काठमाडौं : सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपको पहिलो दिन प्रो भुवन नगरकोटी र एमेच्योर राहुल विश्वकर्मा संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन् । उनीहरूले ३–अन्डर ६९ को स्कोरमा पहिलो दिनको खेल सकाए ।
भुवन र राहुलले १८ होलको समाप्तीमा तीन प्रोफेसनल खेलाडीहरु रमेश अधिकारी, रवि खड्का र निरज तामाङ तथा एमेच्योर विजय श्रेष्ठ आइन्हाउसलाई १ स्ट्रोकले पछि पारे । रमेश, रवि, निरज र विजयले सोमबार २–अन्डर ७० को स्कोर दर्ज गरे ।
एमेच्योर सदभाव आचार्य १–अन्डर ७१ सहित सातौं स्थानमा रहेका छन । युवराज भुजेल, जयराम श्रेष्ठ, सञ्जय लामा र बलभद्र राई इभन–पार ७२ सहित संयुक्तरुपमा आठौं स्थानमा रहे ।
गोकर्ण गल्फ क्लबमा सोमबार भुवनले फ्रन्ट नाइन इभन–पार ३६ मा सकाए । पहिलो होलमा एक सट खेर फाले । यसपछि दोस्रो, पाँचौं र सातौं होलमा बर्डी प्रहार गर्दा आठ होलको समाप्तीमा २–अन्डरको स्थितिमा थिए । तर नवौं होलमा ओबी प्रहार गर्दा यो होलमा डबल बोगीको सामना गरे । यसपछि ब्याक नाइनमा भने उत्कृष्ट प्रदर्शन सहित चार बर्डी प्रहार गरे । १३औं होलमा एक सट खेर फाले भने १०औं, ११औं, १५औं र १७औं होलमा बर्डीको सफलता प्राप्त गरे । ब्याक नाइन ३–अन्डर ३३ मा पूरा गरे ।
एमेच्योर गल्फर राहुलले प्रो गल्फरलाई कडा चुनौती दिने क्रममा फ्रन्ट नाइन ३–अन्डर ३३ मा सकाए । उनले बोगी रहित फ्रन्ट नाइन खेल्ने क्रममा पहिलो, चौथो र छैटौं होलमा एक–एक सट बचाए । ब्याक नाइन इभन–पार ३६ मा पुरा गरे । १२औं होलमा बोगी खेप्दा १५औं होलमा एक सट बचाए ।
संयुक्तरुपमा दोस्रो स्थानमा रहेका रमेशले शुरुवात राम्रो गर्न सकेनन् । फ्रन्ट नाइन २–ओभर ३८ मा सकाए । पहिलो होलमा बोगी खेपे भने तेस्रो होलमा बर्डी प्रहार गरे । तर ५–पारको सातौं होलमा डबल बोगीको सामना गरे । तर ब्याक नाइनमा भने उम्दा प्रदर्शन गरे । १५औं होलमा इगलको सफलता प्राप्त गरे । यसपछि १६औं र १७औं होलमा बर्डी प्रहार गर्दा ब्याक नाइन ४–अन्डर ३२ मा सकाए ।
टुरको पाँचौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज जितेका रविले फ्रन्ट र ब्याक नाइन दुवै १–अन्डर ३५ मा सकाए । उनले छैटौं, सातौं, १५औं र १८औं होलमा बर्डी प्रहार गर्दा पहिलो र ११औं होलमा एक–एक सट खेर फाले ।
यसैगरी धरानका प्रो निरजले तेस्रो र नवौं होलको बर्डी विरूद्ध सातौं होलमा बोगी खेप्दै फ्रन्ट नाइन १–अन्डर ३५ मा सकाए । यसपछि १५औं होलमा एक सट खेर फाल्दा १३औंं र १८औं होलमा बर्डी प्रहार गरे । ब्याक नाइन १–अन्डर ३५ मा सकाए ।
एमेच्योर गल्फर विजयले उत्कृष्ट सुरूवात गर्दै फ्रन्ट नाइन ३–अन्डर ३३ मा सकाए । उनले पहिलो, तेस्रो, पाँचौं र छैटौं होलमा बर्डीको सफलता प्राप्त गरे भने नवौं होलमा एक सट खेर फाले । यसपछि १०औं होलमा बर्डी प्रहार गरे भने १६औं र १७औं होलमा एक एक सट खेर फाल्दै ब्याक नाइन १–ओभर ३७ मा पूरा गरे ।
प्रो तोरण शाहीले पहिलो दिन व्यक्तिगत कारण खेल शुरु हुनुभन्दा अगाडि नाम फिर्ता लिए । चार दिनसम्म चल्ने ७२ होलको प्रतियोगितामा ३२ प्रोफेसनल र १२ एमेच्योर गरी कुल ४४ गल्फरको सहभागीता रहेको छ । कूल ८ लाख ४० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । दोस्रो र तेस्रो हुने गल्फरले क्रमश ९६ हजार र ७२ हजार नगद हात पार्नेछन् ।
३६ होलको समाप्तीमा कट लागू हुनेछ । जहाँ उत्कृष्ट २१ खेलाडीले तेस्रो र चौथो दिनको लागि स्थान सुरक्षित गर्नेछन् । एमेच्योर खेलाडीको हकमा पनि कट बनाउन उत्कृष्ट २१ भित्र पर्नुपर्ने नियम रहेको छ । कट बनाउन सफल सबै प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies