काठमाडौं - उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले तत्काल पूर्वसभामुख कृष्णबहादुर महरासहित प्रतिवेदनले औंल्याएका निजामती तथा प्रहरी कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएका छन् ।
आइतबार मन्त्रालयमा भएको छलफलमा लामिछानेले सुनको अवैध पैठारी तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।
आइतबार बिहान गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँबर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई लामिछानेले आयोगको प्रतिवदेन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका हुन् । यसअघि बिहीबार सुनको अवैध पैठारी तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको आयोगले बिहीबार गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको हो। करिब ५ महिनाको छानबिनपछि आयोगले बनाएको प्रतिवेदन ४८५ पृष्ठ, १३ अनुच्छेद र ९ अनुसूची रहेको छ ।
९ वटा भन्सार नाकाको स्थलगत अनुगमन, ६८ व्यक्तिसँगको बयान र ६१ विज्ञसँगको परामर्शका आधारमा प्रतिवेदन तयार पारिएको आयोगले जनाएको छ । आयोगले केही व्यक्तिविरुद्ध मुद्दा चलाउन सिफारिससमेत गरेको छ । विभागीय कारबाही, सीडीआर डीएफएलमा नियमित देखिएका व्यक्तिको सूची र निर्दोष देखिएका व्यक्तिको नामावली प्रतिवेदनमा समेटिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जाँचबुझ आयोगले गरेको सिफारिस कार्यान्वयन गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेलाई निर्देशन दिएका थिए । त्यस्तै गृहमन्त्री लामिछानेले बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सरकार मातहत ल्याउने प्रकृया पनि तत्काल सुरु गर्न निर्देशन दिएका छन् ।यस विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies