तिलोचन गौतम/मध्यान्ह
मलेसिया : मलेसिया सरकारले गैरकानूनी हैसियतमा कार्यरत आप्रवासी कामदारहरुका लागि स्वदेश फिर्ती कार्यक्रम शुरु गर्ने भएको छ । घरफिर्ती कार्यक्रम यही मार्च १ तारिकदेखि डिसेम्बर अन्तिमसम्म १० महिना खुला गरिएको मलेसियाको अध्यागमन विभागले जनाएको छ ।
स्वदेश फर्किनलाई सम्बन्धित देशको दूतावासबाट जारी भएको म्याद नसकिएको यात्रा अनुमतिपत्र वा म्याद नसकिएको पासपोर्ट, हवाई टिकट र अवैधानिक भएबापतको तिर्नुपर्ने जरिवाना रकमसहित कामदार स्वयंले नजिकैको अध्यागमन कार्यालयमा उपस्थित भएर प्रक्रिया पूरा गर्नुपर्ने अध्यागमन विभागले जनाएको छ ।
स्वदेश फर्कन चाहने व्यक्तिले अध्यागमनमा गएको मितिदेखि १४ दिन म्यादभित्रको हवाई टिकट, अवैधानिक बसेबापतको जरिवाना रकम तिर्नलाई अनिवार्य इन्टरनेट बैंकिङको प्रयोग गर्नुपर्ने विभागले जनाएको छ ।
घरफिर्ती हुनलाई अवैधानिक कामदारले मलेसियन रिंगेट ३०० देखि ५०० सम्म जरिवाना तिर्नुपर्ने विभागले जनाएको छ । घरफिर्ती कार्यक्रम सुचारु भएसँगै अवैधानिक हैसियतमा मलेसियामा रहेका धेरै नेपाली कामदार लाभान्वित हुने भएका छन् ।
मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासले पनि धेरै नेपाली लाभान्वित हुन् भन्ने उद्देश्यले विभिन्न तरिकाले सामाजिक सञ्जालमार्फत फिर्ता प्रक्रियाका बारेमा सबैलाई सुसूचित गराइरहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies