तिलोचन गौतम/मध्यान्ह
क्वालालम्पुर : एक जना नेपाली सुरक्षागार्डले आफ्नो पेशाप्रतिको इमान्दारिता र निष्ठा कायम गर्दा मलेसियामा सिंगो नेपाली समुदाय र सुरक्षागार्डको प्रतिष्ठा बढाएको छ । ड्युटीमा इमान्दारिता र निष्ठा कायम गर्ने नेपाली सुरक्षागार्ड व्यक्तिगतरूपमा रोजगारदाता कम्पनीद्वारा सम्मानित भएका छ्न् भने त्यसले मलेसियामा नेपाली सुरक्षागार्ड अर्थात ‘गोर्खा’प्रतिको विश्वसनीयता थप बढाएको छ ।
नेपाली गोर्खा सैनिकहरूले प्रथम र दोस्रो विश्वयुद्धमा आफ्नो ज्यानको बाजी लगाएर देखाएको साहस, वीरता र इमानदारिताबाट प्रभावित मलेसियाले सुरक्षागार्ड नेपालबाट मात्रै लिने निर्णय गरेको छ । पछिल्लो पटक गत हप्ताको घटनाले मलेसियामा नेपाली सुरक्षागार्डको छवि थप उज्यालो बनेको छ ।
मलेसियाको दामानसारामा अवस्थित एक सपिङ मलमा कार्यरत नेपाली सुरक्षागार्ड दावा शेर्पाले कसैले भुलबस छोडेको ५ लाख मलेसियन रिंगेट करिब डेढ करोड नेपाली रुपैयाँ भएको झोला इमानदारीसाथ प्रहरी कार्यालयमा बुझाएबापत उनको इमानदारिताको उच्च कदर गर्दै रोजगारदाता कम्पनीले प्रशंसापत्र, उपहार र पुरस्कारसहित सम्मानित गरेको छ ।
३९ वर्षीया दावा विगत ४ वर्षदेखि ए–फाइभ सेक्युरिटी सर्भिसेज कम्पनीमा आबद्ध रही काम गर्दै आएका थिए । उनी बौद्ध महॉकालस्थित ए एन एस एसोसिएट्स प्रा.लि. बाँट सुरक्षा गार्डमा मलेसिया गएका थिए । सुरक्षागार्ड कम्पनीका निर्देशक हरदीप सिंहले ‘परिस्थितिलाई सम्हाल्ने तरिका र प्रक्रिया अपनाएकोमा दावाप्रति आफूले गर्व गरेको बताए । उनले भने, ‘हामी उनको इमानदारिताको धेरै प्रशंसा गर्छौं । झोलामा रहेको ठूलो रकम सुरक्षितरूपमा प्रहरीलाई जिम्मा लगाउने उहाँको कामका लागि हामी कृतज्ञ छौं, त्यसैले हामी उहाँलाई पुरस्कृत गर्दैछौं ।’
निर्देशक हरदीपले दावालाई कम्पनीको उत्कृष्ट सुरक्षागार्डको रूपमा प्रशंसा गरे । उनले दावा आगामी वर्षसम्म साथमा रहने विश्वास व्यक्त गरे । उनले भने, ‘मलाई आशा छ कि हामीले उहाँको यहाँ बस्न मिल्ने अनुमतिपत्र भिसा विस्तार गरेर थप गर्न सक्छौं, हामीलाई उहाँजस्ता इमानदार मानिसहरू चाहिन्छ ।’
दावाले दमनसराको सपिङ मलमा ड्युटीमा रहेको बेला पैसाले भरिएको झोला फेला परेपछि आफूले कम्पनीमा लिएको तालिम र तालिममा सिकेको कुरो याद आएको सम्झिँदै प्रहरीलाई जिम्मा लगाएको बताए । उनले भने, ‘मैले झोलामा कति रकम छ भनेर पनि सोचिनँ, मैले मेरो ड्युटीको काम पूरा गरें ।’
सेलाङ्गर राज्यका प्रहरी प्रमुख हुसेन ओमर खानले दावाको प्रशंसा गर्दै उनले बिना विलम्ब स्थानीय समयअनुसार बिहान ८ बजे नै सपिङ मलको कार पार्कमा सुटकेस फेला पारेको रिपोर्ट दिएको बताए । फेला परेको उक्त रकम गुमाउनेले प्रमाण पुर्याएर प्रहरी चौकीमा निवेदन दिए रकम फिर्ता पाउने, तर कसैले सो रकम दाबी नगरेमा भने कारबाहीका लागि अदालतमा बुझाइने प्रहरी प्रमुख खानले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies