–रीता ताम्राकार
ऊ .... अर्थात् अस्मिता ! आज उसको विवाहमा जानुपर्ने । एउटा राम्रो र गतिलो उपहार किनेर ल्याएकी छु । हतारिएका छन् मेरा नयनहरू उसलाई बेहुलीको रूपमा देख्न । “अस्मिता, बधाई छ है तिमीलाई । साथमा तिम्रो दाम्पत्य जीवन फलोस् फुलोस् त्यसका लागि शुभकामना !” उपहार अस्मिताका हातमा राखिदिए ।
आफ्ना ठूला–ठूला मृगनयनी आँखामा श्रृङ्गार थपिएर अत्याधिक मनमोहक देखिएको छ । त्यसलाई पर्लक्क पल्टाएर हेरिन् । हेर्दाहेर्दै त्यो मृगनयनी आँखामा अश्रुरूपी अमृत रसायो र मलाई लाग्यो, त्यो आँसु भन्दैछ, “मेरो सुख दुःखको साथी, संघर्षको साक्षी । जीवनरूपी पुस्तकको गहिरो अध्ययन गर्ने एक मात्र पाठक । म आज तपाईंदेखि टाढा हुँदैछु । तैपनि तपाईं खुशी हुनुहुन्छ ?” झसङ्ग भएँ । मेरो आँखामा पनि दुई थोपा मोती बस्यो, ऊप्रति स्नेह श्रद्धा स्वरूप ।
मलाई नजिक बस्न अनुरोध गरी । म ऊसँगै गएर बसेँ । वैवाहिक कार्य सुखद हुँदाहुँदै छोरी विदाई गर्नुपर्ने पीडायुक्त कार्य । विस्तारै मेरो हात समाती उसले । कता–कता लाग्यो उसको आँखाले भन्दा बढी कुरा स्पर्शले गरिरहेछ ।
अरूको बारेमा त भन्न सक्दिन तर, म कुनै त्यस्तो दृश्य देख्छु जुन विस्मयकारी छ । अस्वभाविक छ र मार्मिक पनि छ । त्यसलाई गहिरोसँग जान्न र बुझ्न उत्सुक बन्छु । रोक्न सक्दिन आफ्नो उत्सुक उत्कण्ठालाई । मैले लगाउने बन्धन वा अंकुशभन्दा धेरै पर उछिट्टिन्छ मेरा जिज्ञासाहरू । मेरो वेगभन्दा धेरै वेगवान हुन्छ, उसको गति ।
अस्मितारूपी पुस्तकको पहिलो पाना यसरी पल्टेको हुन्छ मेरा अगाडि । पछाडि आङ्गमा सानो बच्चालाई ओढ्नेले बाँधेर आफ्नो शरीरभन्दा धेरै गुणा थुप्रो थुपारिएको माटो खुट्टाले क्याच क्याच मिचिरहेकी हुन्छे आँसु पुछ्दै नौ÷दश वर्षकी एक बालिका ।
हिँडदा हिँडदै मेरो पाइला रोकिन्छ । निर्मिमेष दृष्टिले त्यो जीवन बाँच्ने क्रमको कटु सत्यपक्षलाई निहारिरहेकी हुन्छु । अचानक कानमा ठोकिन्छ “तेरी आमा मरी भनेर रुँदै काम गरेकी हो कि बाबु म¥यो भनेर ? बाबुको काट्टो र आमाको लादी घिच्नु परेपछि काम गर्न पर्दैन ? त्यस्तै काम गर्न मन नहुनेले गरिबको घरमा जन्म किन लिनु ? लखपतिको घरमा लिए हुन्थ्यो नि ... । राँडी बिहान बिहान मेरो मूत आँखाबाट झारेर अलच्छिना जोगाउँछे ।”
अभावमा पिल्सिएर कर्कश बनेको आवाज । ममता, स्नेह ताकमा थन्क्याएर निर्मम बन्न बाध्य लाचार आवाज । वात्सल्यले लपक्क भिजेको आवाजलाई जितेर निस्केको दरिद्रताको निर्दयी आवाज । म खङ्र्गङ्ग भएँ । अझ उसलाई नियालेँ । ऊ झन् छिटोछिटो खुट्टा चलाइरहेकी छे र त्यही गतिमा आँशु पनि पुछिरहेकी छे ।
मन कस्तो कस्तो भयो । विरक्तिपनले मन निमोठियो । छिनभरि कामको व्यस्तताबीच पनि उसको आँशुले भिजेको मुहार नाचिरह्यो आँखामा । देशमा विद्यमान गरिबी र बेरोजगारी आएर हाँसी रह्यो मनमा । गरिबी हटाउँछु देश बनाउँछु, जनतालाई रोजगार दिलाउँछु । भनेर कुर्लने स्वार्थी नेताहरूको आवाज गुन्जिरह्यो कानमा । मनभरि तिक्तता भरियो ।
साँझ घर फर्कन अलि ढिला भयो । त्यहीँ आइपुगेपछि हेर्छु छैन बिहानको दृश्य । पाइला अलि अघि बढेपछि अझ अचम्मको दृश्य देख्छु । अस्मितारूपी पुस्तकको अर्को पन्ना । ऊ तान्दैछे एक मातेको मत्थुलाई, जो सम्भवतः उसको बाबु हुनुपर्छ । एक पिलन्धरे बालिकाले त्यस्तो ठूलो मान्छे जसमा रक्सीको बल थपिएको छ कहाँ तान्न सक्नु ?
“चुप लागेर घर हिँडनु... । हिँडनु भन्दैछु ।” रुँदै तान्दैछे । कहिले हात समातेर, कहिले लुगा समातेर । देख्दैछु, भएभरको बल लगाउँदा पनि आफ्नो लक्ष्य प्राप्त रत्तिभर भएको छैन उसलाई । “छोड् ... । म जान्न घर । म त्यसलाई छाड्दिन । त्यसले मलाई हेपेको ? मेरो गरिबीको खिल्ली उडाउने त्यो ? के खाएको छु त्यसको बाबुको मैले । छोड् म त्यसको टाउको फुटाउँछु । छोड् मलाई ।” बाबु चाहिँ छुटाउँदैछ छोरीको पकड । छोरीले छाड्न नमान्दा घरिघरि छोरीलाई पिट्नसम्म पछि परेको छैन त्यो । जड्याहा !
देख्दा बडो मर्मस्पर्शी छ त्यो दृश्य । मन कटक्क दुख्ने । धेरैबेरसम्म तान्ने र छोडाउने क्रमपछि पनि कसैले गन्तव्य भेट्न सकेनन् । वरपर घरमा शान्ति बिथोलिएछ क्यार । नजिकैको घरबाट एउटी महिला निस्केर मज्जाले हप्काइन जँड्याहालाई ! “ए मतुवा ! लाज छैन ? हेर बालक छोरीले घर लान त्यत्रो बल गर्दा पनि बाबु भएर गति छाडेको । कुकुरको मुत धोकेर साथीभाइसँग झगडा गर्दा भोलि बोल्नु पर्दैन फर्केर ? जा... चुपचाप छोरीसँग घर जा । किन पिर्छस् स्वास्नी छोराछोरीलाई । जा खुरुक्क ।” महिलाको खप्कीले मतुवाको मुख बन्द नभए पनि पाइला बढ्यो घरतर्फ ।
मेरा लागि ऊ अब बेला–बेला सम्झनु पर्ने बालिका बन्न पुगी । उसलाई लिएर अब मेरो मनमा दयनीय भावमात्र छैन । उसका लागि मेरो मनमा अरू बच्चाहरूको भन्दा दुई तहमाथि ठाउँ छ । त्यो दिन अझ उच्च बनेकी थिई ऊ मेरो नजरमा । दुईजना भाइ अघि लगाएर किराना दोकान आइपुगेकी थिई ऊ पनि, जहाँ आफ्नो काम लिएर म पहिला नै उपस्थित थिए ।
“दुईवटा कपी र दुईवटा डट्पेन दिनुस्न अंकल” उसले मागी । तीनै दिदीभाइलाई मज्जाले नियाले मैले । मैले पढ्ने चाखलाग्दो पुस्तक अस्मिता ।
एउटा मैलो थोत्रो सर्ट र त्यसैलाई सुहाउँदो जामा लगाएकी छ । कपालमा तेल र काईंयोले धेरै दिनदेखि नदेखेजस्तो । हातगोडामा हिलो माटोको सुकेको दागहरू । उसले मसँग आँखा जुधाई आँखा भरि हाँसो भरेर । कति सजीव, कति राम्रा आँखा म दङ्ग परें । उसको हाँसोको जवाफ मधुर मुस्कान र ममत्वभरि नजरले दिएँ र एकनजर उसका दुवै भाइहरूमाथि सोझ्याएँ । उनीहरू पनि दरिद्रताको प्रतीक नै थिए । एक एक थोत्रा सर्ट र त्यस्तै थोत्रिएका सुरुवालमा छन् । गोडामा चप्पल तीनैजनासँग छैन ।
“दिदी ! चकलेट किनिदे न ... ।” भाइहरूको आग्रह ।
“अँ ... । यो पैसा फिर्ता लगेन भने बुबाले मार्दैनन् । चुप लागेर जाओ ।” दिदी चाहिंको अर्डर । भाइहरूको पुनः विरोध ।
अन्ततः दिदीले अभिभावकत्वको खास्टो ओढेर एक एक मिठो मुड्की भाइहरूको ढाडमा कस्दै चकलेट किनिदिई । भाइहरू उफ्रदै गए स्कुल । ऊ आँखाभरि ममता र तृष्णा बोकेर भाइहरू हिडेंको गोरेटो निहार्छे ।
“अस्मिता ! तिमीचाहिँ जान्नौ स्कुल ?” म सोध्छु । जान्नको संकेतमा ऊ टाउको हल्लाउँछे ।
“किन नगएकी ? पढ्नु पर्दैन ? तिम्रा बुबाआमाले तिमीलाई पढ्न जाऊ भन्दैनन् ?” सायद अनाहकमै मैले अस्मितालाई बढी प्रश्न गरें कि ? आफ्नै प्रश्नमाथि शंका लाग्छ । फेरि देख्छु, मेरो प्रश्नले औंशिको रातजस्तै अँध्यारिएकी छे अस्मिता ।
थकथक लाग्छ व्यर्थै एउटी बच्चीलाई दुःखी बनाएकोमा ।
“अस्मिता ! रिसाएकी मसँग ?” म मसिनो स्वरमा भन्छु । पुलुक्क हेर्छे मतिर । अहो ! कति व्यथा र तृष्णा बोकेका आँखाहरू । तर पनि निराश छैन । थकित छैन । आशा छन् सल्बलाएका आँखाभरि । जीवनप्रति मोह बोकेका छन् ती आँखाले ।
“होइन दिदी ! किन रिसाउनु ? मेरो भाग्यमा पढ्ने लेखेकै छैन । म स्कुल गएँ भने कसले घरको काम गर्छ ? कसले भाइ हेर्छ । बुबा रक्सी खाएर मात्छ सधैँ । आमा र म भएर माटाका भाँडा बनाउँदै हाटबजारमा बेच्छौ । त्यसैबाट गुजारा गर्नुपर्छ । मलाई पढ्ने रहर त धेरै छ तर पढ्न नपाएकामा दुःखी छुइन । आफुले पढ्न नपाए पनि भाइहरू त गएका छन् पढ्न । खुशी छु म ।”
अहो ! कस्तो महानता, कस्तो त्याग । कस्तो सकारात्मक सोचको कुरा । यो सानो उमेरमा कत्रो परिपक्वता, कत्रो सुझबुझ । मेरो दृष्टिमा ऊ अझ उच्च बन्न पुगी । उसको कुराले मभित्र पारिलो घामको न्यानो किरण छरियो । मैले गदगद हुंदै उसको शिर मुसारे निःशब्द । मेरो स्पर्शमा के पाई कुन्नि मसक्क मस्की मुस्कुराउँदै ।
सन्तुष्टिको आभास मुहारभरि पोत्दै “जान्छु ल दिदी ! सानो भाइले मलाई खोज्यो होला । खाना खाएर माटाका घैंटाहरू हटिया लानुछ ।” रमाउँदै पुतली जस्तो उडी उडी घुम्ने उमेरमा व्यवहारमा चुर्लुम्म डुबेकी छे मेरो पुस्तक । म हेरिरहन्छु ऊ उफ्री–उफ्री घर फर्केको ।
एकदिन देख्छु, अस्मिता खुल्ला रिक्सामा अलिकति माटाका भाँडा राखेर त्यसैमा आफ्ना भाइहरू राखेर मरिमरि रिक्सा तान्दैछे । उठीउठी साह्रै कष्टसँग रिक्साको पाइडल चलाउँदैछे । कठै ! मेरो मन उसको स्थितिमाथि हाहाकार गर्न पुग्छ । लाग्यो छोरीका लागि समय आज पनि कुहिरोभित्रै रहेछ ।
अस्मिताले सामान सँगसँगै भाइहरूलाई पनि रिक्सामा राखेर मरिमरि तान्नु उसको विवशता थियो कि रहर ? किन स्कुल जान सक्ने भाइहरूले दिदीले नसकी नसकी चलाइरहेको रिक्साबाट ओर्लेर पछाडिबाट रिक्सा ठेलेनन् ? यो पुरुषले नारीमाथि गर्ने अन्याय र शोषणको प्रतीक हो कि अथवा दिदीको भाइप्रतिको माया ? वा नारी आफू पूर्णमानव हुनुको स्वअस्तित्व पहिचानको कमी ? मेरो टाउको रिङ्ग्याउँछ फनफनी । प्रश्नहरू मनमा उठ्छन्, जवाफको अभावमा माकुराको जालोजस्तै जेलिँदै जान्छ । जुन प्रश्नको उत्तर छैन । जुन प्रश्नको औचित्य छैन । त्यो प्रश्न दोहोर्याई रहनु किन ? आफैंसँग झनक्क रिस उठ्छ ।
अस्मिताको संघर्षलाई न त शीतले छेक्यो न त रापले । न त उज्यालोले रोक्यो, न त अँध्यारोले । उसको संघर्ष अनवरतरूपमा जारी छ, निरन्तर जारी छ । ऊ विस्तारै हुर्कँदै गई । पूर्ण यौवनाको रूपमा फक्रन नपाई संघर्षको जीवनबाट दाम्लो फुकाएर व्यवहारको किलामा बाधिँदैछन् उसलाई । उसले स्वतन्त्र भएर दुईपल सुखभोग कहिले गर्ने ?
“दिदी ! मलाई नबिर्सनुस् है ... ।” अवरुद्ध कण्ठमा आग्रह गर्छे ऊ । म झसङ्ग हुन्छु । म त अतितको बादलमा चरी बनेर फन्को मार्दै रहेछु । उसको अवरुद्ध कण्ठले म नमिठो गरेर दुख्छु । र उसलाई थुमथुम्याउँदै थर्थराएको स्वरमा भन्छु !
“अस्मि ! म तिमीलाई कहिले बिर्सन सक्दिन । तिमी त त्यो पुस्तक हौ, जसलाई मैले धेरै गहिरिएर अध्ययन गरेकी छु । तिमी संघर्ष र त्यागकी साक्षात् प्रतिमा । तिमीले यो घरलाई जसरी धानेकी थियौ, त्यसरी नै अब भित्रिने घरलाई पनि धान्नुपर्छ तिमीले । मेरो आशीर्वाद छ तिमीलाई । तिमीलाई म जीवनको हरेक उकाली ओरालीमा सम्झिरहने छु अस्मि ।” म उसको शिरमा हात राख्छु ।
ऊ तरक्क रुन्छे । मन मेरो धमिलो बन्छ । तर पनि बल गरेर आँसु थाम्छु । धेरैबेर त्यहाँ बस्न मेरा लागि कष्टप्रद हुन्छ । म निस्कन्छु बाहिर । देख्छु, आज पनि उसको जँड्याहा बाबुको ताल उही छ । जुन वर्षौं पहिले थियो । तर, उसकी आमाको आँखा छोरीको विछोडको कल्पनामा टोलाएको छ । हुन पनि ती महिलालाई साथ र सहारा थियो एकमात्र छोरीको । बाबु त बाबु भइहाले, छोराहरू सानै छन् ।
घरतिर लम्कदै म फेरि एकपटक सोच्न बाध्य भएकी छु । मेरो दृष्टिमा महान् बनेकी उसले त्यो घर छाडेपछि के होला त्यो घरको हालत ? कसरी चल्ला त्यहाँको व्यवहार ? ऊ नै सर्वस्व थिई त्यो घरका लागि । ऊ नै लक्ष्मी । ऊ नै सरस्वती र ऊ नै दुर्गा थिइ त्यो घरको । छोरी भएर पनि छोरा थिई ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies