा केन्द्र पनि परिधि पनि । हामीसित ‘बहरोपाध्याय’ केशवराज आमोदी, मेरी प्रेयसी ‘सुखौरी’ हुनुहुन्छ । तिलकराज शर्मा दाजी, अब छुट्टै माहौल सिर्जना गर्नु छ हामीले । मेरा बालसखा गोकर्ण मल्ल झलमल्ल भए, अब कोही पनि अलमल्ल हुनुपर्दैन । लीला र यमुना मात्र विज्ञानपुत्री नातिनी ‘सर्वज्ञा’ भोलि नामानुसार ‘सर्वज्ञा’ ‘स्वयम्प्रभा’ हुनेछिन् । हाम्रो आर्शिवाद छ । चितवनमा केही गर्न सकिन्छ । केही गर्ने भनेको केही गर्ने हो । सबैले सबैको अस्तित्व स्वीकार्ने हो । राजेन्द्र हमालको कमाल हेर्ने छ । कमल अर्याल पनि हाम्रो सम्भावना हो । सुमनहरू हामीसित चार, रूप र सार अनुरूप बनाउन हातेमालो गर्नैपर्दछ ।
उता पर मेरी मायालु ‘पातली’ कोपिलाको स्याहारसुसारमा लागेकी छन्, यो साहित्यिक ‘राप्रपा’ सत्तामा कहिले पुग्ने हो, थाहा छैन । आज म राजनीति नगरिकन राजनीति गर्नेछु । भतिजा दीपकराज गिरी, महानायकको पनि नायक, काकाले भनिदिएपछि भयो, दीपकराज गिरीलाई भनियो, “‘दीपू’, अभिनय नगरीकन अभिनय गर्नू, अब्बल अभिनय हुन्छ, कादर खानलाई हेर, काकालाई हेर ।”
प्राकृतिक हुनुपर्दछ माया, प्राकृतिक हुनुपर्दछ सम्बन्ध । अर्यालजीले, शिवनन्दनले, जसरी चरित्र चित्रण गर्नुभयो, त्यो प्राकृतिक हो । यही भएर मैले आजको लेखको शीर्षक पनि प्राकृतिक नै राखेँ । ‘घायल लक्ष्मण’ हो त, हरेक रामायणमा लक्ष्मणहरू घायल हुन्छन् । कर्मयोगीहरू घायल पारिन्छन् । धेरै ‘रामहरू’ घायल भएको अयोध्यामा छौं हामी । आज स्वयम् ‘नेपाली भाषा घायल’ भएको छ । हामीले छन्दको सगरमाथा मानेको छन्देश्वर आशुतोषको मनको पीडा कसले बुझ्ने ?
इन्द्र रेग्मीज्यू, हजुरको पीडा म बुझ्दछु । अरुको पीडामा साथ दिने संस्कार छैन । केही नलागेपछि साथीहरू बीस हजार तालतिर लाग्छन् । लाग्छ यो संपूर्ण भूगोल नै ‘घायल लक्ष्मण’ हो । जय नेपाल ! घनेन्द्र ओझा, यो धनेन्द्र सोझा स्वीकार्छ,गजल लेख्ने छन्दमा नै हो, र आउनेले लेख्ने हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies