इसत्याक अहमद/मध्यान्ह
काठमाडौं : नेपालका लागि यूएईका राजदूत अब्दुल्लाह जरवान अल् शम्सीले नेपालको विकास, निर्माण र शैक्षिक क्षेत्रको उन्नतिका लागि सहयोग गर्न यूएई इच्छुक रहेको बताएका छन् । मुस्लिम आयोग र नेपालस्थित यूएई दूतावासको संयुक्त आयोजनामा होटल याक एण्ड यतिमा शनिबार सम्पन्न इफ्तार डिनर कार्यकममा राजदूत शम्सीले उक्त धारणा राखेका हुन् ।
प्रत्येक मुस्लिम हिज्री संवतको नवौं महिना रमजानमा महिनाभर ब्रत बस्ने प्रचलन छ । उनले इस्लाम धर्मका पाँच स्तम्भमध्ये रमजान महिनामा हुने ब्रतले ब्रतालुलाई संयमता र नैतिक शिक्षाको प्रयोगात्मक प्रशिक्षण प्रदान गर्ने बताए ।
मुस्लिम समुदायले यो महिनाभर बढीभन्दा बढी उपासना, दान, कुरआन पाठ आदि गर्छन् । महिनाभर एक–अर्का ब्रतालुहरुलाई साँझ इफ्तारमा निम्तो दिने गर्छन् । नेपालस्थित मुस्लिम राष्ट्रका दूतावासहरूले पनि इफ्तार डिनर गराउने गर्छन् । साँझ सूर्यास्त हुनासाथ ग्रहण गरिने भोजनलाई अरबीमा इफ्तार भनिन्छ ।
राजदूत शम्सीले यूएई–नेपालबीचको सम्बन्ध राम्रो रहेको र आगामी दिनमा विभिन्न कार्यक्रम र योजनामार्फत संयुक्तरूपमा काम गर्दै अगाडि बढ्ने बताए । यूएईले विकास निर्माण, शिक्षा र सामाजिक क्षेत्रमा काम गर्दै आएको बताए । उनले वैश्विक स्तरमा भएका समस्याहरूको न्यूनीकरण र दीगो विकासको क्षेत्रमा यूएईले ठोस कदमहरू उठाएको बताए ।
पर्यावरणलगायतको वैश्विक चासोका विषयमा यूएई सरकार गम्भीर भइ काम गरिरहेको भन्दै राजदूत शम्सीले यूएईले वैकल्पिक उर्जाको क्षेत्रलाई विकासको वैकल्पिक मार्ग बनाउँदै लगेको बताए ।
यूएई धार्मिक सहिष्णु मुलुक भन्दै राजदूत शम्सीले धार्मिक सद्भावका लागि यूएईले हिन्दूका लागि मन्दिर, इसाइका लागि चर्च आदि निर्माण गरेको उनले बताए । त्यस्तै उनले यूएईमा हुने विश्व कुरआन पाठ प्रतियोगितामा नेपाली हाफिजहरू पनि भाग लिइरहेको जानकारी दिए ।
स्वागत मन्तव्य राख्दै मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले नेपाल–यूएई सम्बन्ध गहिरिँदै गएको बताउँदै यसलाई थप मजबुद बनाउन मुस्लिम आयोगले थप भूमिका खेल्ने बताए ।
उपराष्ट्रपति रामसहाय यादवको प्रमुख आतिथ्यतामा सम्पन्न इफ्तार कार्यकममा रक्षामन्त्री हरिप्रसाद उप्रेती, राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेश तिमिल्सिना, पूर्वमन्त्री मोहम्मद जाकिर हुसैन, पूर्वसांसद रुही नाज, नेपालस्थित विभिन्न दूतावासका कूटनीतिक अधिकारी र सयौं मुस्लिम अगुवा तथा बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies