छवि सापकोटा/मध्यान्ह
काठमाडौं : कर्मचारीतन्त्रमा सेवा गर्ने वा जागीर खाने उमेर हदको व्यवस्था छ । यदाकदा राजनीतिक दलहरुको नेतृत्वको लागि समेत उमेरहदको विषय बहसमा आउँछन् । बैंक र व्यावसायमा उमेरहदको व्यवस्था छैन ।
तर, अब बैंकको सञ्चालक हुनका लागि ७० वर्षे उमेरहद लाग्ने गरी सरकारले कानुन बनाउन लागेको छ । यसका लागि अर्थमन्त्री वर्षमान पुनले बैंकको सञ्चालक हुन ७० वर्षे उमेरहद राख्ने प्रस्तावसहितको विधेयक संसदमा लगेका छन् ।
गत बिहीबार प्रतिनिधि सभामा दर्ता भएको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा बैंकको सञ्चालक हुन २५ भन्दा कम उमेर र ७० वर्ष भन्दा बढी उमेर हुन नहुने प्रस्तावित व्यवस्था छ । यो विधेयक संसदले जस्ताको तस्तै स्वीकार गरे बैंकको सञ्चालक हुनका लागि ७० वर्षे उमेरहद लाग्नेछ ।
‘प्रचलित ऐनको दफा १८ को उपदफा १ मा यस सम्बन्धी व्यवस्था राख्न प्रस्ताव गरिएको छ । जहाँ ‘पच्चीस वर्ष पूरा नभएको र सत्तरी वर्ष उमेर नाघेको’ व्यक्ति बैंकको सञ्चालक हुन अयोग्य हुने भनिएको छ । यसो गर्नु पर्नाको कारणमा भनिएको छ, ‘सञ्चालकको मनोनित वा निर्वाचित उमेर किटान गर्न आवश्यक भएकोले..।’
प्रतिनिधि सभामा दर्ता भएको विधेयक संसदहरुलाई वितरण हुन्छ । त्यसपछि संसदमा पेश हुन्छ । सुरुमा संसदमै विधेयकमाथि सैद्धान्तिक छलफल हुन्छ । संसदले सैद्धान्तिक छलफल पछि विधेयक अगाडि बढाउन स्वीकृति दिएको खण्डमा सांसदहरुका लागि संशोधन प्रस्ताव गर्ने मौका दिइन्छ । सांसदहरुले कुनै पनि विधेयकमाथि संशोधन प्रस्ताव राख्नका लागि ७२ घण्टाको समय पाउँछन् ।
सांसदहरुको संशोधनपछि विधेयक दफावार छलफलमा जानेछ । दफावार छलफल संसदमै वा संसदीय विषयगत समितिमा जान सक्छ । दफावार छलफलपछि विधेयक पारित भए राष्ट्रिय सभामा जान्छ । राष्ट्रिय सभामा पनि प्रतिनिधि सभामा जस्तै प्रक्रिया पुरा गर्नुपर्छ । दुवै सभाबाट पारित भएर अगाडि बढेको खण्डमा विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएर कानुनमा रुपान्तरित हुन्छ । त्यसपछि बल्ल प्रस्तावित व्यवस्था लागू हुन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies