निस्ता कार्की/मध्यान्ह
कालीकोट : कालीकोटको नरहरिनाथ गाउँपालिकालाई नेपालकै पहिलो पालिकाको रुपमा जलवायु उत्थानशील गाउँपालिका घोषणा गरिने भएको छ । विपदका दृष्टिकोणले संकटासन्न अवस्थामा रहेको नरहरिनाथ गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रम तय गरी निकट भविष्यमा जलवायु उत्थानशिल गाउँपालिका घोषणा गर्ने भएको हो । जलवायु अनुकुलनमैत्री पालिका घोषणा गर्न सबै सूचकहरु पास गरी राजपत्रमा प्रकाशित सूचनाका आधारमा पालिकालाई जलवायु उत्थानशिल गाउँपालिका बनाउने गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिष्टले बताए ।
उनले जलवायु परिवर्तनका कारण हुने असरहरुका विषयमा नरहरिनाथबासी सचेत भएको बताए । उनले भने, ‘सरकार प्रतिबद्ध छ, जनताले दुःख पाउनु हुँदैन ।’ गाउँपालिकाका उपाध्यक्ष कमल कुमार शाहले भने, ‘२०७७ सालमा आएको बाढी पहिरोमा परेर दर्जनौं नरहरीनाथबासीको ज्यान गयो । जलवायु परिवर्तनले पार्ने असर र यसबाट बच्न सक्ने प्रयासका विषयमा यहाँका नागरिकहरु जानकार भएका भए यति ठूलो क्षति बेर्होनुपर्ने अवस्था आउने थिएन । त्यसैले वर्तमान स्थानीय सरकार सचेतपूर्ण ढंगले लागि परेको छ ।’
यसैगरी पछिल्लो समयमा जलवायु परिवर्तनका कारण अनियमित रुपमा वर्षा हुनु, स्वास्थ्यमा समस्या देखिनु, कृषिबालिमा रोग लाग्नु, छिटोछिटो हिउँ पग्लनु लामो समयसम्म पानी नपर्नुले जनजीवन कष्टकर भएको साहास नेपाल पाइला परियोजना संयोजक मनिक्षा आचार्यले बताइन् । उनले भनिन्,‘भू–क्षय हुने र स्वच्छ खानेपानीको अभाव हुने समस्याहरु पनि नरहरिनाथमा देखिएका छन् ।’
यसलाई न्यूनीकरण गर्दै कृषि अनुकुल प्रणालीको प्रयोग गर्ने, वैकल्पिक उर्जाको प्रयोग गर्ने, खेर गएको पानी संकलन र आकासे पानीको संकलन गरी त्यसलाई कृर्षिजन्य उत्पादनमा प्रयोग गर्ने र बनजंगलको संरक्षण गर्नुपर्ने विषयमा सरकार गम्भीर हुनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।
अन्तरसंवाद कार्यक्रममा किशोरी पविता विश्वकर्माले जलवायू परिवर्तनका कारण बालवालिकाहरुमा पनि असर परेको बताइन् । यस्तो अवस्थामा पनि स्थानीय सरकार चुप लागेर बस्न नहुने भन्दै छिट्नै जलवायु उत्थानशिल पालिका घोषणा गर्न सरकारका प्रतिनिधिहरुसँग उनले माग गरिन् ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत मानबहादुर सहकारीले विपद तथा जलवायुजन्य उत्थानशिल योजना २०८० मा समाहित गरिएका योजनाहरुलाई पालिकाको वार्षिक नीति तथा कार्यक्रममा समाहित गरेको बताए । उनले अबका दिनमा नरहरिनाथ गाउँपालिकामा विपदले निम्त्याउने हरेक जोखिमहरुसँग नरनहरिनाथबासी परिपक्व भएर लड्न सक्ने भए ।
गाउँमा आजकाल परम्परागत चुलोलाई त्यागेर नयाँ आधुनिक चुलो वितरण गरिएको छ । यसैगरी स्थानीय सरकारलाई सुझाव दिँदै सहास नेपाल पाइला परियोजना अनुगमन अधिकृत खगेन्द्र विश्वकर्माले भने, ‘यहाँका नागरिकहरुको जीवनस्तर उठाउने खालका उद्योगहरु खोलिनुपर्छ । सबैलाई कृषि क्षेत्रतिर लाग्न गाउँपालिकाले नीति निर्माण गर्नुपर्छ ।’
नागरिकका प्रश्नको उत्तर दिँदै गाउँपालिका अध्यक्ष बिष्टले नरहरिनाथ गाउँपालिकालाई सन् २०२४ भित्रै जलवायु उत्थानशिलपालिका बनाउने विषयमा आफु प्रतिबद्ध भएको बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies