छबि सापकोटा/मध्यान्ह
काठमाडौं : अर्थमन्त्री वर्षमान पुन आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट बनाउन व्यस्त हुन थालेका छन् । सत्ता गठबन्धनमा आएको परिर्वतनसँगै फागुन २३ गते अर्थमन्त्री बनेका पुन चालु आर्थिक वर्षको भन्दा ठूलो आकारको बजेटको गृहकार्यमा लागेका हुन् । अर्थमन्त्री डा. प्रकाशशरण महत हुँदा राष्ट्रिय योजना आयोगले १८ खर्ब रुपैयाँको बजेट सिलिङ दिएको थियो । सिलिङभित्रै रहेर बजेट निर्माण गर्नुपर्ने सिद्धान्त भएपनि अर्थमन्त्री पुनले ठूलो आकारको बजेट ल्याउने गृहकार्य गरिरहेका छन् ।
विगतमा समेत सिलिङ क्रस गरेर ठूलो बजेट ल्याएको नजिर भएको कारण देखाउँदै करिब २० खर्बको हाराहारीमा बजेट ल्याउने तयारीमा अर्थ मन्त्रालय रहेको छ । अर्थमन्त्री पुनले अहिले अर्थतन्त्र संकुचित अवस्थामा रहेको बजेटको आकार बढाउनु पर्नेमा जोड दिएका छन् । खर्र्च गर्न नसक्ने तर, ठूलो आकारको बजेट ल्याउने प्रवृतिको अन्त्य गर्नका लागि राष्ट्रिय योजना आयोगले सिलिङ तोकिदिने गर्छ । लोकप्रियताको लागि भने विगतदेखि नै स्रोतको व्यवस्थापन नगरी नै बजेटको आकार बढाउने गरिएको छ । आन्तरिक तथा बाह्य ऋण लिएर भएपनि बजेट ठूलो बनाउने मनस्थितिमा अर्थमन्त्री पुन रहेको मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।
तर, पूर्व सचिव गोपिनाथ मैलालीले भने बजेट आकार वास्तविकतामा आधारित हुनुपर्ने बताउँछन् । ‘बजेटलाई रियालिस्टिक बनाउन सकेनौं भने बजेटले घोषणा गरेको नीति तथा कार्यक्रम गर्न सक्दैनौं, जसले बजेटको विश्वसनियता घटाउँछ, विगतका वर्षको बजेटको आकार हेर्ने हो भने बजेटको आकार ठूलो बनाउने तर, मध्यावधि समिक्षा गर्दै घटाउने गरिएको छ’, उनले भने, ‘यसरी बजेट घटाउँदा बजेटले छुट्याएका आयोजनाको काम नहुने र सरकारप्रतिको विश्वनीयता समेत घट्छ ।’ साथै उनले स्रोतलाई सुनिश्चित नगरी बजेटको आकार बनाउँदा कार्यान्वयन हुन नसक्ने समेत बताएका छन् ।
‘स्रोतलाई सुनिश्चित नगरी बजेटलाई ठूलो आकारको बनाईयो भने कार्यान्वयन हुने बजेट बन्दैन, विगत पाँच वर्षको बजेटलाई अध्ययन गर्दा २० खर्बको बजेट बनाउने अवस्था नै छैन’, उनले भने, ‘आगामी वर्षको बजेट बनाउँदै गर्दा अन्तर्राष्ट्रिय परिस्थिति हेर्दा वैदेशिक सहायता, अनुदान, बाह्य ऋण समेत घट्दै जाने अवस्था छ, यस्तो अवस्थामा साढे १७ खर्ब भन्दा ठूलो बजेट उपयुक्त हुदैन ।’ अर्थतन्त्र मन्दीमा रहेको चालु आर्थिक वर्षमा रावस्व संकलन समेत लक्ष्य अनुसार हुन सकेको छैन । ठूलो आकारको बजेट ल्याउने तयारी गरिरहँदा चालु खर्च समेत नधान्ने राजस्व अवस्थामा बजेटको आकार थप बढाउँदा कार्यान्वयनमा थप चुनौती बढ्ने देखिन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies