काठमाडौं : सुप्रसिद्ध गायक उदित नारायण झा र दिपा नारायण झाको स्वरमा रहेको प्रेमिल भावको गीत 'थाहा छैन आज भोलि' काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । लामो समयको अन्तरालपछि सदाबहार जोडी उदित र दिपाको स्वरमा उक्त गीत नेपाली दर्शक स्रोताहरु माझ आएको हो ।
प्रसिद्ध गीतकार सरला श्रेष्ठको रचना र चर्चित युवा संगीतकार लक्ष्मण पोखरेलको संगीतमा तयार भएको गीतको लोकार्पण समारोहमा वरिष्ठ गीतकार बिबी थापा, संगीतकार राजु सिंह, नेपाल गीतकार संघका अध्यक्ष तथा गीतकार वशन्त वित्यासी थापालगायतका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
अमेरिकामा बसेर नेपाली गीत संगीत र समाजसेवामा सक्रिय सरला श्रेष्ठको रचना रहेको गीतको बारेमा विभिन्न वक्ताहरुले धारणा राखेका थिए । लामो समयपछि उदित र दिपाको स्वरमा नेपाली स्रोताहरुसँग एउटा मिठो र सदाबहार गीतमार्फत जोडिन पाएकोमा संगीतकार लक्ष्मण पोखरेल पनि दंग देखिन्थे ।
कार्यक्रममा गायक, गायिका र गीतकारले भिडियोमार्फत गीतको सफलताको शुभकामना व्यक्त गरेका थिए । एसएस क्रियसन युट्युब च्यानलबाट प्रसारण गरिएको गीतको भिडियोलाई चर्चित निर्देशक सुव्रत आचार्यले निर्देशन गरेका हुन् । मनोज चौलागाईंको संगीत संयोजन, किशोर थापाको ध्वनि सम्पादन, राजेश श्रेष्ठको रेकर्डिङ रहेको गीत मुम्बईको प्रख्यात स्टुडियो कृष्ण स्टुडियोमा रेकर्ड गरिएको हो । आमिर शेखले गीतलाई रेकर्ड गरेका थिए ।
अहिलेका व्यस्त नायिका श्रद्धा क्षेत्री, विजु पार्की, आन्नद सिंहको अभिनय रहेको गीतलाई उत्सव दाहालले खिचेका हुन् । म्युजिक भिडियोमा विकास दाहालको सम्पादन, जया शर्माको क्रियटlभ निर्देशन, दिपेन गौतमको प्रोडक्सन म्यानेजमेन्ट, सविता प्रजापतिको मेकअप, मार्कु तामाङको ड्रेस रहेको छ । गीतको भिडियोलाई विभिन्न रमणिय स्थलमा छायाँकन गरिएको छ । नेपाली दर्शक स्रोतासँग लामो समयपछि एउटा मिठो गीतमार्फत पुन: जोडिन पाएकोमा गायक उदित नारायण र दिपा नारायण झाले खुसी व्यक्त गरे ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies