काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठानले 'प्रज्ञा गजल महोत्सव-२०८०' सम्पन्न गरेको छ । प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले पानसमा बत्ती बालेर प्रज्ञा गजल महोत्सव-२०८० को उदघाटन गरेका थिए ।
सो अवसरमा कुलपति राईले कवि र गजलकारले आफ्नैविरुद्ध उभिएर पनि सिर्जना गर्ने गरेको तथा कवि र गजलकार प्रायः भ्रष्ट हुँदैन भन्ने धारणा राख्दै महोत्सवमा सहभागी गजलकारलाई प्रमाणपत्र प्रदान गरेका थिए । प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले गजल महोत्सवलाई आगामी दिनमा अझ व्यापक र प्रभावकारी बनाउने उल्लेख गरे ।
प्रज्ञा प्रतिष्ठान प्राज्ञ परिषद् सदस्य तथा काव्य विभाग प्रमुख बाबा बस्नेतले गजलले साहित्यिक विधामा बृहत् रूप धारण गरिसकेको बताए । यस विधाको खोजअनुसन्धान हुनुपर्नेमा उनले जोड दिए । समालोचक प्रभाती किरणले 'वर्तमान नेपाली गजल' शीर्षकको कार्यपत्र प्रस्तुत गरेका थिए भने टिप्पणी गजलकार करुण थापाले गरेका थिए ।
प्रज्ञा गजल महोत्सवमा शान्ति शर्मा, रूपक वनवासी, गणेशबाबु अधिकारी, दिलकुमारी मगर, विद्यानिर्दोष पहाडी, सागर रिमाल, ललिजन रावल, रवि प्राञ्जल, प्रा डा सनतकुमार वस्ती, डा. देवी पन्थी, रामबहादुर पहाडी, माधव खतिवडा, ज्ञानु विद्रोही, राधा कँडेल, विपिन मर्म, अर्पणा आपागाई, सुशीला श्रेष्ठ, सिद्धनारायण आचार्य, मुक्त उदास, अन्जान यात्री, आँचलकुमार शर्मा र सुशीला शर्माले नेपाली भाषामा गजल वाचन गरेका थिए । यसैगरी लिम्बू भाषामा स्वप्निल स्मृति, मैथिलीमा धीरेन्द्र प्रेमर्षि, तामाङमा ईश्वर थोकर, नेपालभाषामा रामगोपाल आशुतोष, अछामीमा सागर रिमाल, उर्दुमा इम्तियाज बफालगायतले गजल वाचन गरेका थिए । कार्यक्रमको सहजीकरण गजलकार बाबु त्रिपाठीले गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies