तिलोत्तमा, रुपन्देही : रुपन्देहीको तिलोत्तमा– १० कान्छीबजारमा दोस्रो सांस्कृतिक मेला–२०८१ हुने भएको छ । दुर्गा मन्दिर टोल विकास संस्था तिलोत्तमा–१०, कान्छीबजारको आयोजनामा ‘कला, संस्कृति, कृषि र पर्यटनको विकास–हाम्रो अभियान’ भन्ने नाराका साथ दोस्रो कान्छीबजार सांस्कृतिक मेलाको आयोजना हुने भएको हो । मेला यही वैशाख २० गतेदेखि आगामी जेठ २ गतेसम्म सञ्चालन हुने टोल विकास संस्थाले जनाएको छ ।
स्थानीय कला र संस्कृतिको जगेर्ना गर्ने, स्थानीय प्रतिभाको प्रस्फुटन गर्ने र स्थानीयवासीलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यअनुरुप कान्छीबजारमा दोस्रो पटक बृहत् सांस्कृतिक मेलाको आयोजना गरिएको टोल विकास संस्थाका अध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिए । ‘कान्छीबजार यो क्षेत्रकै एउटा व्यापारिक केन्द्र हो । मेलामार्फत कान्छीबजारको प्रचार–प्रसार गर्ने र स्थानीय बजारको चहलपहल बढाउने हाम्रो मुख्य उद्देश्य हो, श्रेष्ठले भने ।’
मेलामा चर्चित लोकदोहोरी गायक बद्रि पँगेनी, लोकदोहोरी गायक पशुपति शर्मा, लोकदोहोरी गायिका शान्तीश्री परियार, लोकगायक प्रकाश सपुत, गायक शिव परियार, प्रमोद खरेल, हेमन्त शर्मा ज्योति मगर, प्रिती आले, एलिना चौहान, चर्चित भोजपुरी गायक खेसारी लाल, अन्नु चौधरी, प्रिती पासवानलगायत राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति रहने आयोजक संस्थाले जनाएको छ ।
संस्थाका अनुसार मेलामा ४० भन्दा बढी विभिन्न खालका व्यवसायीक स्टल रहने छन् भने युवा तथा बालबालिकाको मनोरञ्जनका लागि पिङ, झुलालगायतका मनोरञ्जनका सामग्रीसहित बाल उद्यान रहने बताइएको छ ।
गर्मी मौसमलाई ध्यानमा राख्दै मेला प्रत्येक दिनको साँझ ५ बजेदेखि रातको ११ बजेसम्म सञ्चालन हुने आयोजक संस्थाले जनाएको छ । अहिले मेला स्थलको व्यवस्थापन, स्टेज निर्माण, स्टल निर्माणलगायतका काम चलिरहेको र मेलाको व्यापक तयारी भइरहेको संस्थाका अध्यक्ष श्रेष्ठले बताए ।
स्थानीय स्तरमा आयोजित मेलाको अवलोकन गर्न र भरपूर मनोरञ्जन लिनका लागि संस्थाले नगर क्षेत्र वरपरका बासिन्दालाई विशेष आग्रहसमेत गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies