काठमाडौं : नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले वैदेशिक रोजगारीमा जानेहरुलाई ६ महिने विषयगत तालिम दिनुपर्ने बताएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद आचार्यले वैदेशिक रोजगारीमा जान चाहनेलाई ६ महिने विषयगत तालिमको व्यवस्था गर्नुपर्ने बताए ।
त्यस्तो तालिम नि:शुल्करुपमा दिने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । विदेश जाने प्रक्रियाका पासपोर्ट लिने, स्वास्थ्य जाँच गर्ने, रोजगार अनुमति प्राप्त गर्ने, आवश्यक तालिम दिने र अभिमुखीकरण प्रशिक्षण गर्ने लगायत सबै काम जिल्लाबाटै हुने व्यवस्था गर्नुपर्ने आचार्यले बताए । विदेश जान चर्को ब्याजमा ऋण लिने गरिएको भन्दै उनीहरुलाई सहुलियत दरमा जिल्लाबाटै बैंक मार्फत् ऋण उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।
‘वैदेशिक रोजगारमा जान चाहनेलाई सरकारले पासपोर्ट लिने, स्वास्थ्य जाँच गर्ने, रोजगार अनुमति प्राप्त गर्ने, आवश्यक तालिम दिने, अभिमुखीकरण प्रशिक्षण गर्ने, सबै काम जिल्लाबाटै हुने व्यवस्था गर्नुपर्दछ’ आचार्यले भने, ‘तालिम प्राप्त कामदारहरुको आय दुई गुणा बढी हुन्छ । संघीय सरकारले प्रत्येक पालिकामा वैदेशिक रोजगारमा जान चाहने कामदारहरुलाई निःशुल्क विषयगत तालिमहरुको व्यवस्था गर्नुपर्दछ ।’
सांसद आचार्यले थपे, ‘६ महिने विषयगत तालिम नलिएका व्यक्तिहरुलाई वैदेशिक रोजगारीमा जान नपाउने व्यवस्था गर्नुपर्दछ । वैदेशिक रोजगारीमा जाने कामदारले साहुबाट महँगो ब्याजमा ऋण लिन्छ । कतिपय मिटरब्याजीको फेला पर्छ र आफ्नो घरबास, जमिन गुमाउँछ । वा आफुले कमाएको सबै पैसा तिर्दा पनि ऋणबाट मुक्त हुन सकेका छैनन् ।’
यस्तो अव्यवस्थालाई अन्त्य गर्न सरकार लाग्नुपर्ने उनले बताए । ‘यस्तो अव्यवस्थाको अन्त्य गर्न सरकारले त्यहाँ जान चाहने देशभित्र कुनै विकल्प नभएका वैदेशिक रोजगारीमा जानैपर्ने बाध्यात्मक अवस्था भएका व्यक्तिहरुलाई सहुलियत दरमा जिल्लाबाटै कुनै बैंक मार्फत् रकम उपलब्ध गराउनुपर्दछ । त्यसो हुँदा उनीहरु ठगिने सम्भावना कम हुन्छ’, आचार्यले भने ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies