काठमाडौं : ‘१२औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०८०’ आयोजना हुने भएको छ । आयोजक एभरेष्ट नेपाल कल्चरल ग्रुपले बिहीबार राजधानीमा एक पत्रकार भेटघाट कार्यक्रम गर्दै मेलाको विभिन्न पक्षबारे जानकारी दिएको हो ।
फागुन १८ गतेदेखि २७ गतेसम्म चल्ने मेला काठमाडौं, दाङ, पोखरा र ललितपुरमा आयोजना हुने आयोजक संस्था एभरेष्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष आरसी कोइरालाले बताए ।
‘ऐतिहासिक तथा विश्व सम्पदा सूचीमा आवद्ध पाटन दरबार र हनुमानढोका दरबार जस्ता क्षेत्रमा यस्ता कार्यक्रम आयोजना गर्नाले हाम्रो ऐतिहासिक धरोहरहरुको संरक्षण र सम्वर्द्धनमा प्रत्यक्ष तथा अप्रत्यक्ष टेवा पुग्ने विश्वास लिएका छौं,’ कोइरालाले भने, ‘यसबाट देशको विविध सांस्कृतिक, पुरातत्विक र अन्य पर्यटकीय स्थलको मात्र नभइ नेपालकै विश्वसामु प्रचार–प्रसार हुने आशा छ ।’
मेलामा अष्ट्रिया, बेल्जियम, बोस्टवाना, इस्टोनिया, जर्मनी, भारत, इन्डोनेशिया, मलेसिया, पोल्याण्ड, साउथ अफ्रिका र नेपालसहित विभिन्न राष्ट्रका विभिन्न सांस्कृतिक समूहका ३५० भन्दा बढी कलाकारहरुले भाग लिनेछन् ।
नेपाल जस्तो बहुजातीय र बहुभाषिक मुलुकमा प्रत्येक जातिका आ–आफ्नै भाषा र संस्कृतिहरु रहँदै आएको बताउँदै ग्रुपले नेपाली संस्कृतिप्रति स्वदेशी भन्दा विदेशी बढी आकर्षित हुनु पर्यटन प्रवद्र्धनका दृष्टिकोणले राम्रै मान्न सकिने बताएको छ । आफ्नो पहिचान र मौलिकता बोकेका संस्कृतिप्रति स्वयं नेपाली उदासिन हुनु दुःख लाग्दो पक्ष भएको र आफ्नो मौलिकतालाई बिर्सिएर पाश्चात्य संस्कृतिमा रमाउन थालेको युवा पिढीलाई पनि यसतर्फ आकर्षित गर्न यस्तो मेला महत्वपूर्ण हुने आयोजकको भनाइ छ ।
मेला २०५८ देखि प्रत्येका २ वर्षमा नियमित आयोजना हुँदै आएको छ । शुरुवातदेखि एघारौं संस्करणसम्म मेलामा करिब ८५ भन्दा बढी देशका ८ हजार ५ सय भन्दा बढी कलाकारहरुले घर आँगनमा आ–आफनो देशको मौलिकता झल्कने झाँकीसहित विविध लोकसांस्कृतिक कार्यक्रम प्रस्तुत गरिसकेको आयोजकको दाबी छ ।
नेपाली संस्कृति उत्थान तथा सांस्कृतिक प्रर्यटन प्रवद्र्धनको आफनो अभियानलाई निरन्तता दिँदै लोक संस्कृति आदान–प्रदान गर्नुका साथै नेपालमा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्नु यस मेलाको प्रमुख उद्देश्य रहेको आयोजकले बताएको छ ।
‘यस पटकको महोत्सव अवधिभर कलाकारहरुले आ–आफ्नो संस्कृति झल्कने भेष–भुषा लगाइ सांस्कृतिक झाँकी गर्ने र आफ्नो लोकगीत, संगीत र लोक नृत्य प्रस्तुत गर्नेछन्’, आयोजक संस्थाका अध्यक्ष कोइरालाले भने, ‘काठमाडौं आसपासका विद्यालयमा गइ विदेशी कलाकारहरुले आफ्ना सांस्कृतिक प्रस्तुति दिने र विद्यालयका विद्यार्थीहरुले समेत सांस्कृतिक प्रस्तुति दिने कार्यक्रम रहेको छ ।’ यस किसिमको सांस्कृतिक आदान प्रदानले विद्यार्थीहरुमा आफ्नो लोक संस्कृतिप्रति अभिरुची बढ्ने विश्वास अध्यक्ष कोइरालाको छ । मेलाको उद्घाटन फागुन १९ गते शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुनेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies