सरु भुसाल/मध्यान्ह
सन्धिखर्क : अर्घाखाँची जिल्लामा सञ्चालित ५ सय १८ वटा घरेलु तथा साना मझौला उद्योगहरु बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका प्रमुख सन्तोष खनालका अनुसार जिल्लाभर हालसम्म ३ हजार ८ सय ३८ उद्योग दर्ता भएका छन् । जिल्लामा दर्ता भएका साना ठूला उद्योगमध्ये ५ सय १८ साना मझौला उद्योगको दर्ता खारेज भएको प्रमुख खनालले मध्यान्हलाई बताए ।
हालसम्म उत्पादनमूलक ३ सय ९४, कृषि १ हजार ९ सय ८५, निर्माण २ सय ५, पर्यटनमूलक ३ सय ३४, सूचना प्रविधि १४, सेवामूलक ३ सय ८१, खनिजजन्य ६ गरी ३ हजार ८ सय ३८ उद्योग दर्ता भएको घरेलु कार्यलयका अधिकृत लक्ष्मीप्रसाद दाहालले जानकारी दिए ।
कच्चा पदार्थ अभाव, दक्ष जनशक्तिको अभावका कारण उद्योगहरु बन्द भएको स्थानीय व्यापारी रामप्रसाद घिमिरे बताउँछन् । कतिपय उद्योग भने सञ्चालन खर्च जुटाउन नसकेर र केही आफ्ना उत्पादनले बजार मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्दा बन्द भएको व्यवसायी मेग बहादुर खड्काले बताए ।
घरेलु कार्यलयका अनुसार कतिपय उद्योगहरू सरकारबाट प्राप्त हुने अनुदानका लागि खोलिने र अनुदान पाएपछि वा नपाएकै भरमा खारेजी गर्ने प्रवृत्तिका कारण धेरै उद्योग बन्द भएको हो ।
कुनै सञ्चालक रोजगारीका लागि विदेश गएकाले पनि उद्योग बन्द भएको र दर्ता भएका उद्योग सञ्चालनको यथेष्ट ज्ञान र सीप सचेतीकरणको अभावका कारण पनि उद्योग बन्द भएको घरेलुका उद्योग अधिकृत सन्तोष खनालले बताए । खनालका अनुसार आर्थिक वर्ष २०७९/८० मा सो कार्यालयले ७ लाख ८३ हजार आठ सय रुपैयाँ राजस्व संकलन गरेको थियोे भने चालु आव २०८०/८१ को फागुनसम्म दश लाख ५८ हजार २५० राजस्व संकलन भएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies