तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : 'ल्होछार कन्सर्ट २०२४’ मा आफ्नो सांगीतिक प्रस्तुति दिन भर्षटायल गायक राजेश पायल राई 'राई इज किङ' कतार आइपुगेका छन् । नेपाल तामाङ घेदुङ कतार शाखाले आयोजना गरेको 'मञ्जु श्री २८६० (डुक ल्हो / मु पुखी वर्ष ) ल्होछार कन्सर्ट'का २०२४ का लागि गायक राई कतार आएका हुन् ।
तामाङहरूको महान पर्व सोनाम ल्होछारको शुभ अवसरमा कन्सर्टमा आफ्नो प्रस्तुति दिन गायक उमङ्ग लामा र गायिका रेश्मा बम्जन बुधबार नै दोहा आइपुगेका छन् l म्हेन्दोमाया तथा लोक दोहोरी गायिका मनमाया वाइबा तामाङ बिहीबार राति दोहा आएपुग्ने आयोजकले जनाएको छ । गायक राईसहितका कलाकारको स्वागतका लागि घेदुङका अध्यक्ष विकास स्याङ्तानलगायतका अन्य पदाधिकारी हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
शुक्रबार अल अरबी स्पोर्ट्स क्लबमा हुने कार्यक्रमको लागि ५०, ७५, १०० र ५०० कतारी रियाल गरी ४ तहका टिकट शुल्क निर्धारण गरिएको छ । बिहान ११ बजे गेट खुल्ने र साढे १२ बजेदेखि कार्यक्रम शुरु हुनेछ । टिकटका लागि आयोजकले अनलाइन http://www.q-tickets.com मार्फत खरिद गर्न सक्ने व्यवस्था मिलाएको छ l टिकट होल्डरहरूका लागि कतारका विभिन्न स्थानबाट यातायातको समेत व्यवस्थापन गरिएको आयोजकले जनाएको छ । मध्यान्ह दैनिक उक्त कन्सर्टका लागि सञ्चार सहयोगीका रूपमा रहेको छ l
नेपालीहरूको राष्ट्रिय पर्व, तामाङ जातिको नयाँ वर्ष मञ्जुश्री २८६० (डुक ल्हो/मु पुख्री वर्ष) अर्थात सोनाम ल्होछार प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले मनाउने गर्दछन् l मुसा, गाई, बाघ, खरायो (बिरालो), ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ । ल्होछारका १२ वटै वर्ष पशु पन्छीको नामबाट गणना गरिएकाले यस समुदायलाई प्रकृति पूजक मानिन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies