–आर. आर. चौलागाईं
कुनै सपना छैन
कुनै योजना छैन
कुनै लक्ष्य छैन
कुनै गन्तव्य छैन
किनकि तिमी नेता ।
शहीदको रगत पिएर
तिमी बाँचिरहेका छौ
जनताको पसिना पिएर
तिमी बाँचिरहेका छौ
युवाहरूलाई खाडीमा बेचेर
तिमी बाँचिरहेका छौ
महिलाहरूलाई बम्बईमा बेचेर
तिमी बाँचिरहेका छौ
किनकि तिमी नेता ।
तिमी मान्छे मारेर आजीवन जेल परेका
हत्याराहरूलाई आममाफी दिन्छौ
तिमी निर्मला पन्तका अपराधीहरूको
प्रमाण नष्ट गर्छौ र उनीहरूलाई संरक्षण दिन्छौ
तिमी देशद्रोही, जनविरोधी, भ्रष्टाचारी
र बिचौलियाहरूको घेरामा बस्छौ
र उनीहरूको सल्लाहमा चल्छौ
किनकि तिमी नेता ।
तिमी कामको नाममा एउटा सिन्को पनि भाँच्दैनौ
बरु पटक पटक सरकार बनाउँछौ÷ढाल्छौ
बरु पटक–पटक पार्टी एकता गर्छौ÷फुटाउँछौ
आफ्नो निजी आलिशान महल बनाउनु
तिम्रो लागि नौलो जनवाद हो
आफ्ना गर्लफ्रेन्डहरूलाई सांसद र मन्त्री बनाउनु
तिम्रो लागि समाजवाद हो
निजी जमीन जोड्नु
बैंक ब्यालेन्स बढाउनु
र सुन थुपार्नु तिम्रो लागि साम्यवाद हो
रुखो बोल्छौ
गजक्क पर्छौ
श्रमजीवी जनतालाई हेप्छौ
हामीजस्ता कविहरूको खेदो खन्छौ
किनकि तिमी नेता ।
तिम्रो महिमा हजार जिब्रा भएका
शेषनागहरूले पनि बताउन सक्दैनन्
कुनै पनि हैसियत नभएको
म जाबो एउटा तुच्छ रैतीले के भन्न सकुँला र !
तिम्रो बारेमा जति बोलेपनि थोरै हुन्छ
तिम्रो बारेमा जति लेखेपनि थोरै हुन्छ
किनकि तिमी नेता ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies