दिलमाया शाही/मध्यान्ह
जुम्ला : कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले विश्वको अग्लो स्थानमा धान फल्ने ठाउँ कर्णालीको जुम्लामा छ भन्ने सन्देश दिन चैत १२ गते सार्वजनिक बिदा दिइएको बताएका छन् ।
उनले विश्वको अग्लो स्थानमा काली मार्सी धान फलाउने प्रदेश कर्णाली प्रदेशको जुम्लामा रहेको बताए । उनका अनुसार यो सन्देश दिन प्रत्येक वर्ष चैत १२ गते जुम्लाका किसानले कालीमार्सी धानको बीउ भिजाउने दिनलाई कर्णाली प्रदेश सरकारले धान दिवसको स्वामित्व लिएको छ ।
मन्त्री शर्माले धान दिवसको शुभकामना दिँदै विश्वको अग्लो स्थानमा धान फल्ने ठाउँ नेपालमा छ भन्ने सन्देश दिने दिन चैत १२ गते भएको दावी गरे । उनले भने,‘२ हजार आठ सय ५० उचाईमा रहेको पातारासी गाउँपालिकाको छुमा ज्युलो जुम्ली काली मासी धान फलिरहेको छ । चैत १२ गतेको दिन धानको बीउ भिजाउने दिन कर्णालीका किसानहरुको महत्वपूर्ण दिन भएको स्मरण छ ।’
कर्णालीका ४० पर्यटकीय गन्तव्यभित्र सूचिकृत भएको, विश्वकै अग्लो स्थानमा काली मार्सीधान उत्पादन हुने छुमज्युलो धानखेती हुने क्षेत्रका रुपमा गिनिज बुकमा समेत रेडर्क कायम भएको छ । विश्वको एक मात्रै ठाउँमा समुन्द्री सतहदेखि झण्डै २ हजार ८ सय ९० मिटर उचाइमा धान फल्ने जुम्लाको पातारासी गाउँपालिका वडा नं ३ छुमचौरलाई कृषि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न प्रदेश सरकारले आवश्यक नीति तथा कार्यक्रम तय गर्ने गरेको मन्त्री शर्माले बताए । मन्त्री शर्माका अनुसार कालीमार्सी धान कम उत्पादन हुने तर मूल्यवान हुने भएकोले कर्णालीका ५ जिल्ला जुम्ला, हुम्ला, कालिकोट,डोल्पा,मुगुमा रैथाने वालीको रुपमा काली मार्सीधान खेती गर्ने गरेको छ ।
त्यस्तै कर्णालीको दुःखका रुपमा रोग भोक, अशिक्षा र बेरोजगार रहेको जीकीर गर्दै बहुमूल्य मार्सीधान खेती विकास गरी भोकमारी, कुपोषण र गरिबी हटाउन कर्णालीका ५ जिल्लामा मार्सीधान खेती विकास प्रवर्द्धन संरक्षण बजार बजारीकरण गर्न प्रदेश सरकार प्रतिबद्ध भएको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies