दिवाकर अधिकारी/मध्यान्ह
काठमाडौं : प्रमुख प्रतिपक्षमा पुगेपछि नेपाली कांग्रेसभित्र नेतृत्वको विषयमा बहस हुन थालेको छ । नयाँ नेतृत्वका लागि शेखर कोइराला, शशांक कोइराला, पूर्णबहादुर खड्का, बिमलेन्द्र नीधि, गगन थापा लगायतले सक्रियता बढाएका छन् । कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह लगायत नेताहरु पनि सभापतिका आकांक्षी छन् ।
कांग्रेसको विधानतः पार्टीको १५औं महाधिवेशन २०८२ मंसिर मसान्तभित्र हुनुपर्छ । गत फागुन ७ देखि १० गतेसम्म राजधानीमा बसेको महासमिति बैठकमा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै महामन्त्री गगन थापाले समयमै महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए । जसलाई महासमिति बैठकले स्वीकार गरेको छ ।
फेरि विधानतः सभापति शेरबहादुर देउवा भने त्यो महाधिवेशनमा फेरि नेतृत्वका लागि दावी गर्न पाउँदैनन् । कांग्रेसमा लगातार दुई पटक भन्दा बढी सभापति हुन पाउने व्यवस्था छ । त्यसैले नेतृत्वमा दावी नगर्ने देउवालाई मनाएर नेतृत्व हत्याउन नेताहरुको होड नै चलेको छ ।
नेताहरुका अनुसार सभापति देउवाले कसलाई विश्वास गर्छन् उसले कांग्रेसको नेतृत्व पाउने सम्भावना बलियो रहन्छ । यसकारण सभापतिका आकांक्षीहरु देउवालाई रिझाउन लागिपरेका छन् ।
पूर्वमहामन्त्री डा. शशांक कोइरालाले सार्वजनिक रुपमै १५औं महाधिवेशनमा पार्टी सभापति हुने गरी अघि बढेको बताएका छन् । आइतबार रामेछापमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले सभापति बनेर नयाँ ढंगले पार्टी सञ्चालन गर्ने योजना रहेको बताएका हुन् । ‘तपाईंहरूको आग्रह जायज छ, सोही अनुसार म नेतृत्वका लागि अघि बढ्छु । सभापति बनेर अहिलेभन्दा भिन्न ढंगले पार्टी चलाउने मेरो योजना छ’ उनले भने ।
अहिलेको समयमा पार्टी चलाउने शैलीमा परिवर्तन आवश्यक रहेको र आफू कांग्रेसको नेतृत्वका लागि योग्य रहेको उनको भनाइ छ । अर्थात् नेताहरुले खुलेरै १५औं महाधिवेशन केन्द्रित गतिविधि गर्न थालेका हुन् ।
राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेका अनुसार, वर्तमान सभापति देउवा अबको महाधिवेशनपछि स्वभाविक रूपमा अवकाशमा जान्छन् । त्यसकारण भावी नेतृत्वबारे छलफल हुनु स्वाभाविक हो ।
वाग्लेका अनुसार सभापति देउवाले उत्तराधिकारी तोक्ने सम्भावना कम छ । यदि देउवाले उत्तराधिकारी घोषणा गरे नेता÷कार्यकर्ताहरूले विवेकसम्मत निर्णय गर्छन् । उत्तराधिकारी घोषणा गरेनन् भने सभापतिका सबै आकांक्षीहरु उनको नजिक हुन खोजिरहन्छन् ।
कांग्रेसको महासमिति बैठकपछि नेताहरुबीच चियापान गर्ने होडबाजी नै देखिएको थियो । पूर्वउपसभापति शशांक कोइरालाले आयोजना गरेको चियापान कार्यक्रममा आयोजक शशांक र धन्यवाद सभापति देउवाले दिएका थिए । यस्तो दृश्य देखिनुको कारण पनि देउवासँग नजिक हुने र विश्वास जित्ने प्रयास भएको नेताहरु बताउँछन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies